एनआरएनएद्धारा ९० दिनको कार्य विवरण सार्वजनिक

कंगोमा ज्यान गुमाएका सुरेशको परिवारलाई साढे २६ लाख सहयोग हस्तान्तरण
news-details

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)ले आईसीसीको १९ औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले नेतृत्व सम्हालेको ९० दिनको कार्य विवरण सार्वजनिक गरेको छ ।

बालुवाटारस्थित सचिवालयमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै संघले यस अवधिमा गरेका कार्य र सहयोगको विवरण सार्वजनिक गरेको हो ।

जस अनुसार भूकम्पका प्रभावितलाई राहतका लागि १ करोड २४ लाख ६८ हजार रुपैयाँ सहयोग गरेको संघले जनाएको छ ।गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएको थियो । कार्यक्रममा एनआरएनए आईसीसीका प्रवक्ता फणीन्द्र पन्तले संघले भूकम्प प्रभावित क्षेत्रमा दीर्घकालीन सहयोगका लागि समन्वय गरेर काम गरिरहेको बताए ।

विश्वका ५९ देशका महाधिवेशन प्रतिनिधिहरूले पहिलोपटक अनलाइन मतदानमार्फत् अध्यक्षमा डा. बद्री केसीसहितको नयाँ कार्यसमिति चयन गरेको थियो । तथापी निर्वाचनमा धाधली भएको भन्दै अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले समानान्तर कार्यसमिति घोषणा गर्दै गतिविधी संचालन गरिरहेका छन ।

निर्वाचन समितिमार्फत निर्वाचित कार्यसमितिले काम थाल्न नपाउँदै आएका तमाम अड्चन र चुनौतीका बीच विगत तीन महिनामा परोपकार, लगानी, संस्थागत विकास लगायतका मुद्दामा सकारात्मक काम र पहलहरू सुरु भएको दाबी पन्तले गरे ।

उनले भने, ‘गत नोभेम्बर पहिलो साता जनधनको ठूलो क्षति हुनेगरि गएको भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर सञ्चालन, छात्रछात्राहरूलाई न्यानो कपडा वितरण गर्नुका साथै दुई दर्जन देशका गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति लगायतबाट संकलित करिब १ करोड २४ लाख ६८ हजार रुपैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरिएको छ ।’ भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण लगायत दीर्घकालीन सहयोगका लागि संघले स्थानीय सरकारहरुसँग समन्वय गरेर काम गरिरहेको उनले बताए ।

संघले यसै साता धरान र जनकपुरमा गैरआवासीय नेपालीहरूको सहयोगमा संकलित रकमबाट ७० लाख रुपैयाँ पर्ने एक–एकवटा मोबाइल ब्लड बस हस्तान्तरण गरिएको उनले बताए ।

त्यस्तै, टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरुको सहयोगका लागि नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् हौसलास्वरूप १० लाख रुपैयाँ, नेपाली भलिबल राष्ट्रिय टिमका लागि ८ लाख, छैटौं एनआरएनए सुदूर पश्चिम फुटबल प्रतियोगिताको सहयोगार्थ २ लाख ५० हजार, पोखरा म्याराथनका लागि ७ लाख ५० हजार, एनआरएनए इलाम गोल्ड कपको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको घोषणा गरेको समेत प्रवक्ता पन्तले जानकारी गराए ।

धनगढीको सेती प्रादेशिक अस्पतालमा १ करोड २५ लाख, कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट स्थापना गर्ने कामले पूर्णता पाइसकेको उनले बताए ।

गैरआवासीय नेपाली संघसम्बन्धी ऐन, २०६४ बमोजिम संघ दर्ता गरेको १० वर्ष भएको छ । संघ नवीकरण प्रक्रियाका लागि नेपाल सरकारले तोकेबमोजिमका आवश्यक कागजात परराष्ट्र मन्त्रालयमा बुझाएको भए पनि मन्त्रालयको ढिलाइको कारणले तत्काल संस्थालाई नवीकरणको बाटो खोल्न पाटन उच्च अदालतमा निवेदन दर्ता गरिएको जानकारी उनले गराएका थिए ।

कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष बद्री केसीले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा कुनै धाँधली नभएको दाबी गरे । उनले भने, ‘चुनाव हुञ्जेल सहमति हुने, जब नतिजा बाहिर आयो त्यसपछि असहमति जनाउने, त्यो सायद गैरआवासीय नेपाली संघको निर्वाचनमा इतिहासमै पहिलो पटक भएको हो । त्यस्तो खालको अराजकता हामीले कहिले पनि देखेका छैनौं । ’

निर्वाचनका क्रममा उपाध्यक्षको नतिजामा गडबडी भएको स्वीकार्दै अध्यक्ष केसीले भने, ‘एक जना उपाध्यक्षको नतिजामा गडबडी भएकै हो । त्यसमा अनुसन्धान भयो निर्वाचन समितिले त्यसमा कुनै दोष नदेखेपछि हामीलाई सपथ खुवाएको हो ।’

कंगोमा ज्यान गुमाएका डोटीका सुरेश सिल्लाको परिवारलाइ साढे २६ लाख सहयोग हस्तान्तरण

गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारीका सिलसिलामा कंगोमा ज्यान गुमाएका डोटी आदर्श गाउँपालिका– ६ का सुरेश सिल्लाको परिवारलाई साढे २६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

एनआरएनए अध्यक्ष डा. बद्री केसीले शनिबार केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित समारोहमा पीडित परिवारलाई २६ लाख ६१ हजार ९२० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

चार महिने नाबालक खगेन्द्रसहित उपस्थित सिल्लाकी पत्नी राजु सिल्ला, पिता पदमबहादुर सिल्ला, दाजु वीरेन्द्रसिंह सिल्ला, ठूलो बुवा धनबहादुर सिल्ला र आदर्श गाउँपालिका अध्यक्ष गणेश खड्काले एनआरएन अध्यक्ष केसीसहित अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीबाट चेक बुझेका थिए ।

परिवारलाई हस्तान्तरण गरिएको रकम राष्ट्रिय समन्वय परिषद् कंगोले संकलन गरेको थियो । एनआरएनए कंगोका अध्यक्ष विष्णु गिरीले सहयोग जुटाउन नेतृत्व गरेका थिए ।

एनआरएनए महासचिव गौरीराज जोशीकाअनुसार हस्तान्तरण गरिएको रकममध्ये ४० प्रतिशत हिस्सा नाबालक छोराको लागि, ३० प्रतिशत श्रीमती र ३० प्रतिशत बुवा/आमाको खर्च भनेर सहयोग गरिएको हो ।

सिल्लाको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. केसीले यो दुःखको घडीमा एनआरएनले थोरै भए पनि मलहम लगाउने प्रयास गरेको बताए । ‘हामी गैरआवासीयको विडम्बना नै यही हो । हामीले चित्कार गरिरहेको विषय नै यही हो । हामी नेपालबाट मासिकरुपमा चार लाख स्वस्थ मान्छे पठाएर शव बुझ्न बाध्य भएका छौं । यही पीडा कम गराउनको लागि नै गैरआवासीय नेपाली संघ स्थापना भएको हो । संघले स्थापनाकालदेखि नै संघले यो बाकस कति बुझिरहने, यसलाई कम गर्नुपर्यो भनेर धेरै काम गरेका छौं, यद्यपि रोकिएको छैन । आज सुरेश सिल्लाको पनि त्यही हालत भएको छ,’ उनले भने ।

धेरै नेपालीहरु श्रम स्वीकृत लिएर जाँदाखेरी अझ सुरक्षित भए पनि त्यो वातावरण नरहेको अध्यक्ष केसीको भनाइ थियो । ‘धेरैले स्वीकृति लिएर जानुभएको छैन । किनभने बाहिर निस्किँदा एयरपोर्टमै सेटिङ गर्नुपर्छ । कागजहरु हुँदाहुँदै पनि सेटिङ भएन भने, ४०/५० हजारदेखि १/२ लाखसम्म दिएन भने त्यो ठाउँमा जानै पाइँदैन । अफ्रिकाको कथा यही छ । कंगोको कथा यही छ । कंगोमा राम्रो तलबमा काम गर्न जान नेपालीहरु तयार छन्, त्यो ठाउँ छ । तर, कंगोमा नेपाल सरकारले स्वीकृति दिएको छैन । अफ्रिकामा उच्च सीपयुक्त नेपालीहरु जान तयार छन् । तर सरकारले दिँदैन,’ उनले भने । यस्ता देशहरुमा नेपालीहरुले राम्रो तलब पाउँछ भने किन जान नदिने भनेर श्रम मन्त्रालयसँग सम्वाद गरिरहेको उनले जानकारी गराए । कंगोमा करिब २ हजार नेपाली रहेको र उनीहरु पनि अवैधानिक रुपमै जान बाध्य भएको उल्लेख गर्दै भने, ‘छुट्टीमाम नेपाल फर्किन पनि भारतबाट आउनुपर्छ । भारतबाटै फर्किनुपर्छ । सेटिङका कारण नेपालबाट जान नसक्ने बाध्यता छ ।’

यो बाध्यताका कारण विभिन्न कालखण्डमा जानेहरु मारिनुपरेको भन्दै अध्यक्ष केसीले यसलाई अन्त्य गर्न प्रयत्न जारी रहने बताए । ‘आज कलिलो बालक टुहुरो भएको छ । पत्नी विधुवा भएकी छन् । यो दुखको घडीमा कंगोका साथीहरुले सहयोग पठाएका छन् । धेरै भएर पठाएको होइन, ठूलो मन गरेर पठाएको हो । त्यो पैसा छोराको पढाईमा खर्च गर्नुस् । बच्चाको पढाइको लागि हामी अन्य सहयोग पनि गर्छौं,’ उनले भने ।

सहयोग रकम बुझ्दै गाउँपालिका अध्यक्ष गणेश खड्काले राहत संकलन गरेर परिवारलाई सहयोग गरी दुखको घडीमा मलहम लगाउने प्रयास गरेकोमा कंगोका नेपालीहरुलाई धन्यवाद दिए । उनले मृतकको परिवार र बच्चालाई पालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘राष्ट्रका दक्ष युवाहरुको विदेश जाने परिपाटी बढ्यो । देशभित्रै रोजगारी सिर्जना नभएसम्म देश बन्दैन । विदेशमा जति काम युवाहरु गर्नुहुन्छ, त्यति नेपालभित्रै गरेको भए देश बन्थ्यो । तर सरकारले त्यो वातावरण बनाउनुपर्छ । दैनिक लास भित्र्याउने दैनिक रोक्नुपर्छ । सीप र योग्यताको आधारमा नेपालमै काम गर्ने वातावरण बनाउन सरकारलाई दबाब दिनुपर्छ । नेपालमा कृषिको सम्भावना छ । तर बाहिरबाट भित्र्याउनुपरेको छ । तर युवाहरु बाहिर जानुपरेको अवस्थालाई अब अन्त्य गर्नुपर्छ,’ उनले भने ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *