एसीसी प्रिमियर कप : हङकङसँग पनि हार्‍यो नेपाल, इमर्जिङ टिम्स एसिया कप खेल्नबाट पनि बञ्चित

news-details

एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो ।

योसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी-२० एसिया कप पनि गुमाएको छ । हङकङसँगै फाइनलमा पुगेका युएई र ओमन उक्त प्रतियोगिताको लागि छनोट भएका छन् ।

नेपालले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य हङकङले अन्तिम ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । हङकङका लागि अन्सुमन राथले नटआउट रहँदै सर्वाधिक ६५ रन बनाए ।

त्यस्तै, बाबर हायातले २६ तथा एजाज खानले १२ रन बनाए । नेपालका लागि सोमपालका कामीले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । नेपालका लागि फेरि एक पटक दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए ।

नेपालले खेलमा खराब सुरुवात गरेको थियो । कुशल भुर्तेल फेरि एक पटक शून्य रनमा आउट भए । तेस्रो ओभरमा सोमपाल कामी १६ रन बनाएर आउट भए । लगत्तै ५ रन बनाएर आशिफ शेख पनि पभेलियन फर्किए ।

त्यसपछि कप्तान रोहित पौडेल र सन्दीप जोराले नेपालको इनिङ्स सम्हालने प्रयास गरेका थिए । जोराले २३ बलमा २२ रन बनाए भने कप्तान पौडेलले १९ बलमा २१ रन बनाए ।

कुशल मल्ल १३ रन बनाएर आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङका आयुश शुक्लाले ३ तथा अतिक इक्बाल, यासिम मुर्तजा र इशान खानले १–१ विकेट लिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *