बुधवार, माघ ०३ गते, २०७४
विहिवार, २०७२ कार्तिक २६ गते १२:१९

‘देउसिरे ।’


‘देउसिरे ।’ 


साँझ नपर्दै हामीले काइला कार्कीका घरबाट देउसी खेल्न सुरु गरिसकेका थियौं । 


देउसी खेल्न जानेहरुको निकै ठूलो लर्काे थियो । कहाँबाट कसले सुरु गर्ने भन्ने होडबाजी नै हुन्थ्यो । 


शम्भु र म ‘यो पटकको देउसीमा जाने है’ भनेर स्कुल जाँदै गर्दा सल्लाह गरेका थियौं । सल्लाह बमोजिम कोही कसैलाई जानकारी नगराउने पनि सहमति भयो । 

शम्भु अर्थात् शम्भु अधिकारी । उसको वास्तविक नाम ईश्चरचन्द्र अधिकारी । मभन्दा उमेरले झण्डै चार वर्ष जेठो । 


तिहार आउनु अगाडि नै देउसी खेल्न जाने राँको बनाउन सुकेका बाँसको खोजीमा ऊ लागिहाल्यो । पालेबनको बाँसघारीमा सुकेका बाँस प्रशस्त पाइन्थे । त्यहाँ मागेर पाइन्नथियो । चोर्नुपथ्र्याे । चोर्न ऊ खप्पिस । 


एकहप्ता अगाडि नै राँका चिरेर उसले राख्यो । म मनमनै खुशी भाको थिएँ ऊदेखि । उसले बाँसको पुल्ठो पनि बनाएछ । सुकेको बाँसको ढुंगोमा
एकापट्टिको प्वाल सानो पारेर छेडेर सलेदो हालेपछि पुल्ठो बन्थ्यो । 


त्यो पुल्ठोमा मैले घरबाट सुटुक्क मट्टितेल हालेँ । एकबिटो राँका र एउटा पुल्ठो बोकेर साँझ नपर्दै हामी देउसी खेल्न तल्लो गाउँ लागेका छौं । 


शम्भुले बोराको एउटा झोला पनि बोेकेको छ । भट्याउने जिम्मेवारी मेरै थियो । ऊ देउसुरे भन्थ्यो । अलिक छिटो मान्छे निस्केनन् भने चर्काे स्वरले देउसुरे भन्थ्यौं । कति घरमा त निकै कराउँदा नि नआएपछि भुतभुताउँदै पनि हिँडेका थियौं । 


ओसाक गाउँ झ¥यौं । पहाडको पुछारमा रहेको पातलो बस्ती छ ओसाक । ओसाके माइलाको घरबाट हाम्रो देउसी सुरु भयो । ओसाक गाउँका सबै घरमा देउसी खेल्यौं । कहि पैसा मात्र त कहि चामल सहित पैसा पाइयो । 


दुईभाइ मात्र छौं । रात छिप्पिदैछ । बिस्नासिंगमा देउसी खेलेर डुम्रे हुँदै घर घरमा देउसी खेल्दै हामी उकालो लाग्यौं । 


भाइटीकाको अघिल्लो दिन । सबै घरहरु सेल रोटी पाकि रहेका हुन्थ्ये । धेरैजसो दिदीबहिनीहरु भोलि भाइलाई लगाईदिने माला तानमा उन्न व्यस्त देखिन्थे । सेल र तातो तेलको खार ठोकिन्थ्यो नाकमा । 


देउसी खेल्दै हामी पाहारेमा आइपुग्यौं । त्यहाँ देउसी खेलेपछि चामल, धान र पैसा नाङ्लोमा राखेर दिए । मैले पनि मिलाएर आशीर्वाद दिएँ देउसीबाटै । 


‘परेवापंक्षी उकालो लाग्दा आकाशै ढाकुन् 

ओरालो जाँदा बगरै ढाकुन् 

माटो छुँदा अन्न होस् 

ढुङ्गो छुँदा सुन होस् ।’


शम्भुले जोड–जोडले देउसुरे भन्यो । 


पैसा जति म बोक्थेँ । शम्भु धान र चामल बोक्थ्यो । 


त्यसपछि जेठा दमाईकोमा गयौं देउसी खेल्न । डाँडाघरको दमाईकामा झन् रोचक भयो देउसी । 


सेलरोटी पकाउँदै रहिछन्, डाँडाघरकी । 


‘सेलरोटी खाने हो ?’ 


उनले भनिन् । 


म बाहुनको छोरो । खाउँ खाउँ लागे पनि तर्किएँ । शम्भुले तीनवटा खायो । 


‘लौ हे, सरका छोरा आउनुभएको रहेछ । अलि राम्रो भट्याउनु त ।’ 


भित्र सेलरोटी हाल्दै गरेका छोरीहरु पनि देउसी हेर्न निस्किए । 


म बीचमा बसेर भट्याइरहेको छु । शम्भु मेरो वरिपरि घुम्दै देउसुरे भनिरहेको छ । 


चामल र पैसा त्यहाँ पनि दिए । 


दमाई गाउँ पछि कोइरालाका घरमा छुटाउनै भएन । त्यहाँ अलि बढी पैसा दिन्थे । 


बाटो सारै अप्ठ्यारो थियो । भिर पथ्र्याे । राको बालेर हामी पुग्यौं निकै मुस्किलसँग । 


चामलको बोराले बेला–बेलामा शम्भुलाई हैरान पाथ्र्याे । ऊ यता र उता पार्दै बोकिराख्थ्यो । 


त्यहाँ पनि सेल रोटी पकाउँदै रहेछन् । अर्काे देउसी खेलेर निस्किदै थियो । 


हामी पुगेर सुरु गरी हाल्यौं । 


‘ए रातोमाटो

ए लड्दैपड्दै

ए आएका हामी ।’


दुईजना भए पनि धेरै जना भए झैं हल्लखल्ल ग¥यौं । बल्ल चामल र पैसा लिएर कोइराल्नी आमै निस्किइन् । आशीश दिएर बाटो लाग्यौं । 


‘अब फुयाँल गाउँ जानुपर्छ ।’ 


शम्भुले भन्यो । मैले नि अँध्यारोमा टाउको हल्लाएँ । 


त्यहाँबाट आधाघण्टाको बाटोमा थियो फुयाँल गाउँ । चारपाँचवटा थिए फुयाँलका घर । 


एउटा राँको बालेर पुग्न मुस्किल । पुल्ठो सल्कायौं । खहरेको खोला तर्दै फुयाँल गाउँ लागियो । 


अलिक पर पुगेपछि हावा लाग्यो । जोगाउँदा–जोगाउँदै पुल्ठो निभ्यो । रातको बाह्र जति बजेको हुनुपर्छ । दुईजना छौं दुइखोलाको बीचमा । 


डर भनेजति लागे पनि शम्भुलाई भनिनँ । उसले पनि डर लाग्यो भनेन । ढुंगाको भर माटो, माटोको भर ढुंगो भएर दुई ज्यान लम्किरहेका छौं । 

‘खुकुरी भिरेको छु, नडराऊ ।’ 


साहस दियो उसले । 


राँको चिर्नलाई चाहिन्छ भनेर खुकुरी भिरेको रहेछ उसले । सलाई, लाइटर केही थिएन । 


फुयाँल गाउँ पुग्नु अगाडि नै दुई ठाउँ म लडेँ । घुडा धस्रियो नराम्ररी । 


जसोतसो पुगियो फुयाँल गाउँ । देउसी खेल्यौं । 


‘आहै, यहाँ मात्रै होइन, 

आहै, पचहत्तर जिल्ला

आहै, चौधैं अञ्चल 

आहै, घुम्नु पर्ने 

आहै, भट्याउनेको 

आहै, स्वरै सुक्यो ।’ 


फुयाँलका सबै घर खेलियो । धान र चामल थपिदै गएका थिए । पैसा जति मैले नै बोकिरहेको छु । 


अब कटुवा हुँदै रातमाटे गाउँ देउसी खेल्ने भयौं । माथिल्लो अलिक सजिलो बाटो हिड्यौं । 


कँडेलहरुका घरमा देउसी खेल्यौं । साइँला कँडेलकोमा भट्याउँदा भट्याउँदा कोही उठेनन् । 


यसरी नउठ्दा सारै रिस उठ्थ्यो । शम्भु झन् उट्पटयाङ गर्न माहिर । केही न केही बदमासी गरिहाल्थ्यो । मलाई चै कसैले देख्छन् कि भन्ने डर लाग्थ्यो । 


‘सरको छोरो भएर यस्तो गर्ने ?’ कसैले भनिहाले भने के भन्ने जस्तो लाग्थ्यो । त्यै शब्दले सचेत हुन्थे आफैं । 


कटुवाको माथिको देविथान हुँदै धमला भोटेका घरमा देउसी खेल्न जाने भयौं । त्यहाँ अजङ्गको कुकुर हुन्थ्यो । शम्भुले कुकुरलाई ठीक लाउँछु भन्यो । 


उनीहरुको घरमुनि पुग्नसाथ कुकुरले छोपिहाल्यो । खेतैखेत भाग्यौं राँको फालेर । धन्य जोगियो । 


देउसी नखेली फर्कियौं त्यहाँ । 


कटुवामा खत्रीहरुका घर थिए । जेठो खत्रीकाबाट देउसी खेल्न सुरु गरियो । धेरैजसो घरमा अब मानिस सुतिसकेका थिए । 


कुनै कुनै घरमा भने रोटी पकाउँदै भेटियो । खत्री, मगर, अधिकारीका घरमा देउसी खेल्दै भट्टराई गाउँ आयौं । जम्मा छ घर भट्टराई भए पनि प्रतिष्ठित थिए । अन्तिममा डाँडाघरमा खेल्यौं ।


ती घर घरमा देउसी खेल्यौं । 


सबैतिर देउसी खेलिसक्दा रिमरिम उज्यालो भइसकेको थियो । घरबाट गाली खाने संभावना भएकोले शम्भुको र मेरो घरमा भने देउसी खेलेनौं । अरु कुनै घर बाँकी रहेनन् । 


कुनै जात र धर्म अनि विशेषता भनेर छुट्ट्याएनौं । 


रातभर खेलेर जम्मा चौबीस रुपैयाँ भएछ । बाह्र–बाह्र रुपैयाँ बाँड्यौं । भोलिपल्टको उज्यालोमा ।


चामल र धान एक धोक्रो भएछ । सबै शम्भुलाई नै दिएँ । चर्काे चर्काे भट्याईले एकहप्तासम्म स्वर सुक्यो मेरो । 


यस्तो देउसी आजकल गाउँघरमा हुन्छ कि हुँदैन, कुन्नि ? 

 


email: uttamjee@gmail.com 



प्रतिक्रियाहरु
Hari Ram Paudel, Kathmandu

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   मुनामदनका संगीतकार शर्माको निधन
2.   सिड्नीमा निबन्धकार नयाँघरे सम्मानित
3.   क्यानबेरामा साहित्यकार नयाँघरे सम्मानित
4.   भविनको ‘छायाँ’ विमोचित
5.   तिम्रो विर्यको मुल्य कति ?
6.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
7.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
8.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
9.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
10.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
11.   बसन्तले ल्याए भुमरी उपन्यास
12.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
13.   हिमालको गोठालो लोकार्पित
14.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
15.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
16.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
17.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
18.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
19.   नारी स्रष्टाहरु सम्मानित
20.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
21.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
22.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
23.   संस्मरण : आहै, भट्याउनेको, आहै, स्वरै सुक्यो – उत्तम भट्टराई
24.   साहित्य संगालोको सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न
25.   कथा : विदेशिएकी गर्लफ्रेन्ड
Results 62: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media