कोरियाको ठूलो लोते ग्रुपले गर्‍यो नेपालमा लगानी संभाब्यता अध्ययन

एनआरएनका विनोद कुँवरको पहलमा लोते ग्रुप नेपालमा
news-details

दक्षिण कोरियाको ठूलो व्यवपारिक समूह ‘लोते’ ले नेपालमा लगानीको संभाब्यता अध्ययन गरेको छ । क्याण्डी उत्पादनमा कोरियाको पहिलो ठूलो कम्पनी लोते गु्रपले नेपालमा लगानीको सम्भावना अध्ययन गरेको हो । एनआरएनका एसिया प्यासिफिक सहसंयोजक तथा कोरियामा रहेका नेपाली व्यवसायी विनोद कुँवरको प्रयासमा लोते ग्रुपका अन्तर्राष्ट्रिय विभागका निर्देशकको समूहले नेपालमा लगानीको संभावनाबारे अध्ययन गरेका हुन् ।

लोते गु्रपमा अन्तर्राष्ट्रिय व्यापार हेर्ने समूह लिएर नेपाल आएका कुँवरले नेपालमा लगानीका संभावित क्षेत्रहरुबारे जानकारी गराउनुकासाथै विभिन्न ठाउँहरुको अवलोकन पनि गराएका थिए । ५ दिने नेपाल भ्रमणमा आएको समूहले लगानीको संभावना भएका अधिकांश क्षेत्रको अध्ययन गरेको हो ।

अन्तर्राष्ट्रिय व्राण्डले नेपालमा गरिरहेको व्यापार अध्ययन गर्न दरवारमार्गको केएफसी, पिज्जा हट, चिकन उत्पादन गरिरहेको बालाजुको भ्याली कोल्ड स्टोर, कालिमाटीको तरकारी बजार, मोनोरेल तथा अन्य क्षेत्रको भ्रमण गराएको कुँवरले जानकारी दिए । नेपालमा मोनोरेलको निर्माण गरिरेहका कुँवरले अन्य संभावित ठाउँमा समेत मोनोरेलमा कोरियाको लगानी भित्र्याउन प्रयास गरिरहेका छन् ।
‘लोते गु्रप कोरियाको ठूलो कम्पनी हो, उनीहरुले नेपाल बाहेक धेरै देशमा लगानी गरिरहेका छन्, नेपालमा पनि लगानी भित्र्याउनका लागि पहल गरेको हुँ’ एनआरएन सहसंयोजक कुँवरले जानकारी दिए । सहसंयोजक कुँवर नेपालमा कोरियाको लगानी भित्र्याउने मात्र नभएर नेपालीहरुको सामूहिक लगानी ल्याउन प्रेरित गरिरहेका छन् । एनआरएनले नेपालमा विदेशी तथा नेपालीहरुकै सामूहिक लगानीमा जोड दिइरहेको बेला कुँवरले थालेको प्रयासलाई सबैले सकारात्मक रुपमा हेरेका छन् ।

लोते ग्रुपका अन्तर्राष्ट्रिय विभागका निर्देशक मार किमको नेतृत्वमा आएको कोरियन समूहले नेपाल बसाइको क्रममा व्यवसायी, सरकारी पदाधिकारी तथा उच्च तहका नेताहरुसँग पनि भेटघाट तथा छलफल गरेको छ ।

लगानीको संभावनाबारे अध्ययन र विभिन्न पक्षसँगको भेटवार्तापछि निर्देशक किमले नेपालमा लगानी गर्न उचित वातावरण पाएको र यसबारे छिट्टै निर्णयमा पुग्ने वताए । उनले भने ‘विकासको चरणमा रहेको नेपालमा अन्तर्राष्ट्रिय कम्पनीहरु खुल्नुपर्छ, हामी पनि लगानीका लागि सकारात्मक छौ तर सँगसँगै बजार ब्यवस्थापनमा पनि पर्याप्त ध्यान दिनु आवश्यक रहेछ ।’ अन्तर्राष्ट्रिय बजारमा राम्रो ब्राण्ड बनाएको लोते गु्रपलाई नेपाल छिराउन सके नेपालले धेरै फाइदा लिन सक्ने अनुमान छ ।

जापानबाट शुरु भए पनि कोरियामा मूख्यालय रहेको लोते गु्रपले छिमेकी देश भारत र चीनमा लगानी गरिसकेको छ । एसियाका अन्य मुलुक थाइल्याण्ड, मलेसिया, इण्डोनेसिया, भियतनाम, पाकिस्तान, फिलिपिन्सलगायत बेलायत, रसिया र पोल्याण्डमा लोते ग्रुपले व्यापार गरिरहेको छ । ९० वटा व्यपारिक क्षेत्रमा हात हालेको लोते गु्रप क्याण्डी उत्पादन, होटल, शपिङ सेन्टर, फाष्ट फुड, वेभरेज, रिटेल, फाइनान्सियल सेवा, आइटी, कन्ट्रक्शनलगायतका क्षेत्रमा प्रख्यात छ ।

लोते गु्रपमा अहिले ६० हजार भन्दा बढीले रोजगारी गरिरहेका छन् । कोरियन ब्यापारी शिन क्युक होले १९४८ मा जापानमा स्थापना गरेको लोतेले सबैभन्दा पहिला चुइगम बेच्ने गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *