दक्षिण कोरिया रोजगारी : कमाईसँगै ‘डिप्रेशन’को शिकार पनि

news-details

‘किन यो नबोलेको हँ ?’

अपार्टमा रहेका सबैले यही भन्थे अनन्तलाई । धनकुटाको गाउँमा हुर्केको अनन्तले देखेको ठूलो सहर भनेको धरान मात्र थियो । त्यो पनि ऊ एसएलसी दिने बेलामा गएथ्यो धरान ।

‘ट्युसन नपढी हिसाबमा पास भइन्न ।’ हिसाब भन्यो कि पिसाब चुहिने चार पाँच जना केटाहरूसँग ऊ धरान गएथ्यो ट्युसनका लागि । त्यसपछि एकै पटक कोरिया पुगेथ्यो । एक महिना अघि ऊ कोरिया पुगेथ्यो ।

राजधानीदेखि निकै परको कृषि फार्ममा ऊ पुगेथ्यो । एक तल्ले लामो घरको माझको ठूलो कोठामा अनन्तको बसाइ छ ।

‘अनन्ते ।’

सबैले बोलाउने नामै यही छ ।

‘मलाई रिस उठेको छ ।’ उसले सबै साथीहरूलाई घुरेर हेर्दै भन्यो । अनन्त नेपालबाट आएदेखि नै रिसाउँथ्यो । अहिले झन् बढी रिसाउन थालेको छ । कोठामा अरु सात जना बस्छन् । सबैको आलोपालो काम छ । छुट्टीको दिनमा सँगै सबै भेला हुन्छन् । अघिपछि एकदुई जना भने भेटिन्थे ।

कोठाको झ्यालमा एकोहोरो बाहिरपट्टि मुन्टो देखाएर बसिरहेको छ अनन्त । ऊ रातो–रातो गाला फुलाएर बसेको छ । सानो–सानो कुरामा रिसाउँछ ऊ ।

बिहान साथीले ढोका लगाउँदा सानो आवाज आउँदा पनि रिसायो । बाथरुमबाट नुहाएको आवाज आउँदा पनि पानीसँग समेत ऊ सन्कियो ।
‘माछा जत्तिकै डुबिरहनुपर्छ पानीमा ?’, ‘कि भ्यागुता हुन् यी ?’, ‘कत्ति पानीमा मात्र डुबिरहेका ! दिक्कै लागिसक्यो ।’ अनन्ते फन्कियो ।

काम गरेर फर्किदा उसको अनुहार बेस्सरी फुलेको थियो । अरुहरूले भनेका– ‘म्यानेजरले रिसाउने मान्छेको यहाँ काम छैन । जुन जहाज चढेर आएको, त्यसैलाई बोलाएर चाँडोभन्दा चाँडो फर्की भन्यो रे !’

अनन्त आज रिसाएको रिसाएकै छ । एक हप्ता अघि त यो झन् रुने गथ्र्यो । जतिखेरै आँसु पिलपिल गथ्र्यो । ‘हत्तेरिका कति रोएको ?’
आइतरामले फकाएर सोध्यो ।

‘आमाको सम्झनाले सतायो ।’, ‘यस्तै हो पैसाले बिर्साउँछ, दुईचार दिनपछि । बिर्सने कोसिस गर्नु ।’ अनन्तेलाई उल्टै उसले सम्झायो ।

बाहिर पानीको गिलास लिएर गएको ऊ–एकछिनमा फेरि जस्ताको गएर फर्कियो । अहिले त नाक बजाउँदै फर्किरहेको थियो झन् बेस्सरी ।
आँखा रसिला हुन्थे जतिबेलै अनन्तेका ।

उसका हात र आँखाको भेटघाट भइरहन्थ्यो । घरी देब्रे, घरी दाहिने हात परेली पुछिरहेका भेटिन्थे । आँखाको आँसुको भल रोकिएन ।
अनन्ते त्यत्तिकै पनि रोइदिन्थ्यो ।

उसलाई ठुलै कुरो चाहिएन । साथीहरूले खुबै सम्झाए । तर त्यो सम्झाइबुुझाइ उसका लागि उल्टो पो भयो । उसलाई कोठामा नदेख्दा उसको रुवाइबाटै धेरैले नक्कल गरे । अनन्ते आएपछि भने सबै मौन भए ।

‘केही गरी हाम्ले गरेको नक्कल उसले थाहा पाएमा–रोएरै हायल–कायल पार्छ । त्यो काम ऊ आउनुअघि नै सक्नुपर्छ ।’

अनन्ते नआउँदा ठट्टा गर्थे साथीहरू । जतिखेरै उसका आँखामा आँसु देखेर दिक्क र खिन्न भए साथीहरू कतिले हप्काएजस्तो गरी सम्झाए । कतिले माया गरी सम्झाए उसलाई । तर उसको आँसु रोकिन निकै गा¥हो भयो ।

नाके स्वरले ऊ बोल्थ्यो । उसको बोलीबाट थाहा हुन्थ्यो–‘अनन्ते आँसुको मुल फुटाउन पुरै तयार छ है ।’ अनन्ते ह्वाँ–ह्वाँ रोएन । तर सुकसुकाउन पनि छोडेन ।

‘आज बिहान फार्ममा गजबको रायोको साग देखेथेँ । छिप्पिएकोलाई कम्पनीले फ्याँक्ला जस्तो छ । मिस्टर किमलाई भनेर ल्याउनु प¥यो । कम्ती मीठो हुन्छ ।’ साइँलो थापाले यति भनेथ्यो । उत्तरपट्टि फर्केको अनन्ते नमज्जाले रोयो । उसले रुँदै आमा सम्झेको बताएथ्यो ।

यो हप्ता भरी अनन्तेको बेग्लै आनीबानी देखे साथीहरूले । उसको चालामाला देखेर सबै छक्क परे । अनन्तेले खानै छोड्यो  । ऊ केही पनि खाँदैनथ्यो । साथीहरूले खुबै फकाए, सम्झाए । कतिले त गाली नि गरे । तर खानै छोड्यो यो अनन्तेले । ‘यसै त दुब्लो मान्छे । यसरी नखाई–नखाई बस्ने हो भने चिलिम च्वाँट होइएला है परदेशमा फेरि !’ तोयानाथ काकाले सम्झाए ।

अरुभन्दा थोरै कपाल फुलेका उनलाई सबैले काका भन्थे । काकाले भनेको सबैले मान्ने नियम थियो त्यो कोठामा । ‘हेर अनन्ते, नखाई–नखाई धुर्की नलगा । उल्टै कोरियालाई नै फाइदा हुन्छ । यस्ता केटाकेटी पारा नदेखा है ।’ काकाले हप्काए नै ।तर राम्रोसँग कुरै सुनेन अनन्तेले । काकाको कुरा पुरा होउन्जेलमा ऊ बाहिर चौरमा पुगेको थियो ।

रामचन्द्रेले मासु परपरी भुटेको थियो । तैपनि उसले खाएन । ‘एक चौटा समेत मुखमा हालेन ।’ हर्केले कचौराबाट त्यै मासु बेलुका चाख्दै भन्यो । हो, खाएन अनन्तेले । कत्ति गरे पनि खाँदै खाएन । ‘तिमेरुले अमृतै पकाए नि मलाई रुच्दैन ।’ एक हप्तापछि उसले भन्यो ।
‘मरिकाटे भोक लाग्दैन !’ उसले दिक्दारी भएर सबै साथीहरू सामु भन्यो । कति गरे पनि नखाएपछि साथीहरू डराए । ‘यो नखाई–नखाई सुक्ने भो नि !’

कोठामा बस्ने साथीहरूले उल्टै चिन्ता देखाए । बेला–बेलामा पानीले ओठसम्म भिजाउँथ्यो । अरु खानेकुरा देखेपछि ऊ कोठाबाट बाहिरिहाल्थ्यो । ‘मलाई भोक छैन ।’ अनन्तेले सबै साथीहरूलाई यही भन्थ्यो ।

छुट्टीको दिनमा सबै साथीले मोमो पकाए । गोलभेडा र धनिया पिँधेर चखिलो लेदो अचार बनाए । तर उसले एक थोपा चाख्दा पनि चाखेन ।
‘देउताले समेत चाख्न पाउँदैनन् यो । चाख न चाख एक डल्लो मोमो !’ देवीलालले फकाए । तर उसका कानमा सबैले गरेको बिन्तीभाउ समेत पुग्नै सकेन । उसले नखाई–नखाई एक हप्ता बितायो ।

यो हप्ता अनन्तेको अनौठो स्वभाव देखाप¥यो । उसको हाउभाउ देखेर सबै साथीभाइ छक्कै पर्न थाले । निकै गजबको बानीबेहोरा देखिन थाल्यो अनन्तेको ।

वल्लो खाट र पल्लो खाटमा सबैजना फ्वाँ–फ्वाँ सुत्थे । तर अनन्ते जुरुक्क उठेर रातभरि जाग्राम बस्थ्यो । ऊ धुमधुम्ती बस्थ्यो ।
‘सुत्नुपर्दैन ?’

पल्लो खाटबाट रातिको एकबजेतिर सन्चमानले करायो ।

‘सुत–सुत ।’उसले भन्यो र अर्कोपट्टि फर्कियो ।

अनन्तेले भन्यो –‘आँखामा एक थोपो निन्द्रा आएन उसलाई । जतिसुकै गरे पनि अनन्ते सुत्न सकेन ।’ वर्किदा र फर्किदा नै उसको रात बित्थ्यो ।

एक हप्तापछि बल्ल ऊ सुत्न खोज्यो । उसको हाउभाउ देखेर कोठाका साथीहरू घोर अनौठो मान्थे । हिजोआज ऊ ओछ्यानमा ढल्कन नपाई घुर्न थाल्थ्यो । गएको हप्तादेखि झनक्क–झनक्क रिसाउने गर्न थालेको छ अनन्ते । स–सानो कुरामा पनि ऊ सनन्न रिसाउँथ्यो । काममा जाँदा पनि ऊ फन्किइरहेको हुन्थ्यो । कामबाट फर्किदा पनि ऊ रन्न, रन्केर आइरहेको हुन्थ्यो । उसको रिसको पारो जतिखेरै बढिरहेको देखिन्थ्यो ।

काकाले एक दिन भने– ‘घर छोड्दाको रोग हो यो !’, ‘होम सिक !’

रामचन्द्रेले कपाल कोर्दै गर्दा भन्यो । एक्कासि कोठामा पसेको अनन्ते देखेर अरुहरू छक्कै परे । ऊ अनुहारभरि पसिनाले लतपतिएको थियो । ‘म घर जान्छु ।’,‘घर जाने म त ।’ अनन्ते चम्की–चम्की बोल्न थाल्यो ।

झण्डै चार लाख खर्चेर कोरिया पुगेको अनन्तेले चार हप्ता पनि राम्रोसँग काम गरेको छैन । उसले यो पारामा कति पैसा कमाउला ?
अनन्तेको संख्या घटेको छैन् । झन् बढिरहेको छ कोरियाभरि ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *