साहित्यर्वार्ता : ‘नयाँ पुस्तामा साहित्यप्रति रुचि राख्ने प्रवृत्ति स्खलित हुँदै गएको छ’–शेखर ढुङ्गेल

news-details

नेपाली साहित्यका विविध विधामा कलम चलाउने साहित्यकार शेखर ढुङ्गेलको सक्रियता अत्यन्तै लोभलाग्दो छ । आपूmलाई सँधै गतिशील र सिर्जनशील स्रष्टाको रुपमा उहाँको पहिचान छ । मुलुकका समसामयिक प्रसंग र विषयमा समेत निरन्तर कलम चलाउने उहाँ अमेरिकामा रहेका एक समर्पित र स्थापित लेखकको रुपमा सुपरिचित हुनुहुन्छ । प्रष्ट वक्ता र निर्भीक लेखकीय छवि उहाँको अर्को परिचय हो ।

धाराटोल–२ कटुन्जे, भक्तपुर बागमती अंचलमा उहाँको जन्म भएको हो । उहाँका पिता (स्व.) बद्रिनाथ ढुङ्गेल र माता (स्व.)कुलकुमारी ढुङ्गेल हुनुहुन्छ । शिक्षामा राजनीति र इतिहास शास्त्रमा उहाँले स्नातक गर्नु भएको छ । उहाँका कृतिहरु निम्न छन्– शेखरका सय कविता (कविता संग्रह), कहाँ छ मेरो देश ? (यात्रा स्मरण), क्षितिजपारिका सपनाहरु (कथा संग्रह), अ व्युटिफुल स्ट्रगल अमेरिका, माटोको सुगन्ध (गीतिसंग्रह), भैरव रिसालको सय रुपिया र म (अतीतका सम्झनाहरु संकलन), माटोको (कथा संग्रह), यात्रा स्मरण (नेपाल तथा भारतका बिभिन्न स्थानको भ्रमण स्मरण), मेरो देश (कविता संग्रह), परिबर्तनको लागि विवेकशीलता (सुशासन विवेकशीलता जिम्मेवारीको लागि प्रेरक लेखहरुको संग्रह, पुनः प्रकाशन) र विगत ३० वर्षदेखि समसामयिक लेख, चिन्तन आदि रचनाहरु बिभिन्न संचार माध्यममा निरन्तर प्रकाशित । यसै गरी उहाँका गीतिसंग्रह (सांगीतिक एल्बम) आकांक्षा (२००६), सम्झना (२००७), कुनै दिन (२०१२) र केही फुटकर गीतहरु चलचित्रमा समावेश भएका छन् । विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संस्थामा उहाँको आबद्धता रहिआएको छ । ‘व्यथित काव्य’ पुरस्कार २०१६ लगायत दर्जनौँ विविध सम्मान एवम् पुरस्कारबाट साहित्यकार ढुङ्गेल सम्मानित हुनुहुन्छ ।

अमेरिका, बेलायत, जापान, अस्ट्रेलिया, कोरिया, ताइपे ताइवान, जर्मन, फ्रान्स, नर्वे, स्वीजरल्याण्ड, बेल्जियम, लक्स्बर्ग, रसिया, थाइल्याण्ड, हङकङ, स्पेन, भारत लगायत अन्य विभिन्न राष्ट्रको उहाँले भ्रमण गरिसक्नभएको छ । नेपालका ६७ जिल्ला उहाँ पुगिसक्नभएको छ । सहजता र कलात्मकता साहित्यकार ढुङ्गेलको सिर्जनात्मक कला हो । नेपाली साहित्यमा निरन्तर लेखेर, बोलेर र वैचारिक बहसमा सदा क्रियाशील कवि, कथाकार एवम् भाषिक अभियन्ता साहित्यकार ढुङ्गेलसँग गरिएको छोटो वार्ता :

कसरी आकर्षित हुनु भो साहित्यमा ?

साहित्य आफैमा स्वतःस्फूर्त क्षेत्र जस्तो लाग्छ । जसरी व्यक्तिका रुचिहरु अन्तस्करणबाट स्वतः निर्माण हुन्छन् । यो विधा पनि त्यस्तै हो मेरा लागि । जीवन र जगतको चरित्र पढ्ने मेरो स्वभाव छ । साहित्यले मलाई यतातिर अध्ययन गर्न सघाएको छ । साहित्य अब त मेरो जीवनको अंग बनिसक्यो ।

धेरै विधामा काम गर्नु हुन्छ तपाईं । विशेष कुन विधा हो ?

गम्भीर र गा¥हो प्रश्न हो यो । साहित्य के हो भन्न धेरै लामो गन्थन मन्थन गर्नुपर्ने हुन्छ । तर मेरो सोचाइमा साहित्य प्रत्येक अलग व्यक्तित्वहरुको विशेषताहरु मध्ये एउटा विशेषता (गुण) हो । जसले स्वयम् अनि समाज र जगत्को दुःखसुख र कल्पनाको भोगाइलाइ उसको क्षमता, योग्यता र अनुभूतिको आधारमा समाजको लागि पस्कने गर्छ— गीत, लेख, कथा, उपन्यास आदिको को स्वरुप दिएर । साहित्यमार्पmत् लेखकले अर्कै लोकमा पाठकलाई भ्रमण गराउँछन् ।

नेपाली साहित्यको अवस्था र गति के देख्नु हुन्छ ?

विकसित प्रविधिले साहित्य क्षेत्रलाई समेत सहजताको पहुँचमा पु¥याएको छ । जसले गर्दा दिनानुदिन नव प्रतिभाहरु उदाएको देख्दा नेपालको साहित्य आज र भोलि हिजोको जस्तो पैसा, शिक्षा र पहुँचको आधारमा मात्र उठ्ने अवस्था रहेन र रहने छैन । दुर्गम स्थानको धुलो माटो, आँसु र व्यथालाई अर्को समाज मात्र होइन अर्को देशसम्म पु¥याउन सफल हुँदै गएको देख्छु । विश्वको कुना–कुनामा पुगेर जीवन संघर्षका कथाहरुलाई साहित्यका विविध विधामार्फत् पु¥याइरहेको अबस्था छ । दर्जनौँ अन्तर्राष्ट्रिय साहित्यिक प्रतिष्ठानको स्थापना यसको उदाहरण हुन् । स्तरीयतालाई उन्नत गर्न भने अग्रज साहित्यकार (प्राज्ञ )व्यक्तित्वहरुले भूमिका निर्वाह गर्नु पर्ने हुन्छ र साहित्यलाई अर्थले पनि प्रभाव पार्ने हुँदा वर्तमानमा देखिएको आप्रवासको गतिशीलता रोकिने सम्भावना पनि नभएको हुँदा नेपाली साहित्यले सकारात्मक गतिलाइ निरन्तरता दिने विश्वास गर्छु म । यस दिशातिर सबैको ध्यान जानु अपरिहार्य पनि छ ।

अहिलेको नेपाली साहित्यले राष्ट्र चिन्तन गरेको देख्नु हुन्छ ?

केही हदसम्म देशको चिन्ता गरेको देखिन्छ तर मोफसलका साहित्यकारहरु राजनैतिक कित्तामा विभाजित भै निजी स्वार्थमा केन्द्रित भएको अप्रिय लाग्ने र साहित्यको मर्म र धर्मभन्दा बाहिर रहेको तीतो अवस्थाले गर्दा शत प्रतिशत् साहित्य राष्ट्रिय चिन्तन भन्दा बाहिर रहेको देख्छु । बरु उल्टो साहित्यिक प्रतिष्ठानहरुमा पहुँच पु¥याउन आ–आफ्नो क्षेत्रबाट शक्ति केन्द्रको दुरुपयोग गर्ने, गराउने प्रवृति बढेको र साहित्यिक प्रतिष्ठानको नेतृत्व कब्जा र सिन्डिकेटको दुनियतको शिकार भएको देखेको छु । अझै नेपाली संचार माध्यमहरुमा नेपाली भाषाको स्तरीयतामा देखाइएको स्खलन अनि शब्दकोश सम्बन्धमा आएको गम्भीर विवादस्पद प्रकरणले नेपालको साहित्य (भाषा )राष्ट्रिय सकारात्मक चिन्तनमा कर्तव्यच्युत भएको अनुभूति गरेको छु ।

तपाईं लामो समयदेखि बाहिर हुनुहुन्छ । नेपाली साहित्य के कस्तो छ अमेरिकामा ?

अमेरिकाको मात्र कुरो गर्नुपर्दा अमेरिकामा दर्ता भै करिब ५ दर्जन देशमा शाखा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा र साहित्यको लागि गौरवमय कर्म गर्न सफल भएको छ । त्यस्तै प्रकृतिका अन्य प्रतिष्ठान पनि सक्रिय छन् । हरेक जस्तो साहित्यिक विभुतिहरुको जन्म जयन्ती मनाउने, भाषा कक्षाहरु संचालन गर्ने, मासिक कोठे साहित्यिक कार्यक्रम गर्ने, विश्वभर छरिएर रहेका नेपाली साहित्य वा लेखकहरुलाई विविध विधामा पुरस्कार र सम्मान गर्ने कर्ममा तीब्रता आएको छ । अनेसासले नेपाल र विश्वभर छरिएर रहेका साहित्यिक स्रष्टाहरुलाई जोड्ने र उत्प्रेरित गर्ने काम उत्साहका साथ गर्दै आएको छ । त्यसको साथै अमेरिकामा दर्जनौँ नेपाली संचारमाध्यमहरु सक्रिय रहेका तथा संचारमाध्यमले पनि साहित्यलाई अनिबार्य स्थान दिएको हुँदा र गैरआवासीय नेपाली सस्थासँग सहयात्रा गरेर पनि नेपाली साहित्यलाई विश्वव्यापी संजालमा जोड्न अमेरिका (अनेसास) सफल भएको छ ।

नेपाली साहित्य त्यहाँको समाजमा लैजाने आधारहरु छन् ?

त्यहाँको समाज भन्नाले ? नेपाली समाज वा अमेरिकी समाज ? नेपाली समाजको कुरो हो भने माथि उल्लेख गरिएझैँ नेपाली साहित्यकार धेरैलाई अमेरिका पु¥याई सकिएको र पु¥याउने प्रयास निरन्तर भै नै रहेका छन् र हुनेछन् । सिर्जनाको कुरो हो भने त्यो पनि चर्चा र पहुँच भएका प्रकाशन प्रायः आइपुगेका हुन्छन् । अब अमेरिकी समाजमा अर्थात् अंग्रेजीमा नेपाली श्रष्ठाका सिर्जना पु¥याउन भने कठिन देखेको छु । उदाहरणको लागि मेरै कृति अ व्युटिफुल स्ट्रगल, जुन अमेरिकाको प्रकाशन प्रतिष्ठानले बजारमा ल्याएको हो २०१३ मा । तर यहाँका पाठकले प्रकाशनको रिभ्यु र चर्चाको आधारमा खरिद गर्ने भएकाले आर्थिक असमर्थताको कारण बालुवामा पानि हाले जस्तै हुन पुग्छ । अमेरिकी नेपाली समाज आर्थिक र मानसिकरुपमा पुस्तक किनेर पढ्नु पर्छ र लेखकलाई प्रोत्साहन गर्न केही व्ययभार लिनु कर्तव्य हुन्छ भन्ने सोचको पहुँचमा पुग्न अझै सकेको छैन ।

धेरैतिर आबद्ध हुनुहुन्छ । कसरी समय दिनु भएको छ साहित्यलाई ?

लेखनमा रुचि बिस्तारै–बिस्तारै दैनिकी कर्मजस्तै बन्दै गयो । उठ्यो, नित्य कर्म ग¥यो, खायो, काम ग¥यो, सुत्यो, उठ्यो सँगै मनमा तरंगित अनुभूतिहरुलाई गीत, कविता र कथा अनि यात्रा स्मरणको रुपमा शब्द र समय खर्चने आदत बस्यो । समयको उतार चढावसँगै जीवनका प्राथमिकता पनि परिवर्तित हुँदा रहेछन् । हिजोका सपनाहरुको सार्थकतासँगै नयाँ आकांक्षाहरु आइरहने रहेछ । अनि शब्द र विषय अनि परिघटनाहरु जुन मभित्र निहित हुन्छन्, त्यसलाई सार्वजनिक गर्न यो मन जवर्जस्त प्रेरित हुन्छ । त्यसैले यो पाटो आज दैनिकी समय तालिकाभित्र परेको छ अन्य क्षेत्र भन्दा पनि बढी ।

राष्ट्रियतालाई मूल मुद्धा बनाएको देखिन्छ तपाईंको रचनामा । कुन–कुन विधामा यसको आवाज प्रमुख पार्नु भएको छ ?

हजुर यसरी हेरौँ— ‘देश भनेको चारैतिर सिमाना कोरिएको भू–भाग मात्र होइन । त्यसभित्र मौलिक भाषा, भेष, धर्म, सस्कृति लगायत अनेकौ विशेषता हुन्छन् । त्यसको संरक्षण बिना देशको अस्तित्व रहदैन । राष्ट्रको पहिचान भेटिदैन । त्यसमा पनि विश्वको १७ औ जेष्ठ देश नेपालको गौरवशाली मौलिकता धेरै छन् । त्यसको संरक्षण गर्नु पर्छ’ भन्ने मेरो भनाइ छ । नर्वे र जापानको उदाहरण दिन्छु । आफ्नो मौलिकतालाई बचाएर नै विकास गर्न सकिन्छ । राष्ट्रियताको सम्बन्धमा म विद्रोही स्वभावको छु । सायद त्यसैले होला धेरै कवितामार्फत् देशभक्ति वा राष्ट्रको चिन्तनमा कविता कोरेको छु । साथै निरन्तर समसामयिक राष्ट्रिय चिन्तनमा लेख्ने गर्छु । ‘आप्रवासको लालच र धार्मिक साँस्कृतिक, भाषिक एवम् पारिवारिक विचलन’ सम्बन्धमा लेखेको छु साथै राष्ट्र र राष्ट्रियताको लागि ‘परिवर्तनको लागि विवेकशीलता’ पुस्तक पनि प्रकाशित गरी देशको लागि समर्पण गरेको छु । राष्ट्रियताको लागि प्रत्येक नागरिकको जिम्मेवारीको बारेमा विविध विषयको उदाहरणमार्फत् प्रेरित हुन् यो पुस्तक उपयोगी भएको पाएको छु ।

नेपाली पाठकले तपाईंलाई स्थापित कवि र कथाकारको रुपमा पाएको छ । उपन्यासमा पाइला चाल्ने मन गर्नु भएको छैन ?

हे–हे… ! मीठो स्मरण गराइदिनु भयो । वास्तवमा भन्नुपर्दा सुरुवातमै अर्थात् १४/१५ वर्षको उमेरदेखि नै रेडियो नेपालमा साप्ताहिक रुपमा प्रसारण हुने गीतिकथा दर्जनौँ लेखियो र प्रसारण समेत भयो । जसको पारिश्रमिक २० रुपिया मिल्थ्यो । त्यसैबेला उपन्यास लेख्ने जमर्को गरेको थिएँ । लगभग एउटा पुस्तक तयारी अबस्थामा पुगेको थियो । कारणवश त्यो प्रकाशन हुन सकेन र लेखोट समेत सुरक्षित रहेन । त्यसपछि मैले त्यता ध्यान दिएको छैन । समय, आर्थिक दायित्व र कर्मको (जागिर) प्रकृतिले साथ दिएन । धेरै वर्ष लेखन कर्म नै टुट्यो । कथा, गीत र कविता अनि यात्रा स्मरण लेख्न नै अभ्यस्त छु आजभोलि । अनुकूलता बन्यो भने लेख्ने छु अवश्य … । एउटा रहर भने अवश्य छ, आख्यानमा कलम चलाउने ।

आजको नयाँ पुस्ताको लेखन कस्तो देख्नु हुन्छ ?

यो पुस्ता केही अपवाद बाहेक साहित्यप्रति रुचि राख्ने प्रवृत्तिमा स्खलित हुँदै गएको छ । प्रारम्भिकदेखि माध्यमिक स्तरका विद्यालयहरुमा नेपाली भाषा साहित्यलाई भन्दा आयातीत भाषा, साहित्य र संस्कृतिलाई प्राथमिकतामा राख्ने, राष्ट्रहित विपरित गै¥ह जिम्मेवार शिक्षा प्रदान गर्ने प्रवृत्तिले तीब्रता पाएको कारण आउने पुस्ता नेपाली भाषा साहित्यदेखि विमुख हुँदै जाने र आयातीत भाषा–साहित्य अनि संस्कृतिप्रति आकर्षित हुँदै जाने अवस्था छ । त्यसमा पनि स्तरीय अंग्रेजी भाषा र पलायनको लागि योग्य बन्ने प्रतिष्पर्धी शिक्षाले गर्दा नेपाली भाषा र साहित्य एवम् संस्कृतिप्रति नयाँ पुस्ता नकारात्मक मात्र होइन प्रतिकुल पो देख्छु । समाज र शिक्षाको लक्ष्य नै कमर्सलाईज हुँदै गयो । जसले गर्दा आज मिडियामा समेत ५०-५० प्रतिशत् जस्तो नेपाली र अंग्रेजी शब्द चयन हुन्छ । मिडिया भनेको भाषा र साहित्यको एक प्रकारको गुरु पनि हो तर हाम्रो देशमा यो मर्मलाई आत्मसात् गर्ने मिडियाहरु देख्न पाएको छैन । अन्यथा नहोस् केही स्तरीय युवा पुस्ता जोसँग अग्रजहरुले पनि सिक्नुपर्छ । त्यस्ता पनि छन् तर समग्रमा भन्नुपर्दा यो वा आउने पुस्ता नेपाली भाषा र साहित्य अनि संस्कृतिप्रति सकारात्मक र प्रेरक रहने आशा र विश्वास गर्ने लक्षण देखिएको छैन ।

प्रविधिले नेपाली प्रभावित भएको मानिन्छ । के सही हो ?

सही हो । सकारात्मक र नकारात्मक दुवै प्रभाब पारेको छ । माथि पनि उल्लेख गरेँ मैले । प्रविधिले गर्दा विश्वव्यापी संजाल निर्माण गर्न सहज भयो र नयाँ प्रतिभालाई प्रेरित ग¥यो । नेपाली साहित्यिक फाँटमा अनगिन्ती स्रष्टाहरुको उपस्थिति वा पहुँच पुग्यो । जुन राष्ट्रलाई जोड्ने एउटा संबेदनशील पुल पनि हो । साथै भाषिक आक्रमण वा संक्रमण, शब्दमा अस्पष्टता वा अपभ्रष्टता, अकल्पनीय रुपमा बढ्यो र नेपाली भाषा र साहित्यमाथि नियोजित रुपमा हुँदै गरेको अतिक्रमणलाई रोक्न विरोधका विविध कार्यक्रम राज्य र प्राज्ञ, प्रतिष्ठानहरुसँग गर्नुप¥यो । निरन्तर रुपमा विकसित प्रविधिले भाषिक र साहित्यिक क्षेत्रमा पु¥याउने क्षतिको बिरुद्धमा सजकतापूर्वक लाग्न अनिवार्य छ ।

नेपाली साहित्यकारलाई विश्व बजारमा के कसरी लैजान सकिएला ?

नेपालको साहित्यिक इतिहास हेर्ने हो भने नेपाली लेखन पनि विश्वस्तरीय छन् । महाकवि देवकोटा हुन् वा सम वहाँहरुको साहित्यिक सृजनाको कुनै तुलना नै हुन् सक्दैन । तर के भयो, हाम्रो भाषा र संचारको पहुच नभएको कारण खुम्चिएर बस्नुप¥यो । प्रेम, मानवीय संवेदनशीलताका हाम्रा पूर्वजहरुको रचना साँच्चिकै अतुलनीय हुँदाहुँदै हामी हाम्रै दायरामा सीमित हुनु परेको तीतो तथ्य अहिले पनि उस्तै छ । हाम्रो प्रज्ञा प्रतिष्ठानले वा अन्य कुनै प्रतिष्ठित प्रतिष्ठानमार्फत् वा सम्बन्धित देशको भाषामा नेपाली साहित्यकारहरुको सिर्जनालाई उल्था गरी प्रकाशन गर्न सक्यौँ भने हाम्रो साहित्य विश्वमा परिचित गराउन सक्छौँ । विधागत रुपमा प्रतिष्पर्धा वा छनौट गरी यसरी अन्य देशको भाषामा त्यहीको प्रकाशन गृहबाट सार्वजनिक गर्न सक्यौ भने सहज हुन्छ । विभिन्न देशमा रहेका नेपाली–नेपाली वीचमा नै अन्तर्राष्ट्रिय भन्ने, भनाउने जुन प्रवृत्ति छ, यसलाई अन्तर्राष्ट्रियकरण भन्ने कुरो भएन । अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा भाग लिने विदेशी लेखक, साहित्यकारहरुसँग घुलमिल हुनुपर्छ । अनि मात्र हामीले हाम्रो भाषा र साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न सक्छौँ जस्तो लाग्छ ।

प्रज्ञा प्रतिष्ठानले बाहिर रहेका तपाईं जस्ता लेखकहरुलाई सम्झना गरेको छ त ?

व्यक्तिगत रुपमा पहुँच पुग्ला, नपुग्ला वा व्यक्ति विशेषलाई स्थान देला, नदेला वा दिएको छ, छैन एउटा पक्ष रह्यो । तर नीति निर्माण गरेर विधागत रुपमा सम्झने कर्मप्रति चासो दिएको छैन । तर मौसमी रुपमा केही प्रकाशनमा सहयात्रा रहेको छ प्रज्ञा प्रतिष्ठानले व्यक्तिगत रुपमा कसैलाई सम्झनेभन्दा पनि प्रवासमा प्रकाशित रचनाहरुको संकलन र सुरक्षा, प्रवासमा रहेका स्रष्टाहरुको विवरण राख्ने काम गर्न सके नेपाली साहित्यको पुस्तान्तरण गर्न ठूलो सहयोग पुग्ने थियो ।

तपाईंको कुनै लेखकीय स्वप्न योजना छ कि ?

हजुर नेपाल जुन वेद र बुद्धत्वको उद्गम स्थल हो । यो पवित्रभूमिमा वर्तमान किन दरिद्र हुन् पुग्यो ? हामी किन सुनको कचौरा बोकेर माग्ने अवस्थामा पुग्यौँ ? हामी किन लज्जास्पद रुपमा बौद्धिक स्खलनको शिकार हुन पुग्यौँ ? एउटा असल नागरिक कस्तो हुन्छ ? प्रत्येक नागरिकको राष्ट्रप्रतिको दायित्व के हुन्छ र कसरी निर्वाह गर्ने अनि कसरी राष्ट्रप्रति जिम्मेवार बन्ने ? जस्ता गहन बिषयमा पुस्तकमार्फत् स्कुल–स्कुल र समाज– समाजमा पुगेर एक विवेकशील, जिम्मेवार, असल नागरिक बन्ने–बनाउने अभियान चलाउने मेरो योजना छ । विवेकशील र जिम्मेवार नागरिक बिना देश बन्दैन भन्ने मेरो मान्यता छ । सृष्टिकर्ताले मानिसलाई दया, करुणा, सेवा र संवेदनशील प्राणी वा आफ्नो प्रतिनिधिको रुपमा बनाएको हुन् । तसर्थ जहाँ आवश्यकता देखिन्छ जहिले सम्भावना हुन्छ बिनातर्क बितर्क, बिना आफ्नो पराईको, परिचय बिना फाइदा बेफाइदा को हिसाब, बिना सुबिधा असुबिधाको बहाना दया भाव देखाइहाल्नु पर्छ । सहयोगको हात बढाइहाल्नु पर्छ । जहाँ आवश्यकता हुन्छ त्यहाँ आफैलाई उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाउनु एक विवेकशील आदर्श नागरिकको उदाहरण हुनु हो । यस्ता अध्यात्म र चेतनाका सार्थक कार्य र प्रकाशन कार्य गर्ने स्वप्न योजना बनाएको छु ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *