एनआरएन मलेसियाको अध्यक्षका आकांक्षी बढ्दै, सर्वसम्मत खोज्ने कसरत

news-details

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समितिको अधिबेशन तथा नयाँ नेतृत्वको माहोलले विदेशमा रहेका नेपालीहरुमा चुनावी सरगर्मी बढेको छ । सोही अनुसार एनआरएन मलेसियाको अध्यक्षका आकांक्षी धेरै जना देखिएपछि माहोल ह्वात्तै गर्माएको छ ।

एनआरएन मलेसियाको सातौ महाधिबेशनले नयाँ नेतृत्व चयन गर्नेछ । एनआरएनए मलेसियाको आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिनेहरूको होडबाजी नै चलेको छ । अहिलेसम्म खुलेर अध्यक्षको दावेदारी गर्नेहरु बढिरहँदा अग्रजहरु सर्बसम्मत नेतृत्व छान्नका लागि कसरतमा लागेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) का माहामारीको कारण आफ्नो कार्यकालमा भिजन अनुसार काम गर्न नपाएको भन्दै वर्तमान अध्यक्ष हरि भट्टराईले पुन एक कार्यकाल अध्यक्ष पद दोहो¥याउने संकेत देखाएका छन् । यद्यपी उनले योग्य तथा सक्षम नेतृत्व आएमा पद नओगट्ने बताउँदै आएका छन् ।

गैरआवासीय नेपाली संघ मलेसियाको कल्याणकारी कोषमा ५० हजार रिंगेट हालेर मलेसियामा रहेका नेपाली श्रमिकको हकहीतमा काम गरेका भट्टराईको कार्यकाल सकिदैछ । यद्यपी उनको कार्यकालमा आन्तरिक विवाद र झमेला भने आइनै रहे ।

एनआरएन मलेसियाको नेतृत्वका लागि पूर्व अध्यक्ष तथा आइसीसी सदस्य महेन्द्रजंग शाहीले दावेदारी प्रस्तुत गरेका छन् । सबैभन्दा पहिला आफ्नो दावेदारी घोषणा गरेका शाही मलेसियामा व्यवसाय गरेर बसेका छन् । विगतमा आफ्नो कार्यकाल शुखद नरहेकाले एक कार्यकाल एनआरएन मलेसियाको नेतृत्व गर्ने उनको तीब्र चाह छ ।

एनआरएन मलेसियामा लामो समयदेखि लागेका रमेशप्रसाद तिवारीले आगामी कार्यकालका लागि अध्यक्षको दावेदारी पेश गरेका छन् । अहिले नेपालमा नै रहेका तिवारी सर्बसम्मत आफु नै अध्यक्ष बन्ने दावी गर्दछन् । आफुले बनाएका साथीहरु धेरै अगाडि बढिसकेकाले आगामी कार्यकालमा सबैले आफुलाई नेतृत्व छोड्ने सहमति भइसकेको तिवारीको भनाई छ ।

एनआरएन मलेसियाको अध्यक्ष बन्ने आकांक्षा अघिल्लो कार्यकालमा नै राखेका वर्तमान बरिष्ठ उपाध्यक्ष सुन्दर आले आगामी कार्यकालका लागि नेतृत्व सम्हाल्ने दाउमा छन् । एनआरएन मलेसियामा लामो र अर्थपूर्ण योगदान दिएका आले नेतृत्वका लागि अब्बल मानिन्छन् । यद्यपी आलेले अध्यक्ष पदको लागि आधिकारिक उम्मेदवारी घोषणा गरि नसके पनि सहमतिमा आफु नै अध्यक्ष बन्ने दावी गरेका छन् ।

एनआरएन मलेसियाको अध्यक्षको दावेदारी गर्नेमा सुनिल चालिसेको नाम पनि आउँछ । चालिसेले मलेसियामा हाबी राजनैतिक परिपाटीको अन्त्य गर्दै श्रमिकमारा दलालको बिकल्पमा आफ्नो उम्मेद्बारी दावी रहेको बताएका छन् । चालिसे २ कार्यकाल एनआरएन मलेसियाको महासचिव भएर काम गरिसकेका छन् । यद्यपी उनको उम्मेद्बारीलाई अन्य प्रतिष्पर्धीले दरिलो मानेका छैनन् ।

एनआरएन मलेसियाको सन् २०२१ देखि २०२३ सम्मको कार्यकालको लागि अध्यक्ष पदमा विनोद थापाले समेत उम्मेदवारी दिने भएका छन् । एनआरएन मलेसियाको नेतृत्वमा थापा नयाँ अनुहार भएपनि नेतृत्वका लागि सक्षम आकांक्षी भएको बताइन्छ । जनसम्पर्क समिति मलेसियाले थापालाई अध्यक्षको उम्मेदवारका रुपमा लिएको भएता पनि सर्वसम्मत नेतृत्व छनौटमा बाधा नपु¥याउने जनाएको छ ।

श्रमिकहरुको हक हितको लागि आफै खर्च गरेर सहयोग गर्न सक्ने हैसियत बनाएका थापालाई एनआरएनए मलेसियाको जिम्मेवार पदमा पु¥याउनु पर्छ भन्ने आवाज ब्यापक छ ।

एनआरएन मलेसियाका आकांक्षी धेरै भएता पनि सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने दवाव छ । मलेसियामा नै रहेका क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपाने आगामी नेतृत्वका लागि आइसीसीको जिम्मेवार पदमा उम्मेदवारी दिने भएकाले उनलाई मलेसियामा सर्वसम्मत बनाउनु पर्ने हुन्छ । ‘आकांक्षी देखिनु राम्रो कुरा हो तर हामी अन्तिमसम्ममा सर्वसम्मत नेतृत्व चयन गर्ने छौं’ न्यौपानेले रोजगार मञ्चलाई बताए ।

अहिले विश्वब्यापी कोरोना माहामारीका कारण निर्वाचन गराउनु राम्रो नभएकाले अन्तिम समयसम्ममा एनआरएन मलेसियाले सक्षम र सबल नेतृत्व सर्वसम्मत पाउने आशा धेरैले राखेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *