साहित्यवार्ता : ‘नेपाली साहित्य विश्वस्तरमा पुग्न सक्छ’- प्रकाश धमला/ कथाकार

news-details

साहित्यकार तथा भाषा अभियन्ता प्रकाश धमलाको २०४१ सालमा जन्म भएको हो । शिक्षामा स्नातक गरेर हाल नर्सिङ पेशामा आबद्ध धमलाका बुबा भीमलाल तथा आमा वत्सलामाया धमला हुनुहुन्छ । पत्रकारिता, साहित्य, शिक्षण तथा भाषा अभियन्ता समेत रहेका धमला नेपाली भाषा, साहित्यका लागि असाध्यै समर्पित र लगावयुक्त व्यक्तित्व हुनुहुन्छ । द स्कुल अफ नेपाली ल्याङ्गवेज एण्ड कल्चर साउथ अस्ट्रेलिया, एडिलेडको संस्थापक प्रिन्सिपलको रुपमा उहाँ दुई वर्षजति आबद्ध रहनु भयो ।

उहाँका कविता, गजल, कथा, रुवाई लगायत विभिन्न फुटकर समसामयिक रचनाहरु प्रकाशित छन् । पूर्वी नेपालको शरणार्थी क्याम्प बेलडाँगीमा रहँदा सन्देश, जागरण मासिकमा नियमित लेख, रचना प्रकाशित गरेका धमलाको सिर्जनात्मक सक्रियता महत्वपूर्ण छ । यसै गरी हवाई पत्रिका मानस, बिहानी वार्षिक पत्रिकामा पनि नियमित रुपमा सम्बद्ध भई लेखन, प्रकाशनमा संलग्न साथै भुटान गजल मञ्चमा आबद्ध रही स्रष्टाहरुलाई लेखन, वाचन तथा सिर्जनात्मक गतिविधिमा उहाँको सक्रियता अद्यापि पूर्वतिर सम्झना गरिन्छ । आफनो लेखन र सिर्जनात्मक समन्वयका लागि निकै लोकप्रिय युवा शब्दकर्मी धमलासँग गरिएको वार्ता–

कुन कुराले साहित्यतिर आकर्षित हुनु भयो ?

सानै उमेरमा देश छोड्नु प¥यो । म हुर्किंदा शरणार्थी क्याम्पमा पुगिसकेको थिएँ । त्यतिखेर मेरा लागि देश सम्झने बाटो भनेको यही साहित्य थियो । साहित्यले आपूm जन्मेको देशको भूगोल, संस्कृति, परम्परा, जीवनशैली र त्यहाँको माटोको स्पर्श दिइरहन्छ । देश गुमाएको सधैँ एकखालको पीडा भइरहन्थ्यो । र, तिनै कुरालाई साहित्य मार्फत्बाट हृदयको पीडा अभिव्यक्त गर्ने गर्थें म । पछि–पछि तिनै लेखेका कुरालाई भित्ते पत्रिका, विभिन्न एफएमहरुमा पठाएर वाचन गरिने, मञ्चहरुमा पढिने गर्दा म बिस्तारै साहित्यको विद्यार्थी हुन पुगेँ । लेखनतिर अग्रसर हुन गएँ । शारीरिक रुपमा आपूm जन्मेको ठाउँ भुटान पुग्न नसके पनि साहित्यको लेखनबाट मनमा मलम लगाउने काम भयो । नढाँटी भन्नु पर्दा साहित्य लेखनकै कारणले गर्दा खेरी हृदयभित्र रहेको पीडा धेरै हदसम्म हलुका भयो ।

कुन–कुन विधामा सिर्जना गर्नु हुन्छ ?

विधागत रुपमा म छरिएको छु । सुरुका दिनतिर कविता पनि निकै लेखेँ । कथाहरु पनि प्रशस्तै लेख्ने काम गरेँ । गजल पनि मेरो अभिरुचिकै विधा हो । सुरुसुरुमा मेरा कथाहरु भुटान देश र शरणार्थीले भोग्नु परेका समस्या र जटिलताहरुसँग केन्द्रित हुन्थे । तिनलाई कान्तिपुर एफएमका अम्बिका प्रधान, हेम भण्डारीले वाचन गरिदिएर मेरो कथा लेखनलाई उत्प्रेरित गरिदिन्थे । त्यस्तै रुपेश सिलवालको उत्प्रेरणाले पनि मेरो आफ्नो कथायात्रा अगाडि बढ्यो । मेरो कथा सुनेरै उदयपुर, बुटवल, भैरहवादेखि नेपालकै विभिन्न क्षेत्रका पत्रमित्रहरुको संख्या बढिरहेको थियो । हिजोआज म बढी कथामा केन्द्रित भएको छु । कथामा जीवन, समय र संस्कृतिको विराट् रुप दिन सकिन्छ । त्यसैले पनि म यो विधातिर आकर्षित भएको छु ।

समकालीन साहित्य के, कस्तो देखिरहनु भएको छ ?

नेपाली साहित्यको ठ्याक्कै अवस्था म टाढा भएर ठम्याउन सकिरहेको छैन । तैपनि सञ्चार माध्यममा आएका, फेसबुकहरुमा आएका र पुस्तकहरुको प्रकाशन हेर्दा मोटामोटी केही आँकलन भने गर्न सकिरहेको छु । लेखकहरुको उपस्थिति असाध्यै बाक्लो छ । प्रविधिमा लेखकहरुको सहभागिता भइरहेको छ । तर यो प्रविधिमा आएको साहित्य सिर्जना त्यति बलियो नहोला कि ? किनभने बर्मा, भारत, भुटान लगायत विश्वका विभिन्न क्षेत्रमा छरिएर रहेका नेपालीहरुको साहित्य लेखन त्यही सानो घेरोमा मात्रै आइरहेको छ । यो प्रविधिले सघाएको भए पनि सर्वसुलभ भने अझै हुन सकेको छैन । नेपाली साहित्यमा लेखिएका कृतिहरु प्रविधिसँग अझै पनि जोडिन सकेका छैनन् । अङ्ग्रेजीमा हार्डसँगै सफ्ट कपीहरु पनि आउँछन् । बूढाबूढी, केटाकेटीहरुले आफ्नो रुचिअनुसार प्रविधिसँगै अन्य अवस्थामा पनि पढ्न सक्छन् । तर नेपाली साहित्य यो पक्षमा अलिकति पछाडि नै छ ।

नयाँ पुस्ताको साहित्यलाई के कसरी हेरिरहनु भएको छ ?

लेखकहरुले भूगोल, प्रकृति, संस्कृतिसँगै जनजीवनसँग जोडिएका समग्र अवस्थाबारे चिन्तन गर्नु पर्छ । साहित्यमा जाति, संस्कृति, प्रकृति र समाजका विविध पक्षहरु ल्याउनु भनेको त्यहाँको डकुमेन्टेशन गर्नु पनि हो । नयाँ पुस्ताको सहभागिता यतातिर अलि कमजोर छ । उनीहरु अनुसन्धानभन्दा पनि कुनै एउटा लोकप्रिय विषयमा केन्द्रित भएर सरर्र लेख्ने गर्छन् । त्यसले त्यो कृतिको आयु त्यति बलियो बनाउँदैन जस्तो मलाई लाग्छ । अग्रजहरुले पछिल्लो पुस्तालाई प्रोत्साहन पनि त्यति साह्रो नगरेको हो कि जस्तो मेरो अनुभव छ । उनीहरुलाई जति हामीले प्रोत्साहन दियौं उति अगाडि बढ्न सक्छन् । नयाँ पुस्ता लेखेर चर्चित भए पनि दीर्घकालीन रुपमा बलियो लेखकको रुपमा त्यति रहन सकिरहेका छैनन् । अनुसन्धान, चिन्तन नभएको कारणले गर्दा नयाँ पुस्ताको लेखनी अलि फितलो हुन्छ । यतातिर सावधान हुनु जरुरी छ । विषयवस्तुसँगै त्यसको गहनता पनि महत्वपूर्ण हुने कुरामा नयाँ पुस्ता सचेत भएर अगाडि बढ्न सके राम्रो हुन्छ ।

विश्वस्तरमा नेपाली साहित्य जान सक्ने कुनै आधार देख्नु भएको छ ?

नेपाली साहित्य विश्वस्तरमा पुग्न सक्छ । विषयवस्तु र प्रस्तुतिको कारणले गर्दा हामी धेरै अगाडि छौं । हाम्रो पृष्ठभूमि अत्यन्त समृद्ध र सम्पन्न छ । नेपाली जातिको भाषामा विविधता छ । नेपाली समाजले भाषा मार्फतबाटै एकता प्रदर्शन गरेको छ । संसारका जुनै भूभागमा रहेका नेपालीहरुलाई दुःख पर्दा पनि हामीलाई चोट पुग्छ । हामी सबै नेपालीहरुमा भावनात्मक एकता छ । नेपाली साहित्य विश्वव्यापी रुपमा जति सम्मानित र पूजित हुन सक्थ्यो त्यति हुन सकेको छैन । हाम्रा स्रोत, साधनहरु कमजोर भएर यस्तो भएको होला । व्यक्तिवादी सोचले गर्दा सिर्जनात्मक हिसाबले अगाडि बढ्न हामी सकेका छैनौं ।

नेपाल, भुटान, भारत, बर्मा लगायतका देशहरुमा रहेका नेपाली लेखकहरुको कृतिहरु एकै ठाउँमा राखेर हेर्ने, पढ्ने, चिन्तन गर्ने वातावरण अझै पनि बन्न सकेको छैन । जुनै देशमा रहेको नेपालीको पनि कृतिहरुलाई विशिष्ट ढंगले सम्पादन, संकलन र अनुवाद गर्न सकेमा नेपाली साहित्यले विश्व बजारमा ठाउँ पाउन सक्थ्यो । नेपालमै पनि प्रज्ञा प्रतिष्ठानले यस्ता कामहरु गर्न सके ज्यादै राम्रो हुन्थ्यो । यो पहल भएको छ जस्तो मलाई लाग्दैन । आगामी दिनमा यतातिर सचेत भएर काम गर्न सके अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यले आफ्नो मौलिक स्वाद र पहिचान दिने कुरामा म विश्वस्त छु ।

नेपालभित्र र बाहिरको साहित्य लेखनमा कुनै अन्तर छ ?

हामी नेपालमै बसेर लेखौं वा बाहिर बसेर लेखौं । हाम्रो लेख्ने देवनागरी लिपि एउटै हो । हाम्रो लेखकीय मर्म भने अन्तर छ । बाहिर लेखिने गरेको साहित्यमा आफ्नो जाति, सम्प्रदाय, भाषा र संस्कृतिले सधैँ चर्को रुपमा बहस गरिरहेको हुन्छ । भुटानी नेपाली साहित्यकै कुरा गर्ने हो भने पनि भाषामा एकरुपता भए पनि शैली र त्यसको मर्म भने पूर्ण रुपमा फरक छ । भुटानमा रहेका नेपाली लेखकहरुले आपूm जन्मेको देश, देश छोड्नुको पीडा, शरणार्थी बन्नुपर्ने दुःख, देश गुमाएको विपत्ति, अर्को देशमा बस्नुपर्ने छटपटी यी सबै कुराहरुलाई उनीहरुले लेखिरहेका छन् । उनीहरुले सधैँ आफ्नो पुरानो इतिहास र वर्तमान समयसँग अनेकौं प्रश्नहरु गरेर मर्ममय प्रहार गरिरहेका हुन्छन् ।

आजको साहित्य प्रविधिले डो-याएको भनिन्छ नि । के भन्नु हुन्छ ?

यो कुरा सही हो । हामी लेखकहरुले प्रविधिबाट माथि उठ्नु पर्छ । प्रविधिले डो¥याउँदा हामीलाई सहयोग पनि पुगेको छ । हामी आजको समयमा विश्वव्यापी हुनको लागि प्रविधिको सहयोग र सद्भाव हामीले लिनै पर्छ । अस्ट्रेलियामा यहाँका स–साना केटाकेटीहरु सानै उमेरदेखि प्रविधिसँग जोडिन्छन् । उनीहरुले पढ्ने पुस्तकसँगै प्राविधिक रुपमा उपलब्ध हुने सफ्ट कपीहरु पनि हुन्छन् । मैलेभन्दा बढ्ता पुस्तकहरु मेरा छोराले पढिसकेका छन् । आउँदो समयमा त उनले अझै धेरै पढ्ने छन् । यहाँको समाजमा विद्यार्थीहरुले आफ्नो ग्रेडसँगै फाल्तु पुस्तकहरु बढी पढ्ने गर्छन् । त्यसैले पनि त्यहाँको समाजले स्रोता, दर्शकहरु असाध्यै धेरै पाउने गर्छन् । नेपाली समाजमा घोकाएर पढाउने चलन छ । नेपालमा पुस्तक लेखकहरु त्यसको आयआर्जनबाट बाँच्नलाई कठिन छ तर अस्ट्रेलिया जस्तो सम्पन्न देशहरुमा पठनपाठनको संस्कृति विशिष्टतम् र असाध्यै वैज्ञानिक हुनाले यहाँ पुस्तकहरुको माग र खपत धेरै हुन्छन् । त्यसैले पनि लेखकहरु यहाँ व्यवस्थित ढंगले जीवनयापन गर्न सक्छन् ।

तपाई धेरैतिर व्यस्त हुनुहुन्छ । लेखन र सामाजिक कार्यको समन्वय कसरी गर्नु हुन्छ ?

मेरो प्रगति र उन्नतिमा घरपरिवारको धेरै नै सहयोग छ । मैले समय जोगाएर लेखन, सिर्जना र सामाजिक काममा आपूmलाई लगाएको छु । समाजका लागि निश्चित समयहरु तोकिएका हुन्छन् । रेडियो सञ्चालन, स्कुल, सामाजिक कामहरुमा पूर्व निर्धारित समय हुन्छ भने लेखनसँग आफैँले छुट्याएको समय हुँदोरहेछ । समयलाई व्यवस्थित गर्न सक्दा धेरै काम गर्न सकिन्छ । मानिसहरु मैले फुर्सदमा गीत, गजल, कविता वा अन्य रचनाहरु लेखेँ भन्छन् । मलाई यतातिर विश्वास लाग्दैन र सिर्जना भन्ने कुरो हठात् आउने कुरा हो । कुनै योजनाबद्ध ढंगले लेखिदैन । आफुले आफैँलाई व्यवस्थापन गरेर अगाडि बढ्दा जुनै काम गर्दा पनि असजिलो हुँदैन ।

नेपाली साहित्यको ठूलो समस्या के देख्नु हुन्छ ?

नेपाली साहित्यमा खासै विकराल समस्या छैन । साहित्यका पुस्तकहरु प्रशस्त मात्रामा आइरहेका छन् । यो असाध्यै सकारात्मक पक्ष हो । संसारका विभिन्न ठाउँमा अहिले नेपालीहरु पुगेका छन् । प्रकाशन धेरै भए पनि सबै नेपालीको हातमा पुस्तकको पहुँच छैन । सबैभन्दा गाह्रो कुरा यही हो । प्रकाशन भयो तर पाठक कहाँ पुग्न सक्ने संयोजनकारी भूमिका बन्न सकेको छैन । विश्वका विभिन्न भूभागमा छरिएर रहेका नेपालीले नेपालमा रहेका लेखक वा प्रकाशनसँग पुस्तक मगाउँछन् । प्रकाशकले सबै ठाउँमा त्यो व्यवस्थित गर्न सक्दैनन् । लेखकले त आर्थिक भार हुने हुनाले सबैतिर हुलाकबाट पठाउने आँट गर्न पनि सक्दैनन् । यतातिर स्पष्ट धारणा बनाउनु पर्ने मैले देखेको छु ।

त्यसैगरी विदेशमा विभिन्न विद्यालयहरु खुलेका छन् । नेपाली पाठ्यक्रमका पुस्तकहरु त्यहाँ लैजान सके राम्रो हुन्थ्यो । नेपालमा लेखिएका पुस्तकहरु अस्ट्रेलिया लगायतका विभिन्न देशमा छरिएका नेपाली विद्यालयमा पुस्तक लान सके भोलिको पुस्तासम्म नेपाली भाषा, साहित्य जोगाउनमा ठूलो टेवा पुग्नेछ ।

साहित्यले भाषा र संस्कृतिको सम्बद्र्धनमा कत्तिको टेवा दिन्छ ?

साहित्य भनेको समुदायको प्रतिबिम्व हो । मान्छेको समग्र सांस्कृतिक अनुहार साहित्यमा अभिव्यक्त हुन्छ । साहित्य सीमित रुपमा हुँदैन । भाषागत रुपमा यो अभिव्यक्त हुन्छ, त्यो नै उत्कृष्ट साहित्य हो । भाषाको योगदानबाट समुदाय, संस्कृति र उसको इतिहास त्यहाँ अभिव्यक्त भएको हुन्छ । साहित्यले सधैँ माथि उठेर समाजको समग्र चरित्रलाई बोल्ने गर्छ । विदेशमा रहेका नेपाली समुदायलाई आफ्नो मौलिक पहिचान र इतिहास चिनाउनको लागि साहित्यिक कृतिहरु पढाउन सकियो भने राम्रो हुन्छ । मलाई लाग्छ यही अवस्था हो भने अबको १०–२० वर्षपछि विदेशमा रहेका नेपाली नयाँ पुस्ताले विस्तारै आफ्नो सबै कुरा बिर्सिन सक्छ । त्यो बेलामा भाषा र साहित्य गौण हुन पुग्छ । आजभोलि विदेशमा रहेका बाबुनानीहरुले घरको सीमित वातावरणमा थोरै नेपाली शब्दहरु बोलिरहेका, सुनिरहेका हुन्छन् । उनीहरुको बाहिरी समाज र विद्यालय वरपर अङ्ग्रेजी भाषा हुन्छ । त्यस्तो बेलामा नेपाली भाषा नै लोप हुन सक्छ । साहित्य त अलि परकै कुरा भयो । तर हामीले निरन्तर रुपमा लेखन, प्रकाशन, छलफल र पुस्तकहरु निरन्तर रुपमा पठाउन सकिरह्यौं भने नयाँ पुस्ताले पनि आफ्नो परम्परा र इतिहास जोगाउनको लागि सचेत भएर अगाडि बढ्ने कुरामा म आशावादी छु ।

नेपाली साहित्यका पाठकले तपाईंबाट अब के कोसेली पाउँछन् ?

कथा मेरो विशेष अभिरुचिको विधा भएकोले केही समयपछि म कथा सङ्ग्रह लिएर आउँदैछु । कविता पनि मसँगै प्रशस्त मात्रामा छन् । तिनलाई पनि सम्पादनको तयारी गरिरहेको छु । पाठकहरुले लगत्तै यिनै दुई कृतिहरु प्राप्त गर्ने छन् ।

एडिलेडमा कस्तो छ नेपाली साहित्यको अवस्था ?

एडिलेडमा विभिन्न संघ, संस्थाहरु खोलिए पनि त्यति व्यवस्थित ढंगले नेपाली भाषा, साहित्यको क्षेत्रमा कामहरु भएका छैनन् । केहीले यसो रहर गरेर साहित्यको नारा उचाले पनि दीर्घकालीन रुपमा र व्यवस्थित ढंगले साहित्य, संस्कृतिका लागि गहकिला कार्यहरु भएका छैनन् । विभिन्न व्यक्ति विशेषका रहरले अनेक संस्था र समूह भने बनेका छन् । तिनबाट स्तरीय र खँदिला कामहरु हुन सकेका छैनन् । यतातिर हाम्रा अग्रज र अनुज पुस्ताले ख्याल गर्ने मैले आशा गरेको छु । हाम्रै सक्रियतामा नेपाली भाषाको विद्यालय खुल्यो । अहिले यहाँ ११–१२ कक्षामा नेपाली भाषा ऐच्छिक विषयको रुपमा पढाइ हुन्छ । यस्तै अरु रचनात्मक काम गर्न पाए हुन्थ्यो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *