कतारबाट उद्धार गरिएका युवा भन्छन– ‘पैसा कमाउन गइयो, कुटाइ खाएर रित्तो हात आइयो’

एनआरएनएको सहयोगमा कतारबाट स्वदेश फर्किए तीन युवा
news-details

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट बिहीबार बिहान सर्लाही लालबन्दीका विबेक पासवान हाफ टिसर्टमा एउटा सानो हाते ब्याग बोकेर बाहिर निस्किए । उनीसँगै उस्तै अवस्थामा नै आएका थिए सर्लाही लालबन्दीकै करण पासवान र महोत्तरी मलंगवाका सिकिन्दर सदा ।

२ महिना अगाडि पैसा कमाउने मीठो सपना बुनेर कतार गएका उनीहरु आज रिक्तो हात स्वदेश फर्र्किएका छन् । एजेण्टलाई २ लाख बुझाएर क्लिनर कामका लागि कतार पुगेका यी तीनै जनाले न भनेको काम पाए न त पारिश्रमिक नै । उनीहरुले तलव र भनेको काम त पाएनन् नै उल्टै साउजीको कुटाई खाएर रित्तो हात फर्किनु प¥यो ।

स्वदेश फर्कन पाएकोमा उनीहरु एकातिर खुशी भएपनि अनुहारमा मुस्कान भने पटक्कै भरिएको थिएन । आफुले फसाएको २ लाख रुपैया र कतारमा भोगेको पीडाले उनीहरुलाई झस्काइरहन्थ्यो ।

क्लिनरको काम भनेर कतार पुगेका यी युवाले बाख्रा चराउने काममा पो पठाइयो, त्यो पनि अनकन्टार जंगलमा । समयमा खान नपाउने, मोवाइल खोसिदिने र कुट्ने गरेको उनीहरु बताउँछन् । ‘पैसा कमाउन कतार गइयो तर कुटाई खाएर रित्तो हात फर्किनु प¥यो’ तीनै जनाको भनाई छ ।

भनेको कम्पनी, काम र तलव नपाएपछि उनीहरु बाख्रा हेर्ने काम नै भए पनि गर्न थाले । ‘पासपोर्ट, मोवाइल सबै खोसेर साहुले राख्ने गथ्र्यो अनि बेलुका कुट्थ्यो पनि’ करन पासवान पीडा पोख्दै भन्छन्–‘ पेटभरी खान पनि पाइदैनथ्यो ।’
‘हाउस क्निरको काम भनेर बाख्रा चराउन लगायो, हामी नराम्ररी फसियौं’ अर्का पीडित सिकिन्दर सदा भन्छन्–‘ दुई लाख तिरेर गइयो, आज आफुले लगेको मोवाइल पनि कम्पनीको साहुले खोसेर राखेको छ, रित्तो हात आइयो ।’

गत अक्टोबर २ तारिख कतार उडेका यी युवा १० दिन क्वारेन्टाइनमा बसे । अनि कम्पनीले काममा लग्यो । पीडादायक काम गर्न नसकेपछि उनीहरु नेपाली दूतावास कतारमा उजुरी गर्न पुगे । दूतावासले गैरआवासीय नेपाली संघ कतारलाई उनीहरुलाई सहयोग गर्नका लागि पठायो । अनि बल्ल उनीहरुले एनआरएनए कतारको सेल्टरमा बस्न थालेपछि पेटभरी खान पाए, न्यायका लागि उनीहरुमा आशा पलाएर आयो । स्वदेश फर्कन पाइन्छ अनि आफुले फसाएको पैसा उठाउन पाइन्छकी भनेर सेल्टरमा बस्न थाले । उनीहरुले दूतावासमा र त्यहाँको सिआइडीमा उजुरी हालेको बताएका छन् ।

गाउँमा नै चिनेको एजेण्टले काठमाडौंमा रहेको अर्थस्मार्ट ह्युमन रिसोर्स मेनपावरले कतार पठाएको यी युवाको भनाई छ । उनीहरुको कुनै पनि श्रम स्वीकृति निकालेको भने देखिदैन । भिजिटमा लगेर उनीहरुलाई मेनपावरले फसाएको हुन सक्ने देखिन्छ । मेनपावर कम्पनीका संचालक दिनश साह यी युवालाई आफ्नो मेनपावरबाट कतार नपठाएको रोजगार मञ्चलाई जानकारी दिएका छन् ।

एनआरएनए कतारले एक महिना आफ्नो सेल्टरमा उनीहरुलाई राखेर बिहीबार स्वदेश पठाएको हो । एनआरएनए कतारका अध्यक्ष मुक्तदा मुसलमानले उनीहरुका लागि सेल्टर तथा हवाई टिकट र स्वदेश फिर्तिका लागि समन्वय गरेका हुन् ।

उनीहरुलाई स्वागत गर्न बिहीबार एनआरएनए अन्तर्गत कोभिड १९ राहत तथा उद्धार कार्यक्रम संयोजक सुजता शर्माको टिम एयरपोर्ट पुगेको थियो ।

उनीहरुलाई सेल्टरमा खान र बस्न, पीसिआर परीक्षणदेखि स्वदेश फर्कने हवाईटिकट र घरसम्म पुग्नका लागि यातायात खर्च एनआरएनएले उपलब्ध गराएको शर्माको भनाई छ ।

एनआरएनएएको वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी विभाग अन्तर्गतको कार्यक्रमबाट वैदेशिक रोजगारमा समस्यामा परेका नेपालीलाई राहत, सहयोग तथा उद्धार हुँदै आएको छ । एनआरएनएका उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार डा. बद्री केसीको नेतृत्वमा संचालन भएको कार्यक्रमले समस्यामा परेका हजारौ नेपाली लावान्वित भएका छन् ।

त्यही भएर यसरी समस्यामा परेका नेपालीलाई सहयोग गरेर स्वदेश ल्याएपछि मुक्तकण्ठले उनीहरु एनआरएनएलाई धन्यवाद दिन्छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *