प्रधानमन्त्री बालेन र मलेशियाली समकक्षीबीच वार्ता, वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य गर्न आग्रह
- रोजगारमञ्च
- अशोज ६, २०८३
- 0
काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच आज बिहान टेलिफोनमार्फत विशेष द्विपक्षीय छलफल भएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेशियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका छन ।
प्रधानमन्त्री शाहले मलेशियाको रोजगारी क्षेत्रमा देखिएको सिन्डिकेट तथा बिचौलिया प्रथाप्रति कडा आपत्ति जनाउँदै यो परिपाटी आफू र आफ्नो सरकारलाई सह्य नहुने स्पष्ट पारे। उनले यस्ता अन्यायपूर्ण प्रवृत्तिको स्थायी समाधानका लागि दुवै देशको संयुक्त पहल आवश्यक रहेको बताए।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले भने, “हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकहरूलाई मारमा पारेको छ। त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु।”
नेपाली प्रधानमन्त्रीको अडानलाई सकारात्मक रूपमा लिँदै मलेशियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको पूर्ण विरुद्धमा रहेको बताए। उनले यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्कालै नेपाली समकक्षीसँग समन्वय गरी ठोस निकास निकाल्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गरे।
मलेशियाली प्रधानमन्त्री इब्राहिमले भने, “यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु। म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु।”














