शैलुङ : प्रकृतिको अनुपम छटासँग रमाउन चाहनेहरुका लागि मनमोहक गन्तव्य

news-details

‘माथि माथि शैलुङ्गेमा चौरी डुलाउँनेलाई, हत्केलामा मायाको गुराँस फुलाउने’ रामेछापको शैलुङ पुग्ने जोकोहीलाई कुन्ती मोक्तानले गाएको यो गीतको पंक्तिले अंगालो हाले झै गर्ने गर्छ । हुन पनि विछट्टै प्राकृतिक छँटाले मनमोहक शैलुङले नलोभ्याएको कस्लाई होला र ? एकपटक पुग्नै पर्ने गन्तव्यकोरुपमा परिचित शैलुङलाई देख्ने र टेक्नेहरुले स्वर्गको टुक्रा नै मान्ने गरेका छन् ।

शान्त, शीतल र सुन्दर ठाउँ घुम्न चाहने जोकोहीलाई पनि शैलुङ उत्कृष्ट गन्तव्य बन्ने गरेको छ । नेपाललाई त्यसै पनि धर्तीको स्वर्ग मानिन्छ । त्यही धर्तीको स्वर्गको एक टुक्रा हो – शैलुङ ।

रामेछाप र दोलखाको सिमानामा रहेको शैलुङ ऐतिहासिक, धार्मिक र पर्यटकीय पवित्र भूमि हो । शैलुङ रमणीयताको दृष्टिले मात्र नभइ धार्मिक तथा ऐतिहासिक हिसाबले पनि त्यतिकै महत्वपूर्ण छ ।

यो हिन्दू र बौद्ध धर्मालम्बीको पवित्र तीर्थस्थल पनि हो । यसको साथै सुन्दर पर्यटकीय स्थल पनि हो । देश विदेशका सबै जात, धर्म र समुदायका लागि रमणीय, भ्रमणयोग्य स्थल हो ।

समुद्र सतहदेखि ३ हजार १ सय ४६ मिटरको उचाइमा रहेका शैलुङलाई हिउँदमा हिउँले ढाक्छ, वर्षामा कुहिरोले । हिउँदमा हिउँसँग लुकामारी खेल्ने शैलुङ वर्षामा कहिले घामसँग त कहिले कुहिरोसँग लुकामारी खेल्छ । दुबोको गलैँचाले सधैँ आगन्तुकलाई शैलुङले स्वागत गर्छ । अनि विभिन्न जातका फूलले सत्कार गरिरहेको हुन्छ ।

शैलुङलाई बौद्ध धर्मावलम्बीले बुद्धले पाइला टेकेको पवित्र भूमि मान्ने स्थानीय दावासङ्वु शेर्पा बताउछन । हिन्दू धर्मावलम्बीले शैलुङलाई भगवान् शिवको तपो भूमिका रूपमा श्रद्धाभाव प्रकट गर्छन ।

शैलुङ प्राकृतिक रूपमा बनेका सय थुम्काको सङ्गम हो । सधैँ हरियो दुबोले ढाकिने ती थुम्का हिउँदमा हिउँले ढाकिन्छ । ‘शैलुङ सधैँ रसिलो हुन्छ, शैलुङ पुगेको मान्छे त्यसै हँसिलो हुन्छ’, शेर्पाले काव्यात्मक लयमा भने ।

विगतमा विकट मानिने अब सुगम बनेको छ । रामेछापको सदरमुकाम मन्थलीबाट दोरम्बा हुँदै शैलुङसम्म कच्ची सडक बनेको छ । अहिले काठमाडौं र तराईबाट सजिलै शैलुङसम्म पुग्न सकिने भएको छ । रामेछापको सदरमुकाम मन्थलीबाट शैलुङसम्म कच्ची सडक बनेको छ । तराईबाट आउनेले बीपी मार्गको खुर्कोटबाट मन्थली आधा घण्टामा आइपुग्छन् । मन्थलीबाट शैलुङ चार घण्टामा पुगिन्छ ।

काठमाडौँबाट शैलुङ जान बीपीमार्ग अन्तर्गत सिन्धुलीको झाँगाझोली रातमाटाबाट सित्खामा रहेको सुनकोसी नदीको पुल तरेर गाल्पा हुँदै पनि पुग्ने सडक बनेको छ । सिन्धुपाल्चोकको मुढे हुँदै दोलखाको कालापानीबाट पनि शैलुङ पुगिन्छ ।

रामेछापको बाटो शैलुङ जाँदा खोलाखर्कसम्म गाडी जान्छ । दोलखाबाट कालापानीसम्म आउँछ । दुवै तर्फबाट शैलुङ पुग्न करिब २० मिनेट उकालो चढ्नु पर्छ । उकालो चढ्न रामेछापको खोलाखर्कबाट सिँढी बनाइएको छ । ठाउँ ठाउँमा विश्रामस्थल पनि बनाइएको छ ।

शैलुङ घुम्न जानेलाई बस्नको लागि दोरम्बा, राजभिर खोलाखर्क लगायतका स्थानमा होमस्टे बनेका छन् । दोलखा पट्टी पनि होटेल र होमस्टे छन् । काठमाडौंबाट शैलुङ जाँदा अघिल्लो दिन गएर भोलिपल्ट फर्कन भ्याइन्छ ।

धार्मिक हिसाबले घुम्न जानेका लागि काठमाडौंबाट जाँदा सिन्धुलीको दुम्जामा रहेको कुशेश्वर महादेव, रामेछापको ऐतिहासिक शक्तिपीठ खाँडादेवी दर्शन गरेर शैलुङ पुग्न सकिन्छ । बसाइ अझ लम्ब्याउन चाहनेले सोही यात्रामा दोलखाको भीमेश्वर र कालिञ्चोकसम्मको यात्रा गर्न सक्छन् । यसो गर्दा काठमाडौँबाट जानेले बढीमा तीन दिन छुट्ट्याइनु पर्छ ।

प्रकृतिको वरदान शैलुङ एक पटक पुग्ने पर्ने गन्तव्य हो । शैलुङको डाँडामा चरिरहेको चौँरी र त्यहाँको वातावरणले एक पटक सबैको मन पुलकित बनाउँछ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *