मलेसिया रोजगारीका लागि २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्था मात्रै सूचीकृत गरिएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया रोजगारीमा सीमित संस्थालाई मात्रै अवसर दिने प्रक्रियाको विरोध गरेको छ।

राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भिष्मराज अधिकारीले मलेसिया रोजगारीमा देखिएको ‘सिन्डिकेटको खेल’ तत्काल रोक्न माग गरेका छन्। उनले वैदेशिक रोजगार व्यवसायीबीच समान प्रतिस्पर्धाको वातावरण हुनुपर्ने भन्दै सीमित म्यानपावर कम्पनीलाई मात्र श्रमिक पठाउने अधिकार दिने कुनै पनि व्यवस्था स्वीकार्य नहुने बताएका छन्।

अधिकारीले मलेसियाको फरेन वर्कर सेन्टर म्यानेजमेन्ट सिस्टमको पोर्टलअन्तर्गत नेपाली श्रमिक पठाउन २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्था मात्रै ‘रिक्रुटमेन्ट एजेन्सी’का रूपमा सूचीकृत हुनुको आधार र प्रक्रिया सार्वजनिक गर्नुपर्ने बताए।

‘मलेसिया रोजगारीमा सिन्डिकेटको खेल तत्काल रोक्नुपर्छ। वैधानिक रूपमा इजाजतपत्र लिएर व्यवसाय सञ्चालन गरिरहेका सबै म्यानपावर कम्पनीलाई समान अवसर दिनुपर्छ,’ अधिकारीले भने, ‘सीमित संस्थालाई मात्र रोजगारीको पहुँच दिने गरी कुनै पनि प्रकारको सिन्डिकेट स्वीकार गर्न सकिँदैन।’

उनका अनुसार मलेसिया रोजगारी नेपाली श्रमिकका लागि महत्वपूर्ण गन्तव्य भएकाले केही सीमित व्यवसायी वा संस्थाको पहुँचमा मात्र त्यसलाई सीमित गर्ने प्रयास भए त्यसले श्रमिक, व्यवसायी र समग्र वैदेशिक रोजगार क्षेत्रलाई असर पार्नेछ।

मलेसियाको पोर्टलमा २५ वटा नेपाली म्यानपावर कम्पनी मात्रै सूचीकृत भएको विषय सार्वजनिक भएपछि वैदेशिक रोजगार व्यवसायी क्षेत्रमा सिन्डिकेटको आशंका बढेको हो। यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले समेत उक्त सूचीप्रति आपत्ति जनाउँदै सीमित संस्थामार्फत मात्रै मलेसिया रोजगारी सञ्चालन गर्ने व्यवस्था स्वीकार्य नहुने स्पष्ट पारिसकेको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले यही प्रक्रियाअन्तर्गत मलेसिया श्रमिक पठाउने अवस्था कायम रहे आफूहरू मलेसिया श्रमिक पठाउन असहमत हुने चेतावनी दिएका छन्। संघले सूचीमा परेका २५ वटा संस्थासँग स्पष्टीकरण मागेको र उनीहरूलाई श्रम मन्त्रालयमा बोलाएर संघको रोहवरमा छलफल गर्नुपर्ने धारणा राखेको छ।

यसैबीच, राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले पनि मलेसिया रोजगारीको विषयलाई कुनै एक संस्थाको मात्र सरोकार नभई समग्र वैदेशिक रोजगार व्यवसायको समान अधिकार र प्रतिस्पर्धासँग जोडेर हेर्नुपर्ने जनाएको छ।

अध्यक्ष अधिकारीले विगतमा समेत मलेसिया रोजगारीमा सीमित व्यवसायी तथा संरचनामार्फत श्रमिक पठाउने विषय विवादमा आएको स्मरण गर्दै त्यस्तो अवस्था पुनः दोहोरिन नहुने बताए।

उनले सरकारले मलेसियासँगको श्रम सम्बन्धलाई पारदर्शी र व्यवस्थित बनाउँदै कुनै पनि प्रकारको एकाधिकार कायम हुन नदिने स्पष्ट नीति लिनुपर्ने माग गरे।