बुधवार, मंसिर २७ गते, २०७४
बुधवार, २०७४ जेष्ठ ०२ गते ०५:३५

 
युवराज 
नयाँघरे


‘आज कुन चैं फोटो हाल्ने होला ?’ भद्रिकाले प्रश्न गरी आफैंलाई । ऊ खुबै फोटो हाल्छे फेसबुकमा । दिनमै फेर्ने गर्छे फोटाहरू । उसको यो मन भुलाउने बाटो पनि हो ।
 
ताप्लेजुङबाट बिहे भएर विराटनगर पुग्दा उसले एसएलसी दिन खोज्दै थिई । त्यही बेला एकजनासँग उसको आँखा जुध्यो । ‘एसएलसी नदिँदा केही हुँदैन । तर, मैले तिमीलाई नपाउँदा संसार रित्तो हुन्छ ।’ जुल्फेले भनेथ्यो भद्रिकालाई । त्यसपछि एसएलसी दिन गएकी ऊ फेरि फर्किन । एकैपटक काठमाडौं पुगी ।
 
त्यसपछि कथा यस्तै भयो– तीन जना छोरी नै छोरी पाई उसले । भद्रिकासँग अब अभाव र दुःखले घेरा हालेको हालेकै ग¥यो । अनि ऊ कता–कताबाट पुगी इजरायल । ‘तीन मैना त दिल्लीमा नै बस्नु प¥यो ।’
 
नेपालमा छँदा उसको खास नाम भक्तमाया थियो । तर, दिल्लीबाट पासपोर्ट लिएर इजरायल पुग्दा ऊ भइसकेकी थिई भद्रिका । भद्रिका साह्रै अप्ठ्यारो ठाउँमा काम गर्छे । काम गरेको घरमा आमा र छोरी छन् । ‘आमा कति धेरै दुष्ट हो ।’ भद्रिका दिक्क मान्छे । ‘छोरी झन् बढी दुष्ट ।’ ऊ मनमनै गुन्छे ।

भद्रिका यो घरमा काम गर्न थालेकी ७ वर्ष भो । ऊ आएदेखि वरपर कतै गएकी छैन । कसैलाई भेटेकी पनि छैन । उसका सबै साथीभाइ, समाज, नातागोता वा आफन्त नै यही फेसबुक हो । ‘ऊ पनि त्यै बूढीकी छोरीले खोलिदिएकी हो ।’ भद्रिका छोरी चैँ सँग रिसाए पनि यस कुरामा खुसी छे ।
ऊ भुतभुताउँदै भए पनि खुसी हुन्छे यो कुराले । फेसबुकमा ऊ बाँचेकी छ ।


  युवराज नयाँघरे

उसले दराजमाथि मोबाइल राखेर अनुहार ठूलो आउने फोटो खिची र भनी– ‘आज यो राख्छु ।’ बिहानको चिया खाएर फोटो राखी आफ्नो वालमा । अनि सरसफाइतिर लागी । उसको मनमा त्यही फोटो नै खेलिरहेको थियो । ‘ठिक्क मिलाएर खिचे यो राम्रो आउँथ्यो ।’ ‘भनेजस्तो फोटो खिच्नै पाइएन ।’
 
दिनभरि बूढीकै स्याहारसुसारमा उसको समय बित्यो । बोल्न ऊ कसैसँग पाउँदिन थिई । ‘रोग लाग्दा त सय केजीकी छे यो बूढी । रोग नलाग्दा कति किलोकी थिई होला ?’ खाटबाट भुइँमा सार्न खोज्दा उसले मनमनै कुरा खेलाई । ‘हत्तेरिका यसलाई बोक्दा–बोक्दा म दुब्लाएकी हुँला यति बिघ्न ।’
 
भद्रिकाले साँझ एक पटक ऐना हेरी । उसले दुब्ली र पातली देखिहाली आफूलाई । हो, निकै दुब्लाइएछ । ‘ठीक छ, यस्तै दुब्ली फोटो हालुँला ।’ साँझ भान्साको फ्रिजमाथि मोबाइल राखेर उसले फोटो खिची । फोटो अलि राम्रै देखिएछ । ऊ मुसुक्क मुस्काई । ‘कस्तो उज्यालो ! खुलेछ यो पाइन्ट र भेस्ट ।’ भद्रिका रमाई ।
 
बुधबार उसले त्यही फोटो हाली । भोलि त अर्कै हिसाबले फोटो खिच्ने उसले मन गरी । बिहीबार बूढी बिरामी भई । उसले एकै सेकेन्ड नि छोड्न पाइन । मोबाइल छुने फुर्सद पो कहाँ पाउनु ?
 
शुक्रबारको दिन बिहानको चार बजे बल्ल बूढी सुती । अनि उसले बल्ल आराम गर्ने मौका पाई । ‘भद्रिका, खुब सुख पाएकी छस् ।’ उसले आफूले आफैंलाई नै भनी । मनमनै एकछिन गुत्थ परी । नाकबाट रिसाएर खसेको रिसलाई उसले थामथुम पारी ।

भद्रिका सोफामुनि बसी । ‘भरे पोस्ट गर्छु ।’ ऊ एकछिन खुसी भई । उसको खुसी हुने ठाउँ यही फोटोमा छ । यही फेसबुकमा छ । ‘शुक्रबारको सेल्फी यही भो !’
 
ऊ सन्तोष मानेर बेलुकाको सुप तयार पार्न थाली । बिरामी बूढीले सुप मात्र खान्छे । नुन, मसला, तेल केही नमिसाएको । ‘के यस्तो स्वादमा रमाएका यी !’ भद्रिका इजरायलीहरूको खाना सम्झँदै कुरा खेलाउँछे मनमनै ।
 
शनिबार ओछ्यानमै रहँदा फोटो खिची भद्रिकाले । कपाल नकोरिएको, आँखा सुन्निएको, सिँगारपटार केही नभएको, डम्म सुनिएको जस्तो– बिरामी जस्तो फोटो । ‘ठीक छ म यही त हुँ ।’ उसले फोटो हेरेर भनी । अनि सेलेक्ट गरेर पोस्ट गरी फेसबुकमा । त्यसपछि एक झप्का निदाई ।

शनिबार ऊ दिनभरि साह्रै व्यस्त भई । भद्रिकाले मोबाइल छुनसम्म भ्याइन । बूढी बिरामी त थिई नै । बूढीका छोरीले आफ्ना तीनजना साथीहरूलाई डाकेछन् । उनीहरू घरको माथिल्लो तल्लामा खानपिउन थाले । नानाथरीका खानपान पकाउन, सजाउन र मिलाउनमा ऊ व्यस्त भई । भान्सादेखि माथिल्लो तल्लासम्म पु¥याउनमा अनि अरु पकाउँदैमा भद्रिकाका आधा दिन बित्यो ।

दिउँसो चार बजेतिर फोन आउँदा पो उसलाई आफ्नो मोबाइलको याद आयो । ‘आमा, बिरामी हो ? अहिले काममा कि हस्पिटलमा ?’ भद्रिकाकी कान्छी छोरीले उसलाई सोधी । एक छिन त रनभुल्ल भई । ‘किन र कान्छु ?’ उसले अत्तालिएर सोधी । ‘अनि बिहान फेसबुकको कस्तो डरलाग्दो फोटोले त्यही भन्यो । एकदमै बिरामीजस्तो थियो हजुरको वालको फोटो ।’ छोरी फरर्र बोली ।
 
आफ्नो गल्तीमा भद्रिकालाई दिक्क लाग्यो । कस्तो गल्ती गरिएछ । जस्तो पायो त्यस्तै फोटो हाल्नै नहुने । ‘गल्ती भएछ ।’ ऊ मनमनै खिन्न भई । दिक्क मानेर आफैंलाई गाली गरी । 
 
सोमबार उसले बाहिर बरन्डामा बसेर फोटो खिची । तेर्छो पारेर फोटो खिचेको । ‘निकै राम्रो आएछ । अनुहार पनि अनि पछाडिको सिन पनि ।’
भद्रिकाले फोटो हेर्दै भनी । अनि हत्त न पत्त फोटो पोस्ट गरी । तातो चिया खाँदै उसले फोटो पोस्ट गर्दा किन–किन रमाई । मन रमायो भद्रिकाको ।
 
भद्रिका अचेल बढी नै व्यस्त छे । बूढी निकै बिरामी छे । ऊ अस्पताल र घर आइजाई गरिरहनुपर्छ । मोबाइल हातमै भए पनि चलाउन भ्याउँदिन । ‘मन नै स्थिरमा नभएपछि यस्तो गाह्रो भएको होला !’ उसले दिक्क पनि मानी ।

बुधबार उसले फोटो खिची भान्साको ¥याकमा मोबाइल राखेर । फोटो अलिक धमिल आएछ ।  त्यै पनि उसले राखी फेसबुकमा । मनमनमा एउटा कुरा खेल्यो । सधैं एकनास कहाँ हुन्छ र ? ‘जीवन नै त धमिलो बनेको बेला फोटो राम्रो कसरी आउँछ र ?’ उसका मनमा कुराले कोत¥यो ।
धमिलो भयो नि उसको जीवन । भद्रिकाले लगातार तीन छोरी पाएको निहुँमा उसको लोग्नेले छोडिसक्यो उसलाई ।

‘म सिँगारपटार गरेर फोटो खिच्ने थिएँ । तर कसले खिच्छ मेरो फोटो ? भद्रिकाको फोटो कसले खिच्ने ?
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   सिड्नीमा निबन्धकार नयाँघरे सम्मानित
2.   क्यानबेरामा साहित्यकार नयाँघरे सम्मानित
3.   भविनको ‘छायाँ’ विमोचित
4.   तिम्रो विर्यको मुल्य कति ?
5.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
6.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
7.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
8.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
9.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
10.   बसन्तले ल्याए भुमरी उपन्यास
11.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
12.   हिमालको गोठालो लोकार्पित
13.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
14.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
15.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
16.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
17.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
18.   नारी स्रष्टाहरु सम्मानित
19.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
20.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
21.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
22.   संस्मरण : आहै, भट्याउनेको, आहै, स्वरै सुक्यो – उत्तम भट्टराई
23.   साहित्य संगालोको सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न
24.   कथा : विदेशिएकी गर्लफ्रेन्ड
25.   नयाँघरेको ‘आमिल’ विमोचित
Results 61: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media