धुमधामसँग मनाइयो नेपाली ‘टोपी दिवस’
- पुस १७, २०७५
- 0

अंग्रेजी नयाँ वर्ष सन् २०१९ को अवसर पारेर नेपाली युवायुवतीहरुले ‘टोपी दिवस’ धुमधामसँग मनाएका छन् । ‘नेपाली टोपी : हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाएको हो ।
‘टोपी दिवस’ मनाउन माइतीघर मण्डलमा भेला भएको युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरिसमेत गरेका थिए ।
विश्वव्यापी बन्दै गैरहेको अंग्रेजी नयाँ वर्षको प्रभावले नेपाली मौलिकता हराउदै गएकोले यसको अस्थित्वलाई जोगाइराख्न तथा नेपाली मौलिक पोशाकको संरक्षणका लागि भन्दै केहि युवाहरुले २०७० सालदेखि ‘टोपी दिवस’ मनाउन शुरु गरेका हुन ।
नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई नेपाल सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित ‘टोपी दिवस’ मनाउँदै आएको छ ।