ग्लोबल एनआरएन फाउण्डेशन र एमआइटी ग्रुपले नेपालमा पहिलो पटक ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ गर्दै

news-details

ग्लोबल एनआरएन फाउण्डेशन र एमआइटी ग्रुपले नेपाल सरकारसँग सहकार्य गरेर आगामी असोज २४ र २५ गते अर्थात अक्टोवर १० र ११ मा नेपालमा नै पहिलो पटक ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ गर्ने भएको छ ।

नेपाल हरित हाइड्रोजन सम्मेलनः ‘पग्लिँदै गरेको हिमालका लागि एन्टिडोज’ भन्ने नाराका साथ आयोजना हुन लागेको समिटमा अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त सहकार्य रहने जानकारी मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर दिइएको छ ।

सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तन, असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने रहेको जनाएको छ ।

एमआईटी ग्रप फाउण्डेसनका अध्यक्ष एवं गैर आवासीय नेपाली सघं (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेले नेपालमा ग्रिन हाइड्रोजनको उत्पादनका लागि पूर्वाधार र श्रोत उल्लेख्य भए पनि व्यावसायिक रूपमा कसरी अगाडी बढ्न सकिन्छ भने अध्ययन गर्न आवश्यक रहेको बताए । उनले अब बिस्तारै ग्रिन हाइड्रोजनमा जानै पर्ने भएका कारण परिणाम कसरी ल्याउन सकिन्छ भन्ने बारेमा सोच्न आवश्यक भएको वताए ।

‘जलवायु परिवर्तनले विश्वलाई असर पारिरहेको छ, नेपालमा ग्रिन हाइड्रोजनको प्रचुर संभावना छ, भावी सन्ततीका लागि भए पनि अव ग्रिन हाइड्रोजन उत्पादनमा लाग्नु पर्छ’ अध्यक्ष घलेले भने–‘मेरो कुरा गर्ने भए अव २० बर्ष बाँचौला, त्यसमा पनि स्वदेश र विदेशमा जहाँ बसे पनि हुन्छ तर भावी सन्ततीका लागि हामीले नसोचे वा हामीले काम नथाले कस्ले गर्ने ?’

एनआरएनए फाउण्डेसनका अध्यक्ष विनोद कुँवरले सम्मेलनमा नेपालमा हरित हाइड्रोजन उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस र विश्लेषण हुने बताए । कुँवरका अनुसार नेपालमा पर्यावरणीय रूपमा दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी ऊर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको छ ।

पत्रकार सम्मेलनमा ग्लोबल एनआरएन फाउण्डेसनकी संस्थापक सदस्य जमुना घलेले सम्मेलनमा हाइड्रोजन उत्पादनका सन्दर्भमा अन्तर्राष्ट्रिय अनुभव हालसम्मको ज्ञान र प्रविधि नेपालमा गर्नुपर्ने नीतिगत तथा अन्य व्यवस्थाका विषयमा गम्भिर मन्थन हुने जानकारी दिइन् । ‘जलस्रोतको अपार सम्भावनालाई हाइड्रोजन उत्पादनमा पनि उपयोग गरी वातावरण, जनस्वास्थ्य, निर्यात व्यापारको सुधारका लागि पनि उपयोगमा ल्याउन सवै सरोकारवाला लाग्न जरुरी छ’ उनले बताइन् ।

त्यस्तै विन्ड पावर नेपालका प्रमुख कार्यकारी अधिकृत कुसल गुरुङले सम्मेलनमा नेपालका उद्योग क्षेत्रका उच्च तथा प्रतिष्ठित व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी कार्यालयका प्रतिनिधि, नेपाल विकास साझेदार, बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दुतावास, अन्तर्राष्ट्रिय विज्ञ र हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहने जानकारी दिए ।

ग्लोबल एनआरएन फाउन्डेसनकी संस्थापक सदस्य जानकी गुरुङले सम्मेलनले नेपालमा हरित हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस, विश्लेषण गर्ने बताइन् ।

दुई दिने सम्मेलनमा नेपालका उद्योग क्षेत्रका व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी निकायका प्रतिनिधि, नेपाल विकास साझेदार, बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दूतावास, अन्तर्राष्ट्रिय विज्ञ, हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *