नेपाल फेस्टिभल पर्थको अन्तिम तयारी पूरा, शनिबार भव्य आयोजना हुँदै

news-details

पश्चिम अस्ट्रेलियाको पर्थमा आयोजना हुने ‘नेपाल फेस्टिभल पर्थ २०२६’ को अन्तिम तयारी पूरा भएको छ। नेपाली कला, संस्कृति, संगीत, मौलिक परिकार तथा नेपालको पर्यटकीय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्ने उद्देश्यले आगामी शनिबार (१० अक्टोबर) फेस्टिभल आयोजना हुन लागेको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अस्ट्रेलियाको आयोजनामा पर्थको वेलिङ्टन स्क्वायरमा बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने फेस्टिभल निःशुल्क तथा परिवारमैत्री हुनेछ। आयोजकले यस वर्षको कार्यक्रममा करिब १५ हजार दर्शक सहभागी हुने अपेक्षा गरेको छ।

एनआरएनए पश्चिम अस्ट्रेलियाका संयोजक हरिबंश सञ्जेल (सुमन)ले फेस्टिभलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै नेपाली समुदायसँगै अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।

उनका अनुसार फेस्टिभललाई नेपाली कला, संस्कृति र परम्पराको प्रदर्शनमा मात्र सीमित नराखी नेपाली मौलिक खानाको प्रवर्द्धन, नेपालको पर्यटन विकास तथा नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक पहिचानसँग जोड्ने अवसरका रूपमा विकास गर्न खोजिएको छ।

“अहिले हामी नेपाल फेस्टिभलको अन्तिम चरणमा छौँ। सबै तयारी पूरा भइसकेको छ,” संयोजक सञ्जेलले भने, “यसपटकको फेस्टिभलमा सांस्कृतिक प्रस्तुतिसँगै बालबालिकाका गतिविधि, नेपाल हाउस, नेपाली मौलिक खाना र नेपालको पर्यटकीय गन्तव्यलाई विशेष प्राथमिकता दिएका छौँ।”

बालबालिकाका लागि ‘किड्स फन जोन’, नेपाल हाउस मुख्य आकर्षण

यस वर्षको फेस्टिभलमा बालबालिकालाई लक्षित गर्दै ‘किड्स फन जोन’ सञ्चालन गरिनेछ। अस्ट्रेलियाको विद्यालय बिदाको समयलाई ध्यानमा राखेर नेपालका महोत्सवमा जस्तै बालबालिकाले मनोरञ्जन लिन सक्ने आठदेखि १० वटासम्म खेल तथा गतिविधि समावेश गरिएको संयोजक सञ्जेलले बताए।

फेस्टिभलको अर्को मुख्य आकर्षण ‘नेपाल हाउस’ हुनेछ। विगतका संस्करणमा समेत दर्शकको आकर्षणको केन्द्र रहँदै आएको नेपाल हाउसलाई यसपटक थप कलात्मक र व्यवस्थित बनाइएको आयोजकले जनाएको छ।

नेपालका पूर्वजहरूले प्रयोग गरेका परम्परागत तथा ऐतिहासिक सामग्रीलाई विशेष ढंगले प्रदर्शनीमा राखिनेछ। यसका साथै धरहरा, ढुङ्गेधारा, पशुपतिनाथ र बौद्धनाथका प्रतिकृति तथा नेपाली साहित्यसँग सम्बन्धित पुस्तकहरू पनि प्रदर्शनीमा राखिनेछन्।

नेपालको ऐतिहासिक सम्पदा, मौलिक कला र सांस्कृतिक धरोहरलाई नयाँ पुस्ता तथा अस्ट्रेलियाली समुदायमाझ परिचित गराउने उद्देश्यले नेपाल हाउसलाई विशेष महत्त्व दिइएको सञ्जेलले बताए।

नेपाली मौलिक खाना र पर्यटन प्रवर्द्धनमा जोड

यसपटकको फेस्टिभलमा नेपाली खानालाई विशेष प्राथमिकता दिइएको संयोजक सञ्जेलले बताए। आयोजकले प्रचारप्रसारका पोस्टर, ब्यानर, फ्लायर तथा सामाजिक सञ्जाल अभियानमा समेत नेपाली परिकारलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ।

“हामीले कला र संस्कृतिसँगै नेपाली खानालाई पनि प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्य राखेका छौँ। यसपटक सकेसम्म सबै फुड स्टलले वास्तविक नेपाली स्वाद र मौलिक परिकारलाई विशेष जोड दिने अपेक्षा गरेका छौँ,” उनले भने।

फेस्टिभलमा मःम, सेलरोटी, नेपाली चिया तथा अन्य परम्परागत परिकारका स्टल रहनेछन्। बालबालिकालाई लक्षित खानाका विकल्पलाई समेत प्राथमिकता दिइने आयोजकले जनाएको छ।

त्यस्तै, नेपालको पर्यटन प्रवर्द्धनका लागि विभिन्न पर्यटकीय गन्तव्य समेटिएका भिडियो डिजिटल बोर्डमार्फत प्रदर्शन गर्ने तयारी गरिएको छ।

नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा पर्यटकीय गन्तव्यलाई अस्ट्रेलियाली समुदायमाझ चिनाउन फेस्टिभलले महत्त्वपूर्ण भूमिका खेल्ने सञ्जेलको विश्वास छ।

एनआरएनए अगुवा तथा संघसंस्थाद्वारा सहभागिताका लागि आग्रह

फेस्टिभललाई सफल बनाउन पर्थमा रहेका नेपाली समुदायका अगुवा, विभिन्न सामाजिक संघसंस्था तथा सामुदायिक प्रतिनिधिहरू सक्रिय भएका छन्। आयोजकले नेपाली समुदायका साथै अस्ट्रेलियाली नागरिक र अन्य बहुसांस्कृतिक समुदायलाई समेत कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

एनआरएनए आईसीसीका पूर्वसल्लाहकार तथा पर्थका अग्रज भैरव ढकालले पनि फेस्टिभल सफल बनाउन सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न तथा कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन्।

नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने अवसर भएकाले फेस्टिभललाई साझा कार्यक्रमका रूपमा लिएर सफल बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

त्यस्तै, पर्थमा सक्रिय नेपाली संघसंस्थाका अगुवाहरूले पनि कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न समुदायको एकता, सहभागिता र सहकार्य आवश्यक रहेको बताएका छन्।

फेस्टिभल सफल बनाउन एनआरएनए पश्चिम अस्ट्रेलियासँगै नेपाल एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया (नावा), पर्थ नेपाली मन्दिर तथा सामुदायिक केन्द्र (पीबीडब्ल्यूए) लगायत विभिन्न संघसंस्था, क्लब तथा व्यवसायीहरू सहभागी छन्।

प्रमोद खरेल, रचना रिमाल र परम्परा ब्यान्डको प्रस्तुति

फेस्टिभलको मुख्य सांगीतिक आकर्षणका रूपमा गायक प्रमोद खरेल, परम्परा ब्यान्ड र गायिका रचना रिमालले प्रस्तुति दिनेछन्।

नेपाली संगीतप्रेमीका लागि विशेष आकर्षण रहने यी प्रस्तुतिसँगै विभिन्न जातजाति, भाषा र समुदायको प्रतिनिधित्व गर्ने सांस्कृतिक नृत्य तथा संगीत पनि प्रस्तुत गरिनेछ।

फेस्टिभलको सुरुवात नेपालका विभिन्न जातजाति र भौगोलिक क्षेत्रको प्रतिनिधित्व गर्ने सांस्कृतिक परेडबाट हुनेछ। नेपाली मौलिक पोसाक, कला र परम्पराको झल्को दिने परेडले पर्थको बहुसांस्कृतिक परिवेशमा नेपालको विविधता प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

उच्चपदस्थ अधिकारी तथा एनआरएनए नेतृत्वको सहभागिता

फेस्टिभलमा पश्चिम अस्ट्रेलियाका स्थानीय सरकारका प्रतिनिधि, राज्य सरकारका उच्चपदस्थ अधिकारी, प्रहरी प्रशासनका प्रतिनिधि, राजनीतिक दलका नेताहरू तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

एनआरएनए आईसीसीका उपाध्यक्ष दिनेश पोखरेलसहित विभिन्न पदाधिकारी तथा अस्ट्रेलियाका अन्य राज्यबाट एनआरएनएका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी हुनेछन्।

फेस्टिभलअघि अक्टोबर ८ मा आमन्त्रित अतिथिहरूको स्वागतका लागि गाला डिनर आयोजना गरिनेछ। त्यसैगरी, अक्टोबर ९ मा एनआरएनए अस्ट्रेलियाको वार्षिक साधारणसभा (एजीएम) सञ्चालन हुनेछ।

बाढीपहिरो प्रभावितका लागि सहयोग जुटाइने

नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै फेस्टिभलमा राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने सामूहिक पहलसमेत गरिने आयोजकले जनाएको छ।

प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै उनीहरूलाई आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले समुदायस्तरबाट सहयोग संकलन तथा सहकार्यको प्रयास गरिनेछ।

यस वर्षको फेस्टिभललाई इन्टरलेस स्टडिजले मुख्य प्रायोजन गरेको छ। बासमती ग्रोसरी मार्ट र ८८४८ मोमो हाउस प्रमुख सहप्रायोजकका रूपमा रहेका छन्।

त्यसैगरी, सिटी अफ पर्थ, अफिस अफ मल्टिकल्चरल इन्ट्रेस्ट्स ९ओएमआई० र लटरीवेस्टले पनि कार्यक्रमलाई आर्थिक सहयोग गरेका छन्। अन्य विभिन्न व्यवसाय तथा संस्थाहरूले समेत फेस्टिभललाई सहयोग गरेका छन्।

हरेक दुई वर्षमा आयोजना हुँदै आएको नेपाल फेस्टिभल पश्चिम अस्ट्रेलियामा नेपाली समुदायको कला, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने प्रमुख सामुदायिक कार्यक्रमका रूपमा स्थापित छ।

नेपाली मौलिकता, सांस्कृतिक विविधता, संगीत, खानपान र पर्यटनलाई एकै थलोमा प्रस्तुत गर्न लागिएको यस वर्षको फेस्टिभलले नेपाली समुदाय र अस्ट्रेलियाको बहुसांस्कृतिक समाजबीचको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

एनआरएनए पश्चिम अस्ट्रेलियाले आगामी शनिबार वेलिङ्टन स्क्वायरमा आयोजना हुने फेस्टिभलमा उपस्थित भएर नेपाली कला, संस्कृति, संगीत र स्वादको अनुभव लिन सबैलाई आग्रह गरेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया