घरमा गई सुन सफा गरिदिने नाउँमा यसरी हुन्छ ठगी (भिडियोसहित)

news-details

तपाईको गहना मैलोधैलो भएको छ ? हामी सस्तो मुल्यमा सफा गरिदिन्छौ, भन्दै तपाईको घर आँगन चहार्ने मानिसहरु त पक्कै पनि देख्नुभएकै होला । तर अबदेखि सावधान रहनुहोस् । टलक्क टल्कने सफा गहना लगाउने चाहनाले यस्ता व्यक्तिलाई आफ्ना बहुमुल्य गहना नसुम्पनुहोस् किनकि तपाईं तिनीहरुबाटै लुटिन सक्नुहुन्छ ।

अहिले सुनचाँदीका गहना सफा गरिदिने बहानामा गाउँ–गाउँ चहार्ने समूहले विभिन्न एसिड प्रयोग गरी सुन लुटिरहेको पाइएको छ । पुराना गहना पनि एकैछिनमा टल्काइदिने भन्दै एसिड प्रयोग गर्ने लुटेराले प्रत्येक गहनाबाट थोरै–थोरै सुन निकाल्ने गरेका छन् । जबकी उनीहरुले थोरै निकालेको सुनको मुल्य भने धेरै हुन जान्छ ।

विशेषगरि तीज, दसैंतिहार तथा बिहेको मौसममा महिलाले सुनका गहना धेरै लगाउँछन् । त्यही बुझेर सफा गरिदिने वहानामा उनीहरूको गहना हात पारी सजिलै लुटिरहेका हुन्छन् । गाउँका सोझासाझा मानिसहरुलाई सुनका गहना सफा गरिदिने भन्दै उनीहरुका सुन घटाईदिने, नक्कली सुन राखेर सक्कली सुन चोरी गर्ने जस्ता घटनाहरु दिनानुदिन बढिरहेको छ ।

विशेषगरि यस्ता कार्यहरुमा भारतीय नागरिकहरुको संलग्नता रहेको पाईएको छ । उनीहरुले बजारक्षेत्रका मानिसहरुलाई भन्दापनि गाउँका सिधासादा मानिसहरुलाई टार्गेट गरेर यस्ता कार्यहरु गरिरहेका हुन्छन् ।

यस्तै समूहबाट संखुवासभा जिल्लाका मानिसहरु पनि धेरै ठगिएको संखुवासभा सुनचाँदी व्यवसायी संघका अध्यक्ष जनक पौडेली बताउँछन् ।

संखुवासभाकी शान्ता राईले एक साताअघि गाउँमा सुन सफा गर्ने भन्दै आएका एकजना पुरुषलाई एक तोलाको पुरानो मंगलसूत्र सफा गर्न दिइन् । एकैछिनमा पुरानो गहना टिलिक्कै भयो ।

तीजका लागि गहना टल्काएकी उनले उक्त सुनको तौल घटेको शंका लागेर खाँदवारीस्थित एक ज्वेलरीमा पुगिन्, तौल जोख्दा मंगलसूत्रमा ५ लाल कम रहेको पाइयो । त्यसपछि मात्र उनलाई थाहा भयो, सुन सफा गर्नेले लुटेछ भनेर ।

’पहिले पूरा एक तोला भएको मंगलसूत्र जोख्दा ६ लाल कम्ती देखियो,’ उनले भनिन् । शान्ताका अनुसार गाउँका अरू छिमेकीले भने सुन जोखेका छैनन् । ’मेरो यस्तो गर्नेले अरूको पनि झिक्यो होला,’ उनले भनिन् ।

त्यस्तै भोजपुरकी हिरादेवी अधिकारी पनि वर्षदिनअघि यस्तै समूहबाट ठगिएकी रहेछिन् । हिन्दी मात्र बोल्ने एक महिला र पुरुषले सफाइकै बहानामा सुन झिकेको उनले ज्वेलरीमा लगेर जोखेपछि मात्रै थाहा पाएकी थिइन् ।

यी केही प्रतिनिधि घटना हुन् । गाउँका मात्र होइन, सहरकै पनि धेरै महिलाले थाहै नपाई आफ्नो सम्पत्ति लुटाइरहेका छन् । यस्तो समस्या विशेषगरि पहाडी जिल्लाका गाउँ–गाउँमा देखिएको प्रहरी भनाइ छ ।

संखुवासभा सुनचाँदी व्यवसायी संघका अध्यक्ष पौडेलीका अनुसार गहना सफा गराउने अधिकांशको सुनको तौल घटेकै हुन्छ । थोरै–थोरै सुन धेरैको गहनाबाट निकालेर लुटेरा समूहले चोरी गर्ने गरेको र त्यसले गर्दा ग्राहकहरुले व्यवसायीलाई हेर्ने दृष्टिकोण समेत नकारात्मक रहने हुनाले सबैले आफ्नो गहना सफा गर्दा अनिवार्य ज्वेलरी उद्योगमा गई सफा गर्न समेत अनुरोध गर्छन् ।

’जहाँ पायो, त्यहाँ सुन सफाइ गर्न हुँदैन । डुलुवाहरूसँग सफा गराउने अनि कम्ती भएपछि सिकायत लिएर ज्वेलर्स सञ्चालककहाँ आएका घटना धेरै छन्,’ उनले भने ।

ज्वेलर्समा सल्फरिक एसिडबाट सुनचाँदीका गरगहना सफाइ गरिन्छ । तर, फिरन्तेले अन्य केमिकल प्रयोग गर्ने गरेका छन् जसले सुनका गहना छिद्र–छिद्र बनाउने गरेको छ ।

फिरन्तेले त्यस्तै एसिड प्रयोग गरी सुन धुने गर्छन् जसले सुनका कण निकाल्ने भएकाले पखाल्न प्रयोग गरिएको पानी उनीहरू आफैं लिएर जान्छन् । त्यहीँबाट उनीहरुले सुन निकाल्ने गरेको अध्यक्ष पौडेलीले बताए ।

संखुवासभा जिल्लाका विभिन्न ठाउँमा यस्ता घटना सुनिने भए पनि थोरैले मात्र प्रहरीसमक्ष उजुरी गर्ने गरेको पाईएको छ । यस्ता घटनाहरु संखुवासभामा मात्रै नभएर देशैभर घटिरहेका छन् । आगामी दिनहरुमा यस्ता घटनाबाट जोगिन संखुवासभा सुनचाँदी व्यवसायी संघको सबैलाई आग्रह छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *