मौरिसस । वैदेशिक रोजगारीका लागि मौरिसस पुगेका करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित कार्य वातावरण सुनिश्चित गर्ने विषयले नेपाल–मौरिसस सम्बन्धमा प्राथमिकता पाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग भेट गरी नेपाली श्रमिकको हित संरक्षण र द्विपक्षीय श्रम सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेका छन्।
मौरिससको अनौपचारिक भ्रमणका क्रममा भएको भेटमा श्रमिक भर्नासम्बन्धी द्विपक्षीय समझदारीपत्रको प्रभावकारी कार्यान्वयन, श्रमिकको अधिकार संरक्षण तथा सुरक्षित, सम्मानजनक र न्यायोचित कार्य वातावरण सुनिश्चित गर्ने विषयमा विचार आदानप्रदान भएको पराजुलीले बताएका छन्।
नेपाली श्रमिकको हित संरक्षणका लागि श्रमसम्बन्धी विद्यमान व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा पनि छलफल भएको थियो। दुई देशबीचको श्रम सहकार्यलाई थप व्यवस्थित र परिणाममुखी बनाउने विषयमा दुवै पक्षले चासो व्यक्त गरेका थिए।
श्रम सहकार्यसँगै कूटनीतिक सम्बन्ध विस्तारको विषय
नेपाल र मौरिससबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पूरा भएको सन्दर्भमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयले पनि भेटमा महत्त्व पाएको थियो। कूटनीतिक उपस्थितिको आवश्यकता र सम्भावना तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तारबारे छलफल भएको पराजुलीले जानकारी दिएका छन्।
श्रम सहकार्यका अतिरिक्त पर्यटन, संस्कृति र जनस्तरको सम्बन्ध विस्तारका सम्भावनाबारे पनि कुराकानी भएको थियो। नेपालको हिमाली प्राकृतिक सौन्दर्य र मौरिससका समुद्री तटलाई पर्यटन प्रवर्द्धनको माध्यमबाट जोड्दै दुवै देशबीच पर्यटकीय आदानप्रदान बढाउन सकिने विषयमा छलफल भएको हो।
त्यसैगरी, मौरिससका हिन्दु धर्मावलम्बीलाई नेपालको पशुपतिनाथ मन्दिर तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोडेर धार्मिक, सांस्कृतिक र आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनाबारे पनि विचारविमर्श भएको थियो।
यस्ता सहकार्यले दुई देशका नागरिकबीच सांस्कृतिक समझदारी, आपसी सद्भाव र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन सक्ने विश्वास व्यक्त गरिएको छ।
भेटपछि उपनेता पराजुलीले आत्मीय स्वागत र सार्थक संवादका लागि मन्त्री उतेमप्रति धन्यवाद व्यक्त गर्दै नेपाली श्रमिकको हित संरक्षण तथा श्रम, पर्यटन र सांस्कृतिक सहकार्यका माध्यमबाट नेपाल–मौरिसस सम्बन्धलाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।








