काठमाडौं । मलेसिया रोजगारीमा सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र पहुँच दिनेगरी २५ वटा संस्थाको सूची सार्वजनिक भएको विरोधमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले आज ‘खबरदारी भेला तथा हस्ताक्षर क्याम्पेनिङ’ आयोजना गर्दैछ।

‘एक पटक सबै व्यवसायी, एक ठाउँमा मिलौं, व्यवसाय बचाऔं, व्यवसायीहरू बचाऔं र नैसर्गिक अधिकार स्थापित गरौं’ भन्ने नारासहित एसोसिएसनले मलेसिया रोजगारीमा देखिएको भनिएको सिन्डिकेटविरुद्ध खबरदारी गर्न कार्यक्रम आयोजना गरेको हो।

काठमाडौंको अनुपम फुडल्याण्ड, बत्तीसपुतलीमा हुने कार्यक्रममा वैदेशिक रोजगार व्यवसायीहरूको सहभागिता रहनेछ। कार्यक्रममा सीमित संस्थालाई मात्र मलेसिया रोजगारीमा पहुँच दिने व्यवस्थाको विरोध गर्दै समान अवसर, व्यवसायीको अधिकार संरक्षण र विद्यमान प्रणालीलाई निरन्तरता दिनुपर्ने मागसहित हस्ताक्षर संकलन गरिनेछ।

मलेसियाको FWCMS पोर्टलमा ‘Registered Recruitment Agencies’ अन्तर्गत २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थाको सूची सार्वजनिक भएपछि व्यवसायीहरू त्यसको विरोधमा उत्रिएका हुन्। एसोसिएसनले ‘NO SYNDICATE’ अभियानमार्फत सबै व्यवसायीलाई समान अवसर सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायमाथि दबाब बढाउने जनाएको छ।

यस विषयमा श्रम मन्त्रालयले समेत चासो दिँदै परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई विद्यमान प्रणालीलाई नै निरन्तरता दिन आग्रह गर्दै पत्राचार गरिएको जनाएको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पनि सीमित संस्थालाई मात्र मलेसिया रोजगारीको पहुँच दिने कुनै पनि व्यवस्था स्वीकार्य नहुने स्पष्ट पार्दै त्यस्तो अवस्था कायम रहेमा मलेसिया रोजगारीमा श्रमिक पठाउन असहमत हुने चेतावनी दिएको छ।

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको आजको खबरदारी भेला तथा हस्ताक्षर क्याम्पेनिङलाई मलेसिया रोजगारीमा समान अवसर र व्यवसायीको नैसर्गिक अधिकारका लागि दबाब सिर्जना गर्ने महत्वपूर्ण अभियानका रूपमा हेरिएको छ।