रवि : आशलाग्दो केटो, जेठाजु होइन !

news-details

पार्टी भनेको केन्द्रिय समिति, निर्वाचित सांसद, सरकारमा भएका वा नभएका शक्तिशाली र आसेपासे, अर्थदाता र पहुँचवाला व्यक्ति मात्रै हो भन्ने बनाएका छन् दलहरुले ।

रास्वपामा पनि त्यही रोग त सरेको छैन भन्ने डर, शंका र समाचार अङ्कुराउन थालेका छन् । केही नयाँ, केही राम्रो भयो कि भनेर घण्टैपिच्छे समाचारमा आँखा लाउने नेपालीलाई नकारात्मक समाचार, सामाजिक सञ्जालको टिकाटिप्पणी र कार्टुनले अझ निराश बनाएको छ । मेरो कलमको चिन्तासहितको चिन्तन पाठकसामु पस्किन चाहन्छु ।

आजको रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी भनेको यो गठनताका आँट र भरोशा गरेर सदस्यता र जिम्मेवारी लिएका, अरुको खिसिटिउरी सहेर पनि संगठन निर्माणमा जुटेका सबैको भावना हो । साधन, स्रोत, संगठन केही नभएर पनि केही आफन्त र शुभेच्छुकका भरमा गाउँ वस्तीहरुमा छिरेर, मतादाता भेटेर, आशा जगाएर, समर्थक र मतादाता निर्माण गरेका ती उम्मेद्वारहरुको पसिना हो ।

कुनै अर्को पार्टीमा आश्था भएर पनि साहस गरे, अगाडि आए, अथवा आएनन् । तर प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जसरी सके चुनावमा सघाए । ती मान्छेको झिनो आशा पनि हो रास्वपा ।

केन्द्रमा रहनेको, पहुँच हुनेको, टाठाबाठाको, नेताको छेउछाउ पर्न सक्नेको मात्र होइन । जो दुरदराजमा छन्, एकपटक रविलाई भेटौँ, छुनसकौँ, मनका कुरा राखौँ भन्ने सपना पालेर बसेकाहरुको सङ्लो हृदय हो रास्वपा । रवि र रास्वपालाई अरुले विरोध, गाली वा आलोचना गरेको मन नपराउने, डटेर प्रतिकार गर्ने, रविका निमित्त प्रार्थना र पुजा गर्ने मान्छेको पवित्र मन हो रास्वपा ।

समग्रमा घण्टीमा मतदान गर्ने ती ११ लाख २४ हजार ३९० मतदाताको विश्वासको सयपत्री हो आजको रास्वपा ।

भोलिको रास्वपा

असल चरित्र, आर्थिक रुपमा अनुशासित, नाम नहोस् तर बदनाम नभएका, राष्ट्र र नागरिकप्रति इमानदार व्यक्तिहरुको तलदेखि माथिसम्म संगठित मन हो भोलिको पार्टी । उनीहरुले समाजमा प्रदर्शन गर्ने मित्रवत र सहयोगी व्यवहार, अनुकरणीय जीवन शैली र उनीहरुले निर्माण गर्ने उस्तै समर्थक र शुभेच्छुक हो जनताले वर्षौँदेखि आश गरेको बिकल्प पार्टी ।

आजको ११ लाख मतलाई १ करोडमा रुपान्तरण गर्ने लक्ष्यसहित योजनाको मूर्तरुप र लामो समयदेखि नेपालीले बोकिरहेको निराशाको भारी बिसाउने र आशाको सयल दिलाउने व्यवहार र गतिविधि हो भोलिको रास्वपा ।

रविको राजनीतिक जन्म

रवि लामिछानेले बालेन र हर्कभन्दा अगाडि नै राजनीति गर्ने सपना देखेका हुनसक्छन् । तर समयले बालेन र हर्कहरुको उत्पादन नै रवि हो भन्ने देखायो । जसरी बालेन र हर्कका कारण रविहरूलाई राजनीति सजिलो भयो त्यसैगरी यी तीनमध्ये कोही एक वा सबै चुके भने अरु रविहरु जन्मिन असम्भव छ । रविले रविहरू जन्माउनुछ भने आजैदेखि माथि उल्लेखित “भोलिको रास्वपा’ राजनीतिक गर्भाधारण आवश्यक छ ।

आज देशैभर केबल रवि लामिछानेको सफलता असफलताका बारेमा चिन्ता र चर्चा छ । एउटा रविको सफलतासँगै एउटा राजनीतिक दल मात्र होइन सिङ्गो देश सफल हुन्छ । रवि फेल हुँदा रविसँगै युवाको वर्तमान र भविष्य दुबै फेल हुन्छ, एउटा बैकल्पिक राजनीतिक शक्ति निर्माणको आशलाग्दो गर्भाधारण फेल हुन्छ । र राष्ट्र नै फेल हुन्छ । यो राम्रैसँग थाहा छ रवि लामिछानेलाई ।

कसैले मानोस नमानोस् रवि लामिछाने अब एउटा व्यक्ति नभइ संस्था हो, आस्था हो, सम्भावना हो र राजनीतिमा युवा सवार एउटा सुन्दर यात्रा पनि हो ।

यदि यो सब भत्कियो भने थुप्रै प्रेम आचार्यहरु अग्नी समाधीमा जानेछन् र त्यसको अपराध र पाप रवि लामिछानेहरुबाहेक अरुले कमै भोग्नुपर्नेछ ।

रविमाथिको मुद्दा र मिलेमतो

नागरिकता र पासपोर्टको विषय पहिल्यैदेखि उठ्दै आएको भए पनि यतिबेला नै रिट पर्नु र फैसला हुन संयोग मात्र होइन भन्ने आधारहरु धेरै छन् ।

दौडँदै न्याय माग्न गएको कुनै एउटा तन्नेरी बुढेसकाल लागेर लौरो टेकेर तारिख धाइरहँदा पनि न्यान नदिने अदालत हतार गरेर रविको फैसला गर्छ ।

हत्या अभियोग झेलिरहेकालाई सभामुख बनाउनेहरू, सांसद बनाउने र पक्राउ गर्न नदिनेहरू, प्रहरी हत्यामा जेल बसेकालाई निर्दोष भन्नेहरू, गुण्डा नाइकेलाई पालैपालो आफ्नो काखमा राखेर सत्ताको स्तनपान गराउनेहरू नै आज आफूलाई सबैभन्दा महान ठानेर रवि लामिछानेमाथि औँलो उठाइरहेका छन् । पन्छाउन खोज्दैछन् ।

रवि लामिछानेको उपस्थतिले मात्र प्रसस्त भएको छ । झापाबाट माइक्रो चढेर काठमाडौँ आउँदा बाटोमा चालकले सुनाए “ट्राफिक प्रहरीले पैसा दिँदा पनि लिन मानेन फिर्ता गरिदियो ।“

विभिन्न जिल्लाको प्रहरी सूत्रअनुसार निकै डराएका छन् रे टापटिपे घुस्याहाहरू, एक उच्च तहका अधिकृतका अनुसार सरुवा र बढुवामा रकम बुझाएर असल र सिनियरलाई उछिन्दै अगाडि आएकाहरुको मुख मलिन भएको छ रे ।

रवि लामिछानेको यो उपस्थितिलाई देशका सामान्य नागरिक र केही औँलामा गनिने कर्मचारीबाहेक कसैले पचाउन सकेको देखिँदैन । यस्तै सुधार हुँदै गए ५ वर्षपछि राजनीति सकिने डर तिनओटै दल र तिनका नेतालाई छ । देश र जनता लुटेर मोज गरेका सबै शासक र प्रशासकलाई छ, तिनैसँग मिलेर मिडिया नामको उद्योग चलाउने कतिपयलाई डर छ ।

आइजिपी नियुक्ति गर्नेबेला हुनै लाग्यो, यसबाट कमाउने अवसर छ, हतार गरेर भरखरै सयौँ प्रहरी अधिकृतको सरुवा गरियो । आफ्नालाई पजनी गर्न एकवर्ष पनि नपुगेकालाई समेत फालियो ।

यी र यस्ता बेथिति रोक्छु र थिति बसाउँछु भनेर आएको रविसँग को खुशी होस् ।

अझ २०४७ सालदेखिका शासक र प्रशासकको सम्पतिमाथि साँच्चै छानमिन भयो भने जेलको यात्रा निश्चित छ धेरैको । त्यसैले रवि र रास्वपा माथि अझै जे हुनेवाला छ ती सबैको योजना र मिलेमतोमा हुनेछ ।

त्यसलाई टारेर काम गर्नसक्ने संख्या र शक्ति नभएको अवश्थामा सरकारमा गएर जनअपेक्षा अनुसार गर्न सकिँदैन । अनि जुन जोगी आए पनि कानै चिरेको, देश चलाउने त आखिर काङ्ग्रेस, कम्युनिष्टले नै रहेछ भन्ने बनाउनु नै यी पुराना दलको एकमात्र लक्ष्य हो । त्यसैले आफ्ना एजेण्डाको घाँटी निमोठेर, उनीहरूका योजना सफल पार्न सरकारमा नबसौँ भनेका हुन् शुभेच्छुकले ।

सरकारमा जानु गल्ती थियो त ?

शुरुमा म र मजस्ता थुप्रैलाई लागेकै हो रास्वपा सरकारमा जाँदै जानुहुन्न । मैले लिखित रुपमै झापा ४ का मतदाताको तर्फबाट पार्टीको केन्द्रीय कार्यालयमा बिमति दर्ता गराएको थिएँ । रास्वपा सरकारमा गएका दिन ज्यादै निराशा छाएकै हो ।

कुनै ठाउँ चोखो छैन । जहाँ पनि बेथिति छ । स्कुलमा कम्प्लेन छ, स्वास्थ्य्य संस्थामा कम्प्लेन छ, सामुदायिक वनमा उस्तै छ, विकास निर्माणमा उस्तै, सार्वजनिक प्रशासनको झन के कुरा जताततै ढिलासुस्ती र घुसखोरी छ । प्रहरीले जाहेरी नलिएका, सरकारी वकील मार्फत लिइहाले सुनुवाइ नगरेका, वैदेशिक रोजगारीमा पठाउँछु भनेर युवाहरुबाट करोडौँ खाएका, स्वीकृति नभएका देशमा लगेर युवतीलाई अप्ठ्यारोमा पारेका कति छन् । भनेजस्तो देशमा जान पाएका छैनन्, भनेजस्तो काम र पारिश्रमिक पाएका छैनन् । जताततै लुटिएका छन्, ठगिएका छन् नेपाली ।

न्यायालयबाट अन्यायपूर्ण फैसला भएका, टाठाबाठा र हुनेखानेले थिचोमिचो गरेका, वडाका प्रतिनिधिले तेरोमेरो गरेर सेवा सुविधामा विभेद गरेका, न्यायको ठेक्का पाएको पालिकाले आग्रह वा पूर्वाग्रहमा न्याय निरुपण गरेका, यी र यस्ता कयौँ समस्यामा जनताको पक्षमा काम गर्न सकिन्छ भने ठिकै छ काम गरौँ भएकै हो ।

तर आज परिस्थिति अपेक्षा अनुकुल रहेन । रास्वपाले दिएको दुईदिने अल्टिमेटम अनुसार आफ्नो पद जोगाउन पनि रवि वा रास्वपालाई गृह मन्त्रालय देलान् तर रविको त्यो ऊर्जा, आत्मबल, अडान र एजेण्डा कमजोर हुनसक्छ ।

रविले गल्ती गरे की अपराध ?

दुइओटा कुरा उठे समाजमा । एक, यति सामान्य कुराको हेक्का नराख्ने घमण्डीले देश कसरी चलाउँछ ।

अर्को, रवि लापर्वाह होइन रिश्क लिने मान्छे हो । सबै कुरा थाहा भएर पनि यति ठूलो सजाय देलान् भन्ने नै ठानेनन् । प्रकृयाको एउटा सानो त्रुटीमा अदालत यति कठोर होला भन्ने लागेन । कोही नेपाली अनागरिक हुँदैन भन्ने संविधान र कानुनको मर्म अनुसार अदालतले रविलाई गल्ति सच्याउन र आफूले सम्हालेको जिम्मेवारी जनहितमा प्रयोग गर्न आदेश दिनेछ भन्ने अपेक्षा थियो ।

देशकै लागि गर्छु, देशमै मर्छु भनेर अमेरिकी सुखसयल त्यागेर आएको एउटा मान्छेको हृदय र आम मान्छेको भावना बुझेन, षडयन्त्र भयो ।

मिडियाका बारेमा

मिडियाले तर्क र भाष्य दुवै निर्माण गरिदिन्छ र त्यसकै पछि लाग्ने हाम्रो आम बानी बनेकोछ । जब रविलाई अनागरिक बनाइयो र दुई दिनपछि उनले नागरिकता लिए । पार्टीले तत्काल उनलाई सदस्यता दिलायो । यही मौकामा मिडियाले भन्न थाले विधानको व्यवस्था बिपरित रविलाई पार्टी सभापति बनाइयो । मिडियाकै तर्कमा मिसियो समाज ।

प्रश्न र तथ्य के हो भने अहिल्यै रवि लामिछानेको बिकल्प सोच्नेबेला भएको छ र रु रास्वपामा रविलाईझैँ अरु कसैलाई विश्वास गर्न सक्नुहुन्छ ? रविलाई नै हेरेर पार्टीमा जोडिएका होइनन् मान्छेहरू ? उनलाई नै हेरेर उम्मेद्वारी दिएका होइनन् मंशिर ४ मा ? उम्मेद्वारभन्दा रविलाई बढी विश्वास गरेर भोट दिएका होइनन् मतदाताले ? प्रत्यक्षभन्दा समानुपातिकमा बढी कसका नाममा भोट हालेका हुन् ? युवालाई मात्र होइन बाआमालाई पनि सोधौँ त ।

रविभन्दा योग्य, क्षमतावान, नैतिकवान, इमानदार छौँ होला अरु पनि । तर अझै चिनिन र काम देखाउन बाँकी छ । १९ जना सांसदहरु लोभलाग्दा देखिँदै हुनुहुन्छ । अझ सोभिता र तोसिमाहरुमाथि बढी भरोसा देखिँदै छ । तर संसद र पार्टी अलग कुरा हुन् ।

पार्टीका कतिपय साथीहरु महाधिवेशन हुँदा आफ्नै क्षमता र व्यवहारका कारण नेतृत्वमा आउने सम्भावना कम छ भनिन्छ । त्यसैले दुईदिन पनि अत्यास भएको हो रविबिहिन रास्वपा । रविको बिकल्प अझै १० वर्ष सोच्न सकिन्न ।

अबको रास्वपा यात्रा

पासपोर्ट मुद्दा जोडिएर आउँदा बाटो झन अप्ठ्यारो हुनेवाला छ भन्छन् उतैका जानकारहरू । भागबण्डामा बनेको निर्णयालय हो अदालत । यसले फैसला गर्छ न्याय गर्दैन, देखिइसकियो । त्यसैले जानकारहरू सत्य हुन सक्छन् ।

सरकार निर्माणमा एउटा उदाउँदो राजनीतिक शक्ति सहकर्मीकारुपमा रास्वपालाई ठानेका भए सहज स्वीकार गर्थे । गरेनन् । स्वतः रास्वपाले पाउने मन्त्रालय एउटाले दिन खोजेजस्तो अर्कोले रोकेजस्तो गर्ने दुवै उस्तै हुन् । माहुरी नजिक आउँदा झिँगाले नाक थुन्नु अर्थपूर्ण छ । पार्टी फुटाउ अभियान नेपाली राजनीतिको पुरानो सरुवा रोग हो । यसको संक्रमणबाट बचौँ ।

गृह मन्त्रालयमा गएर त्यहाँको बिकृति हटाउँछु भन्ने र त्यहाँ गएर हात चाट्छु भन्नेबिचको युद्ध चलेको स्पष्ट र स्वाभाविक छ । जसको प्रवृत्ति बिरुद्ध पार्टी खोल्यौँ, चुनाव लड्यौँ आज तिनैसँग मेरो मन्त्रालय मलाई फिर्ता दे भन्नुपर्ने अवश्थामा समय खेर फाल्नुभन्दा ५ वर्षपछि मतदाता मार्फत पुरै सत्ता खोसेर लिनुमा सान हुनेछ । जनताको पनि मान हुनेछ । यसमा ढुक्क होऔँ ।

जनताले रास्वपा आजै सरकारमा जाओस्, केही गरिहालोस् भन्ने चाहेका होइनन् । बरु संसदमा आफ्ना समस्या र देशको बेथितिबरुद्ध खरो रुपमा प्रस्तुत गरोस्, भन्ने चाहेका छन् ।
यस विषयमा धरातलीय अध्ययन गरेर मात्र निर्णय गरौँ ।

सूर्य बहादुर थापा, लोकेन्द्रबहादुर चन्द र खिलराज रेग्मीलाई सत्ता सुम्पिने खेलाडी यिनै हुन् । कुनै दिन प्रधानमन्त्री र मेजोरिटी मन्त्री लिने गरी सरकारमा जाने समय नआउला भन्न सकिन्न । दुई वर्ष भए पनि भ्रष्टाचारीको जरो उखेल्न, जनताको पक्षमा नियम बनाउन र निर्णय गर्न सकिन्छ ।

यिनले ३३ वर्ष नगरेको काम गर्न र सोच, विचार र उमेरले युवा हुनुको नाता प्रमाणित गर्न पनि यो अवसर कुर्नु सत्तालोभ होइन ।

रविको नजिक होऔँ, उसलाई छोऔँ र आफ्ना कुरा सुनाऔँ भन्नेहरुका नजिक पुग्न यो सत्तारोहणले रोकिरहेको छ ।

जनता सम्झेर लिएको सत्ताः सत्ता सम्झेर जनता बिर्सेजस्तो भएको छ ।

तसर्थ अब हरेक गाउँ वस्तीका ओसिला मनहरुमा छिर्नुपर्छ रवि । सबैसँग हात मिलाउँदै अँगालो मार्दै हिँड्नुपर्छ । होटल लज होइन गाउँघरको गुन्द्रुक भात र भुटेका मकै खाएर, शुभचिन्तकका उँडुस लाग्ने ओछ्यानको अनुभव लिँदै तिनका समस्या र विचारहरुलाई आफूमा मिसाउँदै हिँड्नुपर्छ ।

अरुतिर समेत बदनाम भइसकेका र अवसरवादीहरु वरिपरि घुम्न थालेका छन्, सुझाव सल्लाह दिन थालेका छन् । माहुरी र झिँगा पहिचान गरी जिम्मेवारी दिनुपर्छ । यति भएमा चामलजति आफूमा भूसजति अन्त हुनेछ ।

काङ्ग्रेस एमाले आफैँमा पवित्र थिए । राजनीतिक परिवर्तनमा निकै ठूलो कष्ट उठाए । तर तिनले संगठन गर्दा र आर्थिक सहयोग लिँदा अवसरवादी र अपराधिहरु भित्र्याएकाले कहिल्यै नसङ्लिने गरी दुषित बनेका हुन् । र, रास्वपाको जन्म भएको हो ।

माटो छोएर कसम खाऔँ रास्वपाका कारण अब अरु रास्वपाहरू नजन्मिउन् । रास्वपालाई नै फैल्याउन आउन् आउनेहरू ।

नेतृत्व विकास माथिबाट टिपेर होइन तलबाट गर्दै जानुपर्छ । र तिनलाई नैतिकता आचरण, बोलिबचन, व्यवहार, इमानदारी, समस्या पहिचान, समाधान, आर्थिक अनुशासन र जिविकोपार्जन लगायतका विषयको कोर्श तयार गरी प्रशिक्षण दिनैपर्छ । अध्ययन र उचित प्रशिक्षणको अभावमा भ्रष्ट बन्दै गएको हो वर्तमान राजनीति ।

रास्वपाका १४१ उम्मेद्वारहरु मध्ये निर्वाचित वा पराजित सबैलाई जनप्रतिनिधि नै ठानेका छन् आआफ्ना मतदाताले । उनीहरू जनताका समस्या र समाधानको निकट छन् । ती सबै उम्मेद्वारसँग बृहद छलफल गरेर जनताको आकांक्षा र जनादेश अनि पार्टीका समस्या र समाधान पहिचान गरी सांगठनिक गन्तव्य खोजौँ ।

गर्वको कुरो के थियो भने ठूला भनिने दलहरु गठबन्धनमा थिए हामी एक्लै चुनाव लड्यौँ र भन्यौँ आँट छ भने एक्लाएक्लै आओ ! साँच्चै सबै एक्लाएक्लै लडेका भए नतिजा अर्कै हुनेथियो ।

एक्लै लड्ने आँट र उत्साहका साथ मतदाताका घरघर पुग्दा मतदाताले सम्मानपूर्वक स्वीकार गरे, दही खुवाए ।

“यसपटक रास्वपालाई बहुमत दिनुभयो र हामीले सरकार निर्माण गर्यौँ भने तपाईहरुले महशुस गर्ने गरी काम गर्छौँ । काम गर्न सकेनौँ भने किच्च दाँत देखाउँदै भोट माग्न आउँदैनौँ बरु तपाईले खोजिखोजि भोट हाल्ने वातावारण तयार गर्छौँ ।” बाचा थियो ।

पाँच वर्षपछिका लागि त्यो सम्मान र बाचा सुरक्षित राख्न सबल नेतृत्व र आशलाग्दो गतिविधि चाहिन्छ । यति भएमा आगामी चुनावका लागि कसको सरकार निर्माण गर्ने त्यसको तयारी स्वतः गर्नेछन् जनताले ।

अहिले २० सिट केबल परिक्षा लिनका लागि दिएका हुन् । अहिले नै फेल भयौँ भने फेरि जाँच दिन मौका आउला र ?

मैझारोमा झापा र व्यक्तिगत सम्बोधन

केही अपवादबाहेक ०४८ सालदेखि एक छत्रजस्तो एमालेले नतिजा निकालेको झापा, एमाले अध्यक्ष सहभागि सुरुङ्गाको आमसभामा २ सय मान्छे नहुनु, रास्वपा सभापतिको ५ मिनेटको कोणसभामा ५ हजार मान्छे हुनुको अर्थ के ? अर्कै पार्टीमा रहेकाहरूले पनि किन घण्टीमा भोट दिए रु झापाको ७७ हजार ४ सय ४४ समानुपातिक मतलाई १ लाख ७७ हजार बनाउने बाटो के हो ? यसको उत्तरले देशको भविष्य भित्र्याउने छ ।

सरकार नामको भाँडोले पार्टीहरुलाई कमजोर बनाएको इतिहास छ । सिक्ने अरुबाटै हो आफूबाट सिक्नखोज्दा ढिलो भइसकेको हुनेछ । काँचो माटो रुपको रास्वपा बन्न वा बिग्रिन दुवै सहज छ ।

आरोप चिर्दै पार्टीको बलियो पिँध र त्यसका बलिया रक्षक निर्माणमा लागौँ ।

उमेरले ३ महिना दाइ हुनुहुन्छ । उमेर र संगठनको एक भाइ र भरोसिलो सहयात्रीको नाताले हार्दिकतापूर्वक तपाईलाई थाहा भएकै कुरो स्मरण गराउन चाहन्छु रवि दाइ !
देशैभर र विदेशमा रहेका ३ करोड नेपालीका लागि आशलाग्दो केटो हो तपाई, जेठाजु होइन ।

(लेखक भर्खरै सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट प्रतिनिधीसभा झापा क्षेत्र नं. ४ का उम्मेदवार हुन ।)

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *