एसिया प्यासिफिकमा रहेका नेपाली र एनआरएनए अभियानमा मेरो आवश्यकता

news-details

रोजगारी होस् या अध्ययनको सिलसिला वा राम्रो अवसरको खोजीमा म लगायत धेरै नेपालीहरु आफ्नो जन्मभूमी छोडेर प्रवासमा रहेका छौं । स्वदेशमा अवसर नपाएर वा अवसर पहिचान गर्न नसकेर विदेशमा पसिना बगाउने लाखौ नेपालीहरुको चिन्ता र चासो भने उही जन्मभूमी प्रतिनै छ । विदेशीभूमीमा दुःख पाउँदा होस् या चरमशुख पाउँदा नै किन नहोस् सम्झने भनेको आफ्नो देश वा आफ्नै मातृभूमीलाई नै हो ।

‘एकले थुकी सुकी धेरैले थुकी नदी’ भने झै मातृभूमीको अगाध माया र स्नेहले गर्दा फलस्वरुप हाम्रा अग्रजहरुले सन् २००३ अक्टोवर ११ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना गर्नुभयो । अहिले ८४ देशमा एनआरएनहरु स्थापना भइसक्दा हामी बाहिर बस्ने नेपालीहरु एनआरएनएलाई नेपाल बाहिरको नेपाल बनाइरहेका छौ । हामी विदेशमा नेपाली भनेर गर्व साथ चिनाइरहेका छौ र चिनिइरहेका पनि छौं पनि ।

करिव १९ बर्षको उमेरमा दक्षिण कोरिया प्रवेश गरेको मेरो नेपालभन्दा बढी उमेर कोरियामा नै वितिरहेको छ । दुई वर्षमात्र कोरियाको अनुभव लिने र देशमै केही गर्छु भन्ने सपना लिएर छिरेको भए पनि कोरियाले कर्मले अहिलेसम्म छोड्न सकेको छैन । कोरियामा बसेर पनि नेपाल र नेपालीको पक्षमा काम र सहयोग गर्ने यात्रा भने झन फराकिलो हुँदै गइरहेको छ ।

सन् २००६ मा स्थापना भएको एनआरएन दक्षिण कोरियाको तदर्थ कार्यसमिति सदस्यहुँदै उपसचिव, दुई कार्यकाल अध्यक्ष, आइसीसी सदस्यपछि एसिया प्यासिफिक उपसंयोजक हुँदा एनआरएनका हरेक अभियानलाई नजिकबाट बुझेको मात्र छैन सक्रिय सहभागिता पनि जनाइरहेको छु । नेपाल र नेपालीहरुको दुखेको मनमा मल्हम लगाउन, उजाडिएको मनलाई छहारी दिन र सबैको मुहारमा खुशी छर्न हामी एनआरएनहरु दिनरात लागिरहेका छौ । भलै अपेक्षाअनुरुप गर्न नसके पनि केही न केही पक्कै गरिरहेका छौ ।

विदेश आर्जन गरेको सीप, पूँजी र अनुभवले हामीलाई सवल र सक्षम पनि बनाइरहेको छ । मैरै कुरा गर्दा हुँदा पनि कोरियाले नै मलाई व्यवसायी बनायो, केही सीप र पूँजी आर्जन गर्न सक्ने बनायो । अझ विदेशले लगनशिल, पौरख गर्न र नयाँ भिजन लिन सिकाएकाले विदेशको लामो अनुभवले पढेर भन्दा पनि परेर धेरै शिक्षा आर्जन सकिदो रहेछ भन्ने हामी धेरैले बुझेका छौ ।

म आफ्नो कार्यक्षेत्र एसिया प्यासिफिक क्षेत्र र यहाँ रहेका नेपालीका विषयमा प्रवेश गर्न चाहन्छु । एसिया प्यासिफिक क्षेत्रमा धेरै नेपालीहरु रोजगारीका सिलसिलामा हुनुहुन्छ भने व्यापारी र विद्यार्थीहरुको संख्या पनि राम्रै छ । मलेसिया धेरै नेपाली श्रमिक भएको देश हो भने कोरिया, जापान, सिंगापुर, हङकङ, चाइना लगायतका देशमा सबै प्रकारका नेपाली हुनुहुन्छ । जापान, कोरिया लगायतका देशहरुमा भने जस्तो जागीर अर्थात काम नभएकोले गर्दा समस्या छ तर ति समस्याहरु हल पनि भैरहेका छन् । अन्य देशमा विद्यार्थीका समस्या देखिन्छन् भने मलेसियामा श्रमिकको समस्या ठूलो छ । मलेसियामा जस्तो हङकङ, कोरिया, जापान, सिंगापुर, थाइल्याण्डमा भने एउटा सिस्टममा गइसकेको हुनाले मजदुरमा त्यति समस्या देखिदैन । तर एसिया प्यासिफिकबाट नेपाल नजिक भएको हुनाले गैरआवासीय नेपालीमा बढी लगानीका कुरा आउने गरेको छ । नेपाललाई बढी माया गर्ने र प्राथमिकतामा राख्ने काममा एसिया प्यासिफिकबाट हामीले महत्वपुर्ण भुमिका खेलिरहेको छौं ।

एसिया प्यासिफकको कुरा गर्दा म रहेको देश कोरियाबाटै पनि लगानी नेपाल भित्राउन धेरै पहल भइरहेका छन् । सामुहिक किसिमले नेपालमा लगानी लैजाउँ भनेर केही हाईड्रो, टुरिजम सेक्टरमा लगानी पनि गरिसकेका छौं । यसलाई अझ बृहत किसिमले सबैलाई समेटेर लैजान हामी प्रयासरत छौं । त्यतिमात्र होइन मेरै पहलमा कोरियाको प्रतिष्ठित लोटे गु्रपलाई नेपालमा लैजानका लागि अन्तिम चरणमा पुगेको छ । अन्य कोरियन कम्पनीलाई नेपालमा लगानीका लागि पहल गरिरहेको छु ।

एसिया प्यासिफिकमा रहेका नेपालीहरुले सीप र पूँजी राम्रो आर्जन गर्न सक्छन् । अनि उनीहरुले त्यो कमाएको पैसा स्वदेश नै पठाउने गर्दछन् । नेपाल र एसिया प्यासिफिक एकदम नजिक छ । अनि हामीहरुले विदेशमा सिकेका सीप र पूँजीलाई नेपालमा लगानी गर्न आतुर छौं । यहाँको टेक्निकल ज्ञानलाई नेपालमा प्रयोग गर्न सकिन्छ । एसिया प्यासिफिककै साथीहरुले आफुले सिकेका कुराहरु नेपालमा लगेर प्रयोग गर्न सकिन्छ ।

आज धेरै नेपालीहरु विदेशमा आधुनिक कृषिमा काम गरिरहनु भएको छ । औद्योगिक क्षेत्रमा काम गर्ने नेपालीहरु आफु दक्ष बनिरहेका छन् । नेपाललाई रेमिट्यान्स मात्र होइन हामीले आर्जन गरेको सीप र दक्षतालाई भरपुर प्रयोग गर्नुपर्छ । अहिले धेरै नेपाली विद्यार्थीहरुले पीएचडी गर्नु भएको छ । उहाँहरुलाई नेपाल लगेर प्रयोग गर्न सक्ने सम्भावना पनि एसिया प्यासिफकमै छ ।

नेपाली विश्वमा छरिएर रहेका नेपाली र एसिया प्यासिफिक क्षेत्रमा रहेका हामी नेपालीले देशमा पैसा मात्र नपठाएर सीप कसरी प्रयोग गर्न सकिन्छ त्यता तिर सोच्न जरुरी छ । पैसा बाँड्ने वा फजुल खर्च गर्ने काम मात्र नगरौ बरु आफुले सिकेको टेक्निकल्ल ज्ञानलाई नेपालमा लगाएर देखाऔं । एक्लैले यो सबै काम गर्न सकिदैन । त्यही भएर सबै साथीहरु गोलबद्ध रुपमा यसमा लाग्नुपर्छ ।

अर्कोतर्फ एनआरएनले विदेशमा बस्ने नेपालीहरुको अभिभावकको भूमिका निभाउन जरुरी छ । विदेशमा दुःख पाएका मात्र होइन राम्रो काम गर्नेहरुका लागि एनआरएनले साथ दिनु पर्छ । एनआरएन आफैमा संस्थागत विकास गरेर श्रमिकहरु पनि नेतृत्वमा आउन सक्ने बनाउन जरुरी छ । पैसा हुनेहरुका लागि मात्र होइन सीप र विज्ञता भएकाले पनि ठाउँ पाउनु पर्छ, एनआरएनमा आजको आवश्यकता यही हो ।

अत : मैले एनआरएनए आगामी कार्यकालका लागि मैले आफ्नो प्रतिवद्धतासहित एसिया प्यासिफिक संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेको छु । मेरो एनआरएनए अभियानमा लागेर गरेको काम र लामो अनुभवलाई एक पटक सेवा गर्ने अवसर प्रदान गर्नुहोला । म हरदिन तपाईहरु कै सेवामा रहने प्रतिवद्धता जाहेर गर्दछु ।

(लेखक एनआरएनए एसिया प्यासिफिकका क्षेत्रीय संयोजकका उम्मेदवार हुन् )

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *