हुम्लामा पुनः हिमपात‚ किसान खुशी
- पुस १२, २०७८
- 0

उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ। हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ। यहाँको तापक्रम माइनस ११ डिग्री सेल्सियसभन्दा कम भएपछि स्थानीयलाई घरबाहिर निस्कन समेत समस्या भएको छ।
अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ। ती क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो अत्याधिक बढेको छ।
लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खाको लिमी र मुचुका बासिन्दालाई घरबाहिर निस्कन समेत समस्या परेको नाम्खाका मुचुका लामाले बताए।
‘हिउँले लिमी, मुचुको तापक्रम माइनस १५ माथि नाघेको छ‚’ उनले भने, ‘हिजो बेलुकादेखि निरन्तररुपमा हिउँ परेर चिसो ह्वात्तै बढेको छ। हिउँसँगैको हावाहुरीले घरबाट समेत बाहिर निस्कन पनि सकिएको छैन।’
मंसिर सुरु भएदेखि नै तापक्रम माइनसमा गएको सदरमुकाम सिमकोटमा यो हिमपातले चिसो अत्यधिक बढेको छ। जाडोले जिल्लाका सुरक्षाकर्मीलाई समेत समस्या भएको जिल्ला प्रहरी ककार्यालयले जनाएको छ।
हिमपातले दक्षिण क्षेत्रका किसान खुसी
लामो समयको खडेरीपछि परेको हिमपातले हुम्लाको दक्षिण क्षेत्रका किसान भने खुसी छन्।
पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्याङ्ग्राले सकाएको चिन्ता मानेका दक्षिण क्षेत्रका अदानचुली, ताँजकोट, चङ्खेली र सर्केगाढका स्थानीय खुशी भएका अदानचुली–५ कर्गैका शिक्षक पृथ्वी शाहीले बताए। हिमपातले पाखोमा छरेका गहुँलाई राम्रो हुने उनको भनाइ छ।
-रासस