जनजिवन : आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने नेत्रप्रसादहरुलाई कसले देला सहारा ?

news-details

विकासका लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ । सधैँ सत्ताको झिनाझम्टी र अस्थिर सरकार भइरह्यो भने त्यसले विकासको बाटो समाउन सक्दैन । हरेक क्षेत्रमा विशेषज्ञता हासिल गरेका जनशक्ति र कुशल नेतृत्वसहितको स्थिर सरकार भयो भने छोटो समयमै विकासका बाटा खोलिन सक्छन् । विश्वमा यस्ता कैयौँ देश छन् ।

नेपाल प्राकृतिक स्रोतसाधनले भरिपूर्ण मुलुक हो । अर्को, विश्वमै जलस्रोतको दोस्रो धनी मानिने यस देशमा बाह्रै महिना पहाडी भेगबाट बगिरहने खोलानाला तथा हिमनदीको पानी खेर गइरहेको छ । हामीसँग रहेको अपार जलस्रोतलाई सिँचाइ र विद्युत् उत्पादनमा लगाएर कृषि क्षेत्रको विकाससँगै औद्योगिक उत्पादन वृद्घि गरी आर्थिक समृद्घि हासिल गर्न सकिन्छ ।

स्वर्गतुल्य भूमि नेपालमा यतिखेर युवा पलायनको स्थिति दुगुना दिन चौगुना रात भइरहेको छ । भनौँ, नेपाल वेरोजगारको समस्याले आक्रान्त छ । हुन पनि कुनै पनि राष्ट्रका लागि वेरोजगारी गम्भीर समस्या हो । गरिबी वेरोजगारको कारण हो भने वेरोजगारी गरिबीको कारण हो । ग्रामीण क्षेत्रमा रोजगारको अवसर नहुनाले र सहरी क्षेत्रमा उचित पारिश्रमिक नपाउने यथार्थताले ठुलो जनशक्त्ति वैदेशिक रोजगारमा जाने गरेको पाइन्छ ।

नेपालमा वैदेशिक रोजगार सम्बन्धी ऐनको व्यवस्था वि.स. २०४२ सालमा मात्र भएको हो । पहिलो आर्थिक सर्वेक्षण अनुसार वैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या ५६ लाख ६३ हजार नाघिसकेको छ । त्यसमा पुरुष ५३ लाख ४८ हजार र महिला तीन लाख १६ हजार छन् । एक अध्ययन अनुसार साढे ३ लाख नेपालीको कर्मभूमी भइसक्यो कतार । यस प्रकार रोजगारीका लागि १५० देशमा श्रमिक गएको तथ्याङ्क छ ।

नागरिक आवाज छ, नेताले देश सिध्याए । कति पल्ट भोट दिनु ? जुन पार्टीको सरकार बने पनि आखिर निमुखा र असहाय जनताका लागि खै के गरे ? फगतमा भाइ लडे, लडाए । हानाथापको त्यो स्थितिमा कति निर्दोष मरे ? अनि, मारिए । कतिले आफ्ना अभिभावक गुमाए ? कति बालबच्चा टुहुरा भए ? कति यौवनाको सिँन्दूर पुछियो ? कति बाउआमाको काख रित्तियो ? अयोग्यताको ट्याग भिरेर बाँच्नुको साटो देश पलायन ह्वात्तै बढ्यो ।

रात पछिको दिन, घाम पछिको जून । जिन्दगीमा दुःख भनेको पाहुना जस्तो हो, त्यो आउछ जान्छ । भरसक आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने सोच भएका नेत्रप्रसाद भुसाल यतिखेर भने दोमनको स्थितिमा छन् । उनी आखिर अनिर्णयको यो बन्दीमा किन दाखिल भए ? अब एकछिन सुनौँ न त उनै नेत्रप्रसादका कुरा ।

एसएलसी पछि एघार–बाह्र पढ्न आफैँ खर्च जुटाउथेँ । घरको कमजोर आर्थिक अवस्थाको कारण पढाइमा टेवा नहुनाको परिणाम ब्याचलर पढ्न सकिन । पाइन । त्यही बेला कामको खोजिमा इन्डिया गएँ । उता सात वर्ष विताए र नेपाल फर्केँ । खासमा विदेश जान भनेर काठमाडौं आएको हो । भिसा हान्ने पासपोर्ट लगायत आवश्यक कागजात सबै तयार गरेँ तर खै किन मन बद्लियो । परिणामतः चिलगाडी चढ्ने रहर यतिकै सेलायो ।

“म नेत्रप्रसाद भुसाल । मेरो जन्म नवलपरासी जिल्लामा भएको हो । हाम्रो बुवाहरु पर्वतबाट झरेर पहिला चै चितवन बस्नु भा रैछ । रुपन्देही चाहिँ मेरो मामा घर । मैले स्कुल पढ्न सुरु गरेको नै मामा घर बसेर हो । मेरो पढाइ राम्रो थियो । ती दिनमा मलाई कुनै विषय अप्ठ्यारो नलाग्ने भएर नै कक्षा दशसम्म सरासर पास भएँ ।

एसएलसी पछि एघार–बाह्र पढ्न आफैँ खर्च जुटाउथेँ । घरको कमजोर आर्थिक अवस्थाको कारण पढाइमा टेवा नहुनाको परिणाम ब्याचलर पढ्न सकिन । पाइन । त्यही बेला कामको खोजिमा इन्डिया गएँ । उता सात वर्ष विताए र नेपाल फर्केँ । खासमा विदेश जान भनेर काठमाडौं आएको हो । भिसा हान्ने पासपोर्ट लगायत आवश्यक कागजात सबै तयार गरेँ तर खै किन मन बद्लियो । परिणामतः चिलगाडी चढ्ने रहर यतिकै सेलायो ।

अर्को कुरा, उता हुने कमाइ बुझ्दा पनि मेरो जाँगर मरेको हो । त्यहाँ गएर गर्ने जति दुःख यहीँ मेसो बनाएर गर्न सके यो त आफ्नो माटो हो जस्तो लाग्यो । मानिसको जीवन जीव र वनस्पतिमा आधारित छ । वनस्पति र जीवको आधार पृथ्वी हो । भूमि हो । काम गर्दै जानुपर्छ सफलताको घडी कहाँ, कतिखेर र कुन बेला घुम्छ–थाहा नभए पनि अरुको लाखभन्दा त आफ्नै आमाको काख ठीक भन्ने भयो ।

काठमाडौं आउनासाथ किनेको ठेलागाडी विदेश नगइसकेपछि निरन्तर रुपमा चालु छ । त्यसैले पालेको छ । के गर्नु ? बाँच्ने अनि बचाउने आधार नै उही भएको छ । बिनालोन किनेको गाडा पाँच वर्ष भयो त्यहाँभन्दा माथि उक्लिन भने सकेको छैन । हिम्मत छ, सटर लिएर व्यापार गर्न तर पहिलो चरण नगद कै जरुरत पर्दो रहेछ । त्यत्रो लाखलाख पैसा कहाँबाट ल्याउनु ?

इन्डिया बसेर कमाएको रकमबाट हो, मैले कागती व्यापार सुरु गरेँ । कालिमाटी गएर होलसेलमा ल्याएर धेरै बेचेँ । त्यही भएर इष्टमित्रले मेरो नाम नै कागती भाइ राखिदिनु भा’छ । एक पटक खरिद गर्दा ६ हजार मूल्य पथ्र्यो । ठेलागाडामा राखेर २/३ दिन डुलाउदा त्यो कागती बिक्री भइसक्थ्यो । क्याल्कुलेटर थिचेर यसो हिसाब जोडेको त किन मलेशिया जानु, साउदी नै पुगे पनि योभन्दा बढी कमाइ हुँदैन भनेर चुपचाप आफ्नो कर्मतिर मात्रै ध्यान दिन थालेँ ।”

“म एउटाको कुरा के गरौँ दिदी ? कसरी भनौँ ? हजुरले पनि देख्नु भाकै छ, विदेश जानेको ताँती । उर्लेको खहरे झैँ यो लहर आफैँ बढेको होइन । आफ्नै देशमा अवसर हुँदो हो त ‘मदन’ बन्न कसलाई रहर हुन्थ्यो ? हजुर आफैँ मिडियाको मान्छे । काम नगरी पाइदैन माम तर गरिखाने ठाउँ नै नभए पछि कसरी बाँच्नु ? ढुङ्गा माटो खान मिल्दैन ।

खुसी लाग्यो । नेत्रप्रसाद भुसाल उर्फ कागती भाइका कुरा सुनेर । अझ, उहाँले गर्नु भएको मिहिनेत कति राम्रो अभ्यास ! आफ्नै देशमा बस्नु पर्छ । कुना कन्दरा धाउनु पर्छ । कुनै पनि काम सानोठुलो हुँदैन । बढो घत लाग्ने कुरा गर्नुभयो । उसो त कतै गएर घर फर्कने क्रम/बाटो ओहोरदोहोर गर्दा मैले पनि पटक पटक उहाँसँगै कागती किन्थेँ, किन्छुँ । दानाको हिसाबमा होइन, तौल गरेर आधा केजी मेरो कोटा हो । कहिलेकाही त्योभन्दा बढी पनि चाहिन सक्छ ।

एक दिन घर फर्किने क्रममा भाइ र उहाँको ठेलागाडासँग जम्काभेट भयो । सिजन अनुसारका तरकारी बेच्दै हिँड्नु भा’रैछ । भिन्डी, करेला, बन्दा, गोलभेडा, लसुन, काक्रो, मुला, गाजर यस्तै यस्तै । नामाकरण भएको चिज कागती त छुट्ने कुरै भएन । आवश्यक सामान तौल गर्दै मैले सोधेँ “भाइ, तपाईसँग एउटा संवाद गर्नुपर्यो, हुन्छ ? अर्थ र रोजगार राष्ट्रिय मासिकमा छापिएर आउछ । भाइलाई पनि सेलिब्रेटी बनाउनु पर्यो ।”

“तपाई पत्रकार हो ?” भाइले सोधेको प्रश्नको प्रमाण ब्यागमा बोकेको पत्रिका झिकेर देखाएँ । त्यता नियालेर मलाई हेर्दै भाइ खिस्स मुस्कुराउनु भयो, त्यहाँको रङ्गीन वातावरणलाई दृष्टिगत गर्दै मैले थपेँ, “यस्तो युवा मान्छे, ठेलामठेल शहरको यो भिड, देशको केन्द्रिय राजधानीजस्तो ठाउँमा कति सहज तरिकाले व्यापार गर्दै हुनुहुन्छ । घर परिवार बचाउन तपाईले जुन मिहिनेत गर्नुभएको छ । यो संघर्षको कथा यहाँ हातमा दही जमाएर बस्ने युवाहरुका लागि प्रेरणा खुराक हुन्थ्यो कि ?”

सडकमा व्यापार गर्न सजिलो छैन । हुन त विदेशमा कतै नभएको चलन हाम्रोमा छ । लाग्छ, यो सारा हेर्दा त्यतातिरबाट आएकालाई नेपाल नाम गरेको देश कस्तो लाग्दो हो ? विशेषतः विदेशी नागरिकले के भन्दा हुन् ? के ठान्दा हुन् ? अनि, के सोच्दा हुन् । के गर्नु ? यस्तै छ हाम्रो परम्परा । हामी देशबासीको चाला । मैले पुनः भाइलाई सोधेँ, “नगरपालीकाको चपेटामा परिएको छ कि छैन ?” “किन नपर्नु दिदी । यस्तै तरिका हो भने अब यहाँ बसेर काम गरेर खान सजिलो छैन । हुन त मेरो धेरै ठुलो नोक्सान भा’छैन तर एक पटक काँटा चाहिँ लगेको छ । त्यो लिन गइन ।

हजुरले गफ गर्ने भनिहाल्नुभो, यसकारण कुरा सुन्नु है त । काठमाडौंको बास कोठाभाडा सात हजार तिर्नुपर्छ । खानु पर्यो । लाउनु पर्यो । अहिले एउटा सानो बच्चा छ । भोलि ठुलो हुँदै जाँदा त्यसलाई पढाउन कत्रो जिम्मेवारी छ । थाहै छ, नेपालको शिक्षा कति महंगो भा’छ भनेर । अझ, कुनै दिन बिरामी भइयो भने उपचारमा लाग्ने खर्च कसरी जुटाउनु ? युवा शक्तिलाई सरकारले हेर्छ, भन्दाभन्दै कति वर्ष बित्यो । जागिर खोजेर कुनै अफिसमा काम गरौँ भने राम्रो तलब पाइदैन । स्वतन्त्र व्यवसायमा यति तनाव छ, बिरालो चालमा कतिखेर नगरपालीका आउछ । डराइ डराइ सामान बेच्नु पर्छ । ढुक्क तरिकाले काम गर्ने वातावरण नहुँदा अब विदेशीने दाउमा पो छुँ ।

६ महिनाको कोर्स कोरियन भाषा सिक्दै छु । २५ हजार तिरेर । तीन महिना भयो पढ्न थालेको । त्यस्तो गाह्रो छैन । संसारमा भाषा नै त रहेछ, सबैभन्दा ठुलो हतियार । नजानु विदेश जाने भइसकेपछि अलि राम्रै योजना गरौँ भन्ने हो तर थाहा छैन, कहिले सम्ममा सफल भइन्छ ।” बिना छलकपट कति मिठो भाषा बोले भाइले । सोधेको कुरा भन्न लजाएनन् । धकाएनन् अनि सर्माएनन् पनि । उनलाई सुन्दा लाग्यो, से–फोक्सुण्डो झरना हुन् । उनको आफ्नै लय, गति र ताल छ ।

यो बेला सरकारले के गर्दिए हुन्थ्यो जस्तो लाग्छ भनेर मैले उधिन्न खोज्दा “म एउटाको कुरा के गरौँ दिदी ? कसरी भनौँ ? हजुरले पनि देख्नु भाकै छ, विदेश जानेको ताँती । उर्लेको खहरे झैँ यो लहर आफैँ बढेको होइन । आफ्नै देशमा अवसर हुँदो हो त ‘मदन’ बन्न कसलाई रहर हुन्थ्यो ? हजुर आफैँ मिडियाको मान्छे । काम नगरी पाइदैन माम तर गरिखाने ठाउँ नै नभए पछि कसरी बाँच्नु ? ढुङ्गा माटो खान मिल्दैन । श्रमका कुरालाई एकैछिन थाति राखेर अब सुन्नु है, दशैँमा घर जानुपर्छ । त्यो बेला कम सास्ती खेप्नु पर्दैन, गाडीको टिकट नपाएर ।
होस्, नजाउँ खर्चै जोगिन्छ भनेर बसौँ त घरमा आमा हुनुहुन्छ, वर्ष दिनमा आउने पर्वमा जननीलाई त भेट्नु पर्यो नि । त्यता सात जनाको जहाँन छ । बेला मौका खर्च पनि पठाउनु पर्छ । जग्गाको नाउँमा पाँच कट्ठा माटो, त्यो उब्जा हुने छन्दको छैन । म यसै सानैदेखि घर बाहिर बाहिरै भएको हो र ?”

विभिन्न कारण देशको राजनीतिको अवस्था अस्थिर त छ नै । विश्व अर्थतन्त्रमा देखिएको मन्दीको प्रभावबाट नेपाल पनि अछुतो रहन सकेको छैन । श्रमजीविप्रति सरकारको कुनै योजना न नजर केही छैन । भित्रि साठगाँठको सीमा गत साउन २ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भएर ट्याक्सीमा राखेर सिनामङ्गल पु¥याइसकेको झन्डै एक क्विन्टल सुन विशेष सूचनाका आधारमा पक्राउ भयो । यसको तथ्य अहिलेसम्म पनि बाहिरिएको छैन ।

वैदेशिक रोजगारीबाट फर्किएकालाई लाइनमा राखेर पर्स, वेल्ट, जुत्ता र लगाएका कपडाधरि खोलाएर नाङ्गोझार चेक जाँच गर्ने, एउटा टाँक बज्यो भने पनि खाउला झैँ गरी मनपरी बोलेर थर्काउने कर्मचारीहरुले त्यत्रो परिणामको सुन छिरेको किन देखेनन् ? अर्को, श्रमिकले अहोरात्र मिहिनेत गरेर आफू घर फर्किदा दुईटा मोबाइल बोकेर आएको देख्न नसक्ने पनि उही भन्सार कार्यालय होइन ?

यसबेला मलाई फ्रान्सेली नागरिक कुख्यात अपराधी चाल्र्स शोभराजको भाषा सापटी लिन मन लाग्यो । “नेपालको विमानस्थलबाट हात्ती छिराउन सकिन्छ ।” लाग्छ, उनले सार्वजनिक रुपमा बोलेको कुरा घाम जस्तै छर्लङ्ग भयो । यतिखेर मिडियातिर व्यापक रुपमा एउटा हल्ला छ, “विमानस्थलबाट फर्काइँदै श्रमिक” श्रम स्वीकृति लिएकालाई अध्यागमनले किन रोक्छ ? नेपाल भनेको पूँजीपति व्यवसायी मात्रैको देश हो ? उसो भए नेत्रप्रसादहरु को हुन् ? यहाँ उनीहरुको कुनै अस्तित्व छैन ? यदि छ भने उनीहरुका लागि सरकारले किन केही सोच्दैन ? नेत्रप्रसादलाई उनको उज्जवल भविष्यको लागि असिम शुभकामना !

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *