‘हामीलाई बदनाम गर्ने प्रयास भयो’ : केही सञ्चारमाध्यमको समाचारप्रति आइएमआरका अध्यक्ष राईको आपत्ति
- भदौ २९, २०८३
- 0
केही सञ्चारमाध्यममा आफ्नो संस्थाबारे प्रकाशित समाचारप्रति इन्टरनेशनल मेनपावर रिक्रुटमेण्ट प्रा.लि. (आइएमआर) ले आपत्ति जनाउँदै आरोप पुष्टि गर्ने प्रमाण सार्वजनिक गर्न चुनौती दिएको छ।
आइएमआरका अध्यक्ष वाइबी राईले प्रेस विज्ञप्तिमार्फत संस्थालाई जोडेर प्रकाशित सामग्री तथ्यहीन, अपुष्ट र एकतर्फी भएको दाबी गर्दै समाचारको आधार र प्रमाण सार्वजनिक गर्न आग्रह गरेका हुन्।
केही सञ्चारमाध्यममा अन्तर्राष्ट्रिय संस्थाका कर्मचारीलाई आइएमआर सँग जोडेर ‘मार्केटिङ’ गरेको तथा प्रमाणपत्र दिलाउने चलखेललगायतका आरोपहरू प्रकाशित भएको भन्दै राईले ती आरोप प्रमाणित गर्ने आधिकारिक कागजात वा प्रमाणित अभिलेख भए सार्वजनिक गर्न चुनौती दिएका छन्।
“हामीमाथि लगाइएका आरोप पुष्टि गर्ने प्रमाण भए सार्वजनिक गरियोस्। प्रमाण छैन भने तथ्यहीन समाचार तत्काल सच्याइयोस्,” राईले भनेका छन्।
राईले आइएमआर आफ्नै व्यावसायिक क्षमता, अनुभव र कार्यसम्पादनका आधारमा सञ्चालन हुँदै आएको दाबी गर्दै मलेसियालगायत विभिन्न मुलुकमा ठूलो संख्यामा नेपाली श्रमिकलाई रोजगारीका लागि पठाउँदै आएको बताएका छन्।
उनका अनुसार आइएमआर ले नैतिक भर्ती प्रक्रियालाई प्राथमिकता दिँदै आएको छ भने नेपालमा आइरिस सर्टिफिकेट प्राप्त गर्ने पहिलो मेनपावर कम्पनीसमेत रहेको दाबी गरेको छ।
संस्थामाथि लगाइएका आरोपप्रति आपत्ति जनाउँदै राईले अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिले आइएमआर को ‘मार्केटिङ’ गरेको भन्ने दाबी प्रमाणित गर्नसमेत चुनौती दिएका छन्।
“हाम्रो सफलतालाई कुनै बाह्य व्यक्ति वा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिको कथित ‘मार्केटिङ’ वा प्रभावसँग जोड्नु तथ्यहीन हो,” उनले भनेका छन्।
समाचार प्रकाशनअघि आफ्नो संस्थाको आधिकारिक धारणा नलिइएको भन्दै आइएमआर ले सम्बन्धित सञ्चारमाध्यमको कार्यशैलीप्रति समेत प्रश्न उठाएको छ। राईले आफूहरूले पटक–पटक सम्पर्क गरी आफ्नो धारणा राख्ने अवसर माग्दा समेत प्रतिक्रिया नलिइएको दाबी गरेका छन्।
आइएमआर ले प्रेस स्वतन्त्रताको सम्मान गर्ने जनाउँदै प्रमाणबिनाको आरोप तथा एकतर्फी सामग्री निरन्तर प्रकाशित गर्नु निष्पक्ष पत्रकारिताको मर्मविपरीत हुने जनाएको छ।
संस्थाले प्रकाशित आरोपको प्रमाण सार्वजनिक गर्न, तथ्यहीन सामग्री सच्याउन तथा आफ्नो आधिकारिक खण्डन समान महत्वका साथ प्रकाशित गर्न आग्रह गरेको छ।
माग सम्बोधन नभए संस्थाको प्रतिष्ठा र अधिकारको संरक्षणका लागि सम्बन्धित कानुनी तथा नियामक निकायसमक्ष आवश्यक प्रक्रिया अघि बढाउने चेतावनीसमेत आइएमआर ले दिएको छ।
“आइएमआर तथ्य, प्रमाण र पारदर्शितामा विश्वास गर्छ। हामीमाथि लगाइएका कुनै पनि आरोप प्रमाणित गर्न चुनौती दिन्छौँ,” अध्यक्ष राईले भनेका छन्।















