सरकारले पहल गर्ने हो भने हङकङमा नेपालीले प्रशस्त अवसर पाउन सक्नेछन् : डिके दाहाल

news-details

११ बर्ष अगाडि हङकङ छिर्दा खोटाङका द्रोणकुमार दाहाल (डिके) सामान्य कामदार थिए । अहिले उनको परिचय फेरिएको छ । उनी अहिले कामदार होइन, व्यवसायी बनेका छन् । द्रोणकुमारबाट उनी डिके दाहाल बनेका छन् ।

सन् २०१२ मा हङकङ पुग्दा उनले कन्ट्रक्शन क्षेत्रमा ३ बर्षसम्म काम गरे । संयोग नै मान्नु पर्छ अहिले उनी कन्ट्रक्शन व्यवसायी नै बनेका छन् । अहिले कन्ट्रक्शन, ह्युमन रिसोर्स तथा रिक्रुटमेण्टसम्बन्धीको व्यवसाय छ उनको । उनले हङकङमा मात्र नभएर अष्ट्रेलियामा पनि व्यवसाय बिस्तार गरेका छन् । हङकङमा नेपाली व्यवसायीका रुपमा आफुलाई स्थापित गरिरहेका डिकेले केही नेपालीहरुसँग मिलेर फाइनान्स कम्पनी खोल्ने तयारी पनि गरिरहेका छन् ।

खोटाङमा जन्मिएर धरानमा इन्जिनियरिङ अध्ययन गरेका डिकेको जीवनमा धेरै उतारचढाव आए । सडक दुर्घटनामा परेर महिनौ अस्पतालमा बस्न पुगेका डिकेले दोश्रो जीवन पाए । समयले उनलाई अझै अगाडि बढ्न पठायो । नेपालमा रहेको व्यवसायलाई चटक्कै छोडेर हङकङ छिरेका डिकेले ११ बर्षमा गरेको मेहनतले पछाडि फर्किएर हिड्नु परेको छैन ।
नेपाली युवा व्यवसायी डिके दाहालसँग उनको संघर्ष, हङकङमा नेपाली व्यवसायीको अवस्था, अवसर तथा चुनौतिका विषयमा रोजगार मञ्चले गरेको छोटो कुराकानी :

तपाई सामान्य कामदारकारुपमा हङकङ छिरेर ११ बर्षमा सफल व्यवसायी बन्नु भयो, यो कसरी सम्भव भयो ?

धन्यवाद । म आफैलाई सफल त भन्दिन तर कामदारबाट व्यवसायी बनेको चाहि हो । म सन् २०१२ मा हङकङ आउँदाखेरी कन्ट्रक्सनमै काम गर्ने गर्थे । तर, म काम मात्र गरेर बस्दिन थिए । म अन्य संभावनाको पनि अध्ययन गरिरहेको हुन्थे । पहिलादेखि नै म केही भिन्न हुने प्रयास गर्थे । ३ वर्षको अवधिमा मैले एउटा कम्पनी दर्ता गरे । त्यसपछि मार्केटिङ गरे । नयाँ कम्पनी भएकाले काम पाउन नै मुस्किल हुन्थ्यो । ३ वर्षसम्म मार्केटिङ गरेपछि एउटा काम पाइयो । म आफै कामदार भएकाले र त्यो काम कसरी सफल बनाउनु पर्छ भन्ने ज्ञान भएकाले क्लाइन्ट सन्तुष्ट पार्न सके । त्यसपछि अहिलेसम्म फर्किएर हेर्नु परेको छैन । अहिले हामीसँग ९/१० वटा प्रोजेक्टहरु छन् । ३ सय जना कामदार छन् । सहज ढंगले व्यवसाय चलिरहेको छ ।

हिजोको कामदार द्रोणकुमार र अहिले रोजगारदाता डिके दाहालमा के फरक छ त ?

ममा त्यस्तो परिवर्तन भएको छैन । म हिजो हङकङ छिर्दा लेबरबाट अनुभव बटुल्दै व्यवसायी भएको छु । अहिले हङकङका व्यवसायीहरु सबैले चिन्नुहुन्छ । यसले आफूलाई एकदमै गौरवान्वित महसुस हुन्छ । सन्तुष्टि मिल्छ । हिजो ओइ द्रोणे भन्नेले आज डिके सर भन्नुहुन्छ । हुन त हङकङमा म मात्र होइन धेरै नेपालीहरु कामदारका रुपमा गएर पछि कम्पनी खोलेर व्यवसायको क्षेत्रमा प्रवेश गर्नुभएको छ । सफलता खोज्ने भनेको आफै भित्रबाट हो, जुन एक दिन अवश्य भेटिन्छ ।

तपाईलाई नेपालमा पनि विभिन्न व्यवसाय गरेको अनुभव छ, हङकङमा चै व्यवसाय गर्न कतिको सहज छ ?

व्यवसाय आफैमा रिक्स हो । च्यालेन्ज जहाँ पनि हुन्छ । तर, हङकङमा व्यवसाय गर्न केही सहज छ । यहाँ सरकारको पोलिसी राम्रो छ । व्यवसायीलाई सपोर्ट गर्ने पोलिसी छ । हामीले सर्पोट पाइरहेका छौ ।

हङकङ भन्ने वित्तिकै सेवासुविधा र पारिश्रमिक धेरै आकर्षक छ भनिन्छ, हङकङ कामदारका लागि कस्तो छ ?

रोजगार र कमाईको हिसाबले हङकङ विश्वकै टपमा पर्छ होला । हङकङ आइडिको हिसाबमा हामीले यहाँ रोजगार पाउने हो । हामी लेबरहरु बाहिरबाट ल्याउन पाउँदैनौ । यहीको जनतालाई रोजगार दिइसकेपछि पुगेन भने मात्रै सरकारले बाहिरबाट कामदार ल्याउन अनुमति दिन्छ । यहाँ सामान्य वर्करले पनि हङकङको ३० हजार डलर अर्थात नेपाली ५ लाख ४० हजार महिनाको सजिलै कमाउन सक्छन् ।

हङकङमा यति राम्रो अवसर हुँदा समेत नेपाली कामदारहरु किन ल्याउन सकिएको छैन, हामी त खाडी र मलेसियामा मात्र केन्द्रित भइरहेका छौ त ?

हामीले व्यक्तिगत भन्दापनि सरकारको मातहतबाट पहल गर्ने हो भने यहाँ नेपालीले अवसर पाउन सक्नेछन् । हङकङले नेपाली कामदारलाई अति नै रुचाएको छ । नेपालीहरु हाडवर्किङ गर्छन भन्ने हामीले प्रमाणित गरिसकका छौ । अहिले कामदारको धेरै खाँचो छ यहाँ । यसबेला सरकारले दह्रो तरिकाले पहल गर्ने हो भने नेपाली कामदारहरुको लागि ढोका खोल्ने धेरै सम्भावना छ । त्यसमा पनि नेपाली व्यवसायीहरुले मात्रै ६० देखि ७० हजार कामदारलाई रोजगार दिने ग्यारेन्टी गर्न सक्छौ । अहिले हामी नेपाली व्यवसायीहरु यहाँ धेरै भइसकेका छौ । कन्ट्रक्सनमा रोजगारका धेरै अवसरहरु छन् । नेपालीलाई यहाँ रोजगारीको अवसर दिलाउन सकियो भने धेरै नेपालीको भविष्य राम्रो बन्न सक्छ ।

यति धेरै अवसर हुँदा पनि हङकङ अहिलेसम्म किन खुल्न सकेन, यो अवसर पाउनका लागि के गर्नुपर्छ जस्तो लाग्छ ?

हङकङमा रोजगारका अवसर धेरै छन् । हाउसमेडमा पनि धेरै नेपाली दिदिबहिनीका लागि अवसर छ । सुरक्षाको दृष्टिकोणले यहाँ धेरै राम्रो छ । सरकारले नै छलफल गरेर काम अगाडि बढाएमा असम्भव छैन । विशेषगरि अहिले हङकङमा चिन हावी भइसकेको छ, उसले जे भन्यो त्यही हुन्छ । नेपालका प्रधानमन्त्रीको निकट भविष्यमा हुने चाइनाको भ्रमणमा हङकङमा रोजगार खुलाउने विषय राख्ने हो भने यो सम्भव छ । यसो हुन सके यहाँ धेरै नेपालीले अवसर पाउने थिए ।

खाडी र मलेसिया रोजगारको गन्तब्य बनिरहँदा हङकङको अवसर खुलेमा केके फाईदा पुग्ने देख्नुहुन्छ ?

हङकङ कमाईकै हिसाबले पनि संसारकै टप ठाउँ हो । त्यो हुनाले रेमिट्यान्स त बढने थियो नै नेपालीहरु आर्थिकरुपमा सम्पन्न पनि हुने थिए । एक नेपाली सक्षम हुनु भनेको देश पनि सक्षम हुनु हो । यसले आर्थिक रुपमा बल पुग्छ । हङकङ विश्वको विजनेश हव हो । यहाँ आउनु भनेको यहाँ सिकेर नेपालमा पनि केही गर्न सक्छन् । केहि न केही हिसाबमा टेवा अवश्य पुग्छ ।

त्यसैले यहाँ रहेका हामी युवा व्यवसायी एक जुट भएर सामुहिक लगानीको लागि काम गरिरहेका छौ । नेपाललाई फाइदा पुगोस भन्ने हाम्रो उद्देश्य हो ।

हङकङमा जसरी पारिश्रमिक र सेवासुविधा आकर्षक छ, त्यतिनै सामाजिक र पारिवारिक सम्बन्ध बिग्रदो छ भनिदो रहेछ नि हो ?

हो, तपाईको मुल्यांकन सही हो । यहाँ पैसाभन्दा पनि समय महत्वपुर्ण छ । सबै काममा दौडिरहेका हुन्छन् । उनीहरुले आफ्ना परिवारलाई समय दिन पाएका हुँदैनन् । समयको कारणले गर्दा प्रायः यहाँ श्रीमान् श्रीमती काममा जाने अनि छोराछोरी बिग्रने गरेको पाइएको छ । पैसाको पछाडि दौडदा आफ्नो पारिवारिक पाटो बिग्रिरहेको छ । अहिले युवाहरु राम्रो शिक्षाबाट वञ्चित छन् । यसमा अभिभावकको दोष देख्छु म । त्यसैले यहाँ जेनेरेशन ग्याप चाँहि देखिएकै छ ।

अन्त्यमा, तपाई अहिले विकसित देशमा हुनुहुन्छ, हाम्रो देश जस्ताको तस्तै छ, नेपाल समृद्ध बन्न सक्ला त, के देख्नुहुन्छ ?

नेपाललाई नेपाल बनाई दिए हुन्थ्यो जस्तो लाग्छ । २–४ जना बालेन, हर्क जस्ता मान्छेहरु जन्मिए हुन्थ्यो जस्तो लाग्छ । नेपाल समृद्ध नहुनको कारण भष्ट्राचार नै देखिन्छ । सम्भावना नै सम्भावना भएको देश नेपाल ज्यादै प्यारो लाग्छ तर अहिले केहि सुधार भइरहेको सुनिएको छ ।

यहाँ ७० वर्षभन्दा माथिका ट्याक्सी ड्राइभर छन् । श्रम गर्ने बानीले गर्दा मान्छेलाई स्वस्थ बनाउँछ । यहाँ प्रायजसो बोइल गरेको खाना खान्छन् । उनीहरुको हेल्थले पनि उनीहरु काम गर्न तयार हुन्छन् । यहाँका मानिसहरु श्रम गर्न मन गर्छन् । नेपालमा श्रम गर्न चाँहदैनन् । त्यसले गर्दा पनि नेपाल पछि परेको छ । अब सबै मिलेर नेपाल बनाउनु पर्छ त्यसमा विदेशमा भएका लाखौ नेपाली पनि तयार छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *