२८ हजार श्रमिकलाई प्रत्यक्ष सहयोग गर्दै सम्पन्न भयो एनआरएनएको ‘आइएलओ प्रोजेक्ट’

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संचालन गरेको कोभिड १९ आप्रवासी कामदार : राहत तथा घरफिर्ती कार्यक्रम २७ हजार ९ सय ५६ जना नेपाली श्रमिकलाई प्रत्यक्ष सहयोग गर्दै सम्पन्न भएको छ ।

एनआरएनएको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले कोभिडबाट प्रभावित नेपालीलाई तत्काल राहत तथा उद्धारका लागि पहिलो पटक अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल लेवर अर्गनाइजेशन (आइएलओ)सँग सहकार्य गरेर यो कार्यक्रम संचालनमा ल्याएको थियो । आइएलओबाट झण्डै १० करोड सहयोग लिएर एनआरएनएले कतार, युएई, साउदी अरव, कुवेत, ओमान, बहराईन तथा मलेसियामा रहेका नेपालीहरुलाई प्रत्यक्ष सहयोग गरेको छ ।

एनआरएनएले शुक्रवार आप्रवासी कामदार : राहत तथा घरफिर्ती कार्यक्रमको विदाई कार्यक्रम आयोजना गर्दै कार्यक्रम संचालानार्थ सहयोगी तथा सेवा लिने सबैलाई धन्यवाद दिएको छ ।

एनआरएनएका उपाध्यक्ष तथा बैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री के.सीको संयोजकत्वमा संचालित कार्यक्रमले वैदेशिक रोजगारको क्षेत्रमा समस्यामा परेकाहरुलाई हवाई टिकट, यातायात खर्च, कोभिडको पीसीआर परीक्षण, मनोसामाजिक परामर्श, श्रमिक सचेतना कार्यक्रम, आउट रिच क्याम्प, निःशुल्क स्वास्थ्य शिविरलगायतका विभिन्न सहयोग गरेको जनाएको छ ।

विदेशमा मात्र होइन एनआरएनएले स्वदेश फर्किएकाहरुलाई विमानस्थलमा पुगेर स्वागत गर्ने, कुराकानी गर्ने, खान र बस्नको व्यवस्था गर्नुका साथै घरसम्म पुग्नका लागि यातायात खर्च समेत उपलब्ध गराउन सफल भएको जनाइएको छ ।

होटल क्वारेन्टाइनमा बस्नुपर्ने तथा स्वदेशमा पुनः पीसीआर परीक्षण गर्नुपर्नेलाई सो व्यवस्था गराउदै पीडित भएर आएकाहरुको न्याय र क्षतिपूर्तीका लागि पनि विभिन्न सहयोग गरिएको यो कार्यक्रमको तथ्यांक छ ।

२८ हजारले पाए सहयोग

एनआरएनएले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर गन्तब्य देशहरुका राजदूत तथा दूतावाससँग सहकार्य गरी संचालित यो कार्यक्रमबाट झण्डै एक हजार नेपालीलाई हवाई टिकट उपलब्ध गराएर स्वदेश ल्याउन सफल भएको प्रोजेक्ट म्यानेजर सुजाता शर्माले जानकारी दिइन् ।

एनआरएनएको यो कार्यक्रम मार्फत अहिलेसम्म २८ हजार ५ सय ५७ नेपाली श्रमिकहरु सम्पर्कमा आएकोमा २७ हजार ९ सय ५६ जनाले प्रत्यक्ष सेवा लिएको जनाइएको छ । यो कार्यक्रममार्फत नै करीव ३६ सय ९४ जनालाई खाना तथा सेल्टरको सहयोग, ९ सय ८७ जनालाई हवाई टिकटको ब्यवस्था, ७ सय ४९ जनालाई पिसिआर सेवा, २ सय ३४ जनालाई सम्बन्धित देशको जरीवाना तिरिदिएर तथा हवाई टिकटको ब्यवस्था गरी उद्धार गरिएको बताइएको छ ।

साथै, दुतावाससंगको समन्वयमा तीन सय जनाभन्दा बढी नेपाली श्रमिकहरुलाई हवाई टिकटको ब्यवस्था गरी जेल तथा डिटेन्शन क्याम्पबाट उद्धार गरिएको जनाइएको छ । ५ सय ३१ जनालाई कानुनी सेवा प्रदान गरिएको छ भने १२ हजार ५ सय १७ जनालाई विभिन्न प्रकारका परामर्श सेवा प्रदान गरिएको प्रोजेक्ट म्यानेर शर्माले जानकारी दिइन् ।

एनआरएनएको सहायतामा गन्तब्य देशमा नै २ सय ५५ जनालाई पुनःरोजगारी र १२ सय ७७ जनालाई नेपाल आइसकेपछि त्रिभुवन विमानस्थलबाट घरसम्म जानका लागि यातायात खर्च तथा एक छाक खानाको समेत ब्यवस्था गरिएको जनाइएको छ । यस्तै १ सय ७४ जना श्रमिकहरुलाई काठमाडौमा होटल क्वारेटिनको ब्यवस्था गरिएको बताइएको छ ।

साथै यस कार्यक्रम अन्तर्गत प्रदेश १, २ र ७ का विभिन्न स्वास्थ्य संस्थाहरुका लागि कोभिड–१९ संग सम्बन्धित विभिन्न स्वास्थ्य सामग्रीहरु समेत प्रदान गरिएको यस कार्यक्रमका पूर्व म्यानेजर राजेन्द्र कुमार राउतले बताए ।

एनआरएनएको यही कार्यक्रमबाट विभिन्न देशमा रहेका दुतावासहरुसंगको समन्वयमा जेलमा परेका नेपाली श्रमिकहरुलाई समेत सफल रुपमा उद्दार गरिएको जनाइएको छ ।

एनआरएनएले हवाई टिकटसहित घरसम्म जाने टिकट उपलब्ध गराएपछि कतारबाट १५ जना नेपाली स्वदेश फर्किएका छन् । त्यसैगरी मलेसियाबाट ३२९ जना, साउदी अरवबाट १६३ जना, यूएईबाट २६८ जना, कुवेतबाट १०९ जना , बहराइनबाट १२ जना र ओमानबाट ६७ जना यसरी स्वदेश फर्कन सफल भएको जनाइएको छ ।

यो कार्यक्रम अन्र्तगत नै रसियाबाट नेपाली श्रमिक महिला र उनको दुधे बालिकालाई झण्डै पाँच महिना र यूएईबाट जुम्ल्याहा दुधे बालिकाहरु र उनकी आमालाई झण्डै ८ महिनापछि सकुशल उद्दार गरी नेपाल फिर्ता गरेर उनीहरुको आँशस पुछ्ने काम गरेको छ ।

खाडी र मलेसियामा मात्र होइन अवैध रुपमा कामको सिलसिलामा कम्बोडियामा गई समस्यामा परेका २२ जना नेपाली श्रमिकहरुलाई पनि सम्बन्धित देशका नेपाली दुतावाससँगको समन्वयमा यही कार्यक्रममार्फत तत्काल राहत प्रदान तथा उद्दार गरी नेपाल फर्काउने काममा सहयोग पुगेको छ ।

एनआरएनए र दूतावासको सम्बन्धमा प्रगाढता

कोभिड १९ आप्रवासी कामदार : राहत तथा घरफिर्ती कार्यक्रम लागू भएपछि एनआरएनए र नेपाली दूतावासबीचको सम्बन्धमा प्रगाढता आउनुका साथै सहकार्य पनि विगतभन्दा धेरै राम्रो भएको जनाइएको छ ।

मलेसियाका लागि पूर्व राजदूत उदयराज पाण्डेले एनआरएनएसँगको सहकार्य विगतमा भन्दा धेरै राम्रो भएको बताएका छन् । ‘कतिपय दूतावासको कर्मचारीहरु पुग्न नसक्ने ठाउँमा एनआरएनएको साथीहरुले राहत कार्यक्रममा सहयोग गर्नुभयो, घर फर्किनेलाई टिकट दिनुभयो, कानुनी सहयोग पनि प्रदान गर्नुभयो, कोभिडको समयमा एनआरएनएले धेरै राम्रो ग¥यो’ राजदूत पाण्डेको भनाई छ ।

नेपाली दूतावास साउदी अरवका कार्यबाहक राजदूत दिलिप पौडेल, नेपाली दूतावास ओमानका द्वितिय सचिव सिमेश थापा, साउदी अरवका कार्यबाहक महावाणिज्यदूत शत्रुध्वन पोखरेल, नेपाली दूतावास मलेसियाका द्वितिय सचिव प्रेम बुडथापाले एनआरएनएसँगको सहकार्यमा दूतावासले धेरै काम गर्न सफल भएको बताउँदै एनआरएनएले उपलब्ध गराएको सहयोगले धेरै नेपाली श्रमिकले लाभ लिएको बताए ।

यो कार्यक्रमबाट महिला, युवा, विशेष आवश्यकता भएका ब्यक्ति, विरामी तथा अन्य समस्यामा परेका नेपाली श्रमिकहरुले प्रत्यक्ष रुपमा राहत तथा उद्दार सहयोग प्राप्त गरेका छन् ।

निःशुल्क स्वास्थ्य शिविर, सचेतना कार्यक्रमबाट हजारौ लाभान्वित

एनआरएनएले राहत तथा घरफिर्ती कार्यक्रम अन्तर्गत साउदी अरव, ओमान, कुवेत र बहराइनमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दा हजारौ नेपाली श्रमिकहरुले लाभ लिएका छन् । साउदी अरवमा नेपाली श्रमिकहरुका लागि जनचेतना जगाउनका लागि श्रमिक जनचेतना कार्यक्रम तथा दूतावासलाई सहयोग पु¥याउन साउदी अरवको जेद्धा र रियादमा आउट रिच क्याम्प पनि पटक पटक संचालन गरिएको जनाइएको छ ।

श्रमिकहरुका लागि सहयोग पु¥याउनका लागि नेपाली दूतावास कतारमा एनआरएनएले हेल्प डेक्स नै संचालनमा ल्याएर दूतावासमा समस्या लिएर आउने श्रमिकहरुका लागि सहयोग तथा परामर्श प्रदान गरेको छ ।

संघले कोभिड–१९ का कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई तत्काल राहत प्रदान गर्न तथा उद्दारका लागि अन्तर्राष्ट्रिय संघसंस्थाहरुसंग समन्वय गरी सञ्चालन गरेको पहिलो कार्यक्रममार्फत नै छोटो समयमा धेरै नेपाली श्रमिकहरुलाई राहत तथा उद्दार गर्न सफल भएको छ ।

एनआरएनएले कुशलतापूर्वक र सफलतापूर्वक राहत तथा उद्दार कार्यक्रम गरेकाले नै कोही पनि नेपाली विदेशीभूमिमा भोकै तथा समस्यामा परेर बस्नु नपरेको एनआरएनए उपाध्यक्ष डा. बद्री केसीको भनाई छ ।

कार्यक्रम सम्पन्न गर्दै गर्दा उपाध्यक्ष केसीले भने–‘ आजको दिनमा यो कार्यक्रमका कारण एकजना पनि व्यक्तिले मेरो जागिर गुम्यो, मेरो टिकट छैन, म घर जान पाइन भनेर विदेशी भुमिमा फस्नु परेन अनि एकजनाले पनि मैले खान पाइन भनेर सडकमा पर्नु परेन वा भोकै सडकमा सुत्नुपरेको अवस्था छैन ।’

कार्यक्रम सफल बनाउन नदिनेहरु बने लज्जित

एनआरएनएको यो कार्यक्रम लागू हुन नदिन र सफल बन्न नदिन एनआरएनभित्रबाट नै अफवाह फैलाउनेहरु अहिले यो कार्यक्रम सफलरुपमा सम्पन्न हुँदा आफै लज्जित बनेका छन् ।

विदेशमा समस्यामा परेका २८ हजार नेपालीको आर्शिवाद र उनीहरुमा देखिएको खुशीले विरोध केवल विरोधका लागि मात्र रहेछ भन्ने प्रष्ट भएको छ । ‘यो कार्यक्रमबाट नेपाली श्रमिकलाई सहयोग गर्न पाउँदा जिउँदै स्वर्ग पुगेको भान भएको छ’ एनआरएनए मानार्थ सदस्य राजु सैयद बताउँछन् ।

यता एनआरएनए उपाध्यक्ष डा. केसी भन्छन्–‘विमानस्थलमा धुरुधुरु रुदै एनआरएनएलाई आशिर्वाद दिएको हेर्नुहोस् अनि यो काम ठिक थियो कि थिएन भनेर भन्नुहोस्, विरोधको लागि विरोध होइन त्यस्ता कार्यक्रम नभएको भए विदेशमा नेपालीहरुको के दुर्दशा हुन्थ्यो म सोच्न अनुरोध गर्दछु ।’

एनआरएनए आइसीसी अध्यक्ष कुमार पन्त, महासचिव हेमराज शर्मा, प्रवत्ता डिबी क्षेत्री, कार्यक्रम लागु भएका एनसीसीका अध्यक्षहरु तथा निवर्तमान अध्यक्षले एनआरएनएको इतिहाँसमा नै अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा उदाहरणीय काम भएको बताए ।

यो कार्यक्रम अन्तर्गत नेपाली दूतावास र एनआरएनएबीचको सहकार्य इतिहासकै सबैभन्दा राम्रो भएको छ । एनआरएनएको यो कार्यक्रमबाट लाभ लिएका २८ हजार नेपालीहरुको आर्शिबाद नै एनआरएनएलाई काफी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *