मलेसियाको २५ कम्पनी छनोट लगायतका माग बोकेर रास्वपा सभापति रबिसँग पुगे वैदेशिक रोजगार व्यवसायी

news-details

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भेट गरी वैदेशिक रोजगार क्षेत्रका समसामयिक समस्या तथा नीतिगत सुधारका विषयमा छलफल गरेको छ ।

रास्वपा कार्यालयमा बिहीबार भएको भेटका क्रममा संघले वैदेशिक रोजगार क्षेत्रलाई थप सम्मानित, मर्यादित, व्यवस्थित तथा श्रमिकमैत्री बनाउन आवश्यक नीतिगत सुधार तत्काल अघि बढाउन सभापति लामिछानेको ध्यानाकर्षण गराएको हो ।

संघले सरकारसँग निरन्तर सहकार्य र समन्वय गर्दै आए पनि वैदेशिक रोजगार क्षेत्रमा देखिएका नीतिगत कमजोरी, व्यवसायीबीचको असमान व्यवहार तथा श्रमिकको हितसँग प्रत्यक्ष जोडिएका विषयलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा राखेको थियो ।

विशेषगरी नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाको श्रमिक भर्ना प्रक्रियामा एफडब्ल्युसिएमएसमार्फत सीमित २५ वटा मात्र वैदेशिक रोजगार व्यवसायी संस्थालाई समेटेर अन्य व्यवसायीलाई प्रक्रियाबाट बाहिर राख्ने प्रयास गरिएको विषय संघले गम्भीर रूपमा उठाएको थियो ।

उक्त प्रक्रियाको आधिकारिकता, छनोटको मापदण्ड, पारदर्शिता, निष्पक्षता तथा विश्वसनीयतामाथि प्रश्न उठाउँदै संघले यस विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको बताएको छ । प्रतिनिधिमण्डलसँगको भेटमा सभापति लामिछानेले समेत विषयको गम्भीरताका आधारमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको संघले जनाएको छ ।

संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले वैदेशिक रोजगार क्षेत्रलाई सीमित व्यक्ति वा समूहको प्रभावमा नभई समान अवसर र पारदर्शी प्रक्रियाका आधारमा सञ्चालन गर्नुपर्ने बताए ।

“हामी सरकारसँग सहकार्य गरेरै अगाडि बढ्न चाहन्छौँ । तर, वैदेशिक रोजगार व्यवसायीबीच विभेद हुने, सीमित संस्थालाई मात्र अवसर दिने वा कुनै पनि किसिमको एकाधिकार कायम गर्ने प्रयास स्वीकार्य हुँदैन । श्रमिकको हितसँगै व्यवसायीको समान अधिकार र अवसर पनि सुनिश्चित हुनुपर्छ,” अध्यक्ष खत्रीले भने ।

उनले मलेसियाको श्रमिक भर्ना प्रक्रियामा देखिएको २५ वटा संस्थासम्बन्धी विषयलाई सामान्य रूपमा लिन नहुने बताए । “छनोटको आधार के हो, प्रक्रिया कति पारदर्शी छ र यसको आधिकारिकता के हो भन्ने विषय स्पष्ट हुनुपर्छ । निष्पक्ष छानबिनमार्फत सत्यतथ्य बाहिर आउनुपर्छ,” उनले भने ।

सो अवसरमा वैदेशिक रोजगार व्यवसायीका विभिन्न घटक संघसंस्थाका प्रतिनिधि तथा संघ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

पछिल्लो समय संघका प्रतिनिधिहरू श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवसँग समेत निरन्तर समन्वय र छलफलमा रहेका बेला रास्वपा सभापति लामिछानेसँग भएको भेटलाई व्यवसायीहरूले अर्थपूर्ण रूपमा लिएका छन् ।

सरकारसँग नीतिगत सुधारका विषयमा संवाद र समन्वय गरिरहेका व्यवसायीले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग समेत वैदेशिक रोजगार क्षेत्रका समस्या प्रत्यक्ष रूपमा राख्नुले यो विषयलाई थप राजनीतिक तथा नीतिगत प्राथमिकतामा ल्याउन सहयोग पुग्ने संघको विश्वास छ ।

भेटमा वैदेशिक रोजगार क्षेत्रमा देखिएको एकाधिकार, अस्वस्थ प्रतिस्पर्धा, व्यवसायीबीचको असमान व्यवहार, श्रमिकको संरक्षण तथा समग्र क्षेत्रको संस्थागत सुधारका विषयमा समेत छलफल भएको थियो ।

संघले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन सरकार, राजनीतिक दल, व्यवसायी तथा अन्य सरोकारवाला निकायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको जनाएको छ ।

नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको वैदेशिक रोजगार क्षेत्रलाई समस्या र विवादको क्षेत्रका रूपमा मात्र नभई व्यवस्थित, पारदर्शी र मर्यादित व्यवसायका रूपमा विकास गर्न राज्यले स्पष्ट नीति र समान व्यवहार सुनिश्चित गर्नुपर्ने व्यवसायीहरूको धारणा छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया