“शान्ति–सुरक्षा, सुशासन र सफल निर्वाचन सुनिश्चित गर्न सफल भयौँ” : गृहमन्त्री अर्याल

news-details

जेनजी आन्दोलनपछि देश एक प्रकारको अन्योल, त्रास र अस्थिरताको अवस्थामा पुगेको थियो । त्यही कठिन समयमा गृहमन्त्रालयको नेतृत्व सम्हाल्नुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षा कायम गर्दै, सुशासनको आधार निर्माण गर्दै र अन्ततः प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउँदै आफ्नो १९१ दिने कार्यकाल पूरा गर्नुभएको छ । यसै विषयमा उहाँसँग रोजगारमञ्चका लागि उत्तम भट्टराईले गरेको विस्तृत कुराकानी प्रस्तुत छ :

त्रासपूर्ण अवस्थाबाट सुरु भएको तपाईंको कार्यकाललाई हेर्दा—तीन मुख्य जिम्मेवारी कत्तिको पूरा भए ?

भदौ २३ र २४ पछिको अवस्था अत्यन्त जटिल थियो । देशमा कानुनी राज्यको अनुभूति नै हराएको थियो—राज्य संयन्त्रहरू निष्क्रिय, नागरिक त्रासमा, र वातावरण शत्रुतापूर्ण थियो ।

त्यस्तो अवस्थामा पहिलो आवश्यकता थियो—अवस्थालाई सामान्य बनाउने । हामीले सिचुएसन नर्मलाइजेसनबाट सुरु ग¥यौं । त्यसपछि कानुनी राज्य पुनःस्थापना ग¥यौं ।

हामीले स्पष्ट रूपमा बुझ्यौं—सुशासनको अभावकै कारण विद्रोह भएको हो । त्यसैले सुशासन सुधार, सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने कामलाई प्राथमिकतामा राख्यौं ।

आजको अवस्थामा हेर्दा—कानुनी राज्य स्थापित भएको छ, सुशासनतर्फ सुधार देखिएको छ र सेवा प्रवाहमा पनि नागरिकले परिवर्तन महसुस गरेका छन् । यी तीनै क्षेत्रमा पहिलेको तुलनामा उल्लेखनीय सुधार भएको छ भन्ने विश्वास छ ।

सहिद घोषणा, राहत र घाइते व्यवस्थापनलाई दीर्घकालीन बनाउनेतर्फ के पहल गर्नुभयो ?

जेनजी आन्दोलनमा सहभागी भएर ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरिएको छ । उहाँहरूको सम्मानका लागि संसद भवन, सहिद पार्क र जावलाखेलस्थित जेनजी स्मारकमा नाम र सालिक स्थापना गर्ने योजना अघि बढाइएको छ । सहिद परिवारलाई राहत, घाइतेलाई परिचयपत्र र मासिक भत्ता दिने व्यवस्था गरिएको छ । यसका लागि गृहमन्त्रालय अन्तर्गत स्पष्ट निर्देशिका तयार गरिएको छ, जुन कानुनी आधारसहित लागू हुने व्यवस्था हो ।

साथै, जेनजी परिषद गठनको प्रक्रिया सुरु भइसकेको छ । यो परिषदले तत्कालीन र दीर्घकालीन रूपमा जेनजी आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै अघि बढ्नेछ ।

संरचना पुनर्निर्माणसँगै सुरक्षाकर्मीको मनोबल कसरी उठाउनुभयो ?

४६५ भन्दा बढी सुरक्षा युनिट, प्रहरी चौकी र प्रशासनिक संरचनाहरू पुनर्निर्माण गर्नु आफैंमा चुनौतीपूर्ण थियो । तर संरचना मात्र बनाएर हुँदैन—मनोबल पनि उस्तै महत्वपूर्ण हुन्छ ।

हामीले नेतृत्व शैली परिवर्तन ग¥यौं । आदेश दिने भन्दा पनि समन्वय गर्ने, अवसर दिने र क्षमताअनुसार जिम्मेवारी दिने वातावरण बनायौं । सामूहिक नेतृत्वको अभ्यास गरियो, जसले सुरक्षाकर्मीहरूमा स्वामित्वको भावना विकास ग¥यो ।
आजको अवस्थामा सुरक्षाकर्मी र नागरिकबीचको सम्बन्ध सुधारिएको छ र मनोबल पनि उल्लेखनीय रूपमा बढेको छ । सफल निर्वाचन त्यसको प्रत्यक्ष प्रमाण हो ।

राष्ट्रिय अनुसन्धान विभाग र नागरिकता नियमावलीका निर्णयहरू कत्तिको महत्वपूर्ण रहे ?

शान्ति सुरक्षाका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो—समयमै सूचना प्राप्ति र त्यसको विश्लेषण । राष्ट्रिय अनुसन्धान विभागलाई गृहमन्त्रालय मातहत ल्याउँदा हामीले पूर्वसूचना पाउने र जोखिमलाई प्रारम्भमै नियन्त्रण गर्ने क्षमता बढायौं। यही कारणले निर्वाचन हिंसारहित र व्यवस्थित भयो ।

नागरिकता नियमावलीको कुरा गर्दा—संविधान र ऐनमा व्यवस्था भए पनि कार्यान्वयन हुन सकेको थिएन । हामीले नियमावली जारी गरेर करिब ३ हजार नागरिकलाई आफ्नो अधिकार प्रयोग गर्ने अवसर दियौं। यो नागरिक अधिकारको दृष्टिले महत्वपूर्ण उपलब्धि हो ।

निर्वाचन सुरक्षामा मुख्य चुनौतीहरू के थिए ?

नेपालको भौगोलिक विविधता नै सबैभन्दा ठूलो चुनौती हो । हिमाल, पहाड र तराईका समस्या फरक–फरक छन् । हामीले जिल्लागत र प्रदेशगत रणनीति बनायौं ।

विशेष गरी प्रदेश कमाण्ड पोस्टलाई सक्रिय बनाउनु महत्वपूर्ण निर्णय थियो । यसले केन्द्र, प्रदेश र जिल्ला बीच समन्वयलाई मजबुत बनायो । साथै, कानुन उल्लंघन गर्ने जो कोहीलाई कडा कारबाही हुन्छ भन्ने स्पष्ट सन्देश देशभर फैलियो। यसले दण्डहीनताको अन्त्य गर्न मद्दत ग¥यो ।

प्रविधिको प्रयोगतर्फ गृह प्रशासन कत्तिको अघि बढेको छ ?

अब हाम्रो सोच बदलिएको छ—घटना भएपछि प्रतिक्रिया दिने होइन, घटना हुन नदिनु नै मुख्य उद्देश्य हो । ६५ लाखभन्दा बढी एसएमएसमार्फत अर्ली वार्निङ प्रणाली प्रयोग गरियो, जसले जोखिम न्यूनीकरणमा ठूलो भूमिका खेलेको छ । विज्ञान र प्रविधिको प्रयोगले अब धेरै कुराहरू पूर्वानुमान गर्न सम्भव भएको छ । यसले गृह प्रशासनलाई परम्परागत शैलीबाट प्रविधिमैत्री र आधुनिक प्रणालीतर्फ लैजाने काम गरेको छ ।

नयाँ नेतृत्वका लागि तपाईंले कस्तो आधार छाडेर जाँदै हुनुहुन्छ ?

हामीले एउटा महत्वपूर्ण संस्कार विकास गरेका छौं—निष्पक्षता, समन्वय र सामूहिक नेतृत्व । कुनै पनि निर्णय पक्षपातपूर्ण नभई क्षमताका आधारमा गरिएको छ । प्रदेश र जिल्ला तहसम्म समन्वय प्रणालीलाई मजबुत बनाइएको छ । यो संरचना र संस्कारले आगामी नेतृत्वलाई अझ प्रभावकारी रूपमा काम गर्न सहज बनाउनेछ ।

जेनजी पुस्ता र आम नागरिकलाई तपाईंको सन्देश के छ ?

जेनजी पुस्ता अहिलेको राजनीतिक परिवर्तनको मुख्य शक्ति हो। उनीहरूलाई अब मुख्य धारमा ल्याउनुपर्छ । राजनीति मात्र होइन—सामाजिक, आर्थिक सबै क्षेत्रमा उनीहरूको भूमिका सुनिश्चित गर्नुपर्छ । अब सरकार र नागरिकबीचको सम्बन्ध पनि बदलिनुपर्छ । सरकार शासक होइन—सहजकर्ता हो। नागरिक र राज्यबीच सहकार्य आवश्यक छ । जेनजी पुस्ता, नागरिक र सरकार एकअर्काका पूरक बनेर अघि बढे मात्रै देशले छिटो समृद्धि हासिल गर्न सक्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया