अनुभूति : बिष पिएरै बाँचेको हामी

news-details

उ..त्याँ किन त्यतिका मान्छे भेला भएका ?

चारपाँच जना मानिसहरु एकापसमा मुख फर्काएर कुरा गरिरहेका थिए । उनीहरूको छेउमा गएर स्कुटर रोकेँ र सोधेँ ।

उ…त्यो पल्लो घरको भाइले बीष सेवन गरेर मरेछ ।

ए ! प्रतिक्रियास्वरुप यत्ति आवाज निस्कियो मेरो मुखबाट ।

के पिरले हो यसरी मान्छे भटाभटी आत्महत्या गर्न थालेका रु त्यहिमध्येको एउटाले असन्तुष्टि र जिज्ञासा एकसाथ राख्यो ।

बाँच्न मन लागेन मर्यो नि । अर्कोले सतही मुख फर्कायो ।

नजिकैको रूखको सयलमा स्कुटर अड्याएँ ।

सडक छेउकै रूखको सयलमा झुण्डझुण्ड भएर मानिसहरु कुरा गरिरहेका थिए ।

सडक छेउको भुईघरमा मान्छेहरु थुप्रिएका थिए । सायद आफूले आफूलाई मार्ने मान्छेको घर त्यही होला । मैले लख काटेँ ।

वरपर पसल छेउछाउ, सडक किनाराका रूखको सयलमा छरपस्टै थिए मान्छेहरू ।

किन मर्यो, कसरी पर्यो, कसैले मार्यो कि यस्तै थियो चर्चाको विषय । सबैतिर चुस्सचुस्स मिसिएँ म पनि ।

कसैले अपहरण गरेर विष खुवाएको रे ।

कसरी थाहा भएछ यो कुरा ?

उसले भिडियो बनाएर श्रीमतीको म्यासेन्जरमा पठाएको रे । ४ जना मान्छेको नाम पोलेको छ रे ।

नचाहिने कुरा । अपहरणकारीले लगेको भए अपहरितको घर छेउमा आएर भिडियो बनाएर आफ्नो नाम पोल्ने अवसर दिन्छ र ?

ठिक भन्नु भयो । जसरी हुन्छ मारी छाड्थे नि, आफैँ पक्राउ पर्ने प्रमाण कहाँ बनाउन सघाउथे र ?

त्यस्तो भएको रहेछ भने पनि आफ्नो घर नजिक आएर भिडियो बनाइन्जेल घरमै गएर भन्थ्यो होला । समयमा अस्पताल लान्थे होला कुरै अर्को हुनसक्थ्यो ।
यस्तै तर्क बितर्कमा थिए मान्छे ।

लाश चाहिँ कहाँ छ नि ?

अस्पतालमा छ भन्थे ।

होइन पोष्टमार्टम गरिसके रे । अब घरमै ल्याउँछन् होला ।

महेन्द्र राजमार्गमा जोडिएको ठाडो कच्चीबाटो, पश्चिमपट्टि मृतकको पसल, बाटोको पूर्वपट्टि दुईओटा पक्की घरमा विभिन्न पसलहरू, त्यसको पश्चिममा रहेको लामो टहरोको एउटा सटरमा मेसिनरी मर्मत पसल ।

त्यसको अगाडि घाँसे मैदानमा थिए निकै मान्छेहरु थुप्रिएका । भुईतिर थिए धेरैका आँखा । म नजिक गएँ, मिसिएँ ।

उसको बिषाक्त शरीर भेटिएको ठाउँ रहेछ त्यो । भुईको झार पहेँलो भएको थियो । पिउने बेला, पिउँदा वा बमिट गरेर बिष पोखियो र भुईको झार मरेको हो । अनुमान अनेक थिए ।
भुईमा मात्र होइन त्यहाँबाट उसको घरतिर जाने गल्लीमा मानिसको पाइलाको छाप थियो । जुत्ता चप्पलका डामले झार मरेर पहेँलो भएको थियो मान्छेको पाइला परेको ठाउँमा ।
भुईमा पोखिएको बिष कुल्चिएका पाइलाले टेकेको सबै ठाउँको झार मरेको अनुमान गर्न कठिन थिएन ।

कति कडा बिष खाएछ त भुईको झार समेत मरेछ ।

धान खेतको झार मार्न प्रयोग गरिने बिष खाएछ क्यार ।

झार मार्ने औषधी पनि यत्ति कडा ?

त्यही त कडा हुनेरहेछ ।

हामी मान्छेले हरेक दिन कति कडा बिष खाइरहेका रहेछौँ त ।

हो नि बोटदेखि, फल र फूलमा समेत यस्तै बिष र मलखाद नहाली हुँदैन, खाइने त रहेछ ।

बहसको विषय फेरिएलाजस्तो भयो त्यहाँ ।

उसले एकैपटक धेरै बिष खायो हामीले पटकपटक थोरैथोरै खाइरहेका छौँ ।

हो नि उसले आँट गरेर एकैपटक खायो हामी डरपोकहरू अलेली गर्दै खाँदैछौँ भित्रभित्रै रोग लाग्दै होला ।

माटोमा हालेको मल, बिरुवा र त्यसको फूलमा हालेको बिषादी मान्छेको मुखमाचाहिँ कसरी पस्ला त ? कडै प्रतिवाद गर्न खोजे एकजना वृद्धले ।

माटो र बालीनालीमा हालेको रासायनिक मल र बिषादी बिरुवाले खान्छ त्यसबाट फसल लाग्छ, त्यो खाएपछि असर हुँदैन त मान्छेलाई ? तपाई किसान हो भने यत्ति कुरा चाहिँ थाहा हुनुपर्छ । एक युवाले स्पष्ट पार्न खोजे ।

हो त नानीका आमाले खाएको अमिलो पिरोले पेटको बच्चा र साना शिशुलाई असर गरेजस्तै त हो ।

होला हुन त । तर के गर्नु रासायनिक मल नहाली अन्न फल्दैन, बिषादी नहाले रोग र किराले सखाप पार्छ, उपाय नै छैन ।

माटो, वातावरण र मानव स्वास्थ्यलाई असर नगर्ने मलखाद र बिषादी पनि त हुन्छ नि । जान्नुपर्छ, खोज्नुपर्छ नत्र दुःख निम्तिन्छ । यसरी फ्याट्टै मर्न पनि सकिँदैन । अनेक घातक रोगले कतिन्जेल तड्पिएर मर्नुपर्छ ।

भविष्यमा दुःख पाउने कुरामा अहिल्यै धेरै चिन्ता नगरौँ ।

हो व्यारे, यो भाइचाहिँ ४० वर्षको गरिखाने उमेरमा किन यसरी आत्महत्या गरेछ जानौँ न ।

मान्छे त मरिगयो अब जानेर के फाइदा ।

सिक्न होला नि के दुःख पर्दा कसरी मर्ने भनेर ।

एकाएक माहौलमा हाँसो मिसियो ।

व्यापारी केटो, व्यापार तल ऋण माथि पर्यो होला समाधान नभेटेर मर्यो ।

अनुमानै त हो ।

पापी रैछ मान्छे । आफूले झेल्न नसकेको समस्या परिवारका सदस्यलाई थोपरेर मर्यो ।

यत्ति सोच्न सकेको भए मर्ने थिएन होला, मरेपछि सबै समाधान हुन्छ भन्ने ठान्यो परिवारका बारेमा सोच्दैसोचेन ।

खै के हो के हो अहिले त सामाजिक सञ्जालले नै मान्छेलाई आत्मत्या गर्न प्रेरित गरिराको छ हौ ।

आयो हौ विश्लेषण ।

हो नि काठमाडौँ संसद भवन अगाडि प्रेम आचार्यले आत्मदाह गरेपछि उसको परिवारलाई ठूलै आर्थिक सहयोग जुट्यो । परिवारले सहानुभूति पायो, सरकारले गाली खायो । सबैले यस्तै होला भन्ने ठानेर मरेका होलान् ।

अरुका परिवारले त्यो सहयोग पाएका छैनन् ।

हो त त्यसपछि पनि धेरै व्यावसायीले आतमहत्या गरिसके । उहिले आत्महत्या गर्नेलाई लाछी भन्थे अहिले बिचरा भन्छन् ।

सही कुरा गर्नुभयो, केही न केही प्रेरित भएका छन् अहिले ।

अरुले बाध्य पारेर पनि त आत्महत्या गरेका छन् मान्छेले ।

त्यस्तो अवस्थामा त दोषीलाई सजाय हुनेछ, भएको पनि छ ।

तर आफ्नो ज्यान फाल्ने अनि दोषिले सजाय पायो भनेर के खुशी हुनु ?

हो नि, बरु जहाँ जसले अन्याय गर्छ उसका बिरुद्ध डटेर न्याय खोज्नुपर्छ । आत्महत्याको बाटो रोज्नु भनेको परिवारलाई समेत थप अन्यायमा पार्नु हो । यत्ति कुरा किन बुझ्दैनन् मान्छे ।

जीवन रहे त हरेक सम्भावनाहरु बाँकी रहन्छ, आफूले आफुलाई मार्नु भनेको समाधान र सम्भावनाका ढोकाहरु बन्द गर्नु हो । समुहसमुहमा विभक्त भएर मानिसहरु चर्चामा संलग्न थिए ।

नमर्नु पर्ने, किन मर्यो, आत्महत्या गर्लाजस्तो त लाग्दैनथ्यो, परिवारमा राम्रै थियो, पसल पनि राम्रै चलेको थियो, मर्नै पर्नेगरी व्यवहार बिग्रेजस्तो त लाग्दैनथ्यो । यस्तै अनेक बिचार र तर्कहरू तरङ्गित थिए बहसहरुमा ।

लास ल्याए– कसैले चर्को स्वरमा बोल्यो । सबैका आँखा महेन्द्र राजमार्गतिर परे । शव बाहन मृतकको घर छिर्ने कच्ची सडकतिर मोडियो । मानिसहरु शव बाहनकै पछि लागे गुरुरु ।
मान्छेहरु आँगनमा थुप्रिए । तुलसीको मोठमा लाश राखियो ।

मृतककी श्रीमती र आमालाई घरभित्रबाट कसैले निकाले ।

सासूबुहारी शवमाथि छाँद हालेर रोएको रोदनले बिरक्तिलो बन्यो वातावरण । भेला भएका छिमेकी र आफन्तहरू आँखा पुछ्दै पछि हटे ।

रुनका लागि उसका सन्तानहरु रहेनछन् । एउटा पीडा कम भयो । कसैले यसो भनेको पनि सुनियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *