‘नेपाल ग्रीन हाइड्रोजन समीट’ काठमाडौमा सुरु, हरित हाइड्रोजन ऊर्जाको विकासमा जोड

news-details

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालमै पहिलो पटक ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ सुरु भएको छ ।

एमआईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको नेपाल ग्रीन हाइड्रोजन समीटको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उदघाटन गरेकी हुन ।

होटल सोल्टी काठमाडांैमा सुरु भएको सम्मेलन उदघाटन गर्दै मन्त्री भुसालले हाइड्रोजन ऊर्जाको विकास गर्न सके नेपालले थप ऊर्जा निर्यात गर्न सक्ने बताएकी छिन् । सरकारले जलविद्युतलाई हाइड्रोजन ऊर्जा, एमोनिया र युरिया मल उत्पादनमा समेत प्रयोग गर्ने लक्ष्य लिएको बताउँदै मन्त्री भुसालले यसका लागि मन्त्रालयले कार्यदल गठन गरी जलविद्युतको प्रयोगबाट हाइड्रोजन र रासायनिक मल उत्पादनको पूर्व सम्भाव्यता अध्ययन समेत गरिसकेको बताइन ।

देशभित्रको नवीकरणीय ऊर्जाको बढ्दो माग पूरा गर्दै बढी भएको स्वच्छ ऊर्जा छिमेकी मुलुकसम्म पु¥याइ विदेशी मुद्रा आर्जन गर्न सकिने बताउँदै मन्त्री भुसालले भनिन, ‘नेपालको प्रमुख प्राकृतिक स्रोतको रुपमा रहेको जलस्रोतलाई जलविद्युतमा परिणत गर्ने र जलविद्युतको प्रयोग गरी जलस्रोतलाई हरित हाइड्रोजनका रुपमा विकास गर्ने विषय नेपालको आर्थिक समृद्धि, पर्यावरणीय सुरक्षा, ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासका दृष्टिले निकै गहन र महत्वपूर्ण छ ।’

उर्जामन्त्री भुसालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरोकारवालाहरू सम्मिलित सम्मेलनले जलविद्युतलाई हरित हाइड्रोजन ऊर्जामा परिणत गर्न र नवीकरणीय ऊर्जाको दिगो विकासका लागि अन्तर्राष्ट्रिय अनुभव र अभ्यास, नयाँ प्रविधिको विकास समेतलाई ध्यानमा राख्दै अख्तियार गर्नुपर्ने कदमहरूबारे छलफल गर्न महत्वपूर्ण मञ्चको रूपमा काम गर्ने विश्वास लिएको बताइन । उनले सम्मेलनबाट प्राप्त हुने सुझावहरु आगामी दिनमा मन्त्रालयले अवलम्वन गर्ने नीति, निर्देशिका, कानूनलाई थप परिस्कृत गर्न उपयोगी हुने बताइन ।

यस्तै सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिकरुपमा समृद्ध बनाउन सकिने बताएका छन । उनले भने, ‘हामीले अब विद्युत बिक्री गर्नुपर्दैन, हाइड्रोजन बिक्री गरे पुग्छ, एमोनिया बिक्री गरे पुग्छ । भएको पानीको सदुपयोग गरेर विद्युत उत्पादन गर्न सक्यो भने र त्यसबाट हामीले हाइड्रोजन, एमोनिया बनाएर विश्व बजारमा प्रतिस्पर्धी भएर पु¥याउन सक्यौँ भने नेपालको समृद्धी त्यहीँ छ ।’

मन्त्री शर्माले जलवायु परिवर्तनका कारण विभिन्न असरहरु देखिन थालेको भन्दै कार्बन उत्र्सजनलाई कम गर्नुपर्ने धारणा राख्दै पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिरहेको र व्यापार घाटा भइरहेको अवस्थामा देशभित्र मात्रै हाइड्रोजनको प्रयोग गर्न सकेमा पनि व्यापार सन्तुलनमा आउन सक्ने बताए ।

उनले हाइड्रोजन उत्पादन देशको विकास र जलवायु परिवर्तनलाई न्यूनिकरण गर्ने दृष्टिकोणले निकै नै महत्त्वपूर्ण रहेको बताउदै यसमार्फत नेपाललाई विश्व बजारमा पहुँच वृद्धि गर्न र लगानी भित्राउन पनि सकिने उल्लेख गरे ।

गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं एमआइटी ग्रुप फाउन्डेसनका अध्यक्ष शेष घलेले ग्रीन हाइड्रोजन सम्बन्धी नीति तत्काल बनाउन सरकारको ध्यानाकर्षण गराए । कोरोनाकालमा संसारभर नै लकडाउन भएको अवस्थामा ग्रीन हाइड्रोजनको विकल्पका बारेमा आफू र आफ्नो समूहले विशेष अध्ययन गरेको जानकारी दिँदै उनले नेपालले ग्रीन हाइड्रोजन उत्पादनमा विश्वव्यापी रुपमा नै नेतृत्व लिनसक्ने कुरामा जोड दिए ।

मंगलबारसम्म जारी रहने सम्मेलनमा नेपालका उद्योग क्षेत्रका व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी निकायका प्रतिनिधि, नेपाल विकास साझेदार, बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दूतावास, अन्तर्राष्ट्रिय विज्ञ, हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

एनआरएनए फाउण्डेसनका अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा सुरु भएको सम्मेलनमा एमआईटी ग्रुप फाउण्डेसनका अध्यक्ष एवं गैरआवासीय नेपाली सघं (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले, एमआईटी ग्रुप फाउण्डेसनकी सदस्य जमुना गुरुङ, एनआरएनए महासचिव जानकी गुरुङ, सल्लाहकार एसि शेर्पालगायतको सहभागीता छ ।

‘नेपाल हरित हाइड्रोजन सम्मेलन : पग्लिदै गरेका हिमालका लागि एन्टिडोट’ भन्ने नारासहित सुरु भएको सम्मेलनले हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पु¥याउने लक्ष्य लिएको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *