बुधवार, माघ ०३ गते, २०७४
आनन्दरत्न बज्राचार्य, गीतकार
मंगलवार, २०७३ पुस ०४ गते ०४:१७

नेपाली गीतसंगीतको क्षेत्रमा फरक गीतकारको रूपमा परिचित छन् आनन्दरत्न बज्राचार्य । उनका सिर्जनाहरूमा मायाप्रीतिका कुरा मात्र नभएर सामाजिक सन्देशमूलक, चेतनामूलक, जागरणमुलक गीतहरूको संख्या अधिक रहेका छन् । जीवन भोगाईलाई सर्लक्क गीतमा उतार्न सक्ने क्षमतायुक्त गीतकार पनि हुन् आन्नन्दरत्न बज्राचार्य । 
 
बज्राचार्यको जन्म २०११ साल कार्तिक १६ गते काठमाडांैको ज्याठामा भएको हो । उनका बुवाको नाम वैद्यराज चिनियारत्न बज्राचार्य हो भने आमाको नाम धर्मदेवी बज्राचार्य हो । उनका तीन दिदीहरू, २ बहिनी र १ दाजुहरू छन् । गीतकार बज्राचार्यले जुद्दोदय पब्लिक हाइस्कुलमा अध्ययन गरे । सोही विद्यालयबाट उनले प्रवेशिका परीक्षा उत्तीर्ण गरे । त्यसपछि त्रिचन्द्र कलेज घण्टाघरबाट उनले मानविकी तर्फ प्रविणता प्रमाणपत्र तह र स्नातक तहको अध्ययन पुरा गरे । त्रिभुवन विश्व विद्यालय, कीर्तिपुरबाट अर्थशास्त्रमा स्नातकोत्तर तह पुरा गरेका उनले फिलिपिन्सबाट खाद्य तथा पोषण योजनामा समेत स्नातकोत्तर तह पुरा गरेका छन् । २०४० सालमा नानु बज्राचार्यसँग मागी विहे गरेका गीतकार बज्राचार्यका दुई सुपुत्र रहेका छन् डा। आशिकरत्न बज्राचार्य र आर्किटेक्ट आलोकरत्न बज्राचार्य ।
 
आफ्नी जीवनसंगिनी नानु बज्राचार्यको साथ र सहयोगले गीति क्षेत्रमा यो स्थानमा आइपुग्न सफल भएको बताउने गीतकार बज्राचार्यले २०३४ सालमा कृषि बजार सेवा विभागमा अस्थायी जागिरको सुरुवात गरे । २०३५ सालमा लोक सेवा आयोगको शाखा अधिकृत उत्तीर्ण गरेका उनको स्थायी जागिरको सुरुवात पनि सोही विभागको प्राविधिक अधिकृतको रूपमा सुरु भयो । 

माया अनि त्यस वरिपरी घुमिरहने मिलन र विछोड, सुख र पीडा आदिका विषयवस्तुभन्दा फरक गीत लेखनमा सक्रिय आनन्दरत्न वज्राचार्यका बारे साहित्यकार विवश वस्ती भन्छन्– ‘आनन्दरत्न बज्राचार्य नेपाली माटो, परिवेश र जनजीवनका ढुकढुकी छाप्ने गीतकार हुन् । उनको गीति लेखनको धरातल नितान्त फरक छ । विषयगत विविधतालाई अंगालेर गीत लेख्ने सिप, शैली र सोचले युक्त भएकै कारण उनी तथाकथित मुलधारका गीतकारहरूको पंक्तीमा नपर्न सक्छन् र सतही शब्द संयोजनले भरिएका गीत लेखेर चर्चित गीतकार हुने होडबाजीमा संलग्नहरूका नजरमा उनी गीतकार नदरिन सक्छन् । यद्यपी सिर्जन कर्ममा अहोरात्र जुटिरहेका बज्राचार्य नेपाली हावापानी बुझेर सिर्जना गर्ने शब्द शिल्पी हुन् र उनी गीत संगीत क्षेत्रमा स्थापित प्रतिभाका रूपमा उदाएका छन् भन्नु बढाइचढाई नहोला ।’ 


 
आनन्द रत्न बज्राचार्यले कृषि क्षेत्रमा सरकारी उच्च ओहदामा रहेर नेपाली कृषिको क्षेत्रमा महत्वपूर्ण योगदान दिए । प्रचण्ड घाम, मुसलधारे पानी, हिलो माटोका परवाह नगरि अत्यन्त कठिन र महत्वपूर्ण काम गरि आएका किसान वर्गको इज्जत र प्रतिष्ठाको लागी उनले क्षेत्रीय कृषि निर्देशक भएर पश्चिमाञ्चलको पोखरामा रहदा पहिलो देशव्यापी कृषि सांस्कृतिक कार्यक्रम २०६५ सालमा आयोजना गरे । त्यसैगरि उनले पोखरामा नै दोश्रो देशव्यापी कृषि सांस्कृतिक कार्यक्रम पनि आयोजना गरे । उनले कृषिकै बारेमा चर्चित लोकगायिका हरिदेवी कोइराला लगायत चर्चित लोक गायक, गायिकाको आवाजमा किसानको आवाज, किसानी जिन्दावाद गीतिएल्वम समेत प्रकाशन गरेका छन् । 
 
यसरी फरक धारमा गीत लेख्ने गीतकार आनन्दरत्न बज्राचार्यको यस्तै फरकधारको गीतमा संगीत भर्दै आएका चर्चित संगीतकार राजु सिंह आनन्दरत्न बज्राचार्यलाई गीतमा देश, पेशा र धर्म हुनु पर्छ भन्ने मान्यता राख्ने गीतकारको रूपमा चित्रण गर्दछन् । उनी थप्छन्–‘आनन्दरत्न बज्राचार्यका गीत मनोरञ्जक मात्र नभई सन्देशमूलक पनि हुने गर्छन् । फरक व्यक्तित्वका धनी आनन्दरत्न बज्राचार्य गीतले सन्देश तथा चेतना दिन सक्नु पर्छ भन्ने मान्यता राख्दछन् ।’
 
बज्राचार्यको चर्चित गीत ‘म त अजनवी भएछु’ मा आफ्नो सुमधुर स्वर दिएकी गायिका हुन् निशा देसार । सोही गीत मार्फत उनले २०६९ सालको इमेज अवार्डमा महिला तर्फ सर्वोत्कृष्ट गायिकाको उपाधी हासिल गरेकी थिइन् । केही समय पहिले निशा देसारकै स्वरमा आनन्दरत्न बज्राचार्यको गीति एल्वम ‘निशा आनन्द’ पनि बजारमा आइसकेको छ । उक्त एल्वममा विभिन्न सन्देशमुलक १२ वटा गीतहरू समावेश रहेका छन् । यसरी गीतकार बज्राचार्यको विविध गीतहरूमा समधुर स्वर दिएकी गायिका निशा देसार बज्राचार्यलाई फरक विशेषता बोकेका गीत लेख्न सक्ने गीतकारको रूपमा व्याख्या गर्छिन् । उनी थप्छिन् –‘गीतकार आनन्दरत्न बज्राचार्य गीत संगीतलाई धेरै माया गर्ने श्रष्टा मात्र नभई एक समाजसेवी हुन् । बज्राचार्यका गीत गाउँदा गर्वानुभूति हुने गर्छ ।’ 
 
भारत, फिलिपिन्स, थाइल्याण्ड, लावस, भियतनाम, श्रीलंका, इन्डोनेशिया, बंगलादेश, तान्जानिया, सिंगापुर, हंगकंग तथा चीन तथा नेपालका ६५ जिल्ला घुमेर विविध अनुभूति संगालेर विशेषगरि जीवन अनुभूतिका गीतहरू लेख्ने बज्राचार्यले रक्तदानको गीत, भुकम्पको गीत, नाकावन्दीको गीत, जातीय छुवाछुतका गीत, चेलिवेटी बेचविखनका गीत, छाउपडीको गीत, चिनी रोगको गीत, अनाथ बालबालिकाका गीत, हिड्ने र गाडी चढ्नेको गीत, दाइजो विरुद्धका गीत, सासु बुहारीका गीत, शान्तिका गीत, किसानका गीत लगायत विविध सामाजिक विषयवस्तुलाई आफ्ना गीति सृजनामा अटाएका छन् । 
 
गीतकार बज्राचार्यले गीत लेखनबाहेक पनि नेपाली साहित्यलाई धेरै योगदान दिएका छन् । उनले ‘नमस्ते’ शब्द संग्रह नेपाली, हिन्दी, नेवारी र अंग्रेजीको शब्दकोष, देशमा नपाइने बस्तु किन्ने बालक र ‘वाँदरहरू’ नामक सचित्र कथा, ‘गाउदै गाउघरमा पोषण शिक्षा’ पोषण गीत, ‘हाम्रो समाज हाम्रो अनुभव’ लघुकथा संग्रह, ‘मूलढोका’ कथा संग्रह, ‘दलितको आवाज’ प्रारम्भिक पोषण शिक्षामूलक कृति ‘पोषण’ आदि बजारमा ल्याएका छन् । त्यसै गरि ‘बाँच्ने रहर’, ‘अजनवी’, ‘बम्वै शहर’, ‘हजुरलाइ सलाम छ’, ‘निशा आनन्द’, ‘किसानको आवाज’, ‘किसानी जिन्दावाद’, ‘भाइटीका’ आदि गीति एल्वम बजारमा ल्याइसकेका छन् भने ‘राजु आनन्द’ संगीतकार राजु सिंह र बज्राचार्यको एकल गीत संग्रह, ‘जि नेवा : झि नेवा’ नेवारी गीति संग्रह, ‘दोधारा चादनी’ आदि गीति एल्वम निकट भविष्यमा नै श्रोताहरू माझ आउने तयारीमा रहेका छन् । 
 
गीतकार आनन्दरत्न बज्राचार्य आफ्नो गीतियात्राको क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न सम्मान तथा पुरस्कारहरूले सम्मानित तथा पुरस्कृत भएका छन् । खाद्य तथा पोषणबारे व्यक्तिगत प्रयासमा जनचेतनामूलक पुस्तक प्रकाशन गरे वापत युनिभर्सिटी अफ द फिलिपिन्स स्पेशल अवार्ड, कृषि गीतको माध्यमबाट कृषकहरूलाई चेतना जगाउने कार्य वापत आई.पि.एम. कृषक समुह टीकाथली, ललितपुरबाट सम्मानपत्र आदि प्राप्त गरेका छन् । 
 
गीतकार बज्राचार्यको अर्को पाटो उनी समाजसेवी पनि हुन् । जीवनयात्रामा विभिन्न तरिकाले आँफूलाई सामाजिक कार्यमा समेत व्यस्त राखेका उनले पछिल्लो समय बज्राचार्य रक्तदान समाज गठन गरेर रगत अभावको विकराल अवस्थालाई धेरै हदसम्म सघाएका छन् । जीवनप्रति उत्साहित उनी अझै धेरै बाँचेर गीतिकारिता र अन्य माध्यमबाट समाजप्रति समर्पित हुने चाहना राख्छन् । 
 
प्रस्तुती : हरिराम पौडेल
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन फिचर
1.   सांगीतिक उचाइमा मञ्जु
2.   प्रवासमा चम्कदै नवराज
3.   लिस्नर्स क्लब र रोटरी क्लब अफ राजधानीले गहना पोखरीमा होली मनायो
4.   समाजसेवामा समर्पण
5.   फरकधारका सिर्जनामा रमाउछु
6.   सुमधुर आवाजकी धनी टीका प्रसाई
7.   ‘बाँच्न कर्म गर्छु,सन्तुष्टीका लागि सिर्जना ।’
8.   दुर्गा खरेल : स्वरमै जादु
9.   ‘कलाकारितामार्फत विश्वमा चिनिने इच्छा छ’
10.   बहुप्रतिक्षित चलचित्र ‘परदेशी’ को फस्टलुक सार्वजनिक (गीत सहित)
11.   सावित्रीको ‘शिशा होस या दिल’ दुबईमा छायांकन
12.   ‘भाग्यले बाँचेकाहरु’ को कथा वृत्तचित्रमा
13.   यर्थाथवादी धरातलमा गीतकार अधिकारी
14.   ओमानमा जनगायक जीवन शर्मा
15.   गुरुङ जाति उद्गमस्थल पहिलोपटक प्रदर्शनीमा
16.   गुरुङ जातिको उदगमस्थलबारे पहिलो फोटो प्रदर्शनी
17.   'काठमाण्डौ जादा' दुबइमा सार्वजनिक
18.   खरेलद्वयले ओमानमा हंगामा मच्चाए
19.   ‘राहादानी’को मारुनी गीत लोकसंगीत महोत्सवमा
20.   कोरिया तताए नेपाली कलाकारले !
21.   खेलकुदः च्याम्पियनस लिगमा मेस्सीको कीर्तिमानी हृयाट्रिक

Powered By : Unitech Media