साहित्य : वैदेशिक रोजगारीबाट खुरुखुरु पैसा पठाएकी रनकुमारी हरेक कुराले रित्तै भई !

news-details

रनकुमारी कतार पुगेको आज एघार वर्ष पुग्यो ।

यो एघार वर्षभरि उसले लोग्ने र छोरो मात्र सम्झी । तिनैलाई सम्झी–सम्झी काम गरी । मिठो पकाउँदा पनि तिनैलाई सम्झन्थी । नमीठो खाँदा पनि तिनैलाई सम्झना गरिरहन्थी ।

काठमाडौंबाट धादिङ लाग्ने पाखोमा उसको बिहे भएको थियो । बिहानदेखि बेलुकासम्म उसको लोग्ने टिल्ल भएर बस्थ्यो ।

‘रातो दिनको यो कर्कश कति खप्नु ?’

‘छोडिदिन्छु यो जड्याहालाई !’

उसले यसो भनेर धेरै पटक झगडा गरी । तर आँट गरिहाल्न सकिनँ ।

बाउजस्तै धम्मरधुसे कालो छोरो हेर्थी –कर्मलाई धिकार्थी ।

तर एकदिन कतार पुगी – कसरी–कसरी !

हस्पिटलको काम थियो ।

मुख र दात सँगसँगै चलाउँथी नेपालमा छँदा । तर कतारले उसलाई मुख हैन हात मात्र छिटो चलाउन सिकायो । कारण एउटै थियो –ऊ नेपाली बाहेक अरु भाषा बोल्न जान्दिन थिई ।
रनलाई लोग्नेले ‘रानी’ भनेर बोलाउन थालेको थियो ऊ कतार पुगेपछि । त्यसपछि रनकुमारीको मन पनि बदलियो ।

‘अब सुध्रियो होला !’

गएको पाँच महिनामै उसले असी हजार रुपैयाँ पठाइदिई । लोग्नेले राम्रो बाटो लियो होला भन्ठानेर ।

त्यस लगत्तै पचास हजार पठाई ।

‘दशै राम्रोसँग मनाउनु ।’

उसले फकाएर बोली । अनि पैसासँग केही लुगा र घरका लागि चाहिने सरसामान पनि पठाई ।

एउटा लिपिस्टिक किन्ने बेलामा पनि ऊ बडो ख्याल गर्थी । मैले यता लाउनुभन्दा नेपालमै पठाउनु पर्ला । यस्तै कुरा ऊ सोच्थी ।

‘लौन यो माथ्लो गरो खार्नु प¥यो । २–४ लाख पठाइदे रानी !’

लोग्नेलाई एक साँझ जिब्रो लर्वराउँदै फोन ग¥यो ।

उसले सबै कुरा सुनेपछि भनी –‘पैसा त पठाइदिउँला म । तर रक्सी खान छोडे जस्तो त लागेन नि तिम्ले ?’

‘छोडिसकें नि । आज दिउँसो मामाले एक बोतल बियर किन्देका थिए । त्यै खाएको । रक्सी र वियर फरक हो नि लाटी । म पहिलाको जस्तो छैन नि ।’

लोग्नेका कुरा सुनेर ऊ मख्खै परी । खुशी भई । अनि भनी दंग भएर –‘अर्को हप्तासम्म पठाउँछु है ।’

उसले आफ्नो वचन पुरा गरी ।

अर्को हप्ता डेढ लाख रुपियाँ लोग्नेले बुझ्न पायो । पैसा लिन जाँदा लगेको नागरिकता कालो झोलामा राख्दै भन्यो –‘यो त पछि पनि चाहिन्छ नि ।’

हिउँद लागेपछि जाडो पनि निकै चम्कियो । छोरो र बाउले पालैसँग फोन गरिरहे । ऊ कामले व्यस्त भइरहन्थी । शनिवार बेलुका बल्ल उसलाई फूर्सद भयो । आफैले फोन फर्काई । ‘के भो फोन गरेका गरेकै छौ तिमीहरुले । किन हो ?’ उसले यत्ती भनी ।

‘सबैले सोलार राखे । नुहाउन गा¥हो भो । लौन खर्चपात पठाइदेऊ रानी ।’

उसले मनमनै सोची –‘ठीकै हो । सामान जोड्नु राम्रै हो । फेरि काठमाडौंको जाडो पनि बेस्सरी छ ।’

‘हुन्छ, अर्कोहप्ता फेरि रिनपान, खोजखाज गरेर भएपनि पठाउँछु । सामान चैं राम्रो हाल्नु है’ रानीले फोन राख्ने बेलामा भनी ।

मंसिरको आधाउधीमा पैसा आयो । यो पटक पैसा लिन छोरो गयो । पैसा पाएपछि छोरो न्यानो ताप्न चितवनतिर गयो । बाबु बिहानदेखि व्यस्त हुन्थ्यो खानपानमा ।

नयाँ वर्ष लाग्दा रनकुमारीले एकदिन फोन गरी । फोन निन्द्रैमा जस्तो बोलीमा लोग्नले बोल्यो ।

‘मैले दुई लाख पठाइदेको छु । त्यो पैसाले राम्रोसँग जस्ता छाउनु । सिकुवामा ढुंगा र इँटा छाप्नु । नपुग भए मलाई भन्नु । घर चैं राम्रो बनाउनु ।’

फोनमा पैसा आउने कुराले ऊ रमाएको थियो । खुशी भएर लोग्नेले भनेको थियो –‘मेरी दिलकी रानी ।’

लोग्नेको मीठो वचनले रनकुमारी निकै रमाई । ऊ प्रसन्न भएकी थिई । ‘जे होस् लोग्ने लाइनमा आयो ।’

फर्पिङका एक जना चिनारु दाइ काठमाडौं जाने सुनी उसले । सनैया रोडबाट एकदिन तुफान कुदेर ऊ तरबार गेट पुगी । चालीस हजारका स्वीटर, पाइन्ट, सर्ट र एउटा सानो घडी पठाउने मन गरी ।

‘लौन दाइ यति सामान बुढालाई लगिदिनु प¥यो ।’ उसले झोला थमाई ।

रनकुमारीले दुःख गर्न छोडिन । ऊ ओभरटाइम पाउन कम्पनीका माथिल्ला मुदिरहरुलाई खुबै अनुरोध गर्थी । उसको दुःख र मिहिनेत देखेर ओभरटाइम उसैलाई दिन्थे पनि ।

जेठतिर उसले फेरि दुईलाख पठाई ।

‘मैले हाड घोटेर यो पैसा पठाएको छु । तिम्ले टनेल खेती गर्छु भन्यौ । पैसाको राम्रोसँग प्रयोग गर्नु । अनावश्यक रुपमा पैसा नसक्नु नि ।’

‘अनि के–के रोप्ने नि टनेलमा !’ रनकुमारीले सोधी

‘सिजन अन्सार सबै रोप्नुपर्ला । रोप्नु मात्रै पर्छ । किन्ने मान्छे त घर वरिपरी जत्ति पनि छन् । यो काम राम्रो पनि रै’छ । ज्यानलाई पनि काइदा, मनलाई पनि आनन्द ।’

लोग्नेका कुरा सुनेर रनकुमारी दंग परी । ‘जे होस् लोग्ने लाइनमा लाग्यो । यो राम्रो कुरा हो ।’

‘म यता मिहिनेत गर्छु । ऊ उता गर्न खोज्दै छ । दुवै यसरी लाइनमा हिँडे त घर सप्रिइ हाल्छ नि ।’ ऊ खुशी भई ।

दुईतिर काम गर्थी – रनकुमारी । एउटा ठूलो सुपर मार्केटमा भर्खरै काम पाई । त्यो अघि ऊ हस्पिटलको सरसफाईको काम गर्थी । उसको काम राम्रो थियो ।

कतिले टिप्स पनि दिन्थे । टिप्सबाट उसको कमाई राम्रो हुन्थ्यो । रनकुमारी ठान्थी –‘म बल्ल नरकबाट निस्केर आफ्नो सुखको जीवन जिउन दिएकोमा निकै रमाई ।’

त्यो राति ऊ निकै नै प्रसन्न भई । काममा एकजना नयाँ कामदार आएको थियो । उसले रनकुमारीको निकै नै हेरविचार गथ्र्यो ।

उसलाई ओभर टाइम प्राय : अचेल उसैले मिलाईदिन्थ्यो । भन्थ्यो– ‘अप्ठेरोमा परेकोलाई मद्धत गर्नु धर्म हो । कर्म राम्रो गर्नु नै धर्म हो ।’

‘रनकुमारी कर्म गर्छे । कर्म गरेर कमाउँछे । यो मौका दिनु पर्छ ।’ नयाँ कामदारले खुबै सहयोग ग¥यो रनकुमारीलाई ।

बर्खामा फेरि पैसा चाहियो भनेर खबर आयो । लोग्ने अचेल निकै नरम र भलादमी भएर बोल्थ्यो । फोनमा छोरो प्रायः आउँदैनथ्यो । जे जति रकम माग्नु पर्दा पनि लोग्ने नै अघि सथ्र्यो ।

‘रानी, दुःख बुझ्ने तिमी नै छौ । यो पालि बुझ है ।’

‘किन र के प¥यो त्यस्तो ?

‘साथीहरु मिलेर गाई पालन गर्ने रे !’

‘भनेपछि पैसा चाहियो ?’

‘हो नि । अहिलेलाई एकलाख पठाइदेऊ । जम्मा पाँच लाखको शेयर मैले लिनु पर्ने भयो । यो काम फाइदैको छ । कमाइ पनि हुने । वचत पनि शेयर मार्फत भइरहने रहेछ ।’ लोग्नेले सम्झाएर भन्यो ।

राति कामबाट आएर उसले पैसाको जोहो के–के हुन्छ निकै विचार गरी । कति पैसा कहाँबाट निकाल्न सकिन्छ – विचार गरी ।

नयाँ कामदारलाई पनि भनी ।

‘ठीक छ, तिम्रो घरका मान्छेले काम गर्छन् भने म मद्धत गरुँला ।’

उसले सबैतिर बाट खोजखाज गरेर एकलाख पचास हजार घरमा पठाई । अनि बूढालाई फोनमा सम्झाई ।

‘मैले निकै गा¥होसँग पैसा खोजेर पठाएकी छु । गाई राम्रोसँग पाल्नु नि ।’

‘हुन्छ । हुन्छ ।’

बूढोले निकै मायालु पाराले भन्यो ।

दशैंमा उसले निकै सरसामान किनमेल गरि । अनेक सरसमान किनेर सुड्केस पुटुक्क पारी ।

काठमाडौं ओर्लेर घर पुग्दा थाहा पाई–लोग्ने पन्ध्र दिनदेखि बेपत्ता थियो ।

घरमा तालाबन्दी थियो – छाप्रे टिनको घर जस्ताको तस्तै थियो ।

घाँस जेलिएको घर देखेर उसको मन पुरै रित्तो भयो । त्यत्रो पैसा पठाएकी रनकुमारी हरेक कुराले रित्तै थिई – मन, धन सबैले ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *