शनिवारीय साहित्य : ‘माफी’- गोपीराम भण्डारी

news-details

हुने खाने लाई त सधै दशै छ । नहुनेलाई वर्षमा एक पल्ट पीडाको भारी बोकेर आउँछ ।

मध्यम र निम्न बर्गीय समुदायका केटाकेटीहरु हिलो, मैलो पखाल्न । अप्ठयारो र अभाब थाहा नपाएका सन्ततीको मुहारमा मुस्कान छर्न पनि सघाउँछन् यी चाडपर्वले।

……………………

बालबालिका सधैँ खेल्ने चौर । झुण्ड झुण्डमा बालबच्चाहरु जम्मा हुँदा रमितालाग्दो देखिएको छ ।

समुहले आआफ्ना ढुङ्गाका पोल बनाएका छन् । धुलोमा कोतरेर बनाइएका सीमा रेखाहरु देखिन्छन् । व्यस्त छन् बालबालिका । घुन्ना, चुन्नि, डन्डीबियो, फुटबल खेलका नियम परिमार्जन गरी मौलिक घेरा, नियम र रेफ्रिका सिर्जना गरी खेलहरुमा रमाईरहेका काम छन् ।

चौरको किनारमा एउटा एक्लो बरको रूख छ । सायद पिपलको अभावले उदास र चिन्तित देखिन्छ ।

एक्लो महसुस गरिरहेको उसका हाँगालाई एक हुल बच्चाले लप्काई लप्काई प्याकलौरी खेल्दै रोटे पिङ्को आनन्द लिदा बरकोबोटले पनि एक्लो पनबाट मुक्त भएको आभाष गरेको हुनुपर्छ ।

रूखले पनि निसन्देह बालबालिकाहरुलाई खुसीले अक्सिजन बाँडिरहेको छ ।

बिहानको घाम छितिज पारि, करिब छ हात माथिबाट उषाकिरण बनेर धर्तीमा पोखिएको छ । आकासमा पंक्षिले निस्फिक्रि आफ्नो गोरेटो आफै कोरेझै स्कुल, घर र कामधाम सबै भुलेर बालापनका अमिट स्मरणयोग्य चित्र कोर्न मस्तराम छन् बालबालिका ।

पेटले माम नखोजुन्जेल् उफ्रिरहनेछन् । अझ भनौँ दसैँको उमंगले तिनको भोकसमेत पचाईदिएको छ ।

वरको बोट नजिकै एउटा सार्वजनिक धारो छ । केही बालबालिका बाआमालाई सघाउन पानी बोक्न चटारोमा छन् । साथीहरु खेलिरहे जस्तै आफु पनि बेलगाम खेल्न नपाउदा अर्ध रमाईलो मानिरहेका छन् दसैँ ।

खाली गाग्रिका लामो लाइन लगाएर एक हुल केटाकेटीहरु मोबाइलमा झूम्मिएका छन् ।

बसन्त मोबाइलको बिशेषता र काम बताइ रहेको छ ठाँटसँग । त्यो मोबाइल उसका बाबाले एसइइ पास गरेको उपलक्षमा किनि दिएका हुन् ।

त्यही कुरा सुनाउँछ । गर्विलो छाति बनाएर फुर्ति देखाइरहेको छ साथी र सानाहरुलाई ।

ए ! फुर्ती न लगा जाबो साम्सुङ मोबाइल देखाएर । मेरा बाबाले आइफोन ल्याइदिदै हुनुहुन्छ । प्लसटु पनि ए प्लसमा पास गरिस् भने मोटरसाइकल किनिदिने भन्नु भा छ ।

समीरले धाक पेश गर्यो ।

सरि यार मैले गफ लगाएको हैन । जे हो त्यो भनेको । हामी आफ्नो हैसियतमा बस्ने मान्छे तिमीहरुसँग प्रतिष्पर्धामा कहाँ उत्रिन्छौ र ?

भै गो तिमीलाई फ्रेण्ड रिक्वेस्ट नपठाउला नि कि कसो साथी हो ? हो हो सबै जना गलल हास्छन् ।

दाई ! पानी भरीयो । बहिनी सदिक्षाले सबैको ध्यान भङ्ग गरिन् । बसन्त पानी बोकेर घरतिर लाग्छ ।

जस्ताले छाएको दुई तले घरको अगाडी गोबरले आँगन पोतिएको छ । बरण्डाभरी मकै सुकाएको छ । पूर्वतर्फ कुनामा तुलसीको मइरोमा तुलसीको बोट भाचिएको छ । बारीको पाटामा सात वटा बाख्राहरु लामो डोरीमा बाँधिएरै चरिरहेका छन् ।

एउटा बोको फुकेर अगेना छेउको डालोमा राखेको चामल भुईंभरी पोखेर चाटिरहेको छ । आँगनको दक्षिण तर्फ केही भिराला खटहरु छन् जसले घर-आँगन र सडकलाई जोडेको छ । आँगन र सडकको साँधमा गाउँका गन्नेमान्ने महिला अधिकारकर्मीहरु शारदा, सन्ध्या लगायत छन् । दुईतिन पुरुषहरु बसन्तका बा दलबिर कार्कीको पाखुरो समातेर घिच्याइरहेकाछन् ।

आमा विष्णु मायाको कम्मरमा ठुलै चोट देखिन्छ । छड्केछड्के परेर साबित्रिको काधमा हात राखी हिडिरहेकी छिन् ।

बाबु बसन्त, बोका फुकै छ, त्यसलाई हेर्नु, हामी एकछिन चौकी जान्छौ । दलबिरले छोरालाई अह्राउँछन् ।

किन र बा के भयो र ? बसन्त प्रश्न गर्छ ।

ऊ केही जवाफ दिँदैन छोरालाई ।

घरको ढोका खुल्लै, अगेनाभरी चामल, मइरोको तुलसीको बोट भाँचिएको, बोको खुल्लै देखेको वसन्तको अन्यौल मेटिन्न तर चुप रहन्छ । केही नराम्रो चैँ भयो भन्ने अनुमान गर्छ ।

बोकाको नाकबाट सिगान बगिरहेको देखेपछि कौसीबट एक मुठी गाँजा लिएर पिठोमा मुछि कोच्चाइदियो उसले । बाबुबाटै सिकेको हो यो कुरो ।

……………..

ए ! ए ! तपाई तपाईहरु कता ? हुल बाँधेर भित्र छिर्न लागेका उनीहरुलाई देखेर ईलाका प्रहरी कार्यालयमा सेन्ट्री बसेको प्रहरी जवानले रोक्यो ।

ए भाइ हामीहरु इन्स्पेक्टर साबलाई भेट्न आको । अलि पाको जस्तो देखिने एकजनाले जवाफ दिए । उनकै आडमा सबैजना भित्र छिरे ।

तपाईहरु प्रतिक्षालयमा बस्दै गर्नुस् । सर गस्तीबाट फर्कदै हुनुहुन्छ । आदेशकै शैलीमा बोल्यो जवान ।

कति बेला आउनुहुन्छ ? शारदाले प्रश्नको अगुवाई गरिन् ।

आइहाल्नु हुन्छ । बस्दै गर्नु न बरु चिया पिउनु हुन्छ भने मगाइदिन्छु । औपचारिक्ता पुरा गर्छ ऊ ।

हैन  भाइ चिया नखाने । जवाफ दिइन्  उनैले ।

मुद्दा त दर्ता गर्नै पर्छ । यसरी पनि कुट्नु हुन्छ ।

त्यही त महिलामाथि हिंसा गर्न पाइन्छ ? यत्रो दुःख भुक्त गरी घरवार छोरा छोरी सम्हालेकी छन्, तपाईं नहुँदा पनि छोरा छोरीलाई पढाएर बसेकि बिचरी विष्णुमाया दिदीलाई चल्नै नमिल्ने गरी कुट्ने ?

दलबिरमाथि खनिन्छन् महिलाहरु ।

महिलाहरुको प्रश्नले नुन खाएको कुखुरा जस्तै झोक्राएको छ दलविर । विष्णु मायातिर स्नेहका आँखाले पुलुक्क हेर्छ ।

तिमीलाई कस्तो छ भन्न खोजेको थियो होला ? गमक्क फुलिरहेकी विष्णु मायाको अनुहार देखेर आँट गर्दैन ।

प्रतिक्षालयसँगैको नास्पातिको बोटमा बसेको कागले का का गर्दै दलविरको पिठ्युमा बिष्ट्याईदिन्छ ।

ए ! ए ! कागले हग्यो । अचानक बिष्नु मायाले कम्मरमा बाधेको मजेत्रोले पुछ्न खोजिन् ।

भाउजू, के गरेको ? हातबाट मजेत्रो खोस्दै सन्ध्याले रोकिन् ।

कागको बिष्टा परे त अलछिन पो हुन्छ त ! विष्णुमायाको मुखबाट यही शब्द फुत्कियो ।

के यस्तो रुडीवादी कुरा गरेको भाउजु । शारदाले विष्णुमायालाई जवाफ दिइन् ।

कुनचाहिँ लक्षिन छ र ? दलबिर मनमनै फुसफुसाउँछ । र कागको बिष्टा पुछ्न धारातिर जान्छ ।

नमस्कार सर ! प्रतिक्षालयबाट उठेर सबैले हात जोडे ।

हतारमा भित्रिएका ईन्स्पेक्टर नमस्कार फर्काउँदै बोले माफ गर्नु होला धेरैबेर कुर्नु पर्यो की ?

भन्नुस् यहाँहरुलाई के सेवा गरौ ? दशैको बेलामा कुनै नौलो योजना लिएर पो पाल्नु भो की ?

हैन हैन हामी त एउटा सानो समस्या लिएर आएका । यतिन्जेल चुपचाप बसेका पाका मान्छेले जवाफ फर्काए ।

कस्तो समस्या ? पस्कनुस् न त ।

मदिरा पान रोक्ने र सुरक्षा व्यवस्था मजबुत बनाउने विषयमा गाउँको महिला समूहको छलफल सकेर फर्कदै गर्दा विष्णुमाया भाउजुलाई दलविर दाईले मरणासन्न हुनेगरी कुटेर आँगनमा लडाउनुभएको रहेछ । हामीलाई सैह्य भएन । त्यसैले उहाँहरु दुबैजनालाई लिएर आएका ।

जाहेरी दर्खास्त लिएर मुद्दा दर्ता गर्नु परो ईन्स्पेक्टर साब । खरर सबै कुरा बताइन् शारदाले ।

चाडवाडको बेलामा घरका कुराहरु घरमै मिलाउन नसक्ने भएरै आउनु भयो होला । मुद्दा नै दर्ता गर्ने तपाईहरुको राय छ भने प्रमाण पुगेसम्म कानुन कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो । घाउ जाच केस फारम गरौँ । म हल्दार साबलाई पठाउछु, तपाईहरु अस्पतालसम्म गएर सहयोग गरिदिनुस् । ईन्स्पेक्टले पनि विना भुमिका उपाय सुझाए ।

तिम्रो मनको कालो रापबाट निक्लिएको धुवाको राप र तापले तिमीलाई जलाउने भो । भनेको नमानेपछि चाडपर्वमा मामाकै घरमा बस्नु । निक्लिएपछि आफ्नै जङ्गलतिर पस्नु । बिष्नु मायाले सराप्दै आसु झारिन् ।

ढुङ्गो बोल्ला तर अचम्मै लाग्दो गरी दलविर बोलेको छैन । आकाश गंगाबाट पातालको यमुना नदी किनारको केमुनाको रुखनेरको ठूलो शिवलिङ्गमाथि पछारिएर सत्वअस्तित्व र आत्म सम्मान स्खलित भएर गंगामा बगिरहेको छ । पाताल माथिबाट बग्दै आफ्नो अन्त्यष्ठि आफैले गर्दाको अनुभुतिमा हराइरहेको छ । भित्रैदेखि डराइरहेको छ । अनि शब्द बिहिन कराइरहेको छ ।

पिडितको आशु र पिडकको मौनता दर्शक दिर्घामा रमाएका अधिकार कर्मीहरुमा छाएको रौनकले प्रहरीलाई गुह्य कुरोमा चासो लाग्नु अस्वभाविक होइन ।

बिष्नु माया दिदी भीत्र आउनुस् केही कागजातमा सहि गर्नु छ । अरु दुई जना साक्षी पनि भित्र मेरो अफिसमा आउनुस् भन्दै ईन्स्पेक्टर आफ्नो अफिस प्रवेश गर्छन् ।

टेबुलको बायाँ नेपाल प्रहरी र दायाँतर्फ नेपालको राष्ट्रिय झण्डा राखिएको छ । सामुन्ने सोफामा दलविर, सोफाको बायाँ किनारमा बिष्नु माया र दायाँ शारदा र सन्ते बसे ।

अरु केही मान्छेहरु पनि उभिए नजिकै ।

बिष्नु माया दिदी ल भन्नुस् तपाईंहरुको सम्बन्ध कस्तो हो ? तपाईको माग के हो ?

प्रहरीको प्रश्नले उनको आँखा रसाउँछन् । हातले आँखाका डिलसम्म झरेका पिडाका अस्रुबुधलाई पुस्छिन् । र लामो सास तान्दै बोल्छिन् आफ्नै लोग्ने हो । दुई सन्तानको बाबु भइसक्यो । सरकारी जागिरे । यो गाउँको लाहुरे । तर व्यवहार यस्तो छ ।

अनि यी दिदी र अरू मान्छेहरु ? ईन्स्पेक्टरले थपे ।

यी दिदी र उहाँहरु सबै मेरा छिमेकी हुन् ।

तपाईंलाई श्रीमानले पिटेकै हुन् त ?

नपिटी को आउँछ । टर्रो जवाफ ।

हामीले के गर्दिनु पर्यो प्रष्ट भन्नुस् । म अरुको भन्दा पनि तपाईंकै मुखबाट आएको कुरा सुन्छु ।

आफ्ना भन्नेले त केहि गरेनन् तपाईहरु के गर्नुहुन्छ ? यति बोलेर चुप लागिन् ।

सिधासिधा भन है बिस्नुमाया । हामी गाउँलेले उचालेजस्तो पनि नहोस् तिमीले न्याय पनि पाउनु पर्छ । शारदाले उकेरा हालिन् ।

सर बरु उहालाई उहाँको आफ्नै घरमा पठाइदिनुस् । मेरो घरमा फर्किएर पनि नआउन् ।

म मरे पनि मतलब छैन । छोराछोरीले खाउन् नखआउन् । चाडवाड आओस् जाओस् यिनको के भर छ र ? स्याकस्याक नाक बजाउँदै यति बोलेर चुप भइन् ।

के यिनको अर्को पनि घर छ र ? केहि समयको सुन्यतापछि प्रहरीले प्रश्न गर्छन् ।

होला र त घरमा आउँदैनन् । नाक पुछ्दै बोल्छिन् उनी ।

तपाईले त अन्यौल पो बनाउनु भयो । कुरा के हो विस्तारमा भन्नुस् । केही रहस्य होला भन्ने अनुमान गरेर ईन्स्पेक्टरे चासो गरे ।

सम्पति धेरै नभए पनि सरकारको सिन्दुर लगाएको मान्छे हो । हेरचाह-माया ममतामा कुनै कमि हुदैन । घरमा बेहुली भएर भित्रिनुअघि उनका बाबा आमाले भनेको स्मरण गरिन् ।

अझ सोझो सिधा र इमान्दार छ । दुःख दिदैन भन्थे । आज त्यही सोझोपन र इमानदारि झुट भयो ।

हेर्नुस सर ! मेरो जेठो छोरो जन्मिने बेलामा यिनको बढुवा भको भन्थे । त्यसपछिका दिनमा कहिल्यै फुर्सद नहुने । जिन्दगी नै अस्तब्यस्त पारिसके । रिसालु आखाँले दलवीरलाई कटाक्ष गर्छिन ।

वर्षमा कहिले चार दिन कहिले सात दिन आउँछन । अलिअलि पैसा पनि पठाउँछन् । तर यिनले पठाएको त्यो पैसाले दुईवटा छोराछोरीलाई पढाउने, घरमा पाहुनापाछा, बुढो ससुरोलाई औषधी, चाडपर्व, खेतीपाति, बिजुली, पानी त्यसैमा ठिक्क । सबैको कचकच मैले कसरी सहनु ? कहिले एउटा नयाँ सारी लगाउन पाएको हैन, सुन, चाँदीको त के कुरा  ।

यीनको तलब पनि कहिले बढ्ने होइन । तिम्रो प्रमोसन कहिले हुन्छ भनेर सोध्यो भने रिसाउँदै सरकारलाई सोध भन्छन् ।

के सोह्र सत्र बर्षसम्म पनि प्रमोसन हुदैन सर ?

उनको गुनासो सुनिरहे सबैले । उनले फरररर बताइरहिन् पण्डितले पुराण भने झैँ । छोरा जन्मिएर एसईई पास गर्दासम्म पनि एउटै पदमा जागिर खान यीनलाई लाज लागेन ! मैले बिहे गर्दा नाङ्गै हिड्ने केटाहरु अहिले यिनकोभन्दा राम्रो पदमा छन् । तलब दोब्बर लिन्छन् ।

न यिनले शहरमा केही गर्न सके न गाउँमा ।

बरु मेरो जिन्दगी बर्बाद भो यीनको नाउँमा ।

यस्ता हरिलठ्ठकसँग जीवन बिताउनु मेरै दोष हो । हुँदाहुँदा कचकच गरी भनेर, लाठोले हान्ने अनि बोकालाई हानेको तँलाई लाग्यो भनेर बहाना बनाउने ? यस्तालाई के सजाय दिने हो आफैँ भन्नुस् सर ।

कुरा सकेर प्रतिप्रश्न पो गरिन् उनले ।

उनका अनौठा कुरा सुनेपछि सबै खासखुस गर्न थाले !

कुटेको भन्दा पनि झुक्किएर पो लागेको रैछ ! बिष्नु माया दिदीले त लौन नि मार्यो भन्दै कराएको हैन र ? रने माईला बोले ।

लडिरहेकै ठाउँबाट हामीले उठाएका हौँ । शारदा र बिनिता एकसाथ साक्षी बने ।

ए दाइ  तपाई त असल मान्छे हैन रहेछ । घर परिवार, समाजलाई, समय त दिनुपर्छ नि । खाली जागिर भनेर मात्र हुन्छ । तपाईंकी श्रीमतीको गुनासै यस कुरामा रहेछ ।

सर मैले जागिर खाए कि जागिरले मलाई खायो ! जीबनका सुनौला दिनहरु, दिनरात हिउँद बर्खा केहि नभनि काम गरेको छु । कहिले हिमाल, कहिले पहाड, कहिले तराई । सुकेको मुखबाट जिब्रो च्याप च्याप पार्दै बोले दलबिर ।

मलाई भन्दा पनि तपाईले आफैलाई प्रश्न सोधे हुन्थ्यो एकपटक ।

मेरो त कामै यस्तो रातदिन खटिनुपर्ने । मसँग नदाँज्नुस् न आफूलाई । दलबिरको प्रति प्रश्नले झस्किएका ईन्स्पेक्टरले जवाफ दिए ।

मनको कुनामा रहेको खुसी बाहेक अरु त सबै भ्रम रहेछन् सर । न घरको न घाटको, न जनको न धनको, फगत उत्साह क्षण भङ्गुर जीवनको । दार्शनिकले झै शब्दहरू ओकले उनले ।

सन्नाटा छाउँछ फेरि ।

गम्भिर दलबहादुरको अनुहार ईन्स्पेक्टरको अनुहारमा तेर्सिन्छ । त्यसरी आफूलाई हेरेको असहज मान्छन् ईन्स्पेक्टर ।

तपाईंले लगाएको र मैले लगाएको वर्दी एउटै हो सर । कहिले मेची, कहिले काली, कहिले बाढी कहिले पैह्रो । यही होइन र सर हाम्रो कर्म ?

मुख आ पारेर अचम्ममा परेका ईन्स्पेक्टरलाई लाग्छ यो कुनै सिनेमाको सस्पेन्स स्टोरी हो । यो मान्छे प्रहरी होइन । नत्र यतिन्जेल किन रहस्य मै रह्यो कुरो ?

अचम्म नमान्नुस सर मैले न आफ्ना कुरा सुनाउन पाएँ, न यिनले सुने । यहाँ आएर पनि बोल्न मन लागेन । समय पाउँला भनेर पर्खी बसेँ ।

हेर्नुस् सर तपाईले जागिर खाइरहनु भयो होला । तर मैले बाइस बर्ष खर्चिएर खाएको जागिरले मलाई खाईरह्यो !

परिवारको बुझाइमा पनि फरक पर्ने रहेछ ।

ए ! त्यसो भए तपाई पनि पुलीस ? कुन पदमा हुनुहुन्छ ? अलिकति खुशी अलिकति दुखी जस्तो भावमा देखिएका ईन्स्पेक्टर ऊ पुलिस हो होइन पक्का हुन चाहन्थे ।

के कुरा  गर्नु सर । आज भन्दा बाइस बर्षअघि बिकम सिध्याएर प्रहरी सहायक निरीक्षकमा भर्ना भएको थिएँ । त्यसको सातौ बर्षमा एकतह बढुवाको अबसर पनि प्राप्त भयो । त्यसपछिको कथा मेरो श्रीमतीले भनिसकिन् ।

दलविरको जवाफ सुने पछि साच्चै वातावरण बदलियो । अस्पतालमा अप्रेसन सकेर डक्टर बाहिर आउँदा बिरामीका आफन्तको कौतुहल, आशा शंका, भरोसा र भय मिश्रित अनुहारले डक्टरको अनुहार हेरेर जवाफ कुरे जस्तै बन्यो माहौल ।

विष्णु माया पनि मौन छिन् ।

तपाई सइ साब ? ईन्स्पेक्टर अझै आफ्नो भ्रमबाट मुक्त हुन प्रश्न गर्छन् ।

दलविर बोल्दैनन्, केबल होको भावमा मुन्टो हल्लाउँछन् ।

के को असइ ? के को सइ ? कुन किताबमा लेखेको छ यस्ता पद ? मैले त कतै कुनै पुस्तकमा पढेको छैन । प्रहरी सहायक निरीक्षक, नायब निरीक्षक, निरीक्षक जस्ता पद पढे, देखेकी छु ।

फेरि कहिल्यै उँभो नलाग्ने कस्ता पद हुन् ?  ।

बाटोको छेउमा बुढो सालको रुखमा रहेका मौरीलाई कुनै बद्मासले ढुङ्गाले हान्दा बाटोमा हिडिरहेका पैदल यात्रीको टाउकोमा मौरी खनिएझै विष्णुमाया प्रहरीमाथि खनिईन् ।

नरिसाउनुस् न भाउजु । मैले त हाम्रो समाजको बोलचालको भाषा प्रयोग गरेको हुँ । कुनै भेदभाब गरेको हैन ।

शारदा, सन्ध्या, साबित्री लगायतका सबैजना एकापसमा मुखामुख गरे । अनि शारदाले हात जोडिन् इनिस्पेक्टर साब हामीलाई माफ गर्नुस् । कुरा अर्कै रहेछ । हामीले सम्झाइबुझाइ गर्नुपर्नेमा वास्तविकता नबुझी आयौँ ।

के बिग्रियो र ? तपाई हाम्रो भेट भयो नि । जवाफमा ईन्स्पेक्टरले सामान्य औपचारिकता दर्साए ।

दलविर दाई नरिसाउनुस् है । साँच्चै गल्ति नै पो गर्नुभयो कि भन्ने थियो । होइन रहेछ । सारा मान्छेलाई सम्झाउँदै हिडेको मान्छे तपाई हामीलाई सम्झाउन सक्नु भएन भनौँ कि हामीले बुझ्न चाहेनौँ ।

दलविर मुस्कुराए मात्र, केही बोलेनन् ।

तिमीहरु सबै खुस्कियौकि क्या हो ? विष्णुमाया कड्किन् ।

बहिनी ! हिरामा किरा पार्नु हुदैन । दाईलाई हामी ठिक पार्छौ घरै जाऊ । शारदाले सम्झाइन्

सबैजना निस्किए । विष्णुमाया रिसाउँदै तिनकै पछि लागिन् ।

दलविरले अदपसाथ ईन्स्पेक्टरलाई सलाम गरे । अनि श्रीमतीका पछि लागे लुरुलुरु ।

ईन्सपेक्टरले उनीहरु गएको दृष्य हेरिरहे निकैबेरसम्म, सायद मनले  आफैलाई पनि हेरिरहे ।

000

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *