काठमाडौं । मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हकहित, सुरक्षा र अधिकारका सवाललाई सशक्त रूपमा उठाउने उद्देश्यसहित आयोजना हुन लागेको नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन सफल बनाउन क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्पूर्ण मध्यपूर्ववासी नेपालीलाई एकजुट भएर सहभागी हुन आह्वान गरेका छन् ।

आगामी डिसेम्बर ११ र १२ मा कतारको राजधानी दोहामा आयोजना हुने सम्मेलनको तयारीका लागि नेपाल आएका श्रेष्ठ विभिन्न निकायसँग छलफल तथा परामर्श गरेर संयुक्त अरब इमिरेट्स (यूएई) फर्किएका छन् । नेपाल बसाइका क्रममा उनले सम्मेलनको तयारी, मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या तथा गैरआवासीय नेपालीका साझा सरोकारका विषयमा सम्बन्धित निकायसँग छलफल गरेका थिए ।

‘सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान’भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या, श्रम सुरक्षा, अधिकार संरक्षण र सुरक्षित वैदेशिक रोजगारीका विषय प्राथमिकताका साथ उठाइने बताइएको छ । वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधान, मर्यादित श्रम वातावरणको सुनिश्चितता र विदेशमा रहेका नेपालीको हित संरक्षणका लागि प्रभावकारी पहल आवश्यक छ । सम्मेलनले यी सवालमा साझा धारणा निर्माण गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेछ ।

संयोजक श्रेष्ठले सम्मेलनलाई औपचारिक जमघटमा सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीको साझा आवाज बुलन्द गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन् । उनले नेपाली समुदाय, एनआरएनएका अभियन्ता, सामाजिक संघसंस्था, व्यवसायी तथा श्रमिक प्रतिनिधिलाई सम्मेलन सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेका छन् ।

‘सहयात्रा’को मर्मलाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनले मध्यपूर्वमा रहेका नेपालीबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । श्रमिकका समस्या समाधानदेखि गैरआवासीय नेपालीका साझा सरोकारसम्मका विषयमा सामूहिक पहल अघि बढाउन सम्मेलन महत्त्वपूर्ण मञ्च बन्ने विश्वास आयोजकले लिएको छ ।

नेपालका विभिन्न निकायसँग छलफल गरेर यूएई फर्किएका श्रेष्ठले नेपाली श्रमिकको हकहित र सुरक्षित भविष्यका लागि साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै सबै मध्यपूर्ववासी नेपालीलाई सम्मेलनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन् ।

एनआरएनए मध्यपूर्व क्षेत्रको आयोजनामा हुने सम्मेलन डिसेम्बर ११ र १२, २०२६ मा कतारको दोहामा आयोजना हुनेछ । सम्मेलनमा सहभागी हुन इच्छुक नेपालीलाई आयोजकले उपलब्ध गराएको अनलाइन फाराम भरेर आफ्नो विवरण दर्ता गर्न अनुरोध गरिएको छ ।

सम्मेलनमा सहभागिताका लागि इच्छुक नेपालीले यसलिंकमार्फत दर्ता गर्न सक्नेछन् ।

संयोजक श्रेष्ठले मध्यपूर्वमा रहेका सम्पूर्ण नेपालीलाई आपसी मतभिन्नताभन्दा माथि उठेर साझा हितका लागि एकजुट हुन र सम्मेलनलाई सफल बनाउन सहयोग गर्न पुनः आह्वान गरेका छन् ।