ओमानमा बैधानिक रुपमा दर्ता भएको गैरआवासीय नेपाली सोसल क्लब ओमानले नयाँ बर्ष २०८१ लाई ओमानमा विशेषगरी पनि स्वागत गर्ने भएको छ । ‘नेपाली नयाँ बर्ष २०८१ उत्सव’ सांगितिक कार्यक्रम आयोजना गरेर नयाँ बर्षलाई स्वागत गर्न लागेको हो ।

ओमानवासीका लागि नेपाली नयाँ बर्ष बिषेश बनाउने उदेश्य अनुसार कार्यक्रममा नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेल, गायक प्रकाश सपुत, गायिका सुनिता दुलाल र नृत्यङ्गना अस्मिता राना मगरलाई ओमान उतार्ने एनआरएन सोसियल क्लबले जानकारी दिएको छ ।

१२ अप्रिल २०२४, शुक्रबारका दिन अयोजना हुन गइरहेको कार्यक्रममा ओमानवासी नेपालीहरुलाई सहभागी भएर कार्यक्रमलाई सफल बनाउन क्लवले आह्वान गरेको छ । कार्यक्रम अल मक्रिम हल, मबेला, केन्द्रिय फलफुल तथा तरकारी मण्डीको नजिकै हुने र कार्यक्रमको प्रवेश शुल्क ओमानी रियाल ५ रहेको जनाइएको छ । आयोजकले कार्यक्रममा खानाको व्यवस्था समेत गरेको जानकारी दिएका छन् ।

एनआरएन सोसल क्लब ओमानले ‘नेपाली नयाँ बर्ष उत्सव’ गर्दै, चर्चित कलाकार गजुरेल, सपुत र दुलाललाई मस्कट उतार्दै

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेका जानकारी दिदै क्लबका महासचिव सुसन श्रेष्ठले कार्यक्रमको उदेश्य नेपाली नयाँ बर्ष मनाउनुका साथै क्लवको राहत तथा उद्धार कोष बृद्धिको लागि पनि रहेको बताए । श्रेष्ठका अनुसार यस कार्यक्रमको सम्पूर्ण बचत क्लवको राहत तथा उद्धार कोषमा जानेछ ।

ओमानमा रहेका नेपाली संघसंस्थाहरुको सरसल्लाह अनुसार नै सोसियल क्लवले नयाँ बर्षको कार्यक्रम आयोजना गरेको जानकारी क्लवका अध्यक्ष बिकल झाले दिए । उनले भने–‘ ओमानवासी नेपालीबीच एकताको सन्देश दिनुको साथै उद्धार, राहत, परोपकारी र चेतनामुलक कार्यक्रम अझ प्रभावकारी बनाउन सबै मिलेर कार्यक्रम सफल बनाऔं ।’