बाहिरका नेपालीले आफ्नो छातीमा देश नेपाल टाँसेर बाँचेका छन् : महेश्वर शर्मा, कवि /लेखक

news-details

डायस्पोरामा नेपाली साहित्यलाई जिवन्त राख्न सक्रिय कबि तथा लेखक महेश्वर शर्मा हाल अष्ट्रेलियामा रहदै आउनुभएको छ । बुबा नरेन्द्र प्रसाद शर्मा र माता सरस्वती शर्माको कोखबाट वि सं २०४२ असोज २४ मा जन्मनुभएका शर्मा आफ्ना उच्चस्तरका सिर्जनाका कारण प्रवासमा निकै लोकप्रिय हुनुहुन्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्षसमेत रहनुभएका शर्मासँग नेपाली साहित्य तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली साहित्यको अवस्था र संभावनाका विषयमा गरिएको कुराकानीको सारसंक्षेप :

तपाई‌लाई विशेष मन पर्ने लेखन विधा कुन हो ?

मलाई विशेष मन पर्ने लेखन विधा कविता हो। सानैदेखि कविता सुन्न मन पराउँथे । पछि विभिन्न कविता प्रतियोगिताहरुमा भाग लिन थालेपछि कविता लेख्न उर्जा मिल्यो ।

संगठन र लेखनको संयोजन के कसरी गरिरहनुभएको छ ?

संगठन र लेखनको संयोजन गर्न साह्रै नै गार्हो हुँदो रहेछ। संगठनमा रहंदा विभिन्न कार्यक्रमहरुको संयोजन गर्नु पर्छ । अझ त्यसैत यो व्यस्त प्रवासको जीवन । एक हदसम्म त संगठनले लेखनमा उर्जा त दिन्छ नै । तर एउटा सत्य चाहिँ के हो भने सिर्जनशिल अथवा लेखनलाई निरन्तरता दिने हो भने एकाग्र पन स्वतन्त्र हुनै पर्छ ।

कविता तपाई‌को रुचिको विषय हो । कसरी आकर्षित हुनुभयो यो विधामा ?

मैले अघि पनि उल्लेख गरें सानै छँदा कविता सुन्न खुब मन पराउंथे । पछि कविता लेख्न पनि थालेँ । विभिन्न कार्यक्रमहरुमा भाग लिन थालेपछि कविताको लेखन वाचनलाई निरनन्तरता दिएँ। कविता लेखी मेरो बुबा आमालाई सुनाउथें । उहाँहरुको प्रेरणाले लेखनीमा अझ उर्जा थपेको हो ।

अन्य कुन विधामा सिर्जना गर्न मन लाग्छ ?

गजल र मुक्तक पनि लेख्छु । तर पछिल्लो समय कविता मै कलम बढी चल्छ । कविताले हृदय छोएर हो कि सायद !

नेपाली साहित्यको अवस्था कस्तो देख्नुहुन्छ ?

ठ्याक्कै नेपाली साहित्यको अवस्था यस्तो छ भनेर वस्तुगत रुपमा भन्नुभन्दा पनि नेपाली साहित्यको भविस्य उज्जल छ भन्न रुचाएं। तिम्रो लेखनीमा यहाँनेर सुधार गर्नु पर्छ अथवा यसरी लेख्नु पर्छ है भन्ने सुझाव र सल्लाह प्रदान गर्नेको ठूलो खडेरी नै परेको छ जस्तो लाग्छ अहिले। सबैलाई साहित्यकार बन्नै पर्ने दौड भए जस्तो पनि देखिन्छ । साहित्यको गहिराइमा गएर साधनासहित लेख्नु अहिलेको युगले खोजेको हो भन्ने लाग्छ।

नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरमा जाने संभावना देख्नुहुन्छ ?

यहाँ नेर तपाईँले राख्नुभएको प्रश्न अत्यन्तै गम्भिर छ । जबसम्म हामीले लेखेको साहित्य अन्य भाषामा अनुवाद भइ अन्तर्राष्ट्रिय स्तरमा जान सक्दैन । तबसम्म यसको आयतनलाई अभिवृद्धि गर्न सकिँदैन भन्ने लाग्छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाका थूप्रै कृतिहरु छन् । हामीले कम्तिमा उहाँको कृतिलाई अनुवाद गरेर अन्तर्राष्ट्रिय स्तरमा लैजान सक्ने हो भने उहाँ पछिका साहित्यकारहरु को साहित्य बाँच्ने हो ।

ठ्याक्कै तपाईँले भन्नु भएको प्रश्नमा आउँदा अहिले नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरमा जाने सम्भावना म देख्दछु । हामी सकारात्मक चाहिँ हुनै पर्छ । अहिले त झन धेरै नै सजिलो छ नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय रुपमा लैजानको निम्ती। जस्तै नेपाल बाहिर थूप्रै नेपालीहरु छन् । उनीहरुले आ-आफ्नो छातीमा सानो देश नेपाल टांसेर बाँचेका छन् । अझ भनौँ उनीहरुलाई आफ्नो देशको माया औधि लाग्छ । पहिलो पुस्ता हुंदै दोस्रो पुस्तासम्म आइपुग्दा नेपाली भाषाको प्रवर्धन सहित साहित्यलाई विभिन्न भाषामा अनुवाद गर्दै लैजाने हो भने प्रवासमा रहने दोस्रो पुस्ताका नेपालीहरु आंफैले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय रुपमा फैलाउन सक्छन भन्ने लाग्छ । त्यसको लागि प्रवासमा स्थापना गरिएका साहित्यित संगठनहरुले शुरुवात गर्नु जरुरी देख्दछु ।

पाठकहरुले तपाईँको नयाँ कुनै कृति कहिलेसम्म पाउन सक्लान ?

मैले केही कोरेको चाहिँ छु । अहिले केही कविताहरु पनि लेखेको छु । हेरौँ कहिलेसम्म पुरा हुन्छ !

नेपाली साहित्य कत्तिको पढ्नुहुन्छ ?

पढ्छु,नेपाली साहित्य नै हो मैले पढ्ने । मलाई कवि डा नवराज लम्सालको महाकाव्य ‘धरा’ र ‘कर्ण’जस्तै पुस्तकहरु पढ्ने रहर छ। ‘धरा’ र ‘कर्ण’ नेपाली साहित्य र हाम्रो पुस्ताको निम्ती अमुल्य उपहार हुन् । यस्तै पुस्तकहरु अझ जन्मिउन भन्ने लाग्छ ।

अष्ट्रेलियामा नेपाली साहित्यको अवस्था कस्तो छ ?

अष्ट्रेलियाको नेपाली साहित्य म उर्बर देख्दछु । अष्ट्रेलियामा पनि विभिन्न साहित्यिक संस्थाहरु छन् । त्यस मध्ये संसारभरि नै संजाल भएको संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलियाका विभिन्न शहरहरुमा छन् । ती शहरहरुमा रहेका अनेसासले थूप्रै साहित्यिक कार्यक्रमहरु सक्रिय रुपमा गरिरहेका छन् । अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएर विभिन्न साहित्य सिर्जना गर्ने साहित्यकारहरुले डायस्पोरिक साहित्यमा आफ्नो बलियो उपस्थिति पनि जनाएका छन ।

अनेसास मार्फत सिड्नीमा तपाईँको सक्रियता निकै छ। आगामी दिनमा कुनै विशेष योजना छ कि ?

आगामी दिनमा पनि डायस्पोरिक साहित्यलाई अनेसास मार्फत अझ सशक्त र सक्रिय बनाउने मन छ । हेरौँ यो प्रवासको व्यस्तताले कत्तिको साथ दिन्छ ।

प्रकाशन, संयोजन र रचनाकर्म मार्फत तपाईँको योगदान नेपाली साहित्यले पाई आएको छ । नेपाली साहित्यलाई अझै विश्वव्यापी तुल्याउन के के काम गर्न सकिन्छ ?

नेपाली साहित्यलाई विश्वव्यापी तुल्याउन पहिलो काम त नेपाली भाषामा लेखिएका साहित्यिक कृतिलाई अंग्रेजी तथा विभिन्न भाषामा अनुवाद हुनु जरुरी छ । विश्वभर नै ठूलो संजाल बनाएको साहित्यिक संस्था अनेसासले यसको पहल गर्न जरुरी छ भन्ने लाग्छ । निम्न कार्यहरु गर्न सकिए मात्रै डायस्पोरामा नेपाली भाषा र साहित्य बाँच्दछ ।

१. पहिलो काम त नेपाली पाठशालाको स्थापना हुनु पर्दछ। नेपाली भाषा पाठ्यक्रम बनाई प्रवासमा रहने दोस्रो पुस्ताका नेपालीलाई अनिवार्यरुपमा नेपाली भाषा पढाउने प्रबन्ध मिलाउनु पर्दछ, जसमा विभिन्न देशमा रहेका पहिलो पुस्ताका नेपालीसँग संयोजन गरेर यसलाई अघि बढाउन सकिन्छ ।

२. दोस्रो पुस्ताका नेपालीहरुले नेपाली भाषा बेल्न, बुझ्न, लेख्न सके भने उनीहरुले नै नेपाली साहित्यलाई अंग्रेजी तथा विभिन्न भाषामा अनुवाद गर नेपाली साहित्य विश्व स्तरमा पुर्याउन सक्दछ।

३. प्रवासमा गरिने साहित्यिक सम्मेलन,साहित्यिक गोष्ठी, गर्नका लागि मात्रै गर्ने कि रु यसको गहिरो अर्थ पनि होस्। जस्तै सम्मेलनबाट कति नेपाली भाषा साहित्यका कृतिहरु अँग्रेजी भाषामा अनुवाद भए त रु कति पुस्तहरु अन्तर्राष्ट्रिय स्तरमा पुगेका छन् त ? आदि आदि कुरामा ध्यान पुर्याउन सके पक्कै हाम्रो साहित्य बाँच्दछ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *