मखनीले मनमा कुरा खेलाइरही –‘बौवा, समस्या अरु धेरै छन्, ती कसरी मिलाउने ?’

news-details

मखनीको छोरो उड्यो !

आकाशमा उडिरहेको जहाज मखनीले हेरिरही । उसको टिलपिल आँखाले उडिरहेको जहाज अब त देख्नै सकेनन् । आँसु उर्ली–उर्ली बगिरहे आखाँमा । गाउँमा मखनीलाई सबैले एउटै नामले डाकेनन् । जनकपुरभन्दा निकै पर रहेको देहातमा उसको घर छ । मखनीदेवी भनेर नागरिकतामा लेखिए पनि कसैले पनि उसलाई यो नामले बोलाएनन् ।

मखनीले दुईटा सन्तान पाई । एउटा छोरो – बौवा । अर्की छोरी बबुनी । छोरीको बिहे पटनातिर भएको पनि धेरै भयो । बबुनी माइत आउँदा तीन–चार केटाकेटी लिएर आउँछे ।

मखनीको बूढो मरेको धेरै वर्ष भयो । खेतमा पानी लगाउन साँझपख गएथ्यो । यसो कमिलाले चिलेजस्तो केले–केले चिल्यो ।

‘गंगटाले पो हो कि ?’

ऊ सोच्दै थियो ।

सुलुल्ल कालो सर्प पानीमुनि गएको देखेपछि पक्का भो –सर्पले डसेछ । एकाएक खुट्टो निलो भएर आयो । हतारिएर घरमा आयो ।

उसलाई खुर्सानी टोक्न लाए । उसले पिरो छैन भन्यो । दशवटासम्म खुर्सानी चबाउन लगाए – उसले एक थोपो पिरो नभएको बतायो ।

अनि सबैलाई पत्तो भयो सर्प बिखालु नै रहेछ । जनकपुर लैजाने सल्लाह गर्दागर्दै उसको ‘परान’ गयो ।

बौवा र बबुनी टुहुरा–टुहुरी भए । मखनीदेवी विधवा भई ।

त्यसपछि ठूलै पहाड उठाउनुप¥यो मखनीले । सारा गाउँलेले उसलाई खेद्न थाले । हरेक तिरबाट लखेट्न थाले, मखनीदेवीले भोकभोकै रात कटाई । दिनहरु तिर्खैतिर्खाले घेरिन्थे । तैपनि उसले छोराछोरी हुर्काई ।

मखनीको दुःखहरु झन् बढे । छोराछोरी बढेसँगै दुःख पनि ठूलठूलै भए । तर उसले खेप्दै र सहँदै दुःखहरु जित्न खोजी ।

जलेश्वरमा बसेर बौवाले सानो पान पसल चलाउँदै थियो । ऊ बेला–बेलामा घर आउँथ्यो –‘माई, अब कतार जान खोज्दैछु ।’

सुरु–सुरुमा त मखनीलाई छोराका कुराले डर लाग्थ्यो । छोरोलाई कसरी बाहिर पठाउने ? यो घरमा छोरो नभए आफू कसरी बस्ने ? एक्लै बस्ने आँट कहाँ थियो र मखनीसँग ? तर उसले वरपर सबैतिर हेरी । बुझी अनि निर्णय गरी –‘छोरो जान्छ भने जाओस् ।’

‘आखिर अरुका पनि त गएकै छन् । रामलखन, भगलु, जोगिन्दर, भगतसिंह, सियाराम, किसनकुमार, पप्पुभैया पनि त गाउँबाट कतार गएकै छन् ।’

‘जाओस् बौवा । कमाउन जाओस् ।’

मखनीले यसै भनेर बिस्तारै आफ्नो मन बुझाई ।

गएको दुई मैनादेखि खुबै कुदाकुद ग¥यो –बौवाले । अनि कतार जाने पक्कापक्की भएथ्यो । बल्ल टुंगो लागेछ ।

‘माई, भे गेल !’

‘भे गेल माई !’

उसले दोहो¥याएर विदेश उड्ने कुरा सुनायो मखनीदेवीलाई । मुखभरि मुजा र घामको तातोले डामिएकी बौवाकी आमा यतिखेर शान्त भई ।

धेरै दुःख भएपछि सुख र दुःख एकै हुँदो रहेछ । यतिखेर मखनीलाई त्यस्तै त्यस्तै लाग्यो ।

जेठको घामले तराईमा बेस्सरी डस्न थालेथ्यो ।

एक बिहान मखनीदेवी र बौवा काठमाडौतिर लागें । गौशालाको एउटा कोठामा आमालाई ल्याएर राख्यो बौवाले । आमा दिनभरि कोठाभित्रै यसोउसो गरेर बस्थी ।

‘बाँदरले झोला, ब्याग चोर्ला है ।’

‘माई देख–देख ।’

ऊ मखनीदेवीलाई सम्झाउँथ्यो ।

बिहानै हिडेको बौवा गौशालाको धर्मशाला भित्रिँदा रात परिसकेको हुन्थ्यो । कत्ति पटक त उसले बाहिरै रात काटेथ्यो ।

मेडिकल, ट्रेनिङ, श्रम, भेटघाट, टिकट, क्युआर कोड, पासपोर्ट, भिसा, इन्सुरेन्स, मेनपावर, एअरपोर्ट, पुलिस, चेकइन, डिले, कम्पनी लगेज, ह्यान्डक्यारी यी शब्द पटक–पटक बौवा भन्थ्यो । तर आमा मखनीदेवीले यी शब्द उच्चारण गर्न पनि जानिनँ, अर्थ पनि बुझिन ।

‘बौवा, के भनेको ?’

आमाले पटक–पटक माथिका शब्दहरु आउँदा उसले सोधेकी थिई ।

‘यी सबै पैसा हुन् माई । पैसा आउने शब्द त बोलिरहनुपर्छ नि माई ।’

बौवाले यसो भन्दै मुसुमुसु हाँसेको थियो ।

जम्मा पाँच कक्षा पढेर आफ्नो नाम लेख्न सक्ने भएको थियो बौवा ।

ऊ घुमाई–घुमाई र निकै कलाकारिता देखाएर आफ्नो नामको सही पनि गर्ने गथ्र्यो ।

‘मान्छेहरु तीन कक्षा पढ्ने बित्तिकै आफ्नो नाम हिन्दी, इङलिस, पञ्जावी, बंगाली, अबधी भाषामा बोल्छन् । कतिले त लेख्छन् पनि । म त पाँच पढेको बौवा हँु । सही पनि दामी गर्नुपर्छ ।’

बौवाले आमालाई गफ दिएथ्यो ।

‘जे गर्छस् गर । संसार जान्ने तँ नै होस् ।’

आमाले उत्तर फर्काएकी थिइन् ।

बुधवारको बेलुकी आमा मखनीदेवीलाई लिएर बौवा पशुपतिनाथ गयो ।

आमा छक्कै परिन् –पशुतिनाथ मन्दिर अगिल्लितिरको ठूलो बसाहा देखेर । यति ठूलो साँडे उसले देखेकी पनि थिइन कहिल्यै पनि ।

थोर अनौठो लाग्यो उसलाई ।

पशुपति दर्शन गरे । फूल चढाए । बत्ती बाले । धुप बाले । अनि गौशाला तिरै फर्किए ।

‘भोलेबाबा मेरो बौवालाई धेर धन बर्साइदेऊ । धन बर्साउन नसके तन जोगाइदेऊ ।’

आमाले पटक–पटक यही भनिन् ।

राति नजिकैको पसलमा लगेर पेडा, बुनिया, मुरै र दही खाए उनीहरुले । जीवनमै पहिलोपटक यति धेरै मिठो खानेकुरा आमाको मुखमा परेको थियो ।

ज्यादै मिठो मानी–मानी आमाले दही र पेडा खाई ।

‘मन लागेको भए अरु पनि थप माई ।’

बौवाले तीन–चार खेप भन्यो ।

मखनीदेवीले दुई पटक थपेर खाँदा अघाएको बताई । आमाको अनुहार अघाएको देखिन्थ्यो ।

‘कमाए जत्तिकै भयो । आमालाई हँसाउनु नै धन कमाए जस्तै त हो नि !’

बैवाका मनमा कुरा खेले ।

भोलिपल्ट बिहानै उनीहरु झोला बोकेर एयरपोर्ट पुगे । विमानस्थलको एउटा कुनामा व्याग र आमालाई राखेर एकछिन हरायो –बौवा ।

‘कम्पनीको मान्छेसँग मेरो काम छ’ –यही भनेर ऊ भीडमा मिसिएको थियो । करिब दुई घन्टापछि आयो र प्लाष्टिकको पोका आमालाई दियो ।

‘माई खाना हो खाऊ ।’

मखनीले पोका खोलेर हेरी । दुईवटा पातला रोटी, एउटा मुलाको चाना, चारवटा आलुका चाना, प्याजको एउटा टुक्रा, एकचाना गाजर, सानो प्लाष्टिकको गिलासमा झोलिलो तरकारी र एउटा हरियो ढिँडी खुर्सानी थिए । उसले बिस्तारै सबै खाई ।

यी खानेकुरा पनि जीवनमा एउटै थलोमा देखेकी थिइनँ । मखनीदेवीलाई विदेश नै सबै यतै छ जस्तो हिजो र आजको खानामा लागिरहेथ्यो ।

दुई बजेको जहाजमा बौवा उड्यो ।

जाने बेलामा धेरै कुरा उसले गर्न मौका पाएन ।

एउटा कुरा भनेको थियो –‘माई, इनार सुक्छ । पानी बोक्न समस्या होला । तर म गएर सुकेको इनार खन्ने खर्च पठाई हाल्छु माई ।’

‘यो समस्या मुख्य हो । यसलाई म मिलाईहाल्छु’ बौवाले भनेको थियो ।

तर आमाले मनमा कुरा खेलाइरही –‘बौवा, समस्या अरु धेरै छन् । ती कसरी मिलाउने ?’

‘अब कसले खेत खन्छ ? कसले धान रोप्छ ? कसले गहुँ छर्छ ? कसले मकै गोड्छ ?’

‘बौवा, घरको भैसी कसले चराउन जाने ? घरको छानो चँुहिदा कसले छाउने होला ? बारी छेउको आपको बोटमा औषधी कसले छर्छ ?’

‘अब हुरी आउँदा घर छेउका बाँस लडेर घरै छोप्छन् । त्यो बेला कसले बाँस काटेर घर जोगाउने ? बर्खामा पैनीको पानी घरमा पस्छ, त्यतिखेर पानीको भल कसले कटाउने ?’

‘बौवा जाडो खुबै हुन्छ मधेशमा । त्यतिखेर गोबरको गुइँठा र दाउरा खोज्न को जान्छ ? आगलागी पटक–पटक हुन्छ गाउँमा । त्यो बेला को घर जोगाउन अघि सर्ला ?’

‘समस्या अरु पनि छन् । घरको धुरीबाट ओछ्यानमा सर्प खस्छन् । त्यतिखेर सर्प खेद्ने को होला ? सर्पले टोके अस्पताल लाने को होला बौवा ?’

मखनीदेवीले आँसु पुछेर आफैं फतफत गरी –‘बौवा, समस्या त्यति मात्र कहाँ हो र ? अब मैले बोल्ने एउटा मान्छेसम्म पाउँदिन घरमा ? अर्को मान्छे नभएको घरमा एक्लै बस्नु समस्या हो की होइन ? तँ गएको दिनदेखि कहिले आउँछस् भनेर बस्नु छ मैले । यो चाँहि समस्या हो कि होइन ?’

बौवाकी आमा एक्लै फतफताइ रही ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *