‘मेरो कविता कार्यक्रम’ नवपुस्ताका कवि लेखकहरुलाई हौसलामुलक प्रतिस्पर्धात्मक कार्यक्रम
- अशोज ३१, २०८२
- 0
राजधानी केन्द्रित साहित्यिक गतिविधिको विकल्पका रूपमा पूर्वी नेपालमा पनि सिर्जनात्मक अभियानको नयाँ लहर फैलिएको छ। यही अभियानलाई सुदृढ बनाउन “My Platform” को प्रस्तुतिमा दमक –३, बेलडाँगी क्याम्पमा विशेष कविता रियालिटी शो ‘मेरो कविता’ आयोजना गर्ने तयारी गरेको छ।
कार्यक्रमको उद्देश्य पूर्वका नव–साहित्यकार तथा कविहरूलाई अवसर प्रदान गर्नु, मौलिक रचनालाई राष्ट्रिय स्तरसम्म ल्याउनु र युवापुस्तामा साहित्यप्रतिको आकर्षण बढाउनु रहेको आयोजकले बताएका छन्।
“हामी पूर्वमा पनि साहित्यको मोल बुझ्ने र सिर्जना गर्ने सामर्थ्य छौं भन्ने देखाउन चाहन्छौं,” आयोजक केबल क्षेत्रीले भने, “यो कार्यक्रमले नयाँ पुस्ताका आवाजलाई मञ्च दिनेछ र उनीहरूलाई हौसला र प्रोत्साहनको नयाँ वातावरण सिर्जना गर्नेछ।”
कार्यक्रममा चारजना निर्णायकहरु हेमन यात्री, उत्तम तुम्सा, सुमन स्मारिका र अज्ञातदधिलाई चयन गरिएको छ ।निर्णायकहरूले कविता प्रस्तुति, विषयवस्तु, लय, सन्देश र अभिव्यक्तिको आधारमा प्रतिस्पर्धीहरू मूल्यांकन गर्नेछन्।
रियालिटी शो अन्तर्गत अनलाइन आव्हानबाट प्राप्त कवितामध्ये योग्य कविहरू छनोट गरिनेछन्।
छनोटपछि ५० जना कविहरूलाई भौतिक अडिसनका लागि आमन्त्रित गरिने र त्यसपछि तीन दिनसम्म बन्द प्रशिक्षण ९वर्कशप० सञ्चालन गरिने योजना रहेको आयोजकले बताएका छन्।
कार्यक्रमका विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने कविहरूलाई नगद पुरस्कार, ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ।साथै उत्कृष्ट रचनाहरूलाई डिजिटल माध्यममार्फत देश–विदेशका साहित्यप्रेमी समक्ष पुर्याउने योजनासमेत रहेको आयोजक क्षेत्रीले जनाएका छन्।
आयोजकका अनुसार यो कार्यक्रमले काठमाडौं केन्द्रितताको सन्तुलन कायम गर्दै पूर्वी नेपालमा नयाँ साहित्यिक चेतना र सिर्जनात्मक वातावरण निर्माण गर्ने मार्ग खोल्नेछ।स्थानीय युवा, साहित्यप्रेमी र कलाकारहरूमा यसले उत्साह र उत्सुकता जगाएको छ।














