‘नेपाल–कतार’ पर्यटन प्रबर्द्धनमा राजदूत हैल र पर्यटन दूत कार्कीबीच छलफल

news-details

नेपालको पर्यटन प्रबर्द्धन तथा विकासका विषयमा नेपालका लागि कतारी राजदूत युसुफ बिन महम्मद अल हैल र कतारका लागि नेपालको नवनियुक्त पर्यटन सद्भावना दूत टेकबहादुर कार्की(टिबी)बीच छलफल भएको छ ।

कतारी दूतावास ललितपुरमा बिहीबार भएको भेटमा नेपालमा कतारी पर्यटक भित्र्याउने र कतारमा नेपालको पर्यटन प्रबर्द्धनका विभिन्न कार्यक्रमहरु गर्ने विषयमा छलफल भएको हो ।

नेपाल सरकारबाट भर्खरै कतारका लागि पर्यटन सद्भावना दूत नियुक्त भएपछि एनआरएनएका पूर्व उपाध्यक्षसमेत रहेका कार्कीले पर्यटन प्रवद्र्धनका लागि छलफल अगाडि बढाएका हुन् । विगत १७ बर्षदेखि कतार बस्दै आएका कार्कीलाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४ बर्षका लागि पर्यटन दूत नियुक्त गरेको हो ।

भेटका क्रममा नेपालका लागि कतारी राजदूत हैलले नेपालको प्राकृतिक सौन्दर्यताले पर्यटकलाई लोभ्याउने भएता पनि पर्यटन प्रवद्र्धनका लागि अझ धेरै सुधारको खाँचो रहेको बताए । ‘कतारीहरु धेरै नेपाल भ्रमणमा आइरहनु भएको छ तर यहाँ हलाल फुड, यातायातको सुविधा, बाटोको दुरअवस्था र पर्यटकका लागि आवश्यक सूचना तथा जानकारी नै छैन’ राजदूत हैलले भने–‘ प्राकृतिक सुन्दरताले पर्यटक त तान्छ तर सेवा सुविधा राम्रो दिन नसक्दा पर्यटन प्रवद्र्धन सोचे अनुसार हुन सकेको छैन ।’

राजदूत हैलले नेपालमा विदेशी पर्यटकहरुका लागि हरेक ठाउँमा नेपालीलाई भन्दा महंगो शुल्क लिने गर्दा अरविक पर्यटकहरुका लागि नेपाल बसाई महंगो हुने बताए । ‘हामीसँग काठमाडौंमा मात्र हलाल फुड छ अन्य पर्यटकीय क्षेत्रमा पाइदैन, अनि अरविकहरु भ्रमण छोट्याएर फर्कन बाध्य छन्’ हैलको भनाई छ ।

कतारका लागि पर्यटन दूत कार्कीले नेपालमा धेरैभन्दा धेरै अरबिक तथा कतारीहरुको भ्रमण गराउन आवश्यक सहकार्य गर्न जरुरी रहेको बताए । ‘नेपालको विकास भन्दा पनि प्राकृतिक सुन्दरता देखाउन पर्यटक ल्याउन सकिन्छ,त्यसका लागि दूतावाससँग सहकार्य आवश्यक हुन्छ’ कार्कीले भने । कार्कीले चाँडै नेपालमा सरकारी पक्ष, अरबिक देशका राजदूत, पर्यटन व्यवसायीहरुबीच छलफल कार्यक्रम आयोजना गर्ने र कतारमा पनि नेपालको पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम आयोजना गर्ने बताए ।

सो भेटवार्तामा वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष तथा रोजगार मिडियाका सम्पादक उद्वव भट्टराईको सहभागिता रहेको थियो । कतारी नागरिक सबैभन्दा बढि ट्राभल गर्ने भएकाले उनीहरुको डेस्टिनेशन नेपाल बनाउन सके नेपालले धेरै फाइदा लिन सक्ने थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *