चासो लिन थाल्यो मलेसियाले, नेपाली कामदार नरोक्न आग्रह

news-details

मलेसियाली मानव संशाधन मन्त्री एम. कुलासेगरनले नेपाललाई कामदार रोक्ने आफ्नो निर्णयमाथि पुर्नबिचार गर्न आग्रह गर्दै नेपाली पक्षको समस्याबारे आफु जानकार रहेको र जतिसक्दो छिटो यसको समाधानमा मलेसिया सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

मन्त्री कुलासेगरनले कामदार आपूर्ति गर्ने क्रममा नेपाली कामदारहरुले चर्को आर्थिक व्ययभार व्योहोर्नु परेकोबारे आफूलाई जानकारी भएको भन्दै पूर्ववत : सरकारले गरेका यी निर्णयहरुका विषयमा आफुहरुले जतिसक्दो चाँडो समाधान खोज्ने बताए । उनले यस विषयलाई अन्तरमन्त्रालय छलफल गरी जतिसक्दो छिटो मन्त्रिपरिषदबाट निर्णय गर्न तत्पर रहेको बताएका छन् ।

उनले यस विषयमा सोमबार नेपाली दूतावासका अधिकारीसँग छलफल गर्ने पनि बताएका छन् । केहि साता अघि मन्त्री कुलासेगरनले नेपाली दूतावास क्वालालाम्पुरको ‘कट्सी’ भ्रमण पनि गरेका थिए ।

यता नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले नेपाली कामदारमाथि लगाइदै आएको अतिरिक्त शुल्क हटाउने विषयमा भएका वार्तामा मलेसियाली अधिकारीहरु सकारात्मक रहेको जानकारी दिदै मलेसिया सरकारसँग थप छलफल गर्ने बताए ।

मलेसियाली रोजगारदाताहरुले नेपाली कामदार रोकिदा आफुहरुले ठुलो समस्या भोग्नुपरेको गुनासो मलेसियाली सरकारलाई गर्दै आएका छन । विशेषगरी नेपालबाट मात्र सुरक्षागार्ड आपुर्ति गर्दै आएको मलेसियाका सुरक्षागार्ड आपुर्ति गर्ने कम्पनीहरुले नेपाली कामदार रोकिदा चरम समस्या भोग्नुपरेको बताएका छन् ।

मलेसियामा सुरक्षागार्ड आपुर्ति गर्ने कम्पनीहरुको छाता संगठन ‘पीपीकेकेएम’ले नेपाल सरकारले सुरक्षागार्ड पठाउन रोकेकाले सुरक्षागार्डको चरम अभाव भएको र यसले आफुहरु समस्यामा परेको बताएको छ । जतिसक्दो चाडो नेपाली सुरक्षागार्ड ल्याउने वातावरणका लागि पीपीकेकेएमले मलेसिया सरकारको गृहमन्त्रालय र अन्य सरोकारित मन्त्रालयमा ध्यानाकर्षण गराइरहेको पीपीकेकेएमका अध्यक्ष दातोश्री हाजी मुस्तापा बिनले बताए ।

उनले नेपाली मात्र सुरक्षागार्ड लिइरहेको अवस्थामा नेपाल सरकारको पछिल्लो निर्णयले ५ हजारभन्दा बढी सुरक्षागार्डको कोटा रिक्त रहेको र यसरी नेपालले एकतर्फी रोक्ने हो भने अन्य देशबाट ल्याउन बाध्य हुने बताएका छन् । ‘नेपाली ल्याउन धेरै लगानी भइसकेको छ, हामीले फ्री भिषा, फ्री टिकट दिएका छौ, अव हामीलाई समस्यामा पार्न हुँदैन, यसलाई नेपाल सरकारले बुझनुप¥यो ।’

उनीहरुले रोजगारदातासित गरेका करार सम्झौता समेत रद्द हुन थालेको भन्दै आवश्यक नीति ल्याएर वा कुनै वैकल्पिक व्यवस्था गरेर भएपनि नेपालबाट कामदार लिने प्रक्रिया सहज बनाउन सरकारलाई आग्रह गर्दै आएका छन् ।

मलेसिया जाने कामदारहरुसँग आर्थिक भार थोपर्ने गरी अतिरिक्त शुल्क उठाइएको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न संस्थाहरु खारेज गरी गत जेठ पहिलो साताबाट मलेसियाको श्रम स्वीकृति रोकेपछि नेपाली कामदार मलेसिया जान पाएका छैनन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *