यो वर्ष मध्यपुर थिमीका बालकराम श्रेष्ठले छेडाए जिब्रो
- अशोज १०, २०७५
- 0
भक्तपुर। मध्यपुर थिमी नगरपालिका–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडाएका छन । मङ्गलबार राति ८ बजे मध्यपुर थिमी नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा उनले जिब्रो छेयाएका हुन ।
विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएकोे थिमीको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष उनले जिब्रो छेडएका हुन । जिब्रो छेडाउने व्यक्ति मध्यपुर थिमीको श्रेष्ठ थरकै हुनुपर्ने चलन छ ।
‘चेंया पुन्हिया मेय प्वा स् खनेगु’ जात्रा व्यवस्थापन समितिको संयोजनमा उनले जिब्रो छेडाएका हुन । जिब्रो छेड्नु अघि थिमी लाय्कुका नायो पमाहरु गई हनुमानढोका लाय्कु (दरबार)बाट राजाको चिनो (खड्ग) लिएर आएको केहीबेर पछि जिब्रो छेडिएको थियो ।
मङ्गलबार दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडाएर मानन्धर थरका व्यक्तिले बालेको यास्मता (लामो तीनवटा बत्ती) अघिपछि राखी जिब्रो छेडाउने बालकरामले चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय्अर्थात् महाद्वीप बोकेर नगर परिक्रमा गरेका थिए । जिब्रो छेडाएर नगरपरिक्रमा गरिसकेर बालकुमारी मन्दिरमा आएर सियो निकालेर मन्दिरकै खम्बामा गाडेपछि जात्रा सम्पन्न भएको हो ।
विगतमा यस दिन एकैपटक २७ जनासम्मले जिब्रो छेडाएको भेटिन्छ । उक्त जात्रालाई धेरै वर्ष पहिला पशुपति, गुह्ेश्वरीदेखि चाँगुनारायणसम्म लैजाने गरे पनि अहिले भने थिमी विभिन्न टोल घुमाउने गरेको समितिका सचिव हरिसुन्दर श्रेष्ठ बताउछन ।
छेडाएर प्वाल बनेको जिब्रोमा बालकुमारी मन्दिरको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने जनविश्वास छ । जिब्रो छेडाउँदा दैवी शक्ति प्राप्त हुनेसमेत विश्वास रहीआएको छ । जिब्रो छेडाएका बालकरामले भने, ‘कृष्ण नानिचा श्रेष्ठले तीन पटकसम्म जिब्रो छेडेकाले आफू पनि यो जात्रा नरोकियोस् र निरन्तरता पाओस् भनेर जिब्रो छेड्न तयार भएको हुँ ।’
स्थानीय युवाको पहलमा गत वर्ष बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर जात्रा सञ्चालन गरेका थिए । यस वर्ष आफ्ना पिताको आशोच बारेकाले वीरेन्द्रभक्तले जिब्रो छेड्न नहुने भएपछि बालकरामले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन । जात्राका लागि कर्मीनाय रामभक्त नकर्मीले फलामको १० इन्च लामो सियो बनाएर करीब ४५ दिन तेलमा डुबाएर राखेका थिए । पच्चीस वर्षअघिदेखि बन्द भएर लोप हुने अवस्थामा पुगेको यो जात्रा कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ मा गरी दश वर्षमा तीनपल्ट जिब्रो छेडाएका थिए । त्यसपछि गत वर्ष स्थानीय युवाले समितिनै बनाएर जात्रा जोगाउने अभियान सञ्चालन गरेपछि गत वर्षदेखि यो जात्रा शुरु भएको हो ।
किम्बदन्ती अनुसार प्राचीनकालमा भूतप्रेत, पिशाच, ख्याक तथा कङ्काल (बउचा)ले थिमीका बासिन्दालाई धेरै दुःख दिए । यिनीहरुलाई तान्त्रिक विधिबाट पक्रेर जिब्रो छेडी नगर परिक्रमा गरेपछि दुःख दिन छोडेको र यो जात्रा सञ्चालन गरेपछि देशमा भूतप्रेतले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्पको भय नहुने जनविश्वास रहेको २०६३ मा जिब्रो छेडाएका कृष्ण नानिचा श्रेष्ठ बताउछन । जिब्रो छेडाउने व्यक्तिले आठ दिनअघिदेखि बालकुमारी मन्दिरमा ‘मु पूजा’ (मन्दिरको चारैतिर पर्दाले छोपेर गर्ने पूजा) गर्ने प्रचलन छ । आठ दिन अघिदेखि एक छाक मात्र खाएर शुद्ध भई बस्नुपर्ने, पशुपक्षीलाई छुन नहुने, जिब्रो छेडाउने एकदिन अघिदेखि श्रीमतीको अनुहार हेर्नसमेत नहुने चलन छ ।
त्यस्तै जात्राको चार दिनअघिदेखि लगातार सम्पूर्ण परिकार बनाई नगरका मानिसलाई भोज खुवाइएको थियो । जिब्रो छेडाउन थिमीमै बनाएको माटोको पाला, सुपारी, जिउँदो माछासहित दिगु भैरव मन्दिरमा पूजा गरिएको थियो । जिब्रो छेड्ने जात्रा सञ्चालन गर्न करीब रु सात लाख खर्च हुने अनुमान गरिएकोमा नगरपालिकाले समेत आर्थिक सहयोग गरेको छ । यो जात्राका लागि गत वर्ष रु एक लाख सहयोग गरेको मध्यपुरथिमी नगरपालिकाले यस वर्ष भने रु तीन लाख ५० हजार सहयोग गरेको मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । रासस