सागर गैरेको नियात्रा ‘एउटा अल्बाट्रस लोकार्पण

news-details

काठमाडौ, साहित्य, यात्रा र संस्कृतिको अन्तर्सम्बन्धलाई उजागर गर्ने नियात्रा कृति ‘एउटा अल्बाट्रस : प्रशान्त महासागरदेखि काला सागरसम्म’ को काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । माया पब्लिकेसन्सद्वारा आयोजित कार्यक्रममा साहित्यकार, नियात्राकार, पत्रकार तथा पाठकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा पुस्तकका लेखक सागर गैरेले आफूले विभिन्न देशहरूको भ्रमणका क्रममा देखेका समाज, संस्कृति, इतिहास, प्रकृति र मानवीय अनुभूतिहरूलाई नियात्राको स्वरूपमा पुस्तकमा प्रस्तुत गरेको बताए । यात्रा भनेको भौगोलिक दूरिलाई पार गर्नु मात्रै नभएर आत्मअन्वेषण, संस्कृतिको अध्ययन र विश्वलाई बुझ्ने माध्यम भएको उल्लेख गरे । कोहलपुरमा बसेर लामो समयदेखि साहित्य साधनामा सक्रिय गैरेको यो कृतिमा मलेसिया, भियतनाम, भारतको गोवा, फिलिपिन्स र जर्जिया भ्रमणका अनुभवहरू समेटिएका छन् । पुस्तकमा प्रशान्त महासागरका किनारादेखि युरोप–एसियाको संगम क्षेत्र मानिने काला सागर आसपासका भू–भागसम्मको यात्रालाई लेखकले संवेदनशील र कलात्मक ढंगले प्रस्तुत गरिएका छन् ।

नियात्राकार युवराज नयाँघरेले पुस्तकले नेपाली नियात्रा साहित्यमा नयाँ ऊर्जा थपेको बताए । उनका अनुसार सागर गैरेले यात्रा गरेका स्थानहरूको भौगोलिक विवरण मात्र दिएका छैनन्, ती स्थानका मानिस, संस्कार, जीवनशैली र सभ्यताको अन्तध्र्वनिलाई पनि समेटेका छन् । नियात्राकार तथा लेखक प्रतीक ढकालले पुस्तकलाई विश्वलाई नेपाली दृष्टिकोणबाट बुझ्ने प्रयासका रूपमा व्याख्या गरे । लेखक गैरेले विदेशी भूगोल र समाजको वर्णन गर्दा आफ्नै देश, समाज र संस्कृतिसँग तुलना गर्ने शैली अपनाएको बताए । ढकालले नियात्रामा तथ्य, अनुभूति र साहित्यिक सौन्दर्यको सन्तुलन आवश्यक हुने उल्लेख गर्दै गैरेको कृतिमा ती तीनै पक्षको सन्तुलित उपस्थिति रहेको बताए ।

साहित्यकार तथा नियात्राकार दामोदर पुडासैनी किशोरले पुस्तकलाई विभिन्न देशका भूगोलभित्र मानव सभ्यताको विकासक्रम खोज्ने कृतिका रूपमा चित्रण गरे । उनले भ्रमण गरेका स्थानहरूलाई केवल मनोरञ्जनको विषय नबनाई त्यहाँको इतिहास, राजनीतिक परिवेश, सांस्कृतिक विविधता र सामाजिक संरचनासमेत समेटेको बताए । नियात्राकार जय छाङ्छाले पुस्तकको भाषाशैली, प्रस्तुतीकरण र दृश्यात्मक वर्णनलाई विशेष रूपमा प्रशंसा गरे । अनुसार लेखकले देखेका दृश्यहरूलाई शब्दमार्फत जीवन्त बनाउन सफल भए । साहित्यकार तथा नियात्राकार भवानी खतिवडाले पुस्तकले विश्व नागरिकताको चेतना विस्तार गर्ने धारणा व्यक्त गरिन् । उनले सीमित भूगोलमा केन्द्रित सोचलाई फराकिलो बनाउँदै विभिन्न संस्कृति, भाषा र जीवनपद्धतिप्रति सम्मान जगाउने क्षमता पुस्तकमा रहेको बताइन् ।

पुस्तकमा समेटिएका पाँच देशका अनुभवहरूले पाठकलाई फरक–फरक सभ्यता र जीवनशैलीसँग परिचित गराउँछन् । मलेसिया सम्बन्धी अध्यायहरूमा बहुसांस्कृतिक समाज, आधुनिक शहरी विकास र दक्षिणपूर्वी एसियाली जीवनशैलीको चित्रण गरिएको छ। भियतनाम को सन्दर्भमा युद्धको इतिहास, राष्ट्रिय आत्मसम्मान र तीव्र विकास यात्रालाई नियात्रात्मक शैलीमा प्रस्तुत गरिएको छ । कार्यक्रमका वक्ताहरूले कोहलपुर जस्तो मोफसलमा बसेर निरन्तर साहित्य साधनामा सक्रिय सागर गैरेले नेपाली नियात्रा साहित्यमा महत्वपूर्ण योगदान पु¥याउँदै गएको उल्लेख गरेका छन् ।

कार्यक्रममा सहभागीहरूले ‘एउटा अल्बाट्रस : प्रशान्त महासागरदेखि काला सागरसम्म’ लाई यात्रा संस्मरण नभइ विश्वका विविध समाज, संस्कृति र मानवीय अनुभूतिहरूलाई नेपाली भाषामा अभिलेखीकरण गर्ने महत्वपूर्ण साहित्यिक कृतिका रूपमा मूल्यांकन गर्नुपर्ने बताएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया