सत्तारूढ दल र कांग्रेसबीच सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति
- जेष्ठ ५, २०८१
- 0
सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति भएको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल र कांग्रेस नेताहरूबीचको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको बैठकमा सहभागी रहेका कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
बैठकमा संसदीय समितिको कार्यादेश टिओओरबारे सहमति हुन भने बाँकी छ । संसदीय समितिको कार्यादेश टिओओरबारे पनि भोलि सम्म कुरा मिल्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
बैठकले छानबिन समितिका लागि कार्यादेश तय गर्न कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको छ।
कार्यदलमा कांग्रेसबाट सहमहामन्त्री जीवन परियार, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद शिशिर खनाल सदस्य छन्।
छलफलमा प्रधानमन्त्री प्रचण्ड, एमालेबाट अध्यक्ष केपी शर्मा ओली र कानुनमन्त्री पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रहेका सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्ले, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।
२८ वैशाखमा संघीय संसदको हिउँदे अधिवेशन सुरु भएदेखि नै नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन लगातार अवरोध गर्दै आएको छ । उसले संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने भनेपछि दलहरुबीच संसदको अवरोध खोल्ने बारेमा छलफल सुरु भएको थियो ।











