एनआरएनए विवाद : परराष्ट्र मन्त्रीले बोलाएको पुर्वअध्यक्षसँगको मिटिङमा महतो र लामिछाने मात्र उपस्थित

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिबेशनपछि उत्पन्न भएको विवादलाई सरकारले चासो लिएको छ । परराष्ट्र मन्त्री एनपी साउद आफै एनआरएनएको विवाद मिलाउन कस्सिएका छन् ।

एनआरएनएको महाधिबेशन सकिएको दुई महिना नाघेपछि प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष निर्देशनमा परराष्ट्र मन्त्री साउदले आइतबार एनआरएनएका संस्थापक अध्यक्षसहित पुर्व अध्यक्षहरुलाई मन्त्रालयमा बोलाएर एनआरएनएको विवाद र समस्या समाधानका विषयमा छलफल गरेका छन् ।

परराष्ट्र मन्त्री साउँदलाई भेट्न एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र पुर्वअध्यक्ष जीवा लामिछाने आइतबार मन्त्रालय पुग्दा अन्य पुर्व अध्यक्षहरु उपस्थित भएनन् ।

काठमाडौंमा नै रहेका अर्का पुर्वअध्यक्ष शेष घले पनि पूर्वनिर्धारित कार्यक्रमका कारण आजै विदेश उडेकाले परराष्ट्र मन्त्रीले बोलाएको छलफलमा सहभागी हुन सकेनन ।

एनआरएनएका पुर्व अध्यक्ष घलेलाई परराष्ट्र मन्त्री साउद आफैले फोन गरेर आइतबार छलफलमा आउनका लागि बोलाएका थिए । घले स्रोतका अनुसार पूर्वनिर्धारित कार्यक्रमका कारण आजै उनी विदेश भ्रमणका लागि उडेका छन् ।

परराष्ट्र मन्त्रीले एनआरएनएलाई विभिन्न टुक्रा टुक्रा नभई एउटै बनाउनका लागि चाल्नु पर्ने कदमका बारेमा सल्लाह सुझाव लिएको सहभागी पुर्व अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

पुर्व अध्यक्ष लामिछानेले भने–‘आज हाम्रो परराष्ट्र मन्त्रीज्युसँग भेटघाट भयो, उहाँले संस्था एक बनाउने विषयमा चासो राख्नु भयो, अन्य विषयमा अहिले धेरै म बोल्दिन ।’

एनआरएनएले आफ्नो २० बर्ष पुगेको अवसरमा आयोजना गरेको ११ औं महाधिबेशन तथा विश्व सम्मेलन पनि अन्ततः विवादरहित हुन सकेन ।

असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म (१७–२० अक्टोबर, २०२३) काठमाडौको सोल्टी होटलमा भएको सम्मेलनमा निर्वाचनको नतिजालाई लिएर विवाद उत्पन्न भएपछि समापन समारोह समेत हुन सकेन ।

संघको आगामी कार्यकालका लागि प्यानल नै बनाएर राजेन्द्र कुमार (आरके) शर्मा, डा. बद्री केसी र महेश श्रेष्ठ प्रतिष्पर्धामा उत्रिएका थिए । निर्वाचन कार्यक्रम सम्पन्न हुँदासम्म सामान्य रहेको अवस्था नतिजा प्रकाशन लगत्तै असामान्य बन्न पुगेको थियो ।

नतिजा प्रकाशनको क्रममा महेश श्रेष्ठ प्यानलबाट उपाध्यक्ष पदका उम्मेदवार रहेका डा. केशव पौडेलको काठमाडौ महाधिवेशनस्थलबाट खसेको मत शुन्य देखिएपछि विवाद सुरु भएको थियो । प्रारम्भिक नतिजामा त्रुटी देखिएको भन्दै पुनः पौडेललाई विजेता घोषित गरिएपनि पराजित उम्मेदवारहरुले नतिजा स्वीकार गर्न नसकिने भन्दै विरोध जनाएपछि महाधिवेशनको समापन समारोहसमेत हुन सकेन ।

यसपटक एनआरएनए, आइसीसीको निर्वाचन पहिलो पटक अनलाइन माध्यमबाट गरिएको थियो । जसका कारण यसअघिको निर्वाचन जस्तो मतदाताहरु निर्वाचनस्थलमा आउनैपर्ने बाध्यता थिएन । विदेशमा रहेकाहरुले आफु भएका मुलुकबाटै भोट गर्न सक्ने व्यवस्था मिलाइएको थियो भने नेपालमा भएकाहरुले भने निर्वाचनस्थल सोल्टी होटलमा खडा गरिएको अनलाइन बुथबाटै हाल्नुपर्ने व्यवस्था थियो ।

अक्टोबर १९ मा भएको निर्वाचन पश्चात भेरोले प्रकाशित गरेको नतिजा अनुसार अध्यक्ष पदमा डा. बद्रि केसी विजयी भएका छन् । डा केसीले १ हजार ३ सय ७८ मत प्राप्त गरेका थिए भने अध्यक्ष पदकै प्रतिस्पर्धीहरु आरके शर्माले १ हजार २ सय ८१ मत र महेश श्रेष्ठले १ हजार २ सय २५ पाएका थिए ।

अक्टोबर २१ तारिख विहानै सहमति विपरित निर्वाचनमा बिजेता घोषित डा. केसीसहितका पदाधिकारीले सपथ लिएपछि सोही दिन साँझ पत्रकार सम्मेलन गर्दै शर्मा र श्रेष्ठ समूहले राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा गरेपछि विवाद बढेको हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *