बडादशै : चाडवाडका नाममा ‘पशु बली’ दिनु ईश्वर कै बली होइन र ?

news-details

‘रिहर्सल गर्नुपर्ने रे बोका काटेको !’ फोन आयो फेरि ।

नाटकको रिहर्सल नाटक गरेरै हुन्छ । परेडको परेड खेलेरै हुन्छ, सलामीको सलामी गरेरै हुन्छ । तर बोका काटेको रिहर्सल कसरी हुँदो हो ? उत्सुकता पैदा ग¥यो फोनले ।

लौका काटेर गरियो रिहर्सल । रिहर्सल लौकामा गरेर बोका काट्न मिल्छ ? तर्क ग¥यो सुमितको मनले ।

भोलिपल्ट बिहान सात बजेर एक मिनेटमा पूजाको साइत रहेछ । ऊ पुग्दा मौलो अघिल्तिर सजाइएको झकिझकाउ पालमुनि दौरा–सुरुवालमा ठाँटिएर बसेका थिए वरिष्ठदेखि कनिष्ठसम्म ।

पोडियम र माइक चेक गरिसकेपछि उसका आँखा बटालियनको वरिपरि घुमे । ध्वजा पताकाले सजिएको थियो प्रवेशद्वार । बटालियनका प्रहरीहरू पोडियम पछिल्तिर पङ्तिबद्घ सामेली भएका थिए । तिनका परिवारका सदस्यहरू पालदेखि पर्तिरको खाली ठाउँमा प्लाष्टिकका कुर्सी ओगटेका देखिए । निकै तामझाम थियो ।

‘चुरोट छोड्न खैनी थालेको दुवै बानी लागेको’ जस्तै होला यो चैते दसैँ । चैत छोडेर असोजमा मनाउन थालेको दुवै छोड्न नसकेको । दिमागमा आएका यस्ता कुराले मुस्कुरायो एक्लै ।

त्यही बेला पूजाका प्रमुखकर्ता गेटमा देखिए । घडि हे¥यो सात बज्न एक मिनेट मात्र बाँकि थियो । भूमिका बाँधेर माइकमा बोल्न थाल्यो ऊ– ‘…..अब प्रमुख कर्तामा सलामी अर्पण हुनेछ ।’

पालमा बसेका सबै उठे । सलामी मञ्चमा चढे प्रमुखकर्ता । कमान्डरको कासनपछि सलामी टोलीले झ्याप–झ्याप राइफल सलामी दियो । सङ्गीत टोलीले धून बजायो ।

चैतको चिसो बिहानीे चिर्दै नजिकैको सडकमा कुदेका गाडीका घ्यार्रघ्यार्र र ट्याँट्याँ प्रहरी सङ्गीतसँग मिसिँदै हराउँदै थिए निरन्तर ।
– ‘मौलोमा पूजापाठ तथा सङ्कल्प गरिने कार्यक्रम रहेको हुँदा पूजास्थलमा आसन ग्रहणका लागि प्रमुख कर्तालाई हार्दिक अनुरोध गर्दछु ।’ सिलसिला जोडिरह्यो सुमितले ।

ओ हो ! यतिन्जेल किन आँखा नपरेका ? कोत अगाडि मृत्युको पर्खाइमा बसेको एउटा भैँसीको पाडो सहित बोकाको लाइन थियो । त्यो देखेर नर्भस भयो ऊ । अगाडि उभिएर यत्रा बोका काटेको हेर्दै बोल्नुपर्ने ? बोकाहरू शरीरको बलि दिने वाला थिए, ऊ आदर्श र विवेकको बलि दिनेवाला । दसैँमा आफ्नै घरमा खसी काटेको कहिल्यै हेर्न नसक्ने उसले यति ठूलो हिंसाको साक्षी बस्नु पर्दा आफूलाई तिनै बोका सरह ठान्यो ।

खसीको घाँटी छिनेर खसी काट्नेको खुट्टा नै छिनिने हो कि ! खसीको घाँटी बाँधेको डोरी समात्नेको टाउकोमा कत्ती पो बजारिने हो ! त्रासहरू थपिन्थे दसैँमा एउटा खसी काट्दा त, आज के के हुने हो ! ऊ अत्तालियो ।

एकपल्टको दसैँमा महेन्द्रको घरमा खसी काट्नै लागेका बेला ऊ टुप्लुकिएछ । उसको आँखा पर्नु र मार हान्नेको तरवार बोकामाथि पर्नु एकसाथ भयो । मान्छेको खुट्टा काटोस् न घाँटी । खसी कै घाँटी छिनेन । प्या ऽ ऽ गरेर लड्यो र चिच्याइरह्यो छटपटाएर आर्तनादमा । त्यो दर्दनाक दृश्यले ऊ झण्डै बेहोस भएको थियो । त्यसपछि त स्कुल जाँदाआउँदा समेत गोशखान तिरको बाटो कहिल्यै हिँडेन । खसी, राँगा काटेको हेर्नुपर्छ भनेर ऊ सधैँ तर्सिरहन्थ्यो ।

सङ्कल्प गरे प्रमुख कर्ताले । हात धुन पानी हालिदियो एउटाले, साबुन दियो अर्कोले । तेस्रोले दिएको तौलियाले हात पुछेर उनी पालमुनि बस्न आए फेरि ।

मौलो नजिक कुभिण्डोलाई चारवटा खुट्टा हालेर उभ्याइएको थियो । सलामी टोलीले राइफल आकाशतिर ठड्यायो । सबैले कक् गरे । च्वाट्ट कुभिण्डो काटिनु र डडडम्म फायर हुनु एकसाथ भयो ।

पालो आयो बोकाको । एकेक जनाले एकेक वटा बोका लाइन लगाएर समातेका थिए । सबैभन्दा अगाडिको बोकोलाई तानेर लग्यो रातो गञ्जी र नीलो कट्टु लगाएको एउटा लुरेले । भाग्यमानी रहेछ मृत्युको लाइनमा बसेर पटकपटक मर्नु त परेन । मनमनै तर्क ग¥यो सुमितले ।

एउटाले घाँटीको डोरी समात्यो, अर्कोले पछाडिको खुट्टा । हातमा कत्ती बोकेको मोटेले बोकाको गर्धनमा पानी छर्कियो, चिसोले म्याया.. गरेर कराउँदै टाउको हल्लाएर पानी फाल्यो । सुमितका पछाडि पङ्तिमा उभिएकाहरूले खासखुस गरे । …मान्यो, मान्यो…मान्यो…. ।

पालमा बसेका कनिष्ठ, वरिष्ठहरू कोही फोनमा व्यस्त थिए, कोही एकापसको कुराकानीमा । कोही मौलोतिर तीखा आँखा तेस्र्याएर बसेका थिए । छ्याक्क घाँटी छिन्नु र गोली फायर हुनु एकसाथ सुन्यो उसले । शक्तिशाली मान्छेले निरीह बोकाको घाँटी छिनाएकोमा हिटलर–ताली बज्यो परररररर ।

काटिसकेको बोकाको गिँड तीव्र गतिमा मौलो वरिपरि घिसारे तिनले । अब काटिनुपर्ने बोको म्या.. गर्दै उम्किने असफल प्रयास गरिरहेको थियो । मृत्युको भयले कराएको थियो वा आफ्नी आमा सम्झेर चिच्याएको थियो, मान्छेले कसरी बुझोस् अनाथ पशुको भाषा, जो उसलाई छिनालेर धर्म–संस्कृति बचाइरहेका थिए ?

‘नकरा’ उसलाई समातिरहेको जवानको हातबाट डोरी थुतेर लग्यो मोटेले । अर्कोले भुइँँको रगत छोप्न बालुवा छरिरहेको थियो ।
बल गरेर पछि हट्दै अनाहक हत्याको विरोध ग¥यो बोकाले । नीलो गञ्जीवाला मोटेले घिसा¥यो । मान्छेको बलसँग हारेर घिसारिएपछि चिच्यायो अन्तिम ध्वनि म्या…ग¥यो र इहलीला समाप्त ग¥यो ।
त्यो दृश्य नियालिरहेको सुमितको मन विगततिर छेकारो मार्न थाल्यो एकाएक । लहान आक्रमणमा परेर बाँचेका प्रहरीले सुनाएका घटनाले टनटन भयो दिमाग । विद्रोहीको कब्जामा पुगेका उनीहरूका दुवै हात बाँधेर घोप्टो पारी सडकमा लहरै सुताएपछि एउटा विद्रोहीले भनेछ– ‘जा ट्रक स्टार्ट गर । किचेर हेरौँ कस्तो हुन्छ !’
– ‘त्यो भन्दा त ताकीताकी गोली हानौँ न कसरी छटपटाउँदा रहेछन् ।’ अर्कोले थप्यो ।

त्यसैबेला छेउतिर सुताएको एउटाको टाउकोमा फरुवा बज्रेको सुनियो ‘ख्याप्प’ । आमा.. भनेर निकैबेर चिच्चायो र शान्त भयो ऊ । सँगै घोप्टिएकाहरूको मनको त्रास उनीहरू आफैँले बयान गर्न सक्ने खालको थिएन । त्यसबेला उनीहरूको चाहना जिन्दगी थिएन । केवल एकै गोलीमा प्राण त्याग्न पाउने सजिलो मृत्यु थियो ।

एकछिन गाडी, गोली र फरुवा केही पनि चलेन । जल्लादहरू एकैठाउँ झुरूप्प भेला भएर खासखुस गरेझैँ सुनियो । त्यसपछि बाँधिएका उनीहरूका हात खोलिए र उभ्याएर आदेश दिइयो– ‘आइन्दा जम्काभेट नहोस् ! आजैदेखि जागिर छोडेर जानू !’

आदेश जे दिए पनि जीवनदान दिएकोमा आभारी भए ती क्रुर विद्रोहीप्रति । अघि जल्लादझैंँ लागेका मान्छे अहिले जीवनदाता भए । पछि थाहा पाए रे विद्रोहीहरूले मार्न चाहेको उनीहरूलाई होइन रहेछ । त्यसैले जीवनदान पाएका रहेछन् । फरुवा हानेर मारेको पनि निर्दोष थियो भन्थे !

‘यी बोका लहानका ती पुलिस भन्दा पनि निर्दोष हुन् । दोषी त हाम्रो मन हो । लोभ, रिस, ईष्र्या, घृणा, भ्रष्ट आचरण, अहम्जस्ता आफूभित्रका नकारात्मक पक्षलाई बलि दिन सके कति पवित्र हुन्थ्यौँ हामी !

मान्छेको अविवेकप्रति अचम्म लाग्छ उसलाई जो अर्काको जिन्दगीलाई बलि दिएर संस्कृति बचाउँछ । सुनाम संस्कृतिहरू जो लोप हुँदैछन्, वास्ता गर्दैन । प्राणी ईश्वरको रचना हो । भुसुनादेखि मान्छेसम्म तिनैका सन्तान हुन् भन्ने आदर्शलाई आस्था बनाएका हामीले कसरी कल्पनासम्म ग¥यौँ कि आफ्नै सन्तानको रगतले नुहाएर खुसी हुन्छन् देवी–देउता ?

प्राणीको भोग माग्छन् भने ती देवी–देउता होलान् ! बलि पनि तिनले निरीह पशुको मात्र माग्छन् ? कुनै धर्मशास्त्रमा लेखिएको होला यस्ता कुरा ? जुनसुकै नाममा आफ्ना सन्तानको विभत्स हत्या हुँदा समेत सुरक्षा गर्न नसक्ने हुतिहारा ईश्वर ?’ मनसँग एकालाप ग¥यो सुमितले ।

उसको सम्झनामा एउटा पुरानो सत्य कथा नाच्न थाल्यो ।

उसको घरैअगाडि देवीथानमा हरेक साल दुईपटक बोका काटेर उँधौली–उँभौली पूजा गर्थे । बोका नचल्नेहरूलाई परेवा जुट्थ्यो । परेवाको प्रसादी रित्याएपछि खै ! खै !! बोकाको प्रसादी चाखौँ भन्दै दुना थाप्नेहरू पनि थिए । के को बलि दिने भन्ने मान्छेको स्वादअनुसार छनौट हुन्थ्यो । के कारण हो, महिलालाई चाहिँ प्रवेश निषेध थियो पूजामा ।

‘आजसम्म हामीले हाम्रा देवी–देउतालाई तिनकै सन्तानको रगत चढाइरहेका छौँ । यसप्रति क्षमा मागौँ र अब अरू थोकले नै पूजा गरौँ’ भनेका थिए सुमितका दामले किशोरहरूले । बूढाहरू बुरुक्क उफ्रिए, ‘नास्तिकहरू’ भन्दै ।

‘उम्रिदैका तीन पातेहरू हो, धर्मकर्म मास्न खोज्छौ’ भन्नेहरूले दस वर्ष नबित्दै फलफूल र खीर चढाएर पूजा गर्न थाले । आमा दिदीहरूले तयार पारेको प्रसाद खान थाले । भगवान्् त झन्् खुसी भएछन् क्यारे ! पहिले भन्दा, उन्नति छ अहिले गाउँमा । समृद्घ छन् सबै ।
गाउँले बुझिसकेको सत्य, सभ्य सहरले किन नबुझेको होला ? मौलोमा विभत्स बलिपूजा चलिरहँदा उसको मनमा अनेक विचारका तरङ्ग फैलिरहेका छन् । ज्यान जाओस् तर असत्यलाई जित्न दिन्न भन्नेहरू पनि बसेका छन् त्यहाँ । डाक्टर, विद्वान्, लेखक, गायक, र शैक्षिक उपाधिका धनी सबै त्यहीँ छन् । तर आमासँग खोसेर ल्याएर एउटा छोराको च्वाट्ट घाँटी छिनाउँदा ताली किन बज्छ ? यसको रहस्य बुझ्न गाह्रो पर्छ उसलाई ।

विगत र वर्तमानको भ¥याङ चढ्दै, झर्दै गर्दा थुप्रै बोकाको हत्या भइसकेछ आँखै अगाडि । मृत्यु पर्वको खुसी पर्खेर बसेका दुइटा बोका र एउटा पाडो मात्रै बाँकी देखिए ।

पालो पर्खिरहेको कालो लिखुरे बोको चिच्यायो । लिखुरेभन्दा पछाडिको जखमले दारीवालले के को रिसले हो उसलाई सिङमा झुन्ड्याएर भुइँँमा पछारिदिएछ । आफू ठूलो र बलियो हुनुको घमण्ड मान्छेमा जस्तै मृत्युको लाइनमा बसेको त्यो पशुमा पनि देखियो । सुमितको मन झन्् विचारका भुमरीमा फसिरह्यो ।

भुइँँमा बजारिएर थरर काम्दै उठेको लुरेलाई घिसारेर मौलोतिर लगे । पछि फर्किएर एकपटक जखमलेतिर हे¥यो लुरेले । जखमले फेरि झम्टेर गयो तर भेटेन । केही क्षणका लागि सुरक्षित महसुस ग¥यो त्यसले ।

अन्तमा, बाँकी रहेको बोको र पाडोको बलिबाट सङ्कल्प पूजा गर्न पुनः प्रमुख कर्ता मौलोमा गए उसकै अनुरोधमा ।

‘एक कठिन कार्यले अन्य कार्यलाई सहज बनाउँछ’ उसका दुई आँखा कोतगार्ड छतमा लेखिएका हेलन केलरका यी भनाइमा परे । किन लेखियो यो यहीँ नै ? हत्याको दृश्य पचाउन कठिन भइरहेको आफूलाई त्यो वाणीले झन् अप्ठेरोमा पा¥यो ।

जखमले दारीवालको पालोमा अलि सजग देखिए मार हान्नेहरू । डोरी र खुट्टा दरो गरी समाए । गर्धनमा निकैबेर पानी हाले, भिज्न समय लागेको हुनुपर्छ । जखमलेले मान्छेसँग पनि जोरी खोज्यो । उसले परक्क मुन्टो बटार्नु र कत्ती उठाएर हान्नु एकसाथ परेछ । घाँटी छिनेन । प्या…. गरेर भुइँँमा ढल्यो ।

‘भरखरै उसको आक्रमणमा परेको लुरेले यो दृश्य देखेको भए, खुसी हुन्थ्यो होला ?’ सुमितलाई यस्तो लागिरहँदा सबैतिर खैलाबैला मच्चिरहेको थियो ।

अत्तालिएर त्यसको घाँटी रेटे । बोकाको घाँटी छिनाउन नसकोमा एउटा कुभिण्डोमा चार सिन्काका खुट्टा जोडे र च्वाट्ट काटे, दोष मेट्नलाई ।
भैँसीको पाडोले लामै सास फे¥यो होला । धेरैबेर तड्पिनु थिएन अब । नभन्दै तरबार उसको गर्धनमाथि पर्न लाग्यो । सबैतिर आशङ्का र गुनगुन चल्यो फेरि–

– काट्दा काट्दै गले होला…,

– नर्भस बनायो बोकाले…,

– गाह्रो छ छिनाल्न…. !

मान्छेहरू आवाजतिर चनाखो भएजस्ता लाग्थे । सुमित ! सुमित ! उसको कानैमा यो आवाज छरिएपछि झसङ्ग भयो । फेरि कतै हराउन थालेछ, पाडाको घाँटी नछिन्ने त्रासमा । छेवैमा आएर सहकर्मी हिमालले उसलाई एउटा कागजको पाना दिएर गयो ।

कागज हे¥यो उसले । कार्यक्रमको अन्तमा मार हान्नेलाई पगरी गुथाएर नगद पुरस्कार दिनुपर्ने रहेछ । पुरस्कार दिनु बेठीक लागेन उसलाई । काटेको हेर्न त हिम्मत नआउने आफ्नाअघि मार हान्नेहरू त साहसी हुन् । पुरस्कार दिनै पर्छ, ठान्यो उसले । पुरस्कारमा सत्ता हात पार्नैका लागि दुनियाँमा भएका यस्ता थुप्रै हत्याका प्रतिस्पर्धा सम्झनामा आए फेरि । पुरस्कारमा सत्ता जित्न नेपालमै भएका कयौँ हत्या, र कोतपर्व सम्झियो । सुदूर र निकट भूतहरूका अनेकौँ हत्या शृङ्खलाहरूको इतिहासले चिमट्यो उसलाई । उभित्रको ईश्वर पटकपटक मरिरह्यो ।

त्यसैबेला पटटट्ट फायर र लामै समयसम्म बजेको तालीले सुमित झस्कियो । भरखरै आएर रुखमा बसेका चराहरू भुरर उँडे । थाहा भयो, पाडो एकै मारमा छिनेछ । आँखा खोल्यो बिस्तारै । छटपटाइरहेकोे पाडोको गिँड देखेर अहिलेचाहिँ खुसी लाग्यो उसलाई । उसका हात ताली बजाउन बिस्तारै अघि सरे ।

मृत्यु–लाइनको अन्तिम पाहुना एकै मारमा छिनाएकोमा मनैदेखि धन्यवाद दियो मार हान्नेलाई ।

(सुस्केराको कथा संग्रह ‘शहीदकी आमा’बाट)

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *