इजरायल जान चाहने नेपालीका लागि ठूलो अवसर, १,४६४ नेपाली कामदारको माग
- रोजगारमञ्च
- भदौ २३, २०८३
- 0
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न इच्छुक नेपालीका लागि रोजगारीको अवसर खुलेको छ। वैदेशिक रोजगार विभागले स्याहार सहायक कामदारका लागि कुल १ हजार ४ सय ६४ जनाको आवेदन आह्वान गरेको हो।
विभागका अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका विभिन्न उमेर समूहका व्यक्तिको स्याहारका लागि नेपाली कामदार छनोट गरिनेछ। माग गरिएका कुल १ हजार ४ सय ६४ कामदारमध्ये १ हजार १ सय ३२ जना महिला र ३ सय ३२ जना पुरुष रहेका छन्।
आवेदन दिन इच्छुक नेपालीको उमेर २५ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्नेछ। योग्य उम्मेदवारले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने विभागले जनाएको छ। आवेदन वैदेशिक रोजगार विभागको आधिकारिक वेबसाइटमार्फत दिन सकिनेछ।
त्यस्तै, छनोट भएका कामदारले मासिक ६ हजार ४ सय ४३ दशमलव ८५ इजरायली मुद्रा तलब पाउनेछन्। यसबाहेक इजरायली सरकारको प्रचलित नियमअनुसार ओभरटाइम सुविधा समेत उपलब्ध हुने विभागको सूचनामा उल्लेख छ। कामदारले सातामा ४२ घण्टा अनिवार्य काम गर्नुपर्नेछ। सातामा एक दिन बिदा उपलब्ध हुनेछ भने वार्षिक बिदा इजरायलको प्रचलित कानुनअनुसार हुने जनाइएको छ।
त्यसैगरी, इजरायल जाने कामदारका लागि बस्ने व्यवस्था रोजगारदाताले गर्ने भए पनि त्यसको खर्च भने सम्बन्धित कामदार स्वयंले व्यहोर्नुपर्नेछ। त्यस्तै, खानाको व्यवस्था भने रोजगारदाताले नगर्ने सूचनामा स्पष्ट पारिएको छ।
इजरायलमा रोजगारीका लागि आवेदन दिन इच्छुकले आवेदन भर्नुअघि विभागले जारी गरेको आधिकारिक सूचना, योग्यता, आवश्यक कागजात तथा रोजगारीका सर्तहरू ध्यानपूर्वक अध्ययन गर्न विभागले आग्रह गरेको छ।














