एनआरएनए आइसीसीको आगामी नेतृत्वमा मध्यपूर्वका अनुहारहरु

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोवरमा हुने १० औं महाधिवेशनले नयां नेतृत्व समेत चयन गर्ने हुँदा अहिले चुनावी सरगर्मी बढेको छ ।

एनआरएनए एनसीसीले अहिले धमाधम नयाँ नेतृत्व चुनिरहेका छन् भने योसँगै आइसीसीको नेतृत्वका लागि पनि रस्साकस्सी सुरु भैसकेको छ । एनआरएनए आइसीसी अध्यक्षमा वर्तमान उपाध्यक्ष डा. बद्री केसी खुलेर प्रचारमा लागिसकेका छन् भने अघिल्लो निर्वाचनमा झिनो मतले पराजित कुल आचार्यले पुन अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । अध्यक्षका अन्य आकाक्षीहरु पनि रहेकोमा उनीहरु खुलेर बजारमा निस्कन सकेका छैनन् । अध्यक्ष कुमार पन्तले आफ्नो कार्यकाल सक्न लाग्दा नयाँ नेतृत्वमा को आउला भन्ने चासो सर्वत्र बढ्न थालेको छ ।

एनआरएनए आइसीसीको नेतृत्वका लागि मध्यपूर्वले दावी गर्दै आए पनि अझै पाउन सकेको छैन । आगामी कार्यकालका लागि अध्यक्षको दावी गर्ने मध्यपूर्वबाट कोही नदेखिएता पनि आइसीसी उपाध्यक्षका लागि भने आकांक्षी धेरै छन् । मध्यपूर्वबाट आइसीसी अध्यक्षको मैदानमा उत्रिएका वर्तमान सल्लाहकार टिबी कार्की बाहेक नेतृत्वका लागि अहिलेसम्म कोही दावेदार बन्न सकेका छैनन् ।

आगामी कार्यकालका लागि मध्यपूर्वबाट उपाध्यक्ष पदमा वर्तमान सचिव आरके शर्मा (कतार), वर्तमान प्रवत्ता डिबी क्षेत्री (ओमान), महिला उपाध्यक्षमा वर्तमान आइसीसी सदस्य यसमिन बेगम (साउदी अरव) र युवा उपाध्यक्षमा वर्तमान मध्यपूर्व युवा संयोजक राज रेग्मी (कतार) आकांक्षी रहेका छन् ।

मध्यपूर्वलाई एनआरएनएको ‘भोट बैंक’ मात्र धेरै बनाइयो अव एनआरएनए आइसीसीमा मध्यपूर्वको उपस्थिति दरिलो बनाउनु पर्छ भन्नेमा अहिले मध्यपूर्वमा रहेका एनआरएनहरुको एक मत छ ।

एनआरएनए मध्यपूर्व संयोजक प्रविन गुरुङले आगामी कार्यकालका लागि आइसीसी सचिव पदमा उम्मेदवारी दिने जनाइएको छ । कोभिड १९ को महामारीमा नेपालमा अक्सिजन सिलिण्डर पठाउने अभियानमा मध्यपूर्व एनआरएनएले खेलेको भूमिका सेलाउन नपाउँदै गुरुङ आगामी यात्रामा निस्कनु पर्ने दवाव मध्यपूर्वमा छ । मध्यपूर्वलाई एकिकृत गर्न सफल मानिएका गुरुङलाई एनआरएनए आइसीसी सचिवमा पठाउनुु पर्नेमा सबै एक मत छन् ।

‘एनआरएन अभियानमा अगाडि बढ्नुपर्छ भनेर साथीहरुको सल्लाह, सुझाव अनुसार सचिवमा उम्मेदवारी घोषणा गर्ने मनसाय बनाएको छु’ गुरुङले रोजगार मञ्चलाई बताए । मध्यपूर्व उपसंयोजक हुँदै संयोजक बनेका गुरुङ एनआरएन अभियानमा उदयमान व्यक्ति हुन् ।

सफल शर्मा, निरन्तर क्षेत्री, महिलामूखी बेगम र उदयमान रेग्मी

एनआरएन अभियानमा मध्यपूर्वको भूमिका स्थापनाकालदेखि नै महत्वपूर्ण रहदै आएपनि नेतृत्व तहमा भने प्राथमिकता नदिइएको आवाज बेलाबेला उठने गरेको छ । उता सबैले मध्यपूर्वको मुद्धालाई उठाउने गरेता पनि त्यो भोटका लागि ललिपप देखाउने काममै सीमित हुने गरेको उनीहरुको गुनासो छ । यसैले पनि अवका दिनमा मध्यपूर्वका आवाज उठाउन आफै नेतृत्वमा पुग्नुपर्छ भनेर उपाध्यक्षमा धेरैको दावेदारी देखिएको हो ।

एनआरएन अभियानमा सफल नेतृत्वकर्ताका रुपमा चिनिन्छन् आरके शर्मा । कतारमा सफल व्यवसायी समेत रहेका शर्मा एनआरएनए नेतृत्वमा कहिल्यै असफल हुनु परेको छैन । एनआरएनए एनसीसी कतार हुँदै मध्यपूर्व संयोजक भइसकेका शर्मा अहिले सचिव पदमा क्रियाशिल छन् । एनआरएनएका हरेक कार्यक्रम तथा अभियानमा आर्थिक, भौतिक तथा नैतिकरुपमा अग्रस्थानमा रहने शर्माको नेतृत्वमा धेरै काम भएका छन् । कोभिड महामारीमा नेपालमा अक्सिजन सिलिण्डर पठाउने अभियानका संयोजकसमेत रहेका शर्माले मध्यपूर्वका नेपालीको शानलाई उँचो बनाउन कुनै कसर बाकी राखेका छैनन । एनआरएनभित्र मात्र होइन आम नेपाली माझ मध्यपूर्वको महत्व र भावानात्मक सम्बन्ध झल्काउन शर्माको नेतृत्व सफल भयो ।

एनआरएन अभियानमा मध्यपूर्वका मुद्धा उठाउन, नेपालमा लगानी भित्र्याउन, जनचेतनाका अभियान चलाउन र एनआरएन अभियानलाई सार्थक बनाउन शर्मालाई एनआरएनए आइसीसीको आगामी नेतृत्वमा जसरी पनि लैजानु पर्ने एनआरएन बृतमा एकमत छ । ‘सबै साथीहरुले एनआरएन अभियानमा निरन्तर लागिरहन दिनुभएको सुझाव र प्रेरणालाई आत्मसाथ गर्दै आगामी नेतृत्वका लागि छलफल गरिरहेको छु’ शर्माले भने ।

एनआरएनए आइसीसीका प्रवत्ता डि.बी. क्षेत्री एनआरएन अभियानमा नयाँ नाम होइन । एनआरएनएभित्र मध्यपूर्वका मुद्धालाई स्थापित गराउने क्षेत्री मध्यपूर्वका प्रिय अभियन्ता हुन् । एनआरएनए ओमानको संस्थापक अध्यक्ष हुँदै मध्यपूर्व संयोजक र आइसीसी सचिव भइसकेका क्षेत्री आगामी नेतृत्वका लागि अब्बल दावेदार हुन् ।

एनआरएनमा हजारे अभियान, वैदेशिक रोजगारमा रहेकाको संचयकोष, वैदेशिक रोजगारमा रहेका लाखौ नेपालीका मुद्धा र एनआरएन अभियानलाई निचोडमा पु¥याउन क्षेत्रीलाई जसरी भए पनि आइसीसी उपाध्यक्षमा पु¥याउनु पर्ने आवाज अहिले उठेको छ । ‘अघिल्लो कार्यकालमा सबैको आग्रहलाई सम्मान गर्दै नेतृत्वको दौडबाट पछि हटेको थिए, अहिले भने एनआरएन अभियानका अग्रज तथा साथीभाईहरुकै सल्लाह अनुसार नेतृत्वका लागि अघि बढने निष्कर्षमा पुगेको छु’ क्षेत्रीले भने ।

एनआरएनए आइसीसी सदस्य यास्मिन बेगम सैयाद एनआरएन अभियानमा सक्रिय नाम हो । साउदी अरव कर्मथलो भएपनि एनआरएन अभियानमा सँधै अग्रपंक्तिमा देखिने बेगमले आगामी कार्यकालमा केन्द्रीय महिला उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरिसकेकी छिन् ।

एनआरएनए मध्यपूर्वको उपसंयोजकको जिम्मेवारी सम्हालीसकेकी बेगम सन् २००७ देखि एनआरएनएमा आबद्ध रहेकी छिन् । एनआरएनएको स्वास्थ्य समिति मध्यपूर्वको उपसंयोजक समेत रहेकी बेगम विभिन्न संघसंस्थामा पनि आबद्ध छिन् । यास्मिनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी हुन् ।

एनआरएनएलाई समयसापेक्ष अघि बढाउनुपर्ने दायित्व अबको नेतृत्वलाई भएका कारण आफ्नो उम्मेदवारी दिन लागेको बेगमको भनाई छ । अहिले एनआरएनएमा उठिरहेको पारदर्शिता र जबाफदेहिता मुख्य मुद्दा रहेको उनको भनाइ छ । खाडीमा कार्यरत नेपालीहरु समस्याबारे बुझेकी बेगमको उम्मेदवारीले श्रमिक समस्याको अन्तर्राष्ट्रियकरण हुने भएकाले मध्यपूर्वमा शोषित पीडित मात्र नभएर सक्षम महिलाहरु पनि छन् भन्ने बेगमको उम्मेद्वारी घोषणाले पुष्टि गर्छ ।

एनआरएनए मध्यपूर्वमा अर्को उदयमान युवाको नाम हो राज रेग्मी । एनआरएन अभियानमा लागेर छोटो समयमा नै आफ्नो नाम दरिलो बनाएका रेग्मी एनआरएनए मध्यपूर्व युवा संयोजक रहेका छन् । कतारमा व्यवसायिक रुपमा सफल रहेका रेग्मी सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । आफ्नो कार्यकालमा ग्लोवल एनआरएन सिंगिङ्ग आइडल आयोजना गरेका रेग्मीको कार्यशैलीलाई विश्वभर रुचाइएको छ । एनआरएनएमा युवापुस्ता स्थापित गराउन रेग्मी भोलिका दिनमा अझ आवश्यक रहेको आवाज उठ्न थालेको छ ।

एनआरएनए आइसीसीमा विधान संशोधन गरेर युवा उपाध्यक्ष पद राखिएकोमा त्यस पदका लागि रेग्मीलाई लैजानु पर्नेमा मध्यपूर्वका नेपालीको भनाई छ । ‘एनआरएन अभियानमा लागेर अझ धेरै काम गर्ने इच्छा रहेको छ’ रेग्मी भन्छन्–‘सबैको सल्लाह र सुझाव अनुसार अगाडि बढ्छु ।’

एनआरएनए मध्यपूर्वमा नेतृत्वका लागि अन्य अनुहारहरु पनि रहेका छन् । यूएईका सुदिप कार्कीले युवा संयोजकको दावी गरेका छन् भने अन्य आकांक्षीहरु पनि मैदानमा विस्तारै खुल्दै जान सुरु गरेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *