साहित्य/अनुभूति : समय र स्वयंको कलिलो कमाण्डर

news-details

लकडाउनको सुरुका दिनमा निकै डराएजस्तो लाग्थ्यो ऊ ।

०७२ को भुकम्पकाबेला पनि निक्कै त्रसित थियो । वैसाख १२ गते मेरो परिवारका सदस्यसहित केही आफन्त पनि मेरै घरमा सुतेका थियौँ । राति पनि भुकम्प आउँछ रे भनिरह्यो पटकपटक । निन्द्रा लागेको थिएन उसलाई ।

त्यसैले ११ बजे राति घरछेउको खाली जमीनमा त्रिपाल टाँगेर सुतेका थियौँ । अनि ऊ निदाएथ्यो ।

त्यसपछिका झट्काहरुमा पनि निकै डराएको थियो । मेरै काखमा हुँदासमेत उसले सुरक्षित महसुश गरेन । आत्तिएर बाहिर निस्किन्थ्यो । भाग्न नदिँदा चिच्याएर रुन्थ्यो । त्यसबेला ७ वर्षे सुशानको चेतना आज हुर्केर १२ वर्षे भएपछि जीवन र मृत्यु पनि बुझ्ने भइसके जस्तो लाग्छ ।

जीवन बुझाइसँगै त्रासको मात्रा पनि बढेको अनुमान गरेर ऊप्रति सचेत भयौँ हामी ।

चैत ११ मा लकडाउन सुरु हुँदा ४८ दिनदेखि प्रहरी अस्पतालमा हुनुहुन्थ्यो आमा । अस्पतालले सबै बिरामीलाई डिस्चार्ज गर्न थाल्यो । चैत १३ गते पचासौँ दिनमा आमा पनि डिस्चार्जमा पर्नुभयो र अस्पतालकै गाडिमा घर आयौँ ।

अनेक रोगको उपचार गर्ने अस्पतालसमेत त्यसरी सचेत भएपछि लापरबाह हुनु थिएन हामीलाई । परिवारमा पाँचैजनाको कोठा र ओछ्यान अलगअलग भयो । माथिल्लो तलामा सुत्नेले तल्लो तलाको बाथरुम प्रयोग नगर्ने, तलकाले माथिको नजाने यस्तो केही आचार संहितामा लागु गरियो ।

पर्याप्त सावधानीका साथ भान्सा र टिभीरुम मात्र एकै थियो ।

अब केही दिन एकअर्कालाई नछाऔँ, अलग्गै सुतौँ । हाम्रै लागि त हो । सुशानलाई सम्झाएँ । उसले सहज लियो । दैनिकका समाचार र घरमै एकअर्काको साबधानीले डर पलाएको जस्तो लाग्यो ।

तिमी डरायौ कि क्यो हो ? मैँले सोधेँ । छैन । किन डराउने र ? लजाएझैँ मुस्कुराएर जवाफ दियो ।

दैनिक आउने समाचारमा भने खुब चासो गथ्र्यो । सरकारले यसो भन्यो, आज यतीजनालाई कोरोना लाग्यो, अमेरिकामा यती मरे जस्ता समाचार हामी सबैलाई सुनाउँथ्यो ।

दिन बित्दै गए । संसारभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दैथियो । भारतमा उकालो लागेसँगै नेपालमा पनि अंक जोडिँदै थियो । भारतमा नरोकिए नेपालमा रोकिन्न भन्थ्यो ऊ पनि । अमेरिका र इटालीको लापरबाहीका बारेमा चर्चा गर्न तम्सिन्थ्यो । सँगसँगै मन बलियो बनाएजस्तो तर कतिपय उसका क्रियाकलापबाट थाहा नपाइ डराएजस्तो देखिन्थ्यो ।

सुशान भनेर बोलाउँदा पनि तसिन्थ्यो, उसको छेउमा जाँदा झसङ्ग हुन्थ्यो र हाँसेर टारिदिन्थ्यो गथ्र्यो । किन तर्सेको भनेर सोध्दा खोइ म किन तर्सेको भनेर अन्यौल जनाउँथ्यो ? उसले आफू डराएको स्वीकार गरेपछि अलिकति सहज भयो उसको अवस्था बुझ्नलाई ।

पढाइबाहेक रेडियो नाटक गर्न, अलेली कविता, कथा कथ्न पनि रुची थियो उसको ।

तिमी साना बालबालिकाहरु मध्ये अगुवा हौ । अगुवाहरु बिचलित हुनु हुन्न है भनेँ मैँले ।

त्यस्तो होइन हौ आफैँ के हुन्छ के, म के जान्नु भन्यो ।

डर त्रासले मान्छेमा मानसिक समस्या आउनसक्ने आँकलन सुरु भइसकेको थियो विज्ञहरुबाट । त्यस्तो अवस्थामा परामर्श गर्न केही नम्बरहरु सार्वजनिक भएका थिए । मैँले केही नम्बरहरु खोजेँ ।

र उसलाई भनेँ तिमी नडराए पनि थाहै नपाइ तिम्रो मन डराएको हुनसक्छ । अरुलाई पनि यस्तो हुन्छ सक्छ । मैँले केही नम्बर पत्ता लगाएको छु । म फोन लगाईदिन्छु तिमी एक्लै कुरा गर भनेँ । उसले हस् भन्यो ।

यसको अर्थ उसलाई पनि नजानिँदै आफुमा आएको समस्या थाहा थियो र समाधान खोजिन लाग्दा खुशी थियो ।

मेरो हात परेका दुईवटा नम्बरमा लगातार दुई दिन फोन गरेँ । एउटा उठेन, अर्कोमा लाग्दै लागेन । यस्तो संवेदनशील विषयमा नउठ्ने र नलाग्ने फोन किन सार्वजनिक गर्नु ? नरमाइलो लाग्यो ।

ऊ पनि निराश भयो । झन डराएजस्तो भयो ।

एकछिन मौन रहेँ, सोचेँ । मेरो मन बोल्यो ‘मसँग आफ्नै बाबुआमा बाहेक अरु कसले आफ्ना सन्तानको मनोदशा बुझ्नसक्छ ?’

मनोदशा बुझेपछि परामर्श दिन पनि के कठिन भयो र ? आफ्नै छोराको बलियो साथी बन्नुपछै अब । निर्णय लिएँ ।

सबैभन्दा पहिले कोराना समाचारबाट उसको ध्यान हटाउनु पर्छ । निश्चय गरेँ । उसको नाममा इमेल खाता खोलेर युटुव खोल्न लगाएँ । ऊ केही उत्साहित देखियो ।

बाबा छोरा गीत गाउने, मोबाइलबाटै खिचेर हाल्ने । उसले हारमोनिम बजाएको भिडियो हाल्ने, नयाँ वर्ष शुभकामनासमेत परिवारै बसेर बनाउने अनि हाल्ने । यस्तै क्रम चल्न थाल्यो ।
भिडियो इडिट गर्ने ढंग नभएकाले खिच्दाखेरी नै नबिगारी खिच्नुपर्ने वा बिग्रेमा फेरि अर्को खिच्नुपर्ने बाध्यता थियो ।

उसको ध्यान अब भिवर्स, लाइक र कमेण्टतिर मोडियो । आशावादी भएँ म ।

तर एकाएक गुगलले उसको उमेरमा शंका गरेर फोटो पठाउन भन्यो । र बन्द गरिदियो खाता । उसका भिडियोहरु खुल्न छाडे, इमेल पनि खुलेन । उ निराश बन्यो । तर हारेन ।
उसैले केही चलाखी गरेर फोटो पठाएपछि गुगल झुक्कियो र फेरि सुरु भयो खेती ।

घरमा नेट थिएन, डाटा छिनमै सकिन्थ्यो । पढाइका कुरा गरेर कमभन्दा कम उसको रहोस् भन्ने चाहन्थी ममी ।

तर उसलाई पढ्नु थिएन । ६ कक्षाको परिक्षा सकिएको र नतिजा आएको थिएन । ७ कक्षा सुरु भइनसकेकाले पढ्ने पुुस्तक पनि थिएन ।

एक पटक पढिसेका बाल पुस्तक एकदिनमा सकिहाल्थ्यो । के पढ्ने अरु ?

अब कथा लेख, दैनिकी लेख । पछि ठुलो भएपछि पढ्दा आनन्द आउँछ । बिर्सेका कुरा पनि थाहा हुन्छ भनेर उचालेँ ।  नियमित दैनिकी लेख्न थाल्यो ।

ममीले सामान्य ज्ञानको पुस्तक थमाइ र भनी दिनमा पचास वटा प्रश्नको उत्तर याद गर्ने अनि बाबाले खिचेर युट्युबमा हाल्ने ।

मोबाइल खेलाउनको हतारोले एकघण्टा नपुग्दै घोकीसक्थ्यो । अझै अलमल्याउन उल्टोसुल्टो तलमाथि दुबैतिरबाट सोध्न थालेँ । ऊ खराखर भन्थ्यो ।

युटुबमा उसका भिडियोको संख्या बढ्दै थियो । आफन्तबाट आएका कमेण्टबाट उत्साहित भयो ।

स्कुलले अनलाइन कक्षा लिनका लागि भन्न थालिसकेको थियो ।

दुईचार महिना नपढेर आकास खस्दैन । बालबालिकालाई अनावश्यक मोबाइल र कम्प्युटरमा झुम्मिन बाध्य नपारौँ । भार हुन्छ । मैँले उसैका अगाडि स्कुललाई जवाफ दिएँ ।

वार्षिक परिक्षा दिएर बसेका बालबालिकालाई रिजल्ट नदिई के पढाउनु हुन्छ ? तपाइका सबै विद्यार्थी समावेस हुन सक्छन् ? सबैको पहुँच छ इन्टरनेटमा ?

एकातिर उनीहरु आफुले चाहेको कुरा नहेरी छाड्दैनन्, गेम नखेली छाड्दैनन्, त्यसमाथि स्कुलको अनलाईन । यसरी त एडिक्ट बन्छन् इन्टरनेटका । मेरा जवाफले स्कुल त हच्कियो नै सुशान पनि उत्साहीत भयो । म सफल भएँ ।

पढ्नु नपरेकोमा नै बढेको थियो उसको खुशी र घटेको थियो तनाव । नयाँ पाठ्यक्रम र रिजल्टविनाको पढाइ एक ढोँग र अभिभावकका आँखामा छारोबाहेक अरु केही थिएन पनि ।

वैसाख ४ गतेबाट मेरो अफिस घरमै भयो । केही साथीहरु अफिसमै बसेर सहजीकरण गर्ने अरु बाँकी घरैबाट रेडियो प्रसारणमा काम गर्ने भयौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले व्यारेकमा बस्ने कर्मचारी व्यारेकबाटै सडकमा खटिने र डेरा बस्नेहरु अफिस नआइ डेराबाटै डिउटी जाने आदेश गरेको थियो ।

मलाई परिवारसँग अलगिएर व्यारेकमा बस्नु थिएन । त्यसका लागि घरमा नेट जोड्नै पर्ने बाध्यता आइलाग्यो । छिमेकी अमृत थोकरको वाइफाइ कनेक्ट त गरियो तर घरमा सबैतिर चलेन । ग्राउण्ड फ्लोरको दक्षिणकोठाको एउटा कुनोबाट मुस्किकले दुईदिन चलाएँ ।

बिहान ५ देखि बेलुकी ८ बजेसम्म निरन्तर काम गर्नुपर्थो । तार र राउटरको बिकल्प देखिएन । तर कहाँबाट ल्याउने यस्तोबेलामा, कतै पसल खुल्ला छैनन् ।

छिमेकी सरोज श्रेष्ठको आफ्नै घरमा रहेको बन्द पसलबाट किनेँ तार । बालुवाखानीमा भाइ प्रमेशको बन्द पसलबाटै उसले चलाउने गरेको पुरानो राउटर ल्याएँ । काम चल्यो ।
सबै तारतम्यको सहयोगी सुशान नै बन्यो ।

तैपनि घरिघरि नेट डिस्कनेक्ट हुने, दश वर्षे पुरानो ल्यापटपले पुरानो पारा देखाइरहन्थ्यो । मोबाइलको हटस्पटबाट वाइफाइ चलाउने, एपबाट स्पीड चेक गर्ने, घरिघरि नेट कनेक्ट गराइदिने काम अब सुशानकै जिम्मेवारी बन्यो ।

नेट जोडेकाले ऊ पनि खुशी थियो । यसअघि पटकपटक नेट जोड्न गरेको उसको आग्रह इन्कार गरेको मैँले आज बाध्यताबस जोडेको थिएँ ।

बिहान पउने पाँचको अलार्म लगाएर उठ्नु पर्ने भयो मैँले । ऊ पनि पो आफ्नो मोबाइलमा अलार्म लगाउन थाल्यो । बाबालाई प्रविधीमा सहयोग गर्न रे । जो अरुबेला ७ बजे उठाउँदा पनि रिसाउँछ तर आज ५ नबजी उठ्न खोज्दैछ ।

अलिकति नमीठो र अलिकति आनन्द पनि लाग्यो, १६ वर्षमा साथी बन्छन् भन्थे सन्तान, १२ वर्षमै साथी बन्न चाहेको उसको आत्मियताले पगाल्यो मलाई । पर्दैन तिम्रो अलार्म नलगाऊ । तिम्रो खाँचो परे म आफैँ तिमीलाई उठाउँला भनेँ ।

कम्प्युटरको ‘क’ जानेको साठीको दशकमा मात्र हो मैँले । ०६२ सालमा प्रहरी प्रधान कार्यालय काठमाडौँ आएपछि नजानी सुख थिएन । अफिसमा जे समस्या परे पनि सम्बन्धित कर्मचारी भइहाल्थे । सानोतिनो समस्या पनि सुल्झाउन नआउने रहेछ मलाई । आज ज्ञात भयो ।

वाइफाइले भएन तार जोड्नु प¥यो उही, तारमा समस्या हाइलाग्यो कनेक्सन गर्न उही, स्पिड कम भो कारण थाहा पाउन उही, भिवरबाट अफिसको कम्प्युटरमा काम गर्नुपर्ने, जुममा बैठक गर्नुपर्ने । त्यसमा आइपरेका समस्या र सामान्य अन्य सहजीकरणमा ऊ नै हुन्थ्यो हरदम ।

जतिबेलै उसलाई खोजिरहने बानी परेछ मलाई पनि ।

ल्यापटपमा तार जोड्दा उसले नेट चलाउन, गेम खेल्न र उसको रुची अनुसार अन्तरिक्ष सम्बन्धी भिडियो हेर्न पाउँदैनथ्यो । सकेसम्म ल्यापटपमा तार जोड्नेभन्दा वाइफाइबाटै नेट चलोस् भन्ने उसको चाहना थियो ।

नेट चल्नै पर्ने समान स्वार्थका सहयात्री मात्र बनेन प्रविधिको कमाण्डर पनि बन्यो ऊ । ऊ नभई मेरो जागीर नचल्ने जस्तो भएपछि उसलाई पनि बाबालाई सहयोग गर्न पाउँदा आनन्द लागेको देख्थेँ ।

म बुबाको सहयोगी भएको थिएँ रे सानोमा । म आठ वर्षको थिएँ बुवा बित्नु भयो । आमाले सुनाउनु हुन्छ जता जाँदा पनि बुबाले तँलाई लिएर हिँड्नुहुन्थ्यो, सहयोगी छ, कुरा बुझ्छ भन्नुहुन्थ्यो रे । नोस्टाल्जिक भएँ आज सुशानका कारण ।

डिउटी नपरेका दिन उही पुरानै रुटिन थियो योग, ध्यान, छतमा स्किपिङ, डान्स र भिडियो रेकर्ड । बिगतभन्दा अझ घनिष्ठ र परिपक्व बन्दै गयो बाबु छोराको सम्बन्ध । बाबु छोराभन्दा बढी सहकर्मी वा मित्र हुँदैगयौँ ।

उसले पनि भिडियो इडिटिङ गर्न सक्ने भयो । आवश्यक धुन मिसाउन र विभिन्न दृष्य जोड्न सक्ने भयो । एउटा क्षमता थपियो ।

पढ्न, खेल्न र मोबाइल चलाउन बनाएको रुटिनमा विवाद भइरहन्थ्यो आमा छोराबीच । नियम तोडेको भएपनि मैँले सकेसम्म उसकै पक्षमा फैसला गरिदिन्थेँ ।

उसले चाहेको विषयमा केहीबेर नेटमा बस्न पाउने भएपछि ऊ पनि खुशी । उसको मनबाट अरु डर हराउँदै जान थाले ।

डाक्टर रविन्द्र समीरले कोरोना सम्बन्धी सधैँ सकारात्मक र ज्ञानबर्धक कुराहरु साझेदारी गर्नुहुन्छ । उसले पनि सिक्यो बालबालिकाको संक्रमण र मृत्यु दर निकै कम छ भन्ने कुरा । ८० प्रतिशतलाई संक्रमण भएको थाहै नपाइ निको हुने कुरा उसैले सुनाउन थाल्यो हामीलाई । र त उसको तर्सिने र डराउने कुरा बिगत बन्यो ।

बाबा ! हामीलाई पनि संक्रमण भइवरी निको भइसक्यो होला । यसो भन्यो एक दिन ।

हो र ? कसरी ? मैँले सोधेँ ।

७५ वर्षको हजुरआमालाई खोकी लागिरहेको थियो, मलाई पनि रुघा लागेको थियो, ममीलाई पनि हाच्छ्यौँ आइराथ्यो । अहिले त केही छैन । त्यतिबेला कोरोना लागेको पनि हुनसक्थ्यो ।
यसरी आफैँ मिलाएर कुरा बुझेपछि उमाथिको हाम्रो चिन्ता सकियो ।

मान्छेहरु किन लकडाउन उल्लंघन गरेका होलान्, किन सरकारले धेरैजनाको पिसिआर नगरेको ? विश्व स्वास्थ्य संगठनले नस्वीकारेको आरडिटी किन प्रयोगमा ल्याएको ? किन ट्रम्पले मास्क नलगाएको ?

यी र यस्ता विषय खोजीखोजी बहस गर्न थाल्यो अब ।

भारतमा स्मार्ट फोन नपाएर बालिकाले आत्महत्या गरेको, पोखरामा एक बालकले पासो लगाइ आत्महत्या गरेको, नायक सुशान्तसिंहको आत्महत्या किन जायज छैन, आत्महत्या समस्याको समाधान किन होइन ?

आत्महत्या भन्दा संघर्षको जीवन कैयौँ गुना उपलब्धीमूलक छ भन्ने जस्ता विषय बहसमा निकाल्न थालेँ म पनि ।

चियासम्म बनाउन नसिकेको उसले हरेक साँझ खाना पकाउन ममीलाई पालो दिने भएको छ ।

सिस्नुको तरकारी सबैभन्दा बढी उसैले खानुपर्ने भएपछि आफैँ भान्से लाग्न र पस्किन अघि सर्ने भएको छ ।

सिस्नु पकाउने तरिका र त्यसका फाइदाका बारेमा भिडियो बनाएर अपलोड गरेको छ ।

सबैको लुरे, सधैँको लुरे, केही खाँदैन । किन खाँदैन, आन्द्रा त सुक्दैन ? यस्तै प्रश्न बोकेर डाक्टर अरुण शर्मा र उनको टिमलाई त्रिवि शिक्षण अस्पतालमा पटकपटक देखाएकी छ ममीले ।

आफैँले पकाएर खाँदाको पौरखले होला आज उसको खुराक बढेको छ । उसका गाला लागेका छन् । सिक्स प्याकको भूत सवार हुन थालेको छ आजकाल ।

सायद मैँले कोरोना संग्राम लड्ने एउटा आत्मविश्वासी सहयोद्धा मात्र होइन ऊ स्वयंका लागि एउटा बलियो कमाण्डर बनेको छ ।

अहिले ऊ क्रमशः स्कुलका अनलाईन र रेडियो टिभीका कक्षामा सहभागी हुन थालेको छ । होमवर्क गर्न थालेको छ, पाठ्यपुस्तक पल्टाउन थालेको छ । कविता र कथा बाचनमा रमाउन थालेको छ ।

नेपालमा दुईहजारभन्दा बढी बालबालिका संक्रमण भएकोबाट पनि उसलाई डर लागेको छैन । निको भएकाहरुको पनि कुरा गर्न थालेको छ ।

टोलछिमेकका थुप्रै बालबालिका लकडाउन अबधिभर जहिल्यै सडक र चौरमा खेलिरहे । तर उसले आजसम्म घरबाट बाहिर निस्किन्छु भनेको छैन । बालबालिकाले साथीसँग खेल्न नपाउनु वा नखेल्नुजस्तो त्याग के हुनसक्छ ? समयानुकल त्याग सिकेको छ उसले ।

सायद त्यसको बिकल्प उसले घरभित्रै पाएको हुनुपर्छ ।

स्कुल पढ्न पाएनन् भनेर अभिभावकले चिन्ता गरेको सुनिन्छ । तर यति ठूलो शिक्षा बालबालिकालाई समयले आफैँ दिएको छ । त्यो आजको स्कुलले कहाँ दिएको छ र ?

उपाय अनेक हुनसक्छन् । आफ्ना घरका कमजोर र डराएका बालबालिकालाई कसैको सहयोगविना नै कोराना युगसँग अभ्यस्त हुनसक्ने कमाण्डर बनाउन सक्नेरहेछौँ ।

आफ्ना बालबालिकासँग घरैमा बस्न पाएका भाग्यमानी छौँ भने त्रासले होइन आँटले डट्न सक्ने बालबालिका बनाऔँ । बलियो मनका आत्मविश्वासी बालबालिका निर्माण गर्नसक्ने रहेछौँ ।

समयले मलाई सिकाएको महाज्ञान हो यो । तपाईंसँग अनेक हुनसक्छने यस्ता सिकाइहरु । सिकाइको सृङ्खला हो जीवन । त्यसलाई बाडौँ र एकअर्कालाई बलियो बन्न बद्दत गरौँ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *