एक उम्मेदवारको वकपत्र – ‘भोटको भाउ’

news-details

नमस्कार ! म शम्भु सुस्केरा । राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्वार, चुनाव चिन्ह घण्टी ।

म बोलिरहेँ । मेरा साथमा भएका अरु ४ जना पनि हात जोडेर मेरो पछाडि उभिइरहेका थिए ।

म्यासेन्जरमा कुरा गर्न व्यस्त घरकी आमाले हाम्रो नमस्कार पनि फर्काएकी थिइनन् । हामी उभिइरहेकै थियौँ । म्यासेनजरमा उताबाट बोलिरहेको युवाको स्वर हामी सुनिरहेका थियौँ । उनले भनिरहेका थिए आमा घण्टीमा भोट माग्दै आएका मान्छे देखाउनु त ।

आमाले देखाउन चाहिनन् । म आफैँ आमाको अगिल्तिर गएँ र उनलाई नमस्कार गरेँ । परिचय भयो ।

उनले आमालाई भने आमा एकभोट घण्टीलाई दिनु है ।

तँ जान्ने नहो न कसलाई भोट दिने हामीलाई थाहा छ ।

भनेपछि तिमीलाई अहिले हिउँदमा तिर्थ जानु छैन, होइन आमा ? उताबाट छोराले हाँसीहाँसी घुर्की देखाए ।

किन नचाहिनु पैसो त । आमा अलिक चेपारे भइन् ।

अनि किन मात्तिएकी त, तिनै पुराना ढुँडी परेका पार्टीलाई कत्ति हाल्छ्यौ भोट ।

आमा केही बोलिनन् । खर्च चाहिन्छ भने घण्टीमा भोट हाल है आमा ।

आमा फेरि पनि बोलिनन् रिसले काली भइन् ।

रिसायौ कि क्याहो आमा रु छोराले फकाउन खोजे ।

सबै कुरामा तिमरका खटन । आमा साच्चै रिसाइन् ।

राम्रा कुरामा खटन नै गरिन्छ । भोन न ठुस्क मैले भनेका ठाउँमा भोट हाल्छु भनेर कसम खाउ अनि पाउँछ्यौ खर्च ।

ल ल कमाउने भका तिमरु, तिमरले भनेको नमाने त हाम्रो के चल्छ र । आमा गलेजस्ती भइन् ।

हाम्रो टिमकी एकजना बहिनी अगि सरेर भोट हाल्ने तरिका सिकाउन थालिन् । हामी सबै मुसुमुसु हाँस्यौँ ।

दुबइमा रहेका आफ्नै छोरासँग तीर्थ जाने आशमा आमाले हामीलाई भोट दिने कुरा पक्का गरिन् । सायद दिइन् पनि ।

अर्को दिन यस्तै संयोग पर्यो । एक तले जस्ताले छाएको सानो घरको बरण्डामा बसेर एक युवती फोनमा कुरा गर्नमा मस्त थिइन् ।

हामी उसैगरी पुग्यौँ ।

उनका श्रीमान् रहेछन् साउदीबाट । उसैगरी ती युवासँग चिनजान भयो ।

हाम्रो क्षेत्रमा घण्टीको उम्मेद्वार छैन की क्याहो भन्ने लागेको थियो हुनुहुँदो रहेछ । खूसी लाग्यो । मेरो घरको भोट तपाईलाई पक्का भयो । उनले बाचा गरे ।

भोलिको कुरा के हुन्छ अहिले नै बचन नदिनु है । श्रीमतीले भनिन् ।

भनेपछि तिमीले अगि भनेको सामान किन्नु छैन हगि ?

सायद गहना किनिमागेकी थिइन् ।

मुसुमुसु हाँसिन् र बोलिन् किन नचाहनु नि ।

त्यसो भए हाम्रो सानो बाबुको भविष्यका लागि पनि घण्टीमा भोट देऊ । तिमीले भन्दा मान्ने अरुलाई पनि भन् । तिमीजत्तिकी पढेलेखेकी मान्छेलाई मैले भनिरहनुपर्छ ? अलि छुच्चाजस्ता भए ती ।

ल हौ ल घण्टीमै हाल्छु भोट । छिटै मानिन् तिनी ।

मसँग हरेक दिनजसो फेसबुकमा विदेशबाट जोडिएका ककसले परिवारसँग कति मूल्यमा वा के के सर्तमा भोट मागे होला ।

एउटी आमाले सुनाउनुभयो । मेरो कान्छो छोरो मलेसिया बस्छ । शम्भु दाइलाई भोट नदिएको थाहा पाएँ भने म घरै आउँदिन । छोरोलाई घरै नआउने त कसरी बनाउनु । ती आमाका घर पुग्दा खुशी भइन् आमा । छोराले रोजेका मान्छे मजाकै रैछौ भनिन । मोही खान दिइन् ।

आँत शीतल पारेर अर्को घरतिर लाग्यौँ ।

मलाई नचिनेका तर वैदेशिक रोजगारमा रहेका युवाले यसै गरेर मेरा लागि, आफ्नो वर्तमान र बालबालिकाको भविष्यका लागि घण्टीमा भोट मागेका थिए ।

एकजना युवाले एक दिन मान्छेको मूल्य तोकेरै भोट बेच्न खोजे ।

साथीहरु घरघरै भोट माग्दै थिए । बाटोमा उभिएका ती युवाले मसँग एकान्तमा कुरा गर्न खोजे । म उनको नजिक गएँ । उनले भने मसँग २० जना केटा छन् कति दिनुहुन्छ ?

मैले सोधेँ के दिने ?

उही के पैसा ।

किन दिने पैसा ?

तपाईलाई बिना पैसा भोट दिने त ?

तपाईको लागि रोजगार, तपाईको बालबच्चाको लागि निशुल्क शिक्षा, स्वास्थ्य र भविष्यमा यही देशमा गरिखाने वातावरण, यति धेरै काम गर्नुछ । त्यसका लागि बाचा गर्छौँ । भोट दिनुहोला ।

सबैले यसै भने गरेनन्, देशलाई ढाँटिरहे भनेर पहिलोपल्ट राजनीतिमा आएका । अहिले काम गरेनौँ भने अर्कोपटक भोट नै नदिनु । हामी त ५ वर्षमा यस्तो काम गर्छौँ । ५ वर्षपछि तपाईले हामीलाई खोजीखोजी भोट दिनुहुनेछ ।

त्यसका लागि यसपटक मौका दिनुहोला ।

उनी केही बोलेनन् सायद मसँग सन्तुष्ट थिएनन् । म उनलाई छाडेर हिडेँ । कसलाई बेचेहोला भोट थाहा भएन ।

मसँग सय जना केटाहरु छन् । पेट्रोल चाहिँ दिनुपर्छ र्याली गर्दा ।

मैले भने म अनावश्यक र्याली नै गर्दिनँ ।

हामीले कतिदिन त घरघरै जानु पनि परेन । धानकाट्दै गरेका खेतमा भेटिए धेरैमान्छे ।

धानको बालाबालामा काटिरहेका एकजना बयस्कलाई मेरो टिमको एकजना भाइले सोध्यो । किन यति टुप्पोमा काट्नुभएको ?

दशबिघा जग्गाको पराल काँ राख्नु र फेदमा काटेर ?

क्रमशः भोटका कुरा भए । उनले भने खै यता त भोटसँग नोट माग्ने चलन् छ । यत्रो सयौँ मन धान फलाउनुहुँदो रहेछ । किन चाहियो अरु नोट, खान नपुग्ने पनि होइन रहेछ । मैले जान्न चाहेँ ।

उहिल्यैदेखि यस्तै बानी लगाए त भाइ । सहज तरिकाले जवाफ दिए उनले ।

सयौँले मेरो नम्बर पत्ता लगाएर मलाई फोन गर्नुभयो बोलाउनु भयो । हामी उहाँहरुका घर आँगनमा गयौँ । आफ्ना कुरा राख्यौँ । उहाँहरुले आफ्ना कुरा राख्नुभयो । भोट दिने बाचा गर्नु भयो र भन्नु भयो । हामी तपाईलाई जिताउँछौँ । कथमकदाचित हार्नुभयो भने राजनीतिबाट नभाग्नुहोला हामीलाई बलियो बिकल्प चाहिएको छ ।

फोन गरेर बोलाउने मध्ये एकजनाले भने दाइ केटाहरुले अलेली आश गरेका छन् ।

के आश गरेका छन् ?

खर्च ।

हामी त दिन सक्दैनौँ । सके पनि दिँदैनौँ । साँच्चै देशका लागि गर्ने भए निश्वार्थ गर्नुपर्छ ।

तर हामीले त तपाईलाई सांसद बन्न सघाउने हो नि ।

तपाई मेरा लागि, म देशका लागि र यो देश तपाई हामी सबैका लागि । हामीले यसैका लागि हो सहकार्य गर्ने । म त केबल माध्यम मात्रै हो । तपाईहरूले आफ्नै लागि ठानेर भोट हाल्ने सोच बनाउनुहोला ।

खै दाइ भोटको भाउ बढेको छ भन्छन् केटाहरू । अरु नेताले त ट्रकमा पैसा ल्याइसके रे । गाउँ अनुसारको भाउ तोकेका छन् रे । तपाईले नदिए केटाहरू उतै जान्छन् ।

तपाईका केटाहरुले आफ्नो भोट बेचेका होइनन्, आफ्नो भविष्य बेचिरहेका छन् । आफ्नै माटोको सुरक्षा बेचिरहेका छन् ।

कसले सम्झाउने दाइ उनीहरुलाई । मेरा कुरा बुझेझैँ र निराशजस्ता भए ती ।

उनीहरुलाई मसँग भेट त गराउनुस् म सम्झाउँछु । चित्त बुझे भोट दिन्छन् नबुझे दिँदैनन् ।

हरेक नेतालाई जिताउने काम हाम्रै हो । हामीसँग ८ हजार भोट छ । हामी सल्लाह गरेर भन्छौँ नि । यसो भनेका उनीहरुले कहिल्यै मसँग सल्लाह गरेनन् । सायद अरुसँग सल्लाह गरे, बढेको भाउमै कुरा मिल्यो होला ।

मेरो एकजना भाइले कसैसँग फोनमा सम्पर्क गरायो । उसले भन्यो हुन्छ म तपाईलाई सघाउँछु तर तपाईले मेरो आध्यात्मिक कार्यक्रमको भण्डारा लगाउन सघाउनुहोला ।

मन्दिर बनाउन इँटा माग्ने धर्मावलम्बीहरुलाई भनेँ हामी देशभरिका मन्दिर र आश्थाहरुको संरक्षण गर्न आएका हौँ । एक दिन गरिछाड्छौँ । उनीहरूले कुरा बुझे सायद ।

केही थान फूटबल माग्ने युवाहरुलाई भनेँ आज एकथान फूटबलको आश नगर भाइ भविष्यमा फूटबलमा राजनीति नगर्ने र खेलाडीलाई खेलमै प्रेरित गर्ने वातावरण दिनेछौँ ।
सायद उनीहरुले मेरा कुरा बुझे होलान् ।

त्यसैले त चौधहजारभन्दा बढी मान्छेले मलाई नै भोट हाले ।

तर तिनको अमूल्य भोटको मूल्य तिर्ने ठाउँमा पुग्न सकिन । उधारो भोटको मूल्यको व्याजसमेत बढेर कति हुने होला । फेरि सापटी नै लिएर तिर्ने दिन अवश्य आउला ।

समयसँग सोधिरहेको छु । तिनीहरुले कहिले माग्लान् भोटको बदलामा सुशासन ?

कहिले माग्लान् समृद्धी ?

कहिले माग्लान् रोजगारी ?

कहिले माग्लान् संसारभर ठडिने नेपालीको शिर ?

भोटको बद्लामा नोट माग्नु कति रहर कति बाध्यता ?

भोटको बदलामा नोट माग्ने दोषी की दिने दोषी ?

यो रोग डडेल्धुराबाट झापा सर्यो रे । यो रोगको संक्रमण ५ वर्षपछि अझै बढेर जान्छ की उपचार गर्न सकिन्छ ?

डक्टर र औषधीको खोजीमा छु म ।

(लेखक भर्खरै सम्पन्न आम निर्वाचनमा प्रतिनिधीसभा झापा क्षेत्र नं. ४ का उम्मेदवार हुन ।)

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *