चीनले कति अनुुमान गरेको थियो, १० भदौ २०८३ साल बिहान यो रुपको बाढी आउला भनेर । बाढीको प्रकृति हेर्दा महाप्रलय हो ! क्षतिको अनुुमान गणितले नधान्ने जनधनको विनास भयो ! त्यो भेलले मानिस र मानिसले निमार्ण गरेका भौतिक संरचनालाई लछारपछार हेरिनसक्नु, सुुनिनसक्नुु, देखिनसक्नु र सहिनसक्नु पलभरमै कहाँ पु¥यायो, कहाँ ! ‘भोटेकोशीको बाढीले ७ मिनेटमै २२ किलोमिटर दूरी पार गरेको थियो’ चिनियाँ अध्ययनले सार्वजनिक गर्यो । झन्डै १८ सय मिटरको उचाइमा रहेको सीमा क्षेत्रसम्म आइपुग्दासम्म बाढीको रफ्तार प्रति सेकेण्ड ५० मिटर हाराहारीमा रहेको चिनियाँ अध्ययनकर्ताहरुले बताएका छन् ।
उद्गमस्थलबाट मानवबस्तीसम्म आइपुग्दा सेतो हिउँ कालो प्रलयमा बदलियो । पहाड थरथराउने गरी गडगडाउँदै त्यो हिउँ प्रलय बाढी बनेर नेपाल प्रवेश गरेको थियो । नेपाल–चीनका आमनागरिक तथा भूूउपग्रह र ड्रोनले खिचेका तस्बिरमा सेतो हिउँको कालो प्रलय प्रस्ट देखिएको थियो । विपत्बाट रसुुवासहित नुुवाकोट, धादिङ, गोरखा, तनहु, चितवन र नवलपरासीपूर्वसम्म प्रभावित भएको छ । हुन त रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको ठुलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्माहत बनाएको छ ।
यतिबेला मेरो बहिनी ज्वाई (भन्सारमा कार्यरत प्रेमप्रसाद सेडाई) परिवारसँग सम्पर्क विहीनको पीडाले म स्वयम् थङथिलो भएकी छु । हाम्रो परिवारको दियो, ज्वाई घर फर्कनुहुन्छ भन्ने आस छँदैछ, मरेको छैन । आफूूले गर्ने कामना एउटा पाटो भयो । भगवान्को लीला दैवले के गर्छन् । त्रासपूूर्ण यो घडीमा मैले नागरिकको जनजीवन खोतल्न कसरी सकौली ? प्रश्नमाथि प्रश्न, प्रश्नको चाङ ठडियो । भूमरी मन टहलिदै थिएँ, निरादेवी सुवेदीसँग भेट भयो । उहाँ पूर्णरुपमा कृषक हुनुहुन्छ । उहाँको बाल्यकालदेखि वर्तमान परिवेशलाई मैले खोतल्ने प्रयास गरेँ ।

“मेरो जन्मस्थान भोजपुुर जिल्ला हो । बिहे पनि उतै (भोजपुुर टक्सार) मा भयो तर हाल मोरङको बाहुुनी, काफ्ले टोलमा बसोबास छ । म कृषककी छोरी हुुँ । मेरा बुुवाआमा कृषक हुुनुुहुुन्थ्यो । हाम्रो पालामा छोरीलाई पढाउने चलन थिएन । यस कारण मैले पढ्न पाइनँ । त्यसो हुुँदा आफूूले सकेको काम सघाउँदै सानै उमेरदेखि खेतीपातीमा ध्यान दिएँ । हाम्रो गाउँ (माइत)मा खेतीपाती गर्न पानीको स्रोत थियो, छ । मलिलो माटो हुनाले दुुःख गरेर खटे अनुसार अनाज उत्पादन हुन्थ्यो । आफ्नो परिवार धान्नको लागि अन्न किन्नु पर्दैन थियो । त्यसो त त्यो बेला गाउँमा ऐँचोपैँचो गर्ने चलन पनि थियो ।”
किसानले खेती नगरे कसरी पेट भरिन्छ ? बढ्न, पढ्न, खेल्न, जागिर खान अर्थात् मानिस बाँच्नको लागि कृषककै मिहिनेतले तागत दिन्छ । नेपालमा उत्पादन भएको धान विदेश निर्यात हुन्थ्यो । जुन यथार्थ इतिहासको पानामा मात्र सिमित भयो । सानो उमेरमा कुन कुन कामधन्दा गरेर योग्य कृषक हुनु भयो ? मैले निरालाई प्रश्न गरेँ ।
“खेप गरी गरी पँधेराको पानी बोक्नु, वस्तुुलाई घाँस काट्नु, गोठालो जानु, भकारो सोहर्नुु, पतकरको जोहो गर्नु, गाईभैँसी दुहुनु, वन धाएर दाउरा खोज्नुुलगायत काम गर्थेँ । पछि, मेलापर्ममा हिँडेँ । खेत रोप्न जानेँ, धान गोड्न सिकेँ, सिजनमा कोदो रोपेँ । डल्ला फुुटाएँ, आली काटेँ, खेतको छेउकुुना खनेँ, मंसिरमा धान काटेँ, बिटा बोकेँ । मकै गोडेँ, धान गोडेँ । खलाको धानका बोरा भकारीमा ओसारेँ । दुहुना गाई भैँसीलाई घाँसको जोहो, खेतालालाई खाजा खाना जेपर्छ नाई भन्न पाइदैन थियो । मेरा दिदीहरुको खटाइ देखेर मैले पनि कामको मेसो सिक्दै अघि बढेँ ।”
खेतीपातीको काम चर्को हुुन्छ । घामपानी भन्न पाइदैन । हिलोधुुलो सबै खप्नुुपर्छ । अहिले पनि नेपालको कृषिबाली परम्परागत प्रणालीबाट अघि बढेको छ । यसमा कत्तिको सहमत हुनुहुन्छ ? मधेसमा ट्याक्टरले जोत्छ भन्छन् नि ? मैले आफ्नो जिज्ञासा पेस गरेँ । “नेपालको कृषि परम्पराबाट माथि उठ्न सकेको छैन । यो कुुरो सत्य हो । मधेसमा मात्र हैन, पहाडमा पनि खेतबारी ट्याक्टरले जोत्न थालिसकेको छ तर हाम्रो लागि त्यो महँगो हुुन्छ । हो, ट्याक्टर जोताउन पहिला घण्टाको दुई हजार लाग्थ्यो भने अहिले तीन हजार पुर्याएको छ ।”
“हामी चार जना खट्छौँ । जमिन पनि चार बिगा नै छ । मेरो श्रीमान् बद्रीलालले बिहे अघिदेखि नै खेती गर्नुभएको हो । हाम्रा जेठा छोराबुहारी युवराज र रमा हुुन् भने कान्छो छोरा दिपेश सुवेदी । एकाघरमा मिलेर कृषि गरेका छौँ । जोत्न गोरु छन् । सिजन अनुुसार तोरी, मकै पनि फलाउछौँ । दही मही खान गाई–भैँसी पालेका छौँ । बाख्रापाठा छन् । हाँस र लोकल कुखुरा पनि छन् । किसानका घरमा दोपाया चौपाया गहना हुन् । यी वस्तु नहुनु विरलै होला किनभने माटोको उर्जा भनेको मल हो ।”

सिचाई सुुविधा हुुनाले आकाशे भर नपरी रोपाइ हुुने रहेछ तर पूर्ण रुपमा खेतीजन्य भूूमि हुुनाले पानी लगाउन राति खट्नुु पर्दो रहेछ । एक बिघा निराको आफ्नै जमिन, अरु तीन बिघा चाहिँ फरक फरक मानिसको हुुनाले एक बिगा बराबर ३२ मन ठेक्का तिर्नुपर्ने सर्त रहेछ । वर्तमान समयमा जमिन धेरै टुुक्रिएको छ, जसरी संयुक्त परिवार दुुर्लभ भएको छ ।
“खेतीको काम चर्को हुुन्छ, खनजोतमा बल लगाउनुु पर्छ । मरीमरी दुुःखले लगाएको धान काट्ने बेलामा असिना पर्छ । धानमा हरियो नफिर्दै रोग लाग्छ । प्रथमतः रोपाइको समयमा सहज किसिमले मल पाइदैन । अर्को धानको बिउदेखि नै दबाइ गर्नुुपर्छ । खेती भन्न सजिलो तर खट्न चर्को छ । पहाडमा जसरी बाँदर आउँदैनन् तर धान पसाको बेला हावा चल्यो भने फूूलजति उडाउछ र बोट लडाइ दिन्छ । सुुतेको बोटमा बाला झुुल्दैन, किसानको लागि यो ठुुलो जोखिम हो । नेपाल सरकारले कृषकका कुरा सुन्दैन, कहिल्यै सुन्दैन । यो देशमा हाम्रो समस्या बुझ्ने सरकार कहिले आउछ ? थाहा छैन ।” मैले निरालाई ध्यानपूर्वक सुनेँ ।
धान पाकेपछि तोरी र आलुु लगाउने समय हुुन्छ । सुुवेदी परिवारले आलु किन्न हटिया धाउनुु पर्दैन । त्यसो त तोरी खरिद्न घरैमा मान्छे आउछन् भन्ने विवरण सुुनेर मेरो मन हरहर भयो । हामीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुुपर्छ । यसो भयो भने युुवाको काँधमा जागर भरिन्छ र कृषि कर्मप्रति लगाव बढ्छ, जसरी निराका जेठा छोराबुुहारीले आमाबुुवाको इलम धान्ने प्रयत्न गरेका छन् । उहाँका कान्छा छोरा हाइड्रो पावरमा काम गर्छन् । बिहे गरेर गएकी छोरी आफ्नै घरमा छिन् । परिवारबारे यति जानकारी हुदाहुदै बच्चाहरु विदेशीन रहर गरे, गरेनन् ? मैले सोधेँ ।
“आजका मितिसम्म त्यो मनसाय गरेनन् । भविष्यबारे समयलाई बाहेक कसैलाई थाहा हुुँदैन रहेछ । यहाँ ‘गर्नेलाई जहाँतही नगर्नेलाई काही न काही’ भन्ने उखानै छ नि । हामी मस्त काम गर्छौँ । किसानको घरमा बेच्ने अन्न धान हुुन्छ । खसीबोका हुुन्छन् । अण्डा र कुखुराको मासु किन्नु पर्दैन । बर्ड्फ्लुु नआए हुुने आउछ, भकाभक कुखुरा मर्छन्, पहिला गाउँमा जसरी मर्थे । यहाँ स्याल आउछ । न्याउरी मुुसोले चल्ला खान्छ । चल्ला मासिएपछि हुुर्काउन अलि सकस पर्छ । जेहोस्, कृषकलाई खान दुुःख हुदैन । सागसब्जी ताजा आफ्नै उत्पादन खाइन्छ । हामी दशैंको लागि खसी पाल्छौँ, जसरी गाउँमा पालिन्थ्यो । दिनको पाँच, छ किलो दुूध बेच्छौँ, आफूूलाई खान राखेर । यसले घरखर्च चलाउन समस्या पर्दैन– सहज हुन्छ ।”
ओत लाग्न आफ्नै घर छ । खुुला आँगनमा केटाकेटी नातिनातिना खेल्छन् । बारीमा अम्बक पाक्ने समय भयो । मेवा र केरा सिजनको फल मिठो हुुन्छ, जति खाए पनि अमन नहुुने ! अचानक र हतार गरेर पाहुुना आए बोइलरको मासुु किन्नुु पर्छ नत्र लोकल कुुखुुरा खान खाँचो हुुँदैन । धान कति र कसरी बेच्नुु हुुन्छ ? तोरीको भाउ वर्षभरि एउटै कि फरक पर्छ ? निरालाई पुुनः प्रश्न गरेँ ।
“ठेक्का कटाएर दुुई सय मन धान बेचिन्छ । हामी बजारको चामल खादैनौँ, आफ्नै कमाइले पुुग्छ । खानकै लागि काम गरेका छौँ । अहोरात्र खटेका छौँ । तोरी पनि राम्रै गरी बिक्छ । मनको हिसाब ६ हजार ७ हजार सिजन अनुुसारको मूुल्य हुुन्छ तर नगद हात पर्न समय कुुर्नुुपर्छ, त्यसको लागि धैर्यता चाहिन्छ । जागिर खाएको जस्तो महिना मर्नासाथ कृषकका हातमा खेतीबाट आम्दानी हुुँदैन बरु खेती गर्ने मौसममा पैसा सापट लिनुु पर्छ ।”
परिवारको प्रेम, साथीभाइको सद्भाव, समाजको विश्वास र एकअर्काप्रतिको सम्मानले नै जीवनलाई समृद्ध तुुल्याउँछ । भनिन्छ, पैसा सबैथोक होइन तर पैसा नभइ केही हुुँदैन । खाना, नाना र छानासँगै प्रविधि पनि जोडिएको छ । जहाँ प्रविधि पुुगेको छैन, मान्छेको जीवन के जीवन, अधुुरो झैँ लाग्छ । पैसा तिरेर पनि नपाइने मान्छेको स्वास्थ्य कतिबेला के हुुन्छ थाहा पत्तो छैन । जतिसक्दो खुुसी हुनुपर्छ । त्यसको लागि भलो र असल सोच्नु पर्छ । प्रश्न उठ्छ, त्यो कहाँ पाइन्छ ? स्वयम्को मनभित्र !
“हाम्रो घरमा राजनीति गफ हुदैन । त्यो राजनीतिले खान लगाउन दिदैन । हामीले समयमै यो कुुरो बुुझिएन भने धेरै दुुःख पाइन्छ । अस्ति नेपाली बजारमा मल नपाएर भारत गएका दुई दाजुुभाइ उतै थुनामा परे । यहाँ किसानको बाध्यता कसले बुझ्लान् र खै ? मान्छेले आफू अनुसारको व्यवहार गर्नुपर्छ । सपना देख्दा पनि पुग्ने मात्र देखियो भने जीवन सहज हुन्छ । हामी ऋणसँग नजिक छैनौँ ।”
चाडपर्वको मौसम आयो । माइत कत्तिको जानु हुन्छ ? दिदीबहिनी दाजुभाइ भेटघाट हुन्छ कि हुुँदैन ? “धमाधम पर्वहरु आए, आउँदैछन् । समय समयमा म माइत जान्छु, दाजुभाइले बोलाउछन् ।साइली दिदी हुनुहुन्न अरु सबैसँग भेट हुुन्छ । तीजको रमाइलोपछि दशैं नजिक भइहाल्छ । हामी कामको समयमा काम गर्छौँ र रमाइलो गर्नुुपर्ने बेला कम्मर मर्काएर नाच्नगाउन पनि पछि पर्दैनौँ ।” किसानका समस्यालाई चिर्दै अघि बढेको निरादेवीको जीवन सुनेर मन हल्का भयो । अन्न हाम्रो प्राण हो । बहुत यत्न साथ ग्रहण गरौँ । नफालौँ बरु थपेर खाऊ !








